४ वैशाख २०८१ मंगलबार
राजनीति

पाकिस्तानी प्रधानमन्त्रीको अर्थपूर्ण भ्रमण

काठमाडौं – दुईदिने नेपाल भ्रमणका लागि पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासी सोमबार काठमाडौं आउने भएका छन्। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिन उनी काठमाडौं आउन लागेका हुन्। 

कुनै सभासम्मेलनमा सहभागी नहुने उद्देश्यले शुद्ध द्विपक्षीय कूटनीतिक सम्बन्धलाई प्राथमिकतामा राखेर पाकिस्तान (पाक) का प्रधानमन्त्रीले २४ वर्षपछि गर्न लागेको यो पहिलो नेपाल भ्रमण हो । यसअघि सन् १९९४ मेमा पाकिस्तानकी तत्कालीन प्रधानमन्त्री बेनिजिर भुट्टोले द्विपक्षीय सम्बन्धलाई बढावा दिन नेपाल भ्रमण गरेकी थिइन्। त्यसपछि पाकिस्तानका एक राष्ट्रपति र तीनजना प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका थिए । ती भ्रमण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनसँग सम्बन्धित थिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिन पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासी सोमबार काठमाडौं आउन लागेका हुन् ।

‘पाकिस्तानका प्रधानमन्त्री नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई बधाई तथा शुभकामना दिन आउन लाग्नुभएको हो,’ प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले नागरिकसँग भने, ‘भ्रमणमा कुनै अजेन्डा छैन । उहाँ (पाकिस्तानी प्रधानमन्त्री) बधाई दिनका लागि मात्र आउन लाग्नुभएको हो।’ 

रिमालका अनुसार पाकिस्तानी प्रधानमन्त्री अब्बासी सोमबार दिउँसो साढे २ बजे काठमाडौं आउने कार्यक्रम छ । त्यसै दिन प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक संसद् बैठक बस्दैछ । साँझ उनले प्रधानमन्त्री ओलीलाई भेटेर बधाई तथा शुभकामना दिनेछन् । भेटमा नेपाल–पाकिस्तान सबन्धका सबै पक्षमा संक्षिप्त छलफल हुनेछ । अब्बासीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । त्यसै दिन उनी स्वदेश फर्कनेछन्। 

‘यो सद्भावभन्दा पनि माथिल्लोस्तरको भ्रमण हो । यसले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनेछ,’ रिमालले भने । नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै प्रधानमन्त्रीलाई बधाई दिन विदेशी मुलुकका प्रधानमन्त्री नेपाल आउन लागेको २०४६ सालको राजनीतिक परिपवर्तनपछि यो पहिलोपटक हो। 

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदको सपथ लिने समारोहमा सार्क राष्ट्रका सरकार प्रमुखलाई निमन्त्रणा गरेका थिए । मोदीको सपथमा उपस्थित भएर सार्क राष्ट्रका सरकार प्रमुखहरुले उनलाई बधाई तथा शुभकामना दिएका थिए । त्यसपछि दक्षिण एसियाली राष्ट्रहरुमा धेरै सरकार फेरिए तर नयाँ प्रधानमन्त्रीलाई बधाई दिन तत्कालै अन्य देशका प्रधानमन्त्री सम्बन्धित देश पुगेका छैनन् । अहिले पाकिस्तानी प्रधानमन्त्री नेपालका नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिन यहाँ आउने भएपछि यसले दक्षिण एसियाको राजनीतिमा बेग्लै तरंग ल्याउने आँकलन गरिएको छ। 

एमाले अध्यक्षसमेत रहेका ओलीले प्रधानमन्त्रीको शपथ लिएलगत्तै पाकिस्तानी समकक्षीले बधाई तथा शुभकामना दिन नेपाल भ्रमणको इच्छा व्यक्त गरेका थिए । जसलाई ओली सरकारले सहर्ष स्वीकारी कूटनीतिक च्यानलमार्फत उनलाई नेपाल आउने तारतम्य मिलाएको हो । सरकारले शुक्रबार साँझसम्म पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने विषयमा औपचारिक घोषणा नगरे पनि परराष्ट्र मन्त्रालय भ्रमण तयारीमा जुटेको छ। 

दुई प्रधानमन्त्रीबीच सार्कको १९औं  शिखर सम्मेलनका विषयमा पनि छलफल हुनसक्ने परराष्ट्र मन्त्रालय स्रोतले बतायो। नेपालले सन् २०१४ को नोभेम्बरमा १८औं सार्क शिखर सम्मेलन गरेको थियो । १९औं शिखर सम्मेलन सन् २०१६ को नोभेम्बर १५–१६ मा पाकिस्तानको इस्लामाबादमा हुने घोषणा गरिएको थियो । तर भारतले सहभागी हुन नसक्ने जनाएपछि सम्मेलन स्थगित भएको थियो । त्यसपछि पाकिस्तानले सम्मेलनको नयाँ मिति घोषणा गर्न सकेको छैन। नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र हो । यसैकारण भ्रमणका बेला शिखर सम्मेलनको वातावरण बनाउन अध्यक्ष राष्ट्रसँग पाकिस्तानी प्रधानमन्त्रीले अनुरोध गर्ने बताइएको छ। 

नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २९ मा कूटनीतिक सम्बन्ध गाँसिएपछि दुवै देशले एकअर्कालाई उच्च प्राथमिकता दिँदै आएका छन् । नेपालले १९६२ मा पाकिस्तानमा आवासीय दूतावास स्थापना गरेको हो । कूटनीतिक सम्बन्ध स्थापनासँगै दुवै देशबीच उच्चस्तरीय भ्रमण हुँदै आए पनि पछिल्लो दुई दशकमा भने यो गतिमा ‘ब्रेक’ लागेको थियो। 

पाकिस्तानमा आवासीय दूतावास स्थापना गरेलगत्तै तत्कालीन राजा महेन्द्रले १९६२ सेप्टेम्बरमा त्यहाँको सद्भाव भ्रमण गरेका थिए । त्यसको सात महिनापछि १९६३ मे १ मा पाकिस्तानका तत्कालीन राष्ट्रपति अयुब खान नेपालको १२ दिने भ्रमणमा आएका थिए ।  तत्कालीन राजा वीरेन्द्रले पनि पाकिस्तानको भ्रमण गरेका थिए। 

सन् १९८७ नोभेम्बरमा नेपालमा भएको तेस्रो सार्क शिखर सम्मेलनमा सहभागी हुन पाकिस्तानका तत्कालीन प्रधानमन्त्री मोहम्मद खान जुनिजो नेपाल आएका थिए। त्यसपछि १९९४ मेमा पास्तिानकी तत्कालीन प्रधानमन्त्री भुट्टोले नेपाल भ्रमण गरेकी थिइन् । सन् २००२ को जनवरीमा काठमाडौंमा सम्पन्न ११औं सार्क शिखर सम्मेलनमा सहभागी हुन पाकिस्तानका तत्कालीन राष्ट्रपति परवेज मुसर्रफ नेपाल आएका थिए। त्यतिबेला काठमाडौंमा मुसर्रफ र भारतका तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीबीच भएको भेटले निकै चर्चा पाएको थियो। 

सार्क अध्यक्ष राष्ट्रको हैसियतले पाकिस्तानका पूर्वप्रधानमन्त्री सौकात अजिजले सन् २००४ मा नेपालको भ्रमण गरेका थिए । २०१० मा भुटानमा सम्पन्न सार्क शिखर सम्मेलनमा सहभागी हुन जाँदा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री युसुफ राजा गिलानीले नेपालको ‘ट्रान्जिट’ भ्रमण गरेका थिए । त्यसपछि २०१४ को नोभेम्बरमा काठमाडौं सम्पन्न १८औं सार्क शिखर सम्मेलनमा सहभागी हुन पाकिस्तानका तत्कालीन प्रधानमन्त्री मोहम्मद नवाज सरिफ यहाँ आएका थिए।  

पाकिस्तानका पूर्वराष्ट्रपतिहरु यहा खान, फाजेल–ए–इलाही चौधरी र जिया उल हकले पनि नेपाल भ्रमण गरेका थिए। नेपालतर्फबाट पूर्वयुवराज दीपेन्द्र शाह, पूर्वप्रधानमन्त्रीहरू नगेन्द्रप्रसाद रिजाल, सूर्यबहादुर थापा, मरिचमान सिंह, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले विभिन्न समयमा पाकिस्तान भ्रमण गरेका थिए। 

प्रकाशित: १९ फाल्गुन २०७४ ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App