८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

जटिल घाउ पुर्ने नौलो उपचार

काठमाडौं – लामो समयसम्म निको नभएका घाउको उपचारमा एलपिआरएफ (ल्युकोकोटी एन्ड प्लेटलेट रिच फाइब्रिन) प्रविधि प्रभावकारी भएको पाइएको छ ।

नेपालमा दन्त चिकित्सा क्षेत्रमा लामो समयदेखि प्रयोग हुँदै आएको यो प्रविधि अहिले जटिल र लामो समयसम्म निको नभएका घाउको उपचारमा पनि निकै उपयोगी देखिएको छ। शरीरका कुनै अंगका घाउ लामो समयसम्म निको नहुँदा अंग नै काटनुपर्ने अवस्थामा पुगेका मानिसमा यो प्रविधिबाट उपचार गर्दा उल्लेख्य सुधार भइरहेको दन्त चिकित्सक डा. सुशील कोइराला बताउँछन्। घाउको उपचारमा कोइरालाकै सक्रियतामा पुण्य आर्जन फाउन्डेसनले पहिलोपटक यो प्रविधि प्रयोगमा ल्याएको हो। 

डा. नेलसन पिन्टोले चिलीबाट सुरु गरेको यो प्रविधि सन् २०१६ मार्चमा उनको नेपाल भ्रमणसँगै यहाँ भित्रिएको हो। सुरुमा कीर्तिपुर अस्पतालका डा. शंकर राई नेतृत्वको चिकित्सक टोलीले यो प्रविधिबाट घाउको उपचार गर्न सुरु गरेको थियो। नेपालमा यस प्रविधिबारे डा. विशाल कार्कीले स्नातकोत्तर तह (एमसिपिएस) मा थेसिससमेत तयार पारिसकेका छन्। 

फाउन्डेसनको सहकार्यमा कीर्तिपुरसहित ललितपुरको  लेलेस्थित आनन्दवन अस्पताल र सातदोबाटोस्थित पाटन क्लिनिकमा पनि यो प्रविधिबाट जटिल किसिमका घाउको उपचार गर्न थालिएको छ। सामान्यतः  जलेका,  मधुमेहका कारण लामो समयसम्म निको नभएका तथा अन्य पुराना घाउको उपचारमा एलपिआरएफ प्रविधिबाट उपचार भइरहेकोमा पछिल्लोपटक कुष्ठ रोगका कारण भएका  घाउमा समेत यो प्रविधिको प्रयोग हुनथालेको छ। आनन्दवन अस्पतालमा रहेका कुष्ठरोगीका घाउ निको पार्न  यो प्रविधिबाट उपचार भइरहेको र नतिजा पनि सन्तोषजन आइरहेको डा. कोइराला बताउँछन्। सकारात्मक नतिजा आएपछि  अहिले आनन्दवन अस्पतालमा १५ देखि २० जना कुष्ठ रोगीको यही प्रविधिबाट उपचार भइरहेको जानकारी प्रमुख डा. इन्द्र नापितले दिए। ‘सुरुमा यो प्रविधिको प्रयोग गर्न खोज्दा बिरामी हिच्किचाउँथे तर घाउ निको हुँदै गएपछि  यो प्रविधितर्फ बिरामी पनि आकर्षित भएका छन्,’ डा. नापितले भने। यो प्रविधिबाट कुष्ठ रोगीको घाउ उपचार गर्दा उल्लेख्य सुधार आएपछि फाउन्डेसनले हरेक जिल्लामा यो प्रविधि विस्तार गर्ने तयारी गरेको छ।

 ‘सामाजिक कार्यअन्तर्गत हामीले यो प्रविधिका लागि आवश्यक मेसिन अस्पतालहरूलाई उपलब्ध गराइरहेका छौं,’ डा. कोइरालाले भने। उनका अनुसार यो प्रविधिबाट उपचार गर्दा खासै महंगो पनि पर्दैन।  

के हो एलपिआरएफ प्रविधि ? 

यो सम्बन्धित बिरामीकै रगतबाट बनाइने जैविक पदार्थ हो। जुन घाउ भएको ठाउँको उपचार गर्न प्रयोग गरिन्छ। एक पटक घाउमा प्रयोग गर्न १० देखि ८० मिलिलिटर रगत आवश्यक पर्छ। जुन बिरामीको शरीरबाटै निकालिन्छ। उक्त रगतलाइ ट्युबमा राखेर इन्ट्रा स्पिन मेसिनमा १२ मिनेटसम्म राखेर २७०० आरपिएममा घुमाइन्छ। त्यसबाट रगत एक किसिमको लेदो पदार्थमा परिणत हुन्छ। त्यसलाई एलपिआरएफ बक्समा राखेर केही समय थिचेपछि घाउ भएको स्थानमा लगाइन्छ। यसमा ग्रोथ फ्याक्टर हुने भएकाले घाउलाई छिटो निको हुने डा. कोइराला बताउँछन्। 

बिरामीको आफ्नै रगत प्रयोग हुने भएकाले यो प्रविधि सस्तो र निकै सुरक्षित पनि मानिन्छ। बिरामीकै रगत भएकाले कुनै किसिमको जाँच गर्नुनपर्ने र सरुवा रोगको पनि डर नहुने कोइरालाको भनाइ छ। यसले साइड इफेक्ट पनि गर्दैन र्रे र तालिम प्राप्त नर्सले यो प्रविधिबाट सहजै उपचार गर्न सक्ने उनी बताउँछन्। यो प्रविधिको अर्काे विशेषता भनेको बिरामीको घाउमा नियमित मलमपट्टी गर्नु पर्दैन। ‘घाउमा एक सातामा एक पटक ड्रेसिङ गरे पुग्छ’, कोइरालाले भने। 

कसरी सुरु भयो यो प्रविधि ? 

डा. पिन्टोले सबैभन्दा पहिले यो प्रविधिको प्रयोग घोडाको घाउको उपचारमा गरेका थिए। उनले कुकुरको घाउमा पनि  यो प्रविधिबाट उपचार गरेका थिए। सन् १९९८ मा उनले घोडामा यो प्रविधिबाट परीक्षण उपचार गरेका थिए। जनावरमा यो प्रविधिबाट उपचार गर्दा  सकारात्मक नतिजा प्राप्त भएपछि उनले मानिसमा पनि सुरु गरेका थिए। घोडाबाट मानिसमा सुरु गर्दा यसलाई उनले ‘प्लाज्मा रिच इन फिब्रिन’  (पिआरएफ) नाम दिएका थिए। पहिलो वर्ष उनले यसलाई मानिसको दाँतको इम्प्लान्टमा प्रयोग गरेका थिए। 

चिलीबाट सुरु भएको यो प्रविधि दन्त चिकित्सामा नेपालमा  लामो समयदेखि प्रयोग हुँदै आए पनि घाउको उपचारमा भने दुई वर्षदेखि प्रयोग गर्न थालिएको हो। डा. पिन्टोबाटै प्रभावित भएर फाउन्डेसनले यो प्रविधिबाट उपचार सुरु गरेको हो ।  नेपालमा यो प्रविधि पहिलोपटक फाउन्डेसनले भित्र्याएको कोइरालाको दाबी छ। 

डा. कोइराला एलपिआरएफ  प्रविधिमा नेपाललाई दक्षिण एसियाकै केन्द्र बनाउने लक्ष्य राखेको बताउँछन्। दक्षिण एसियामै नेपाल पहिलो एलपिआरएफ  प्रविधिमार्फत जटिल र पुराना घाउको उपचार गर्ने मुलक भएकाले नेपाललाई यसको ‘हब’ बनाउन सकिने उनको विश्वास छ। एलपिआरएफ  प्रविधिबारे फाउन्डेसनले मार्च १७ मा अन्तर्राष्ट्रिय सम्मेलन  गर्न लागेको जानकारी कोइरालाले दिए। 

यो प्रविधिबाट गरिने उपचार पद्धति सिक्न बंगलादेश र म्यान्मारबाट प्रशिक्षार्थी नेपाल आएको उनले बताए। ‘यसबाट प्रभावकारी उपचार हुन्छ भन्ने थाहा पाएपछि बंगलादेश र म्यानमारबाट समेत स्वास्थ्यकर्मी नेपाल आएका छन,’ उनले भने। यो प्रविधि सस्तो हुने र सानो मेसिनको सहायताले उपचार गर्न सकिने भएकाले घरघरमा पुगेर पनि सेवा दिन सकिने फाउन्डेसनले जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०७४ ०९:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App