coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

पहिलो डेटमा बिल तिर्ने कसले ?

सांकेतिक तस्बिर

तपाईं आफ्नो प्रेमी वा प्रेमिकासँग पहिलोपटक ‘डेट’ जाँदै हुनुहुन्छ अर्थात् भेट्दै हुनुहुन्छ । डिनरका लागि तपाईंले राम्रो वातावरणमा रमाइलो समय एकअर्कासँग बिताउनुभयो । राम्रोसँग कुराकानी भयो, मजाले हाँस्नुभयो पनि। 

अब बिल तिर्ने पालो आउँछ । आजभन्दा ३० वर्षअघि वेटरले पक्कै पनि पुरुषका अगाडि बिल राखिदिने गर्थे । आज भने बिल दुईजना बसेको टेबलको बीचमा राखिदिन्छन् । हो, त्यही हुन सक्छ, पहिलो डेटको सबैभन्दा अप्ठेरो पल । 
अनि के गर्ने?

यो तपाईंले कसलाई सोध्नुहुन्छ भन्ने कुरामा पनि भर पर्छ । राम्रो वा नराम्रो, जुनसुकै कारण भए पनि पहिलो डेटमा कसले पैसा तिर्नुपर्छ भन्ने कुराको कुनै ठोस नियम छैन । जसले गर्दा बिल आउँदा एक खालको दुविधा हुन सक्छ । त्यसमा पुरुषले म ‘पे गर्छु’ भनेर बिल आफूतर्फ तान्दा महिलाले पनि ‘हैन म पनि केही सेयर गर्छु’ भन्नु सामान्य हो। 

आजभन्दा ३० वर्षअघि वेटरले पक्कै पनि पुरुषका अगाडि बिल राखिदिने गर्थे । आज भने बिल दुईजना बसेको टेबलको बीचमा राखिदिन्छन् । हो, त्यही हुन सक्छ पहिलो डेटको सबैभन्दा अप्ठेरो पल। 

सन् २०१७ मा ‘मनी’ र ‘सर्भे मंकी’ एपले गरेको एक सर्वेक्षणमा ७८ प्रतिशत उत्तरदाताले पहिलो डेटमा पुरुषले बिल तिर्नुपर्छ भनेर जवाफ दिएका थिए । तर, यो कुरा विपरीत लिंगी जोडीको डेटमा मात्र लागू हुन्छ । सन् २०१६ मा ‘म्याच डट कम’ले गरेको एक सर्वेक्षणमा समलिंगीको डेटिङमा, डेटिङको प्रस्ताव राख्ने व्यक्तिले बिल तिर्नुपर्छ भनी ६२ प्रतिशत समलिंगीले बताएका थिए। 

सर्भेको प्रतिशत हिसाबलाई किनारा लगाएर कुरा गर्दा, बिल तिर्ने विषयमा निकै दुविधा छ । सम्बन्धसम्बन्धी विज्ञ र हफिङ्टन पोस्टका पाठकले यो विषयमा आफ्नो धारणा व्यक्त गरेका छन्।

बम्बल नामक डेटिङ साइटका ब्रान्ड प्रमुख एलेक्स विलियम्सन जसले भेट्नका लागि प्रस्ताव गरेको हुन्छ, उसले नै भुक्तानी गर्नुपर्ने बताउँछिन् । ‘मेरो विचारमा एक जनाले अर्कोलाई भेटौँ भन्छ भने, त्यो व्यक्तिले भुक्तानीको जिम्मेवारी लिनुपर्छ,’ उनी भन्छिन्, ‘कुनै अवस्थामा दुवै व्यक्तिले बाँडेर रकम तिर्ने वा कसले तिर्ने भनेर छलफल गरेर तिर्नु नै राम्रो होला।’

सम्झनुहोस् तपाईं भेट्ने योजना बनाउँदै हुनुहुन्छ र पहल गर्नुभएको छ भने, तपाईंको बजेटभन्दा बाहिर भएको रेस्टुरेन्ट वा बारलाई नछान्नुहोस् । ‘मैले सधैँ मानिसलाई भन्ने गर्छु, उनीहरू कुनै रेस्टुरेन्टमा तिर्नका लागि सहज छैनन् भने डेटका लागि त्यो रेस्टुरेन्ट नरोज्नुस्,’ विलियम्सनले भनिन्, ‘तपाईंले डेट पहल गर्नुहुन्छ भने यस्तो ठाउँ छान्नुस् जहाँ तपाईं पूरै बिल तिर्नुपरे पनि खुसी साथ तिर्न सक्नुहोस्।’

‘थ्री डे रुल’ नामक ‘म्याचमेकिङ’ कम्पनीकी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत तालिया गोल्डस्टेन उनको ग्राहकहरुसँग थप परम्परागत शैली अपनाउँछिन्। 

‘हामी पुरुषलाई बिल तिर्न प्रोत्साहन गर्छौं,’ उनले भनिन्, ‘यो बलिया, स्वतन्त्र महिलाले भरिएको संसारमा मूर्ख, पुरानो शैली हुन सक्छ र अलिकति परम्परागत हुन सक्छ । यो एकतर्फी, कठिन र असहज हुन पनि सक्छ भन्ने कुरा पनि मैले बुझेकी छु।’

गोल्डस्टेन अगाडि भन्छिन्, ‘तपाईं जतिसुकै स्वाभिमानी भए पनि आफ्नो अलिकति हेरचाह गरिएको जसलाई पनि राम्रो लाग्छ । यो बारमा एउटा पेय पदार्थको गिलास उठाउने कुरामा पनि लागू हुन सक्छ । जबसम्म महिलालाई राम्रो लाग्छ र अर्को साथी अभिमानी भएको महसुस हुँदैन, तबसम्म पुरुषले नै बिल तिरेको राम्रो हुन्छ।’

न्युयोर्कमा बस्ने र डेट गइरहेकी ३० वर्षीय जस्टिनले पहिलो डेटमा प्रायःआफूले बिल तिर्ने भए पनि कुनै महिलाले बाँडेर तिर्न प्रस्ताव राखे आफूलाई राम्रो लाग्ने बताउँछन्।

‘बिलको रकम बाँडेर तिर्न प्रस्ताव राख्नु वा धन्यवाद मात्र भन्नु पनि मेरा लागि राम्रो संकेत हो,’ उनले भने, ‘यसले ती महिला राम्रोसँग हुर्किएको, सानोसानो कुरामा पनि अरुप्रति धन्य रहने र कुनै कुरा लिने मात्र नभएको देखाउँछ ।’ तर, उनले कम्तीमा पनि पहिलो डेटमा महिलालाई बिल तिर्न भने दिँदैनन्। 

‘डेट राम्रोसँग बित्यो भने मैले उनलाई अर्कोपल्ट तिम्रो पालो आउँछ भनेर भन्छु । उनलाई अर्कोपल्ट बिल तिर्न लगाउनका लागि त्यो भनेको त होइन, तर उनलाई मेरो उनीप्रति रुचि छ र उनलाई पुनः भेट्न चाहन्छु भनेर थाहा दिनु पनि उद्देश्य हो,’ उनले भने।

ओरेमकी २१ वर्षीया क्रिस्टेनले पुरुष वा महिला जो भए पनि जसले भेट्नका लागि प्रस्ताव राख्छ, उसले नै बिल तिर्नुपर्ने विचार राख्छिन् । उनको अहिले बिहे भइसकेको छ, तर उनले डेटिङका समयमा पुरुषलाई डेटका लागि प्रस्ताव राख्थिन् र ती डेटमा उठेका बिलको रकम आफैँ तिर्थिन्।

‘कहिले यसो गर्दा पुरुषलाई अप्ठेरो लाग्न सक्छ र उनीहरू तिर्न चाहन्छन् । वास्तवमै यो मेरो आफ्नो तरिका हो । म तिर्छु भन्छु, जुन राम्रो बानी पनि हो,’ उनले भनिन्, ‘अहिलेको जमानामा, डेटका लागि पहल गर्ने जिम्मेवारी यसको यो भन्ने छैन, जसले पनि अर्को कसैलाई डेटका लागि प्रस्ताव राख्न सक्छ ।’ पुरुष त्यसका लागि तयार नभए आफूले सम्भवतः त्यस्तासँग डेट नजाने उनी बताउँछिन्।

पहिलोपल्ट डेटमा जानेहरू सामान्यतः डेटिङमा आउने साझेदारको रोमान्टिक रुचिको मात्राबारे बेखबर हुन्छन्, किनभने सम्बन्धको सुरुवातताका, उनीहरू खासमा अपरिचितजस्तै हुन्छन् । त्यस्तै, एक–अर्काका बारेमा बनाइएका धारणा पनि प्रायः गलत हुन्छन् । स्पष्ट सञ्चार भएको सुनिश्चित गर्न, गलत अपेक्षाबाट टाढा रहन र स्वस्थ सम्बन्ध छनोट प्रवद्र्धन गर्नका लागि दुवै पक्ष पहिलो डेटमा बिस्तारै अगाडि बढ्नुपर्छ।
(एजेन्सीहरूको सहयोगमा शिक्षा रिसालले तयार पारेको सामग्री) 

प्रकाशित: १९ फाल्गुन २०७४ ०३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App