coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

महिलालाई दोहोरो मार

बाँकेकी पुनम श्रेष्ठ घरकी एक्ली बुहारी हुन्। उनी विगत ६ वर्षदेखि कानुन व्यवसायीका रूपमा सक्रिय छन्। कार्यालय जानुअघि उनले घरका थुप्रै काम गर्नुपर्छ– घरको सफाइदेखि पूजापाठ, भान्साको काम। अनि मात्रै उनी कार्यालय जान्छिन्। 

घरको कामसँगै आफ्नो कार्यालयको काम गर्न उनले दैनिक १७ घन्टा खट्नुपर्छ। कार्यालयको काम गरेबापत तलब मिल्छ, तर घरको कामको खास हिसाब छैन । तैपनि उनले घरको काम गर्नैपर्छ। ‘मैले फुर्सद नपाएका बेला अरुले पनि केही काम गर्नुहुन्छ, तर घरको धेरै काम मेरै भागमा परेको हुन्छ,’ पुनमले भनिन्। 

दुई सन्तानकी आमा पुनमलाई अहिले जिल्ला बार एसोसिएसन बाँकेमा सचिवको पनि जिम्मा छ । यसअघि आफूले एक निजी स्कुल पढाएको पनि उनले बताइन् । जीवनमा जुनसुकै बाहिरी भूमिका आयोस्, घरको सबैजसो काम उनको भागमा पर्न छुटेको छैन। 

‘समान काम समान ज्यालाको कुरा धेरै वर्षदेखि उठेको छ, घरमा महिलाले गर्ने कामको हिसाब कतै छैन । यसका लागि पुरुषलाई घरेलु कामको दायरामा ल्याउनुपर्छ।’

‘नयाँ–नयाँ कानुनको अध्ययन गर्नु छ भने बिहान ४–५ बजे नै उठ्छु, पढिसकेपछि मात्र घरको काम सकाउँछु,’ उनले भनिन्। 

जागिर नखाएको भए उनको भागमा घरको मात्र काम पर्थे, उनलाई यतिखेर यस्तै लाग्छ। ‘जागिर खाने छोरी–बुहारीको भागमा दोहोरो जिम्मा पर्दोरहेछ, यही कारण म आफ्नो क्षमतालाई समयमै अघि बढाउन सकिनँ,’ उनले भनिन्। दोहोरो कामकै कारण पुरुष सहकर्मीले जत्तिकै क्षमता विकास गर्न नसकेको उनलाई लागेको छ। ‘पुरुषलाई जस्तै घरमा काम नभए म पनि धेरै अघि बढ्थेँ जस्तो लाग्छ,’ उनले भनिन्। 

दैनिक १६ घन्टा काम गर्छिन्, लाजिम्पाट बस्दै आएकी हिरा बुढाथोकी । दुई सन्तानकी आमा रहेकी हिराको दैनिकी कम्ती कष्टकर छैन । उनलाई बिहान ५ बजे उठेर घरधन्दामा लाग्नुपर्छ । स्कुले नानीका लागि खाजा–खाना तयार गर्नु, सरसफाइ गर्नु, लुगा धुनु लगायत उनको दैनिक बन्छ । घरको यी काम सकेपछि ८ बजे अर्को घरको काम गर्न जान्छिन्, त्यहाँ तीन घन्टाजति काम गर्छिन्, यसबाट केही पैसा आउँछ । त्यहाँ उनले लुगा धुन्छिन्, भाँडा माझ्छिन् र कोठा सफा गर्छिन् । यी काम सकेपछि दिउँसो उनी एक गैरसरकारी संस्थामा जागिर खान जान्छिन् । त्यहाँ पनि पूरै कार्यालय सफा गर्ने, चिया खाजा बनाउने र समय बचे कार्यालयका कागजात व्यवस्थित गर्ने काम गर्छिन् । यो जागिरबापत उनले मासिक सात हजार पाउँछिन् । दुवै ठाउँमा काम गरेबापत मासिक १० हजार । यही आम्दानीबाट उनले मासिक ६ हजार डेराभाडा तिर्छिन् र घरखर्च चलाउँछिन् । एक वर्ष अघिदेखि पतिले उनलाई छाडेर अर्को ठाउँमा बस्न थालेपछि उनलाई घरखर्च चलाउन गाह्रो भएको हो । ‘मेरो कमाइले मासिक राम्रोसँग खाना पनि पुग्दैन,’ उनले भनिन्। 

उसो त राम्रो जागिर हुने महिलाको हकमा पनि जागिरसहित घरेलु काम अनिवार्य बनेका छन् । सिनामंगलकी सीता अधिकारी अधिकृत स्तरको निजामती कर्मचारी हुन् । उनका पति व्यापारमा व्यस्त छन् र दुई छोरा अध्ययनमा । यो अवस्थामा घरका सबै काम उनकै भागमा पर्छन् । ‘केही अरुले सघाए पनि धेरै म नै गर्छु,’ उनले भनिन् । उनले अहिले अर्को विषय पढ्न लागेकी छन् । जागिरसँगै घरको कामले गर्दा उनलाई समय अभाव छ। 

यी प्रतिनिधि जागिरे महिला मध्यम वर्गीय हुन्, या निम्नवर्गीय, दुवैको एउटै दुःख हो– जागिरसँगै घरको काम । पछिल्लो जनगणनाको तथ्यांकअनुसार नेपालमा २५ प्रतिशत महिला औपचारिक संस्थामा कार्यरत छन्। 
रोजगारीमा सहभागिता भएसँगै महिलालाई दोहोरो भूमिका बढेको र महिलाका लागि अनिवार्य बनेको घरेलु श्रमले महिलालाई शोषण गरेकोे महिला अधिकारर्मी बताउँछन्। 

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा महिलाको श्रमको सम्मान र अधिकारको कुरा नेपालमा अहिले पनि ओझेलमा परेको नेपाली कांगे्रसकी केन्द्रीय सदस्य दिला संग्रौला बताउँछिन्। ‘महिलाले गर्ने घरेलु श्रमको न कुनै मूल्यांकन छ, न त सम्मान नै,’ नेता संग्रौला भन्छिन्, ‘जागिरे महिलाका लागि शारीरिक र मानसिक दुवै बोझ बनेको छ।’  
घरेलु श्रममा परिवारमा पुरुषले भाग नलिने हो भने यो समस्या यथावत रहने उनको भनाइ छ। उनी भन्छिन्, ‘समान काम समान ज्यालाको कुरा धेरै वर्षदेखि उठेको छ, घरमा महिलाले गर्ने कामको हिसाब कतै छैन। यसका लागि पुरुषलाई घरेलु कामको दायरामा ल्याउनुपर्छ ।’ एकातिर पुरुष आफैँमा सचेतना आउनुपर्ने र अर्कोतिर सरकारले पुरुषलाई बाध्यकारी नियम बनाएर घरेलु काममा सहभागी गराउनुपर्ने नेता संग्रौलाको सुझाव छ। 

रोजगारीले एकातिर महिलालाई आत्मनिर्भर बनाउँदै लगे पनि उनीहरूको गुणस्तरीय जीवन अधिकारलाई नष्ट गर्दै गएको एमाले नेता तथा अन्तर्राष्ट्रिय श्रम संगठनकी सदस्य बिन्दा पाण्डे बताउँछिन् । पाण्डे भन्छिन्, ‘घरेलु काम मात्र गर्दा महिला आर्थिक रूपमा परनिर्भर थिए, तर आराम गर्न पाउँथे । अहिले जागिर खान थालेपछि आराम गर्ने समय पूरै समाप्त भएको छ।’ दोहोरो जिम्मेवारीका कारण शारीरिक, मानसिक थकानका कारण महिलामा सिर्जनशीलता मर्दै गएको पाण्डे बताउँछिन्। 

अन्तर्राष्ट्रिय श्रम संगठनले कुनै पनि स्थानमा गरिने घरेलु कामलाई श्रमको रूपमा हेरिनुपर्ने व्याख्या गरेको छ। नेपालको संविधानको धारा ५१ मा घरेलु कामलाई उत्पादनमूलक कामको रुपमा हेरिनुपर्ने, परिवारको हेरचाह र घरको कामलाई आर्थिक रुपमा मूल्यांकन गर्ने व्यवस्था छ । संविधान लागू हुने प्रक्रियामा रहेकाले यसको ठोस मापदण्ड बनिसकेको छैन । उचित श्रम अभ्यास, मर्यादित काम, आधारभूत श्रमिक अधिकार र सामाजिक सुरक्षा, यी चार कुरा हरेक श्रमिकले प्राप्त गर्नुपर्छ भन्ने व्यवस्था भर्खरै पारित भएको श्रम कानुन र सामाजिक सुरक्षा ऐनमा उल्लेख छ। विश्व श्रम संगठनले सन् २०१४ मा अनौपचारिक कामलाई परिमार्जन गरी औपचारिक श्रमको दायरामा ल्याइसकेको छ। 

महिलाहरूको दोहोरो भूमिकाको असर महिला एक्लैलाई मात्र नपरी सिंगो राष्ट्रको विकासमा पर्ने हुनाले महिलाका लागि मात्र अनिवार्य बनेको घरेलु काममा पुरुष अनिवार्य सहभागिता हुनुपर्ने महिला नेताको सुझाव छ । ‘घरभित्रको काममा पुरुष पनि सहभागी भए भने महिलाहरू राजनीतिक, सामाजिक र सिर्जनशील काममा सहभागी हुने अवसर पाउँछन्। थप क्षमता विकास गर्न सक्छन्,’ नेता पाण्डेले भनिन् । अन्तर्राष्ट्रिय महिला दिवस र महिला आन्दोलनले आजको श्रम बजारमा महिलालाई शोषण गरिरहेको घरेलु श्रम मुद्दाको विषय बन्नुपर्ने महिला नेतृहरूको सुझाव छ । ‘व्यवहारमा लागू नबन्दासम्म महिला आन्दोलनले यो विषयलाई निरन्तर अघि बढाउनुपर्छ,’ नेता संग्रौलाले भनिन्। 

प्रकाशित: १९ फाल्गुन २०७४ ०३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App