८ वैशाख २०८१ शनिबार
विचार

सिरिया संकट

अहिले संसारका आँखा सिरियातर्फ सोझिएका छन् । केही दिनदेखि टेलिभिजनका पर्दा र इन्टरनेटका भित्ता बमले क्षतविक्षत सिरियाली बालबालिकाका तस्बिरले रंगिएका छन् । सात वर्षदेखि सिरियामा जारी गृहयुद्धको नांगो रूप देखेर विश्व स्तब्ध छ । सिरियाका दृश्य हेर्ने र देख्ने जोकोही मन थामेर बस्न सकिरहेका छैनन् । अरब वसन्तको बाछिटाले सिरियालाई सन् २०११ मा छुन पुगेको थियो । चार दशकभन्दा लामो समयदेखि निरंकुश शासन चलाइरहेको बसर अल असद सत्ताविरुद्ध बागी युवाले सडकमा ‘जनताको इच्छा ः निरंकुश शासनको अन्त्य’ भन्ने नारा घन्काएका थिए । लोकतन्त्रका लागि सामाजिक सञ्जालमार्फत सुरु भई सडकमा पोखिएको आवाजलाई बसर सत्ताले दबाउन थाल्यो । कैयौं क्रान्तिकारी जेलमा कोचिए, मारिए र बेपत्ता पारिए । सत्ताको निरंकुश शैलीले शान्तिपूर्ण रूपमा सुरु भएको त्यही विद्रोह हिंसात्मक बन्न पुग्यो । सिरियालीको लोकतन्त्र प्राप्तिको चाहनालाई सघाउने नाममा पश्चिमी शक्तिराष्ट्र र अरबका क्षेत्रीय शक्तिहरूले हतियारको व्यापार गर्न थाले । विद्रोहीका हातमा अमेरिकी र युरोपेली रकेट एवं मोर्टार थमाइए । शान्तिपूर्ण आन्दोलनमै दमन गरिरहेको बसर सत्तालाई विद्रोहीले हतियार समाएपछि मान्छे मार्ने लाइसेन्स मिले बराबर भयो । बसर सत्ताले रासायनिक हतियारसमेत प्रयोग गर्दै मान्छे मार्न थाल्यो । बसर सत्तालाई रसिया र इरानजस्ता राष्ट्रले पर्दापछाडिबाट सघाउन थाले। 

अहिले बरदामा स्वच्छ पानी होइन, सिरियालीको रगत बगिरहेको छ । तर, न बसर सत्तालाई बरदामा बगेको रगतको मतलब छ न त शक्तिराष्ट्रहरूलाई । सिरिया संहारका दृश्यले मथिंगल हल्लाएपछि संसारभरका मानवतावादीले आफ्ना स्वर मुखरित गरेका छन् । तिनले आआफ्ना माध्यमबाट सिरिया नरसंहारको विरोध गरिरहेका छन् ।

लोकतन्त्रका लागि शान्तिपूर्ण रूपमा जनता सडकमा उत्रेको केही महिनाभित्रै सिरियामा नरसंहारको सिलसिला सुरु भएको थियो । आवरणमा सिरियाको वर्तमान सत्ता र विद्रोहीबीच भिडन्त देखिए पनि शक्तिराष्ट्रहरू सिरियाको भूमि प्रयोग गरी छद्मयुद्ध लडिरेका छन् । अमेरिका र युरोपेली मुलुक एकातिर छन् भने रसिया र चीन अर्कोतर्फ । साउदी अरेबिया र उसका सहयोगी एवं इरान र उसका सहयोगीलगायतका क्षेत्रीय शक्तिराष्ट्रहरू पनि आआफ्नो कित्तालाई सघाइरहेका छन् । पहिलो र दोस्रो विश्वयुद्धमा जस्तो सिरियामा शक्तिराष्ट्र आमनेसामने भएर लडेका देखिँदैनन् । तर, सिरियाली संस्थापन र विद्रोहीबीचको द्वन्द्वमा तिनकै पैसा, हतियार र रणनीति प्रयोग भइरहेको छ । तिनीहरू आफूबीच लड्न आफ्नो भूमि होइन, सिरियालाई प्रयोग गरिरहेका छन्, आफ्ना जनता होइन सिरियालीलाई मारिरहेका छन् । शक्तिराष्ट्रकै कोपभाजनमा सिरियाका सुन्नी, सिया र कुर्द विभाजित छन् । एकअर्काका विरुद्ध लड्दै आएका छन् । सत्ता वा विद्रोहीलाई सघाउने नाममा सिरियामा कहिले रसिया, कहिले टर्की त कहिले अमेरिकाले बम खसाइरहेका छन् । तिनको चेपुवामा परेका छन् निहत्था सिरियाली नागरिक। 

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संगठनका तथ्यांकहरूमा साढे दुईदेखि पाँच लाखसम्म सिरियालीले युद्धको भुमरीमा परेर ज्यान गुमाइसकेका छन् । कैयौं महिला बलात्कृत र बालबालिका घाइते भएका छन् । विभिन्न संस्थाले हालै सार्वजनिक विवरण उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार युद्धबाट बचेर शिविरमा पुग्न सफल महिला र बालिकामाथि राहत वितरणकर्ताले समेत बलात्कार र यौन दुव्र्यवहार गरिरहेका छन् । भोक मेट्ने दुई टुक्रा रोटीका लागि समेत आफ्नो यौवन साट्न महिला बाध्य पारिएका छन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मार्फत गरिएको युद्धविरामको समेत सिरियामा पूर्णतः पालन भएको छैन । मान्छेहरू भोक, रोग र शोकले ग्रस्त छन् । कुनै बेला मानव सभ्यताको केन्द्रबिन्दु सिरियामा अहिले सभ्यताका सबै अंश खण्डहर बन्दैछन् । आदिमकालमा मानव बस्ती बसेका स्थानमध्ये सिरियाको दमास्कस मात्र त्यस्तो स्थान हो, जहाँ आजसम्म पनि मानव बस्तीले निरन्तरता पाएको छ । काठमाडौंको बीचमा बग्ने बाग्मतीजस्तै दमास्कसको बीचमा बग्ने बरदा नदी आदिम कालदेखिको मानव सभ्यताको साक्षी हो । तर, अहिले बरदामा स्वच्छ पानी होइन, सिरियालीको रगत बगिरहेको छ । तर, न बसर सत्तालाई बरदामा बगेको रगतको मतलब छ न त शक्तिराष्ट्रहरूलाई । सिरिया संहारका दृश्यले मथिंगल हल्लाएपछि संसारभरका मानवतावादीहरूले आफ्ना स्वरहरू मुखरित गरेका छन् । तिनले आआफ्ना माध्यमबाट सिरिया नरसंहारको विरोध गरिरहेका छन् । दशक लामो गृहयुद्ध र त्यसपछिको अर्को दशकभरको संक्रमणबाट गुज्रेर नेपाल अहिले स्थिरता उन्मुख भइरहेको छ । यसबेला सिरियामा देखिएको मानवीय संकटबाट नेपालले सिक्नुपर्ने मुख्य पाठ भनेकै कसरी मुलुकलाई शक्तिराष्ट्रको खेल मैदानबाट जोगाउनुपर्छ भन्ने हो । स्थिरतातर्फ उन्मुख नेपाललाई पनि विभिन्न शक्ति समूहले आफ्नो स्वार्थपूर्तिको खेलमैदान बनाउन खोजिरहेकै छन्, जसप्रति सरकार र राजनीतिक दलहरुले हेक्का राख्नैपर्छ। 

प्रकाशित: १७ फाल्गुन २०७४ ०५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App