७ वैशाख २०८१ शुक्रबार
कला

लु सुनका निबन्धमा समाज र राजनीति

काठमाडौं – आधुनिक प्रगतिशील चिनियाँ साहित्यका जनक साहित्यकार लु सुनका निबन्धमा रहेका सामाजिक र राजनीतिक तत्वका बारे शनिबार राजधानीमा बहस भयो।

देवकोटा–लु सुन प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा उनका निबन्धमा सामाजिक तथा राजनीतिक प्रभावका बारेमा बहस चल्यो । चीन तथा ताइवानबाट सेमिनारमा सहभागी भएका ६ विज्ञले उनका निबन्धमाथि बहस चलाएका थिए।

वेइजिङस्थित लु सुन म्युजियमका कार्यकारी निर्देशक हुवाङ छिया ओसेङले सांघाई कालमा लु सुनको कवित्व र राजनीतिबीचको अन्तरक्रिया विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले लु सुनको कविता, कथा र निबन्धमा चिनियाँ समाज र त्यो बेलाको राजनीतिक चरित्र जोडिएको बताए । ‘लुसी नामको परम्परागत कविताशैलीमा सुनले आफ्नो चमत्कारिक शैली अपनाउँथे,’ उनले भने, ‘त्यही शैली उनले निबन्धमा पनि समेटेका छन्।’एउटा वृत्तचित्रमा चिनियाँ सैनिकलाई जापानीले बाँधेर कुटिरहँदा चिनियाँ सैनिक हाँसिरहेको देखेपछि देशका नागरिकमा चेत फैलाउनकै लागि उनले साहित्यको बाटो रोजे । तर उनी चीनको कम्युनिस्ट पार्टीको सदस्य बनेनन् । उनका भाइलाई जापानीसँग मिलेको आरोप लाग्यो ।

भाइले १४ वर्ष जेल सजाय भोगे । पछि समाजवादी साहित्यमा कलम चलाउन थालेपछि उनले साहित्यमा राजनीति थाहा नपाउने गरी घुसाइरहे ।बेइजिङ इन्टरनेसनल स्टडिज युनिभर्सिटीका प्रोफेसर झाओ झिङ हुवाले लु सुनका निबन्धमा कट्टरवादसँगै निश्चयवादका अवशेष पाइने बताए । १९२७ अघिका उनका निबन्धले मानवीय सभ्यताको आलोचना गरेको छ । त्यसपछिका उनका निबन्धमा तत्कालीन समाजको आलोचना गर्ने गरिएको प्रो. हुवाले बताए।

‘सामाजिक व्यवस्थाको आलोचना मात्र हैन राजनीतिक र सामाजिक विशेषताहरू निबन्धमा मज्जाको संयोजन रहन्थ्यो,’ उनले सुनाए । कम्प्यारेटिभ लिटरेचर रिसर्च सेन्टर अफ चाइनिज एकेडमी अफ सोसल साइन्सका अध्यक्ष दोङ विङगुयेले सुनका निबन्धमा राजनीतिक विषयवस्तुका बारेमा कार्यपत्रमा चर्चा गरे । ‘सेलेक्टेड एस्से अफ लु सुन’ नामक पुस्तकमा समेटिएका निबन्धमा उनको राजनीतिक चेतको छवि प्रष्टिने दोङले बताए

उनका अनुसार साहित्यिक क्रान्ति विश्वभर चल्दै गरेका बेला सुनले त्यस्ता निबन्ध लेखेका थिए । यसैगरी कार्यक्रममा लु सुन रिसर्च एसोसियसनका निर्देशक वाङ झिया पिङ, लु सुन म्युजियमका क्युरेटर झियाङ यि सिन आदिले पनि कार्यपत्र प्रस्तुत गरेका थिए ।सो कार्यक्रममा प्रमुख अतिथीका तर्फबाट नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल चीनको भौगोलिक सम्बन्ध प्रष्ट्याउन मात्र नभई लु सुनका कविता र निबन्धको संस्कारिक महत्व झल्काउन सेमिनार महत्वपूर्ण बनेको बताए।

जनवादी गायक जीवन शर्माले कार्यक्रममा लु सुनले लेखेको कविता गाएका थिए । ‘आफैंमाथि व्यंग्य’ शीर्षकको कविता शान्तदास मानन्धरले नेपालीकरण गरेका थिए । आयोजक प्रतिष्ठानका अध्यक्ष निनु चापागाँईले लु सुनका साहित्यिक कृति अहिलेको समाजका लागि पनि दिग्दर्शनका रूपमा रहेको उल्लेख गरे।कार्यक्रममा ५० हजार राशिको देवकोटा–लु सुन प्रज्ञा पुरस्कार शान्तदास मानन्धरलाई दिने घोषणा गरिएको थियो । त्यस्तै लु सुनका शास्त्रीय कविताको द्विभाषिक संस्करण लोकार्पण गरिएको थियो ।
 

प्रकाशित: २१ फाल्गुन २०७४ ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App