coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

मेरी सुन्दर भाउजू

बादलदेवी चाम्लिङ

भञ्ज्याङभरि
गोदावरी, चमेली फुल्नु
मेरी गाउँकी भाउजू
त्यही रंग, सुगन्धमा फुल्नु
प्रकृतिलाई दोष छैन ।

घामले कोपिला लाली
उनकै मुहारमा छर्‍यो
जूनले सौम्य स्वभाव उनकै हातमा पोख्यो
शीतको वयस्क थोपाले उनकै ओठ रोज्यो
रातै सिम्रिक उनकै सिउँदोमा फुल्यो
कहाँ खुल्छ खुर्मी सबैको कम्मरमा त्यसरी ?
कहाँ सुहाउँछ पुवाँलो हार सबैको गलामा बेस्सरी ?

अमिलो मोही र लिसैलो माटोले नुहाएको
तिलचामले उनको कपाल
आफ्नै भाषामा मात्रै रमेको जिब्रो
जरुवा पानीझैँ मीठो उनको लवज
सृष्टिमा भुल
एउटा फूल
गाउँकी मेरी सुन्दर भाउजू ।

प्रत्येक बिहान भाले नबास्दै
गाउँ ब्युँझाउँछिन्
समुद्रको नीलो उनको भुमेपाथी हो
थोरै टिपेर
क्षितिज चहकाउँछिन्
हावाले उनको चाल पछ्याउनु
परेवी जोडीले सिँढीमा पिरती उन्नु
कारण र प्रभाव दुवै उनै हुन्
पूर्वकी लाली
खर्क, लेककी रानी
गाउँकी मेरी सुन्दर भाउजू ।

तल तराईबाट
माथि पहाडका गह्रा हेर्नु
ब्याडमा इन्द्रेणी घुम्टो ओढेका बेर्नाहरू
हावासँगै बयेली खेलिरहेका छन्
तिनीहरूको ढुकढुकीको सम्बन्ध उनैसँग छ
आकाश चाल्नीले पानी पार्दै छ
सूर्यका किरणका मिहीन रेखाहरू उतै तेर्सिएका छन्
अब
शरद ऋतु
कर्म घर भित्रिन लागेकी बेहुलीझैँ खुल्ने होला
चराहरू पखेटा बिर्सिएर त्यतै भुल्ने होला
हिमालको काखमा मिर्मिरे बिहानीको कत्थक–ताल
मनोहर रूप
अजेय कर्म–चाल
गाउँकी मेरी सुन्दर भाउजू ।

प्रकाशित: १९ फाल्गुन २०७४ ०४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App