"

कलंकको कालो टीका

शुक्रबार, १८ फागुन २०७४, ०८ : ४८ युवराज गौतम


पहिले नेपाल यति कमजोर थिएन । हेपिएको, दबाइएको र थिल्थिलो पारिएको पनि थिएन । संसारमा हाम्रो शान थियो, मान थियो, गुमान थियो । अभिमान होइन, छुट्टै खालको स्वाभिमान थियो । त्यसैले जर्मन सम्राट विलियम केजरले भनेका थिए– ‘सबै देशका सेनासँग मेरो देशको सेना युद्ध गर्न तत्पर छ तर गोर्खाली (नेपाली) सेना भनेपछि मेरो मुटु थर्किन्छ।’ यसबाट प्रमाणित हुन्छ, नेपाल धेरै समृद्ध नभए पनि सम्मानित थियो।

बिपी कोइरालाले भनेका छन्– ‘हामीहरूको तिब्बतसँग एउटा अपरदेशीय सन्धि थियो । दलाई लामाले बीस हजार रुपियाँ हरेक वर्ष हामीलाई दिन्थे । घोडा, बक्खु इत्यादि अरु के के दिन्थे । यो एक प्रकारको अर्धराज्य (सुजरेन्टी) को चिनोका रूपमा थियो, त्यस देशमा नेपालको सम्प्रभुताको चिह्न । कानुनी स्थिति के थियो भने तिब्बतमा कसुर गरे पनि कुनै नेपालीमाथि त्यहाँको कानुनअन्तर्गत तिब्बतको अदालतमा मुद्दा चल्न सक्दैनथ्यो । यो दुईवटा अधिकार नेपालको थियो तिब्बतमा ।’ (राजा, राष्ट्रियता र राजनीति : विश्वेश्वरप्रसाद कोइराला)

संघीयता नामको डरलाग्दो ‘अनकोन्डा’ पाल्न नेपाललाई पनि धौ धौ पर्ने देखिएको छ । प्रतिनिधिसभा, राष्ट्रियसभा, सातवटा प्रदेश (प्रान्त) लगायत हजारौँ राजनीतिकर्मी र प्रशासनकर्मीका निम्ति खर्च हुने वार्षिक अर्बौं रुपियाँ कुन बगैँचामा फल्छ ? आज धेरैले नबुझेको कुरा यही हो ।

चीनको शासन प्रणालीबारे त्यहाँका राष्ट्रपति सि चिनफिङले लेखेका छन्– ‘सन् १७०८ मा छिङ शासनकालमा पनि केही विदेशी पादरीलाई चीनको नक्सा बनाउन लगाइयो। त्यो महत्वपूर्ण नक्सा (द म्याप अफ इम्पेरियल चाइना) लाई अति गोप्य वस्तुझैँ कसैले देख्न नपाउने गरी सम्राटको गोदाममा राखियो । देशको सामाजिक–आर्थिक विकासमा त्यसले कुनै प्रभाव पार्न सकेन । तर नक्सा बनाउने पश्चिमी पादरीहरूले त्यसलाई लगेर छापे । परिणामस्वरूप चिनियाँ जनताले भन्दा चीनको भूगोल पश्चिमाहरूले धेरै राम्ररी बुझ्न सके।’ 

राष्ट्रको गोपनीयता, इतिहास, सुरक्षा प्रणाली, राजनीतिक पद्धति तथा भविष्यबारे गम्भीर भएर इमानदारीपूर्वक काम गर्न नसक्ने राजनीतिज्ञ र राज्यसंयन्त्रका निम्ति हरेक वर्ष अर्बाैं रुपियाँ खर्च गरिए पनि त्यो सबै व्यर्थ सावित हुँदैछ, नेपालमा । पच्चीसौँ वर्षसम्म पटकपटक सरकार परिवर्तन हुँदा संक्रमणकाल लम्बिएको ‘ठूला’ नेताले नै स्वीकार गरिरहेका छन् भने राज्यसंयन्त्रभित्र विदेशी दबाब र प्रभाव नून÷पानीझैँ मिसिएको पाइन्छ । यसमा तत्काल परिष्कार आउन गाह्रो देखिन्छ । 
राजनीति र कूटनीतिमा विदेशीको शकुनी चाला र इन्द्रजालको प्रभाव बढ्दै गयो भने राष्ट्र सुरक्षित रहँदैन । राष्ट्रका बारेमा चिन्ता गर्नेहरूको स्वतन्त्र संस्था ‘राष्ट्रिय बौद्धिक केन्द्र’ ले ललितपुरमा केही दिनअघि आयोजना गरेको बुद्धिजीवी सम्मेलनमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रजातन्त्रले सबैलाई समेट्न सकेमात्र स्थिरता, शान्ति, एकता र समृद्धि हुने तर्क सुनाउँदा अधिकांशले त्यस कथनको समर्थन गरे । पूर्वउपकूलपति केदारभक्त माथेमा, पूर्वएआइजी रविराज थापा, राजनीतिज्ञ वृशेषचन्द्र लाल, पत्रकार अर्जुन बिष्ट र यो पंक्तिकारसमेत वक्ता रहेको सो कार्यक्रममा बाह्य दबाब–प्रभावबाट राष्ट्रलाई कसरी तटस्थ राख्ने भन्ने विषयमा लामो छलफल भएको थियो । धेरै बुद्धिजीवीको तर्क थियो– ‘राष्ट्रिय भावनाबेगर राष्ट्रिय एकता सम्भव हुँदैन । तर अहिलेको अवस्था हेर्दा नेपालको राष्ट्रिय एकता सुदृढ बन्दै जान्छ भन्ने आधार पनि देखिँदैन । त्यसैले स्वाभिमानको रक्षा गर्नैपर्छ।’

‘विदेशीसँग आर्थिक सहायता लिएर सरकारी कर्मचारीलाई तलबभत्ता खुवाइने’ खबर प्रकाशित भएपछि कतिपयले नेपाल क्रमशः आर्थिकरूपले टाट पल्टिने हो कि भन्ने चिन्ता व्यक्त गर्न थालेका छन् । विदेशीको अन्नपानीमा काम गर्नुपरेपछि उनीहरूको स्वार्थ प्रवल हुने सम्भावना त्यत्तिकै छ । बितेका सोह्र सत्र वर्षमा १२ पल्ट करको दर बढाएर ‘तिजको दर’ खाइरहेका ग्रिसका नेता र उच्चपदस्थ कर्मचारीलाई चुनौती दिँदै लाखाँै जनताले एथेन्समा प्रदर्शन गरेका दृश्य हामीले टेलिभिजनका पर्दाहरूमा देख्याँै । अन्तर्राष्ट्रिय मुद्रा कोषले कालो सूचीमा राखे पनि त्यहाँका नेताले कालो मुख लगाएनन् । युरोपियन युनियनको कंगाल सदस्य बनेको छ ग्रिस । युनियनका धेरै राष्ट्र धनाढ्य छन् तर युरोपको लुतो बन्यो ग्रिस सरकार । दरिद्रताले गर्दा सुके लुतो कन्याउँदै हैरान भएको छ त्यहाँका हर्ताकर्तालाई।

बुद्धिमानहरू अरुबाट शिक्षा लिन्छन्, मूर्खहरू आफैँ चेतेपछि मात्र निद्राबाट ब्युँझिएझैँ झसङ्ग हुन्छन्। संघीयता नामको डरलाग्दो ‘अनकोन्डा’ पाल्न नेपाललाई पनि धौ धौ पर्ने देखिएको छ। प्रतिनिधिसभा, राष्ट्रियसभा, सातवटा प्रदेश (प्रान्त) लगायत हजारौँ राजनीतिकर्मी र प्रशासनकर्मीका निम्ति खर्च हुने वार्षिक अर्बौं रुपियाँ कुन बगँैचामा फल्छ ? आज धेरैले नबुझेको कुरा यही हो । अधिकांश गरिबका छोराछोरीले विदेशबाट पठाउने गरेको रकमबाट केही थुत्ने, घरजग्गा कर बढाउने, उद्योगपति, व्यापारीलाई करको भार थप्ने, दान मागेर तलब खुवाउने र विदेशीका हरेक सर्त मानेर संघीयता पाल्ने ‘अठोट’ लिएका छन् भने राज्यका सञ्चालकहरू गठेमंगलको घन्टाकर्ण बन्ने निश्चित छ।

नेपालमा २०१७ साल पुसमा राजनीतिक दलमाथि प्रतिवन्ध लागे पनि ब्रिटेनकी महारानी एलिजावेथले सोही वर्ष फागुनमा नेपाल भ्रमण गरिन् । त्यसपछि पश्चिमका प्रजातन्त्र समर्थक राष्ट्रहरूले दिने आर्थिक सहायता झन् वृद्धि भयो । चीन र रुस जस्ता कम्युनिस्ट राष्ट्रले समेत सहायता गर्न थाले । कूटनीति हाँक्न उदात्त दृष्टिकोण, चातुर्य, विवेक र स्वाभिमानको खाँचो हुन्छ भन्ने कुरा राजा महेन्द्रले प्रमाणित गरेर देखाए । राजा महेन्द्र ब्रिटेनकी महारानीबाट भिक्टोरिया मालाले सुशोभित भए भने महारानी एलिजावेथ ‘महेन्द्रमाला’ विभूषणबाट । कूटनीतिमा ठूला राष्ट्रको समकक्षी वा बराबरी देखिने त्यस्तो क्षमता सबैमा हुँदैन । जाइफलसँग हर्रो साटेर कूटनीति हुँदैन । हीरा र रुवि चिन्ने खुबी पनि हुनुपर्छ । लंगौटीमा बम च्यापेर खोलैखोला दौडिने छापामार पनि नेपालका नेता र ‘कूटनीतिज्ञ’ भनिएका छन् । यस्तो कन्तबिजोगले हामीलाई संसारका सामु लज्जित बनाएको छ । गोन्जालोतन्त्रको त्रास बढाएको छ।

कटु सत्य के हो भने नेपाल असफल राष्ट्र भएमा युनिपम, अनमिस, ओनुब, युनिफिल, अनमिल वा नीलो टोपी लगाउनेहरूको बथान कुनै पनि बहानामा कुनै पनि दिन नेपाल पस्न सक्छ । सिरियाको घटना साक्षी छ, कतिपय शक्तिशाली राष्ट्र आफ्ना स्वार्थपूर्तिका निम्ति ‘आफैँ धामी, आफैँ बोक्सी’ भइदिन्छन् । कूटनीति, राजनीति र राष्ट्रसंघका बडापत्रहरू त्यसबेला अर्थहीन बन्न पुग्छन्।

मेडिटेरियन सागरछेउको पश्चिम एसियाको राष्ट्र सिरिया कैयन् वर्षदेखि अशान्त छ । मारामार गर्नेहरू त्यहीँका बासिन्दा हुन् तर निर्देशक अरु नै छन् । जसरी खम्पा विद्रोह गराएर नेपाली भूमि प्रयोग गर्दै अमेरिकी गुप्तचर संस्था सिआइएले तिब्बतमा आगो सल्काउन खोज्यो, त्यस्ता प्रयोग पटकपटक भएका छन् । माओवादीले दश वर्षसम्म भारत र पश्चिमा राष्ट्रहरूको डिजाइनमा नेपालको परम्परागत शक्ति, हिन्दु राष्ट्रको पहिचान तथा २०४७ सालको संविधान समाप्त पार्न जुन खेल खेल्यो त्यो आफँैमा रहस्यमय थियो भन्ने कुरा समयले प्रमाणित गरिरहेको छ।

लेवनान, टर्की, इराक र जोर्डनसँग नजिक सिरियामा फैलेको गृहयुद्धका पछाडि पनि ‘ठूला’ भनिएका राष्ट्रहरूले अनेकौँ खेल खेलेका छन् । हजारौँ जनता मारिनु र लाखौँ विस्थापित हुनुमा राष्ट्रपति बसर अल असद मात्र कसुरदार छैनन् । राष्ट्रलाई कमजोर बनाउन विदेशीले जात, धर्म, क्षेत्र वा सम्प्रदायका नाममा आगो लगाइदिन्छन् भन्ने धेरै देशमा देखिएको छ। 

कैलालीमा आठ सयवटा भन्दा धेरै गैरसरकारी संस्था दर्ता हुनु र तीमध्ये कैयन्ले रहस्यमय गतिविधि गर्दा पनि चाल नपाउने गुप्तचर, प्रहरी, प्रशासन आदिले आफ्नै कछाड सल्केको थाहै पाएका छैनन् । नेपालमा झण्डै पचास हजार जति गैरसरकारी संस्था कार्यरत छन् भने उनीहरूलाई अन्नपानी दिने धेरैजसो अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका गतिविधि पारदर्शी छैनन् । त्यसैले राष्ट्रिय सुरक्षाका पण्डितहरूले यस्ता कुरामा विचार पु¥याएनन् भने भोलि गएर नेपाल अर्को सिरिया बन्न सक्छ। 

समयमै सूचना नपाएको भए ‘पाण्डव’ लाक्षगृहमै पोलिने थिए । सफल र सक्षम शासक–प्रशासकहरूले मात्र सही सूचनाको महत्व बुझ्न सक्छन् । गोला, बारुद, बन्दूक, लाठी वा हतियार होइन, विचारको युद्धमा प्रवेश गरेको छ दुनियाँ । मनोवैज्ञानिक युद्ध चलाउने डा. गोयवेल्स हुन् वा दोस्रो विश्वयुद्धपछि रेडियो, टेलिभिजन र पत्रपत्रिकामार्फत आफ्ना विचार प्रवाह गर्ने आधुनिक गोयवेल्सहरू, सबैको लक्ष्य दुनियाँमा प्रभाव फैलाउने नै हो। 

हाम्रा पुर्खाले नेपाल बचाउन ठूलो उत्सर्ग गरेका छन् । त्यो इतिहास हामीले विस्तारै बिर्सिंदै गएका छौँ । काजी कालु पाँडे, काजी रामकृष्ण कुँवर, काजी वंशराज पाँडे, काजी केहरसिंह बस्न्यात, काजी अभिमानसिंह बस्न्यात, काजी दामोदर पाँडे, भीमसेन थापा (कमान्डर–इन–चिफ उपाधि ग्रहण गर्ने प्रथम व्यक्ति), काजी रणजंग पाँडे र कमान्डर–इन–चिफ माथवरसिंह थापालगायतबारे युवा पुस्तालाई शिक्षा दिँदा राष्ट्रिय भावना जागृत हुने डरले इतिहास छोपिएको छ ।
राष्ट्रको इतिहास सेनाको इतिहाससँग जोडिएको छ नेपालमा । गोरखाबाट सुरु हुन्छ, आधुनिक नेपालको इतिहास । त्यसैले जनसुकै देशमा पुगे पनि ‘गोर्खाली’ कहलिएका छन् नेपालीहरू । मुसलमानका लागि मक्का–मदिना, इसाईको बेथलेहम वा क्याथोलिक धर्मको केन्द्र भ्याटिकनसिटीझँै गोर्खाको महŒव छ नेपालीलाई । एकपल्ट गोर्खा पुग्नैपर्छ, हेर्नैपर्छ र बुझ्नैपर्छ भन्ने चेतना जागृत गर्न सकेको भए राष्ट्रियता र स्वाभिमानको दीपकमा तेल थप्न सकिन्थ्यो । दुर्भाग्यको कुरा, नेपालका राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको सालिक फुटाउन अघि सर्नेहरू नै राष्ट्रका मालिक बन्न पुगे । देवभूमि नेपालमा देवीदेवता र धर्म नमान्नेहरूलाई ‘महान् नेता’ भन्दै जय÷जयकार गरियो । राष्ट्रनिर्माण गर्न अहर्निश योगदान गर्नेका सन्ततिलाई किनारा लगाइयो।

राष्ट्रका यावत् अंगमा आज चौतर्फी हमला भइरहेको छ । राष्ट्रलाई खोक्रो पार्न खोजिएको छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई आफ्ना इसारामा सञ्चालन गर्न खोज्नेहरू सेनालाई समेत क्षतविक्षत तुल्याउन सफल भए भने नेपाल अर्को सिरिया, अफगानिस्तान, यमन, इराक, सुडान वा लेवनान बन्न सक्छ । बोस्निया–हर्जगोभिना, क्रोयसिया वा कंगो बन्न सक्छ । राजनीतिक स्थिरता, कूटनीतिमा परिपक्वता र राजनीतिक नेताहरूमा ‘सबैलाई समेट्ने’ चेतना आएन भने दलहरूको दलदल, छलकपट र षड्ययन्त्रले नेपाल खरानी बन्न सक्छ।

क्यालेन्डर बदलेझैँ सरकार वा राजनीतिक पद्धति परिवर्तन गर्नेहरूले बितेका झन्डै तीस वर्षमा राष्ट्रलाई झन् कंगाल बनाएका छन् । वाचा गर्नेहरू आउँछन्, जान्छन् तर उनीहरूमध्ये राष्ट्र र जनताप्रति साँच्चै इमानदार कतिजना छन् ? मूल प्रश्न यही हो । तसर्थ, कसले के के भन्छन्, त्यो महŒवपूर्ण होइन । राष्ट्र र जनताको स्वाभिमान र उत्थानका लागि जिम्मेवार व्यक्तिहरूले के गर्छन्, त्यसका आधारमा राजनीतिक पद्धति र नेतृत्वको मूल्यांकन हुन्छ।

भाषण, वक्तव्य र घोषणापत्रका आधारमा होइन, कर्मका आधारमा मानिसको मूल्यांकन हुन्छ । महाकाली सन्धिमा एमाले, कांग्रेस, राप्रपालगायतले राष्ट्रघात गरेकै हुन् । ‘तटस्थ बस्नू’ भन्ने राजा वीरेन्द्रको निर्देशन (हुकुम) विरुद्ध राष्ट्रियसभाका कतिपय मनोनीत सांसदहरू भारतकै हितमा समर्पित भए । त्यसबेला लागेको कलंकको कालो टीका अझै मेटिएको छैन। 

राष्ट्र असफल भयो भने अब कसैले क्षमा पाउने छैनन् । घरघरमा जागरण आउन थालेको छ । भारतले नाकाबन्दी लगाउँदा ‘नाकाबन्दी भएकै हो’ भन्न नसक्ने नेपाली कांग्रेसको लाछीपना देखेर त्यो दललाई जनताले किनारा लगाइदिए । राजतन्त्र, हिन्दु अधिराज्य र परम्परावादी जनमत बिर्सेर जसको गाडी देखे पनि चढ्ने बानी परेको राप्रपा आज टुहुरो बालकझँै बनेको छ । सत्ताको नेतृत्व गर्न आएको एमालेले दल होइन, राष्ट्र सर्वोच्च र सर्वोपरि हुन्छ भन्ने कुराको हेक्का राख्न सकेन भने केपी ओलीले नेतृत्व गरेको दल खरी झरेको मादल बन्न सक्छ । सन् यत् सेनको कोमिन्ताङले पश्चिमाहरूको पुच्छर समातेर फर्मोसा टापुमा सरकार त बनायो तर चीनका जनताका लागि ठुस्स गनायो । तसर्थ विदेशीलाई रिझाउने र जनतालाई कज्याउने दुःस्वप्न त्यागेर राष्ट्र र जनताका हितमा काम गर्नेमात्र जनताका साथी ठहरिन सक्छन्। 

‘भवतु सब्ब मंगलम्’ र ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत्’ भन्ने संस्कारमा हुर्केका हामी नेपालीले राष्ट्र र जनतालाई दलदलमा र खण्डखण्डमा विभाजन गरेर राष्ट्रिय एकता खल्बल्याउन खोज्नेहरूसँग सतर्क हुनै पर्छ । आर्थिक समृद्धि त साम्राज्यवाद र उपनिवेशवादको छत्रछायाँमा पनि सम्भव हुन्छ । तर स्वाभिमान, राष्ट्रिय एकता र अखण्डतासहितको स्वावलम्बनको बाटो हिँड्नु छ हामी। अहिले हिँडिरहेको बाटो परलोक मार्ग हो । यसले राष्ट्रको अस्तित्वलाई निष्प्राण बनाउन सक्छ । सधैँका लागि कालो टीका लाग्न सक्छ। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...