coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

दुई स्रष्टालाई भोजपुरको सम्मान

काठमाडौँ– बेलायतमा रहेका भोजपुरे स्रष्टा–सर्जकहरूद्वारा एक दशकअघि स्थापित भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ स्रष्टा गणेश रसिक र युवा स्रष्टा तथा समालोचक पूर्ण इन्फादालाई सन् २०१७ को ‘भोजपुर प्रतिभा सम्मान’ तथा ‘पुरस्कार’ प्रदान गरेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवं वरिष्ठ कवि बैरागी काइँलाले शनिबार काठमाडौँमा आयोजित एक भव्य समारोहमा रसिक र इन्फादालाई सम्मानित गरेका हुन् । रसिकलाई किराती फेटा, दोसल्ला, ताम्रपत्र र नगद पन्ध्र हजारसहित सम्मान गरिएको थियो । इन्फादालाई ताम्रपत्र, भादगाउँले टोपी र नगद तीस हजारसहित पुरस्कृत गरियो । प्रमुख अतिथि काइँलाले सम्मान र पुरस्कारका लागि सही प्रतिभाको छनौट भएको बताए।    
 रसिकले साहित्य, कला तथा गीत–सङ्गीत र इन्फादाले कविता तथा समालोचनाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याई भोजपुर र राष्ट्रको रोशन गरेबापत उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको संस्थाका अध्यक्ष दयाकृष्ण राईले बताए ।

साहित्य, कला, संगीत तथा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत भोजपुरे प्रतिभालाई दिइने सम्मानबाट यसअघि पूर्णप्रकाश नेपाल ‘यात्री’, परशु प्रधान, कृष्ण जोशी, जिबी लुगुन, शैलेन्द्र साकार र मञ्जुल सम्मानित भइसकेका छन् भने पुरस्कार श्रवण मुकारुङ, दिनेश बान्तवा, विप्लव ढकाल, विमल गिरी र मीरा राईले प्राप्त गरिसकेका छन् ।

कार्यक्रममा संस्थाका सचिव नरेश काङमाङ राई र सदस्य प्रकाश राईले संस्थाका गतिविधि तथा पुरस्कारको औचित्यका बारेमा प्रकाश पारेका थिए । बुलु मुकारुङ र देवी घिमिरेले सम्मानित तथा पुरस्कृत प्रतिभाका बारेमा बोलेका थिए ।  कार्यक्रमको सञ्चालन दीपक थापाले गरेका थिए ।    

 

प्रकाशित: १४ फाल्गुन २०७४ ०३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App