४ वैशाख २०८१ मंगलबार
विचार

उत्थान र पतनको सन्धिविन्दु

प्रदेशसभा र संघीय निर्वाचनमा भएको अनपेक्षित पराजयका कारण लागेको चोटले अहिले नेपाली कांग्रेस उत्थान र पतनको सन्धिविन्दुमा उभिन पुगेको छ । प्रतिपक्षको सशक्त भूमिका खेल्नुपर्ने र अर्को ५ वर्षपछि गुमेको साख पुनस्र्थापित गर्नुपर्ने रणनीति निर्माण गर्ने समयमा कांग्रेसहरू चौबाटोमा उभिएको चौमुखी बग्गीको अवस्थामा छन् । कांग्रेसको मुख चारतिर फर्केको देखिन्छ भने कसैसँग पनि आफ्नो बाटो पहिल्याउने र सबैको मुख एउटै दिशामा फर्काउन सक्ने सामथ्र्य देखिएको छैन । आफूले सोचेअनुरूप मात्र पार्टी अघि बढाउने मान्यतासाथ आआफ्नो सामथ्र्य परीक्षण गर्ने काममा यतिखेर कांग्रेसका नयाँ÷पुराना पुस्ताका दिग्गज नेता सक्रिय भएका छन्। 

यसबेला निर्वाचनमा अद्वितीय सफलता हासिल गरेको वाम गठबन्धनको भविष्यमा हुनसक्ने असफलता वा विभाजनबाट मात्र आफ्नो शक्ति विस्तार हुन्छ भन्ने बौद्धिक विलासमा रमाउने र यथार्थताबाट निकै टाढा भ्रममा बसेका कतिपय कांग्रेसले आफ्नो मति क्षयीकरण गरिरहेको पाइन्छ । अर्काको पतनमा आफ्नो उत्थान देख्ने मतिले पार्टी र पार्टीको विचारलाई अधोगतिमा नै डोर्‍याउने छ । पार्टीभित्र वर्तमानमा उत्पन्न असन्तोषलाई यसै अर्थमा सामान्यीकरण गर्ने प्रयास भइरहेको भेटिन्छ । पहिलो गाँसमै झिंगा भनेझैँ प्रचण्ड जनमत पाएको वाम गठबन्धनले पहिलो दिनदेखि नै विवाद सामना गर्नुपरेको छ । विधि, विधान र संविधानको भाषा सिकाउँदै पूर्ववर्ती शेरबहादुर देउवाको सरकारलाई नैतिकताको पाठ पढाउने एमालेका अध्यक्ष खड्गप्राद ओलीले नेतृत्व गरेको सरकार आरम्भदेखि नै संविधानलाई फोहोरको कन्टेनरमा फाल्न सक्रियपूर्वक लागेको छ। 

निर्वाचनमा अद्वितीय सफलता हासिल गरेको वाम गठबन्धनको भविष्यमा हुनसक्ने असफलता वा विभाजनबाट मात्र आफ्नो शक्ति विस्तार हुन्छ भन्ने बौद्धिक विलासमा रमाउने र यथार्थताबाट निकै टाढा भ्रममा बसेका कतिपय कांग्रेसले आफ्नो मति क्षयीकरण गरिरहेको पाइन्छ ।

कांग्रेसले पुनरुत्थानको बाटो सक्रिय बनाउने हो भने विधिविरुद्ध आरम्भ यसखालको क्रिडा अन्त्यका लागि एकताबद्ध आवाज उठाउनुपर्ने समय थियो यो । निष्पक्ष रहनुपर्ने राष्ट्रपतिले एमालेको उपाध्यक्षको तहमा मात्रै योग्य भएको प्रमाणित गरिन् । देउवा सरकारका सिफारिस रद्दीको टोकरीमा फालेर उनले एमाले नेतृत्वको सरकारले गरेको सिफारिसलाई आधा घण्टामै पूरा गरिन् । राष्ट्रिय सभामा देउवा सरकारले गरेको सिफारिसलाई उनले एक हप्ताभन्दा बढी समय कुहाएर राखिन् र आफ्नै सहयोगीलाई समेत समावेश गरिएको एमाले नेतृत्वको सिफारिसलाई तुरुन्त कार्यान्वयन गरिन् । यसरी एमालेका पक्षमा आफ्नो पक्ष जाहेर गरेपछि उनी अबका दिनमा सबै नेपालीकी साझा राष्ट्रपति हुने योग्यताबाट च्यूत भइन् । उनले देउवाले राजीनामा दिन लागेको थाहा पाएपछि तुरुन्त एमालेबाट आएको प्रधानमन्त्री पदको दाबीलाई क्षणभर ढिला नगरी नियुक्तिको प्रक्रियामा लगेको विषय त झन् गम्भीर छ । उनी देउवालाई पदबाट बर्खास्त गरेको सन्देश दिन चाहिरहेकी थिइन् । तर यो भद्दा खेल देउवाले ठीक समयमा राजीनामा बुझाएपछि आफँै निरस्त हुन पुगेको स्पष्ट छ । यहाँ पनि उनले आफूलाई तटस्थ राख्न सकिनन् । यी मुद्दालाई नेपाली कांग्रेसले देशव्यापीरूपमा उठाउनुपर्ने थियो । 
अहिले पुनः विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिमा दोहो¥याउने कसरत भइरहेको सुनिन्छ । सबै जनताको हुने वाचावन्धन गर्ने र भूल सच्याउन तयार हुने हो भने यसबारे बहस नगर्दा पनि हुन्छ । महिला हुन् र एमाले पार्टीको विचारधाराको लिगेसी उनीसंँग छ । उनी जनताको बहुदलीय जनवादका भाष्यकार मदन भण्डारीकी धर्मपत्नी पनि हुन् । उनले नेपालको धार्मिक भावनाको सम्मान गर्दै सांस्कृतिक धरोहरूको सम्मान गरिरहेकी छिन् । भोलिका दिनमा आउने अरु कुनै राष्ट्रपति सबै नेपालीको हुन्छ कि हँुदैन, कसैले भन्न सक्दैन । तर राष्ट्रपति पद कुनै एक दलको पुतली होइन जसलाई एउटा दलले दिनहुँ खेलाउने काम गरिरहोस् । यस सत्य भण्डारीबाट आत्मसात् हुन्छ कि हुँदैन ? निरन्तर प्रश्न उठिरहेको छ। 

अहिले राष्ट्रियसभाका तीन स्थानमा भएको मनोनयनलाई लिएर अदालतमा मुद्दा चलिरहेको छ र अदालतले उनीहरूको शपथ रोकेको छ । विडम्बना के छ भने अदालतले शपथ ग्रहण रोकेका व्यक्तिलाई मन्त्री बनाइएको छ । विधि, विधान र नैतिकतालाई सोकेसको गुडिया सम्झन थालिएपछि जे पनि हुन्छ भन्ने यो दर्विलो उदाहरण हो । यस्ता विषयमा कांग्रेसले चुनौती दिन सक्नुपथ्र्याे । तर गन्तव्यसमेत थाहा पाउन छाडेको आफ्नो सानो पोखरीका चार कुनामा बसेर पाखुरा सुर्कन तयार कांग्रेसको ध्यान यता पुगिरहेको छैन।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म सबै परिवर्तनको निर्णायक शक्ति र लोकतान्त्रिक मान्यताको मूल मियो भए पनि सातदशक लामो इतिहासको ब्याज खाएरमात्र कांग्रेसको उत्थान अब सम्भव छैन । निर्वाचनमा कांग्रेस हार्नुमा धेरै कारण छन् । यसमध्ये तीनोटाचाहिँ बिर्सनै हुन्न–एमाले–माओवादी गठबन्धन, भारतीय नाकाबन्दी र त्यसबेला कांग्रेसमा देखिएको अकर्मण्यता, गुटबन्दी, अराजक, अहंकारयुक्त चरित्र र व्यवहार । यी कारणबारे सही विश्लेषण गरी आत्ममूल्यांकनसाथ  आफूलाई उपयुक्तरूपमा दिशान्तरण नगरेसम्म कांग्रेसको कुनै भविष्य छैन । नेपाल नीतिमा भारतको गलत चिन्तनको परिणाम नेपालमा साम्यवादी शक्तिको विस्तार र वर्चस्व स्थापित भएको हो । यसमा पश्चिमा लगानी पनि थपिएको छ । अहिले सधैँ तटस्थ रहने र नेपालको सदा भलो चिताउने मित्रराष्ट्र चीनसमेत वाम गठबन्धनको पिठ्युँमा धाप मार्न सक्रिय छ । भिन्न स्वार्थ संवाहकहरू यसरी वामशक्तिका पक्षमा तीन कोणबाट सहयोगी भएपछि नेपाली कांग्रेसको भविष्यमाथि प्रश्न उठ्नु स्वाभाविक छ। 

जतिसुकै प्रयत्न गरे पनि आन्तरिक शक्ति सन्तुलन र जनमतको समर्थन मात्रका भरमा कांग्रेसले आफूलाई सशक्त गराउने अवस्था छैन । जनमत सिर्जना गर्न पनि आदर्श, सिद्धान्त, कार्यक्रम र रणनीति चुस्त हुनुपर्छ । उसले समयानुकूल आफूलाई समर्थ गराउने हो भने परम्परागत ढाँचामा परिवर्तन गर्नुपर्छ । नेताको छवि र कार्यकुशलताले पार्टीलाई लोकतान्त्रिक पद्धतिअनुरूप हाँक्न सकेमा त्यो सुनमा सुगन्ध हुनेछ । नरेन्द्र मोदी र अमित शाहको व्यक्तित्वले धार्मिक, आध्यात्मिक संस्कृतिको आधारशीला निर्माण गर्दै भारतको समृद्धिमा राजनीतिको प्रयोग गरिरहेको छ । नेपाली कांग्रेसका लागि भारतको आजको सत्तासन्तुलनको अवस्था अनुशीलनयोग्य छ। 

कांग्रेसले वामपन्थी वा साम्यवादीभन्दा आफूलाई कुन अर्थमा पृथक देखाउने हो, त्यो तय गर्नु जरुरी छ । अहिले साम्यवादीहरूले प्रत्यक्षमा समावेसी लोकतन्त्र, धर्म निरपेक्षता, गणतन्त्र, संघीयता, समानुपातिक निर्वाचन र आवधिक निर्वाचन प्रणाली, मानव अधिकार र स्वतन्त्रता सबै स्वीकार गरेका छन् । परोक्ष लक्ष्य फरक हुन सक्छ । वैज्ञानिक साम्यवाद उनीहरूको सपना हो । यसैकारण एकता गर्दासमेत उनीहरूले आफ्नो प्रस्तावित पार्टीमा कम्युनिस्ट नाम र अन्तर्राष्ट्रिय झण्डा यथावत् राख्ने निर्णय गरेका छन् । परोक्ष लक्ष्य हुन सक्ने शंका यसैबाट पुष्टि हुन्छ । तर लोकतन्त्र र यसका मूल्यहरूको रक्षा गर्न पूर्ण वचनबद्ध कांग्रेसले आफूलाई समर्थ बनाएसम्म साम्यवादीको त्यो परोक्ष लक्ष्य पूरा हुन सक्दैन । यस समयमा कांग्रेसमा सभापति शेरबहादुर देउवाको असफल, असमर्थ नेतृत्व र उनीविरुद्ध उत्पन्न असफल र असमर्थ आकांक्षाबीचको द्वन्द्व अप्राकृतिकरूपमा सतहमा आएको छ । यो निकट भविष्यमा हुन गइरहेको संसदीय दलको नेता चयनका सन्दर्भमा गैरलोकतान्त्रिक संस्कृतिका रूपमा प्रमाणित हुने क्रममा देखिन्छ । यसको प्रारम्भ केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले गरिसकेका छन् । उनले यही अवस्था रहेमा पार्टी विभाजन हुनेसम्मको संकेत गरेका छन्। 

मध्यक्रमका नेता प्रकाशमान सिंहले देउवाविरुद्ध उम्मेदवारी घोषणा गरेका छन् भने सर्वसम्मत भएको अवस्थामा आफू नेतृत्व लिन तयार रहेको बिपीपुत्र डा. शशांकले बताएका छन् ।  संसदीय दलको नेता हुने गुण र सामथ्र्य यी कसैमा पनि देखिँदैन । देउवाबाट त अहिलेको संसद्मा कांग्रेसको वैचारिक, परिघटनात्मक, नीतिगत कुनै पनि पक्षको प्रस्तुति आश गर्न सकिँदैन । वामशक्तिलाई संसद्मा पूर्ण चुनौती दिन सक्ने, वाक्पटु र अध्ययनशील नेताले मात्र संसदीय नेतृत्व धान्न सक्नेछ । यसै सन्दर्भमा नेपाली कांग्रेसको पुनर्जागरण अभियानलाई युवावयको पुस्ताले तीव्रता दिएका छन् । तर त्यो पुस्ता पनि गुट निरपेक्ष देखिँदैन। 

जुन दिनमा प्रभावशाली युवा नेता गगन थापा र चन्द्र भण्डारीहरू कांग्रेस पुनर्जागरण अभियानका लागि कार्यक्रम गर्दै थिए, त्यही दिन र त्यही समयमा अर्का युवा नेता नवीन्द्रराज जोशीहरू अर्को ठाउँमा कांग्रेसमाथि विमर्श गर्दै थिए । त्यसै दिन पार्टी कार्यालयमा तरुणहरू कांग्रेसको रौचिराको काममा जुटेका थिए र नेपाल विद्यार्थी संघ पनि अर्को स्थानमा थियो । यी फरक स्थान र चिरा किन ? आजको कांग्रेस हेर्दा २०३१ वा २०३२ तिर इटुम्बहालमा भाषण गर्दै पञ्चायतबारे डा. प्रकाशचन्द्र लोहनीले भनेको पंक्ति सम्झना भइरहेको छ । उनले पञ्चायतलाई लक्षित गर्दै भनेका थिए– लथालिंग देशको भताभुंग चाला, जजसले सक्ला उसउसले खाला । कांग्रेसलाई चेतना भया। 

प्रकाशित: १६ फाल्गुन २०७४ ०२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App