coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भूकम्पले क्षतिग्रस्त विद्यालयलाई पक्की भवन

वेनिघाट रोराङमा निर्माण गरिएको कुन्चुरुङ आधारभूत विद्यालयको पक्की भवन । तस्विर : नागरिक

धादिङ – बासखर्क आधारभूत विद्यालयको कक्षा ८ मा पढ्दै गरेका टेकेन्द्र तामाङ खुसी मुद्रामा छन्। नयाँ भवनमा पढ्न पाउने भएसँगै टेकेन्द्र र उनका साथीहरु खुसी भएका हुन्। २०७२ साल बैशाखमा गएको भूकम्पले विद्यालयको भवन भत्किएको थियो। केही समय खुल्ला आकाश र केही समय टहरामा पढ्दै आइरहेका टेकेन्द्र अब भूकम्प प्रतिरोधी विद्यालय भवनमा पढ्न पाउने भएपछि खुसीको सिमै नरहेको उनले बताए। विद्यालय भवन नहुँदा पढ्न मन पनि हराएको थियो टेकेन्द्रले भने, ‘बालमैत्री विद्यालय निर्माणसँगै हामीलाई सहज भएको छ।’ विद्यालयमा पक्की भवन निर्माणसँगै पढाई पनि राम्रो हुने उनको अपेक्षा छ। 

निर्माण गरिएको विद्यालय भूकम्प प्रतिरोधी छ भने छात्र, छात्रा र अपांगमैत्री शौचालयको पनि निर्माण गरिएको छ । विद्यार्थीमैत्री खानेपानीको धारा पनि निर्माण गरिएको छ। ह्विलचियर गुड्ने गरी विद्यालय तथा शौचालयहरुको संरचना निर्माण गरिएको छ।  बेनिघाट रोराङ गाउँपालिका वडा नं १ मा रहेको यस विद्यालयमा कक्षा ८ सम्म पढाई हुने गर्छ। बाँकी शिक्षा लिन अन्यन्त्र धाउनुपर्ने अवस्था छ। बैशाखमा गएको विनाशकारी भूकम्पले विद्यालयको भवन भत्किएपछि अस्थायी टहरामा पठनपाठन संचालन भइरहेको थियो। अहिले भने पक्की भवनमा पठनपाठन सूचारु भएको छ। 

विद्यालय भवन निर्माणपछि पढाईमा पनि सहज भएको कुन्चुरुङ आधारभूत विद्यालयका प्रधानाध्यपक अप्सरा डल्लाकोटीले बताइन्। विद्यालय भवन नहुँदा सबै कक्षाका विद्यार्थीलाई एउटै कक्षामा पढाउनु पर्ने अवस्था थियो अहिले त्यो हटेको छ अप्सराले भनिन्, ‘विद्यार्थीको पढाईको गुणस्तरमा पनि वृद्धि हुने अनुमान छ।’ पक्की भवन भएपछि बर्खामा घाम पानी तथा हावाहुरीको समस्या र जाडोमा कठ्याङिग्रनु पर्ने समस्या टरेको अप्सराले बताइन्। तामाङ र चेपाङ समुदायको बाहुल्यता रहेको यस स्थानमा भाषाको पनि समस्या रहेको छ। भवन नहुँदा कतिपय बालबालिकाहरु विद्यालय छाड्दै गइरहेको विद्यालयले जनाएको छ। 

प्रयत्नशिल सामुदायिक समाज नेपाल (प्रयास नेपाल)को साझेदारीमा युनाइटेड मिसन टु नेपाल(युएमएन) र उड इन डाडको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको हो। 

दुई बिद्यालयमा गरि कुल ३५ लाख २२ हजार ६४ लागतमा बिद्यालय भवन निर्माण गरिएको हो। १÷१ वटा भवनमा दुई दुई कोठासहित शौचालय तथा धारा पनि निर्माण गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिए। जिल्लाको बेनिघाट रोराङ र गजुरी गाउँपालिकामा भूकम्पपछि विभिन्न विद्यालयमा पक्की भवन निर्माण तथा पुनर्निर्माणका कार्यहरु संचालन भइरहेको छ। 

धादिङमा आर्थिक वर्ष ०७३/७४ मा एक हजार एक सय १८ कक्षा कोठा, आर्थिक वर्ष ०७४/७५ मा एक हजार एक सय १८ कक्षा कोठा र आर्थिक वर्ष ०७५/७६ मा एक हजार चार सय ८९ कक्षा कोठा निर्माण गर्ने लक्ष्य अनुसार विद्यालयको पुनर्निर्माण भैरहेको छ। हालसम्म भूकम्पले भत्किएका विद्यालय भवन ४२ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ। धादिङमा १ सय ८५ ओटा विद्यालयमा ७ सय ९० कक्षा कोठा निर्माण भैसकेको छ। त्यस्तै एक सय ८० ओटा विद्यालयमा सात सय ८० कक्षाकोठा मर्मत गरी एक हजार पाँच सय ७० कक्षा कोठा पुनर्निर्माण गरी विद्यालय सञ्चालन भइरहेको छ।

भूकम्पले भत्किएको विद्यालय भवनको पुनर्निर्माणमा ढिलाइ हुदाँ अझै पनि खुल्ला चौर, चौतारा तथा अस्थायी टहरामा विद्यालय सञ्चालन गर्न बाध्य छन्। विद्यालय भवन नहुँदा शिक्षक तथा विद्यार्थीहरुले सास्ती खेपिरहेका छन्। अहिले २ सय ७५ ओटा विद्यालय भवनमा ८ सय २५ कक्षा कोठा निर्माण भैरहेको छ। त्यस्तै १ सय ४५ ओटा विद्यालयमा ५ सय ८० कक्षाकोठा मर्मत भैरहेको छ। विद्यालय भवन समयमै निर्माण नहुँदा हजारौँ बालबालिका चिसो भूँइ र खुल्ला आकाशमा पढ्न बाध्य छन्। तर निर्माण सामग्रीको अभाव, ढुवानीको समस्या, कामदारको कमी जस्ता कारणले विद्यालय पुनर्निर्माणमा ढिलाइ भएको नेपाल सरकार शिक्षा मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाई जिल्ला आयोजना कार्यान्वयन इकाई धादिङका इन्जिनियर निर्मल बोगटीले बताए। 

जिल्ला आयोजना अन्तर्गत २ सय १७ ओटा विद्यालय भवन बनेको छ। केन्द्रिय आयोजना अन्तर्गत जापानी सहयोग नियोग (जाइका) को ऋण सहयोग, गरिबी न्यूनिकरणका लागि जापानी कोष (जेएफपीआर) र भारत सरकारको अनुदान तथा ऋण सहयोगमा ८२ विद्यालयहरुमा सम्पूर्ण पुननिर्माण गर्ने लक्ष्य अनुरुप १९ ओटा विद्यालयमा पुनर्निर्माण भैरहेको छ। त्यस्तै, विभिन्न सरकारी निकाय, व्यक्ति, समूहको श्रोत, जिल्ला शिक्षा कार्यालय, जिल्ला समन्वय समिति, स्थानीय निकाय तथा विद्यालयको श्रोतबाट ३ सय कक्षाकोठा नयाँ निर्माण र ६ सय कक्षाकोठा मर्मत कार्य भैरहेको छ। संघ संस्थाहरुले पनि विद्यालय पुनर्निर्माण गरिरहेका छन्। जस अन्तर्गत ४ सय ६२ ओटा कक्षा कोठा बनाइसकेका छन् भने २ सय २५ कक्षाकोठा निर्माणाधिन छन्।  

प्रकाशित: १३ फाल्गुन २०७४ ०९:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App