coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

होलीमा लुगाको फेसन

होली अर्थात् रङहरूको पर्व । पहाडमा आउँदो १७ गते र तराईमा १८ गते होली मनाइँदै छ । फागुपूर्णिमामा रंगहरूसँग खेलेर मनाइने यो पर्व बिग्रिएको सम्बन्ध सुधार्ने अवसर पनि हो।

होली नजिकिएसँगै असनकी शर्मिला खड्कीलाई रङ बेच्न भ्याइनभ्याई छ । उनी १५ वर्षयता सडकमा मौसम र पर्वअनुसारका सामान बेच्दै आएकी छन् । उनको विचारमा होलीको रौनक अघिल्लो वर्षजस्तो छैन । ‘होलीमा रमाउने युवा पुस्ता हुन्, उनीहरू सबै विदेशतिर भएकाले सुनसानै छ,’ उनले भनिन्, ‘त्यसैले पहिलाजस्तो व्यापार पनि छैन ।’ बालबालिकाले पिचकारी तथा रङ किन्ने गरेको उनले सुनाइन्।

असनकै गल्लीमा टिसर्ट व्यापार गर्दै आएका छन्, भक्तपुरका नारायण काफ्ले । केही दिनयता उनी ‘ह्याप्पी होली’ लेखिएका टिसर्ट बिक्री गर्दै आएका छन् । उनी पनि होलीमा पहिलेजस्तो रौनक नभएको बताउँछन् । ‘पहिले होलीभन्दा एक साताअघि ‘ह्याप्पी होली’ लेखिएका टिसर्टको माग धेरै हुन्थ्यो,’ उनले भने, ‘तर, अहिले त्यस्ता टिसर्ट फाट्टफुट्ट मात्रै बिक्री हुन्छन् ।’ बच्चाले यस्तो टिसर्ट बढी किन्ने गरेको उनले बताए । उनका अनुसार नाइलन र कटन गरी दुई प्रकारको टिसर्ट छन् । उनी नाइलन टिसर्ट एक सय ५० र कटन टिसर्ट दुई सय ५० रुपैयाँमा बिक्री गरिरहेका छन् ।
टिसर्ट बेचेको नाफाले शैक्षिक सामग्री
पछिल्लो समय समूहमा मिलेर होली मनाउने प्रचलन बढ्दो छ । कार्यालय, शैक्षिक संस्था तथा विभिन्न निकायमा जमघट भई होली मनाउने चलन बढेको आभा फर क्रिएटिभिटीका अध्यक्ष रसिक राज बताउँछन् । तर, यसपटक उनी फरक ढंगबाट होली मनाउने तयारी गरिरहेका छन् । ‘आभा फर क्रिएटिभिटीले होलीका लागि टिसर्ट तयार गरेकोे छ, जसको मूल्य दुई सय ५० रुपैयाँ छ,’ उनले भने, ‘ती टिसर्ट बिक्रीबाट आएको नाफा डोल्पामा रहेका विद्यार्थीका लागि शैक्षिक सामग्री उपलब्ध गराउने तयारीमा छौँ ।’‘आउनुस् मिलेर सहयोग गरौँ, खुलेर होली मनाऔँ’ नारासहित होली मनाउन लागेको उनले बताए । टिसर्ट किनेर सहयोग गर्न चाहनेले आभा फर क्रिएटिभिटीको फेसबुक पेजमा म्यासेज पठाएर वा सीधै फोन गरेर किन्न सकिने उनले बताए ।
होलीको ऐतिहासिक पक्ष
फागुनमा मनाइने होलीलाई ‘फगुआ’ पनि भनिन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबारअगाडि चीर गाडेपछि होली सुरु भएको मानिन्छ ।
पुराणअनुसार दानव हिरण्यकशिपुले भगवान् विष्णुका भक्त रहेका छोरा प्रह्लादलाई मार्न अग्निकुण्डमा बहिनी होलिका सँगै पठाएका थिए । आगोले नजल्ने वरदान पाएकी होलिका आगोमा जलिन्, प्रह्लाद भने जलेनन् । असत्यमाथि सत्यको जित भएको खुसियालीमा त्यसयता हरेक वर्ष सोही दिन होली मनाइँदै आएको किंवदन्ती छ ।यस्ता छन्,

होलीमा लगाइने लुगाहरू

होली एक–आपसमा अबिर लगाई शुभकामना आदानप्रदान गरेर मनाइन्छ । समयक्रमसँगै होलीमा पनि विभिन्न लुगा लगाउने फेसन बढ्दो छ । यस  पर्र्वमा विशेष गरेर सेतो रङका लुगा लगाउने प्रचलन छ ।
प्रिन्टेड टिसर्ट र ग्रन्ज पेन्ट
होलीमा ‘ह्याप्पी होली’, ‘दाजुभाइ होली’, ‘होली खेलौँ’, ‘रमाइलो होली’, ‘होली है’ लगायत कोट लेखिएका सेतो रङका टिसर्ट लगाउने प्रचलन बढ्दो रहेको व्यापारी नारायण काफ्ले बताउँछन् ।
होलीमा सेतो रङका प्रिन्टेड टिसर्ट र ग्रन्ज पेन्टको राम्रो कम्बिनेसन हुन सक्छ । होली खेल्दा आफूलाई फेसनेबल र युनिक देखाउन चाहनेका लागि राम्रो रोजाइ हुन सक्छ । ‘अचेल होलीमा सेतो रङको टिसर्ट लगाउने फेसन नै भइसक्यो,’ उनले भने ।
विद्यार्थी रोमहर्ष वली यो वर्षको होली कलेजका साथीहरूसँग मिलेर मनाउने योजनामा छन् । ‘मलाई रङदेखि एलर्जी छ, त्यसैले अबिरले होली खेल्छु,’ उनले भने । ‘ह्याप्पी होली’ लेखिएको टिसर्ट लगाएर रमाइलो गरी होली खेल्ने उनले योजना सुनाए ।

पटेला कुर्ता, सुरवाल र सल
होली मनाउन विभिन्न समूह बनाएर खेल्ने प्रचलन निकै बढ्दो छ । होली खेल्दा नाच्न रुचाउने र हलुका लुगा लगाउन मनपराउनेको रोजाई बन्न सक्छ– सेतो रङको पटेला कुर्ता सेट ।
सेतो रङको कुर्ती, सुरुवाल र रातो रङको सल लगाउँदा ट्रेडिसनल लुक्स देखिने व्यापारी बताउँछन् । कुर्ता लगाउँदा सालीन र फेसनेबल देखिने उनीहरूको भनाइ छ ।खुला लुगा लगाउन रुचाउनेहरूको रोजाइमा पर्न सक्छ, पटेला कुर्ता सेट । पटेला कुर्ता सेटमा सल भने चम्किलो (रातो, पहेँला, सुन्तला र नीलो) रङको प्रयोग गर्दा आकर्षक देखिन्छ ।

प्रकाशित: १४ फाल्गुन २०७४ ०६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App