७ वैशाख २०८१ शुक्रबार
अर्थ

गाउँका होटलमा सहरका तरकारी

जिपमा हालेर तराईबाट हलेसी ल्याइएको तरकारी झार्दै व्यवसायी। तस्बिर : दमन राई/नागरिक

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ मा केही समयअघि खुलेको जाम्बाला रिसोर्टमा दैनिक ३० देखि ४० केजी तरकारी खपत हुन्छ। दैनिक ३०–४० केजी तरकारी खपत हुने जम्बालामा ग्राहकका लागि हरेक साँझ र बिहान पाक्ने काउली, बन्दा, आलु, साग, गोलभेंडा, खुर्सानीलगायत सागपात तराईबाट ल्याइएका हुन्छन्।

‘होटलका लागिब पर्याप्त स्थानीय उत्पादन नपाउँदा माघयता तराईकै तरकारीमा निर्भर छौं,’ जाम्बालाका सिनियर जेमेनर सिपी सुवेदीले भने, ‘होटलमा स्थानीय अर्गानिक तरकारीको राम्रो माग छ तर उत्पादन छैन।’

हलेसीमै खुलेको होटल हलेसी भिलेजमा पनि जाम्बालाकै हाराहारीमा तरकारी खपत हुन्छ । तर, स्थानीय तरकारीले मात्र होटल नधानेपछि कतिपय अवस्थामा तराईबाट आयतीत तरकारी खपत गर्नु परिरहेको होटल हलेसी भिलेजका सञ्चालक राजु लयालुले बताए।

उनका अनुसार हलेसीमा स्थानीय सब्जी नपाउँदा दिक्तेल र अर्खौले बजारबाट पनि स्थानीय उत्पादन खरिद गरेर लैजाने गरिएको छ । ‘सकेसम्म हामी गाउँमै उत्पादन भएको लोकल सागसब्जीलाई प्राथमिकता दिँदै आएका छौं,’ लयालुले भने, ‘स्थानीय सागसब्जी पाइएन भने मात्र हामीले काठमाडौंबाट आएको तरकारी होटलमा उपयोग गर्ने गरेका छौं।’

त्रि–धार्मिकस्थल हलेसीमा पछिल्लो समय करोडौंको सुविधा सम्पन्न होटल खुलिसकेका छन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–जयराम सडकखण्डमा पर्ने हलेसी आउने पर्यटक एवं दर्शनार्थीका लागि खाना र बासको उचित प्रबन्धका लागि सुविधायुक्त नयाँ होटल थपिने क्रम बाक्लिएको छ । सडक विस्तारसँगै हलेसी आउने पर्यटक तथा दर्शनार्थीका लागि ठूला लगानीका होटल खुलेका छन्।

देश विदेशबाट आउने पर्यटक तथा दर्शनार्थीलाई ध्यानमा राखेर हलेसीमा सुविधा सम्पन्न होटल खुल्नेक्रम अझै जारी छ । हालसम्म करिब सानाठूला डेढ सय होटल खुलिसकेका छन् । तर, हलेसी आसपासमा व्यावसायिकरुपमा ठूलो परिमाणमा तरकारी खेती गर्ने र बजार पु¥याउने किसानको अभावमा अधिकांश होटल तराईकै तरकारीमा निर्भर छन्।

लोकल तरकारीलाई प्राथमिकता दिने होटलले समेत सिजनमा मात्र अर्गानिक तरकारी खुवाउन सक्छन् । सिजन नपरेका समयमा नचाहेर पनि तराईबाट आयतित तरकारी भिœयाउन बाध्य हुन्छन् । ‘दुई÷तीन वर्ष अघि गुन्द्रुकसम्म पाइन्नथ्यो, केही किसानलाई तरकारी उत्पादन गर, हामी किनिदिन्छौं भनेपछि केही उत्पादन हुन थालेको हो,’ होटल हलेसी भिलेजका सञ्चालक लयालुले भने, ‘त्यै पनि यहाँको होटले खपत गर्ने मात्रामा दाल, गेडागुडीदेखि हरिया सागपात तथा तरकारी उत्पादन हुन सकेको छैन।’

किरात, हिन्दु र बौद्धमार्गीको धार्मिकस्थल हलेसीमा घुमफिर गर्ने, दर्शन गर्ने, भाकल पूरा गर्ने र ध्यान गर्नेको बाक्लो आउजाउ हुने गरेको छ । हलेसीमा काठमाडौं, विराटनगर, जनकपुर, पोखरा, धरान, झापा लगायत छिमेकी देश भारतको सिक्किम, दार्जिलिङबाट तिर्थयात्री र पर्यटक आउने गरेका छन् । चीन, तिब्बत, भुटान, फ्रान्स लगायत कतिपय पर्यटक सिधैँ हेलिकप्टरमार्फत हलेसी आउने जाने गरेका छन्।

धार्मिक तथा पर्यटकीयस्थल हलेसीमामा खुलेका होटलका कारण तरकारीको बजार राम्रो बने पनि पानीको अभावमा किसानले माग अनुसार तरकारी खेती गर्न नसकेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । ‘हलेसी बजारमा तरकारीको राम्रो माग छ । तर, यो क्षेत्र सुक्खा भएकाले किसानलाई समस्या परेको छ,’ मेयर राईले भने, ‘सानो परिमाण उत्पादन हुने स्थानीय तरकारीले तराईमा उत्पादित तरकारीसँग प्रतिष्पर्धा गर्न सक्दैनन् ।’

 

 

प्रकाशित: १३ फाल्गुन २०७४ ०६:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App