७ वैशाख २०८१ शुक्रबार
राजनीति

युवराजको अर्थ

काठमाडौं –  नेपाल राष्ट्रबैंकको गभर्नर हुँदा प्रभावकारी काम गरेर राम्रो छवि बनाएका अर्थशास्त्री युवराज खतिवडा अर्थतन्त्रका सबै परिसूचक नकारात्मक बनेका बेला अर्थ मन्त्रालयको बागडोर सम्हाल्न पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गैरराजनीतिज्ञ खतिवडालाई अर्थ तथा योजनामन्त्रीको जिम्मेवारी दिए।

घरजग्गा कारोबार होस् वा अन्य धेरै पक्षबाट समस्यामा परेको बैंकिङ क्षेत्रलाई बिस्तारै चलाखीपूर्ण तरिकाले ‘ट्र्याक’ मा ल्याएका खतिवडाका लागि आगामी दिन कम चुनौतीपूर्ण छैनन् । मुलुकको समग्र अर्थतन्त्रको तुलनामा बैंकिङ क्षेत्र एउटा सानो पाटो हो । गभर्नरका रुपमा सफल हुँदैमा अर्थमन्त्रीका रुपमा पनि राम्रो काम गर्न सकिन्छ भन्ने छैन । लामो समयदेखि गैरअर्थशास्त्रीले कब्जा गरेको अर्थ मन्त्रालयमा एउटा सफल गभर्नर वा अर्थशास्त्रीको प्रवेशले भने पक्कै आशा जगाएको छ।

मुलुकको अर्थतन्त्रको अहिलेको अवस्था के छ र गर्नुपर्ने काम के के हुन् भन्नेबारे  खतिवडालाई सिकाउनुपर्ने अवस्था छैन । उनी आफैं जानकार छन् । तैपनि नवनियुक्त अर्थमन्त्रीका लागि अहिले प्रमुख रूपमा दुई वटा चुनौती देखिन्छन् । पहिलो, बिग्रिएको अर्थ व्यवस्थालाई पहिलेको अवस्थामा फर्काउनु । दोस्रो, एमालेले देखाएको आर्थिक विकासको लक्ष्य भेट्टाउनु । खतिवडालाई यी दुवै काम गर्न त्यत्ति सहज छैन।

अहिले मुलुकको अर्थतन्त्र समस्यामा छ । अर्थतन्त्रका लागि मेरुदण्ड मानिएको रेमिटेन्स आय गत वर्षभन्दा घटेको छ । सरकारको चालू खाता घाटा गत पुससम्ममा ७५ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।
अर्थतन्त्रका लागि अर्को महत्वपूर्ण पाटो शोधनान्तर अवस्था ६ अर्ब ६६ करोडले घाटामा छ । व्यापार घाटा बढिरहेको छ भने निर्यात वृद्धिदर सन्तोषजनक छैन।

बेरोजगारी बढेको छ । निजी क्षेत्र उद्योगभन्दा व्यापारमा रमाएको छ । सरकारले पुँजीगत खर्च र राजस्व असुली दुवै लक्ष्यअनुसार गर्न सकेको छैन । संघीयताका कारण स्थानीय तहलाई बजेट दिनुपर्दा चालू आवको पहिलो महिनादेखि नै सरकारले आन्तरिक ऋण लिएर खर्च धान्नुपरेको छ । एउटै वाक्यमा भन्दा मुलुकको अर्थतन्त्रलाई अहिले ज्वरो आएको छ तर उठ्नै नसक्ने गरी थलिइसकेको भने छैन । नवनियुक्त अर्थमन्त्रीले पहिले अर्थतन्त्रको यही अवस्थालाई ‘ट्र्याक’ मा ल्याउनुपर्नेछ।

खतिवडाको अर्को चुनौती एमालेले चुनावअघि जारी गरेको घोषणापत्रअनुसार मुलुकको विकास गर्नु हो । एमाले घोषणापत्र निर्माणमा खतिवडा पनि प्रमुख भूमिकामा थिए । घोषणापत्रमा एक दशकभित्र प्रतिव्यक्ति आय ५ लाख रुपैयाँ पुर्याउने,  १५ हजार मेगावाट विद्युत् उत्पादन गर्नेलगायतका अनेकौं आकर्षक नारा राखिएका छन् । मतदाताको मत तान्नका लागि मात्र आकर्षक विकासे नारा राखिएको हो वा गर्न सकिने खालका राखिएको हो ?

अर्थमन्त्री बनेसँगै खतिवडाको अग्निपरीक्षा सुरु भएको छ । उनको खतिवडाको सबैभन्दा कमजोरी अरुको कुरा नसुन्नु हो । गभर्नर हुँदा उनलाई बैंकरहरुका राम्रा कुरा पनि नसुनेको आरोप लागेको थियो । नेपाल विद्युत् प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङ एक्लै दौडिएर केही सुधार गर्न सफल देखिए । तर चुनौतीका चाङमा उभिएका अर्थमन्त्री खतिवडालाई भने यो सुविधा छैन । उनले एक्लै दौडिएर कुनै चामत्कारिक सुधार गर्न सक्ने छैनन्।

खतिवडाले अर्थ मन्त्रालयमा कस्तो टिम बनाउँछन् र कसरी परिचालन गर्छन् भन्ने कुराले नै उनको र मुलुकको सफलता र असफलता निर्भर हुनेछ । पूर्वअर्थमन्त्री बाबुराम भट्टराईले राम्रो टिम बनाएर काम गर्दा मुलुकमै पहिलोपटक ३३ प्रतिशत वृद्धिको राजस्व असुली पनि फेला पार्न सफल भएका थिए । अर्थ मन्त्रालयका अहिलेका उच्च अधिकारी पनि अर्थमन्त्रीले कस्तो टिम बनाउँछन् भनेर चासो दिएर हेरिरहेका छन्।

पूर्वअर्थसचिव रामेश्वर खनालले राजीनामा दिएपछि मुलुकले दह्रो अर्थसचिव आजसम्म पाउन सकेको छैन । यस्तै पहिलो पटक गैरअर्थशास्त्रीका रुपमा वर्षमान पुन अर्थमन्त्री बनेपछि मन्त्रालयको साख पनि क्रमशः गिर्दै गएको छ । त्यस्तै अर्थमन्त्री बनेका शंकर कोइराला, कृष्णबहादुर महरा, विष्णु पौडेल, ज्ञानेन्द्रबहादुर कार्कीलगायतले कुनै छाप छोड्न सकेनन्।

विश्वका कतिपय मुलुकमा गैरअर्थशास्त्रीहरु अर्थमन्त्री बनेर राम्रो काम गरेको उदाहरण भए पनि नेपालले यो अवसर पाउन सकेको छैन । खतिवडाको इमानदारीमा आजसम्म पनि शंका उठाउने ठाउँ छैन । मन्त्री र मन्त्रालय मात्र चोखो बसेर काम गर्ने हो भने तल्लो तहमा बस्नेहरु त्यसै पनि डराउने अवस्था हुन्छ । अर्थमन्त्रीको काम ‘प्रोफेसनल’ मात्र हुन सके अन्य मन्त्रालय  पनि सदाचारको बाटो अवलम्बन गर्न बाध्य हुनेछन्।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले रामशरण महतलाई विश्वास गरेजस्तै अहिलेका प्रधानमन्त्री ओलीले पनि खतिवडालाई विश्वास गरेरै अर्थमन्त्री बनाएका हुन् । मन्त्रालयमा बलियो टिम बनाएर सोहीअनुसार काम गर्ने वातावरण बनाउन सके मात्र खतिवडा र ओलीको विश्वास सफल हुनेछ । पार्टीगत कर्मचारी राखेर काम गर्न सुरु गरे खतिवडाको हबिगत पनि पूर्वजभन्दा माथि जाने छैन ।

प्रकाशित: १५ फाल्गुन २०७४ ०३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App