"

'यहाँ सबैकाे ध्यान भारतमै किन'

आइतबार, १३ फागुन २०७४, ११ : २० नागरिक


भारतको प्रसिद्ध जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक महेन्द्र पी लामा नेपाल मामिलाका जानकार हुन् । उनी स्कूल अफ इन्टर नेशनल स्टडिजअन्तर्गतको दक्षिण एसियाली अध्ययन केन्द्रमा कार्यरत छन् । सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति, भारत सरकारको राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डको सदस्यसमेत रहिसकेका लामासँग नागरिकका लागि मणि दाहालले दक्षिण एसियामा पछिल्लो परिवर्तन र नेपाल भारत सम्बन्धबारे गरेको कुराकानीको सम्पादित अंश :

काठमाडौँमा दिल्लीको धेरै चर्चा हुन्छ तर दिल्लीमा काठमाडौँबारे कमै चर्चा हुन्छ । तर चुनावपछि सञ्चार माध्यमहरूमा पहिलोभन्दा अलि बढी चर्चा भएको पाउँछौँ । दिल्लीमा परिवर्तन आएको हो ? 
यो विषय कस्तो हो भने, नेपालका लागि भारत एकदमै महत्वपूर्ण हो । नेपालले जहिले पनि भारतलाई हेर्छ । भारतको धेरै देशसँग सम्बन्ध छ । तर नेपालको बारेमा जति छलफल हुनुपर्ने हो, भारतमा त्यति भने छैन । त्यो स्तरमा हामी पुगेका छैनौँ । सञ्चारमाध्यमहरू र एकदुईवटा क्लास रुममा बाहेक छलफल हुँदैन । यो स्वीकार्नैपर्छ । तर नेपालमा आएपछि सबै सञ्चारमाध्यम, अन्य छलफलदेखि सरकारको ध्यानसमेत भारत केन्द्रित हुन्छ। 

किन यस्तो हुन्छ ? 
सोचाइमा अन्तर छ । नेपालले पाउनुपर्ने जति महत्व पाएको छैन । भारतमा नेपालबारे जान्ने व्यक्ति र संस्थाहरू निकै कम छन् । सबैको ध्यान अन्य देशहरूमा छ । माथिल्लो तहमा रहेका भारतीयमा पनि नेपालबारे राम्रो ज्ञान हुनुपर्ने हो । सीमा वारपार गर्ने सामान्य मानिसमा भने नेपाल कस्तो छ, के हो, भारत कस्तो छ, के हो भन्ने सबै थाहा छ । माथिल्लो तहमा यस्तो जानकारी नभएको कारणले आश्चर्य लाग्ने कुरा आउँछ । एउटा पत्रिकामा पढँे, चीन सरकारलाई मन पराउने व्यक्ति नेपालको प्रधानमन्त्री भए । छाप लगाइदिइ हालियो । यो एक–दुई जनाको नगन्य सोच हो । जनता र सरकारमा रहने अधिकांशले त्यस्तो सोच्दैनन्। 

तर अहिलेको सम्बन्धको विषयमा तेस्रो पक्ष चीनलाई पनि ल्याइन थालेको जस्तो लाग्दैन ? नेपालका मात्रै नभएर अन्य देशको सम्बन्धमा पनि त्यस्तै देखिन थालेको छ ?
नेपाल, भुटान, श्रीलंका सबैको भारत प्राकृतिक पार्टनर हो । हामी एकत्रित भएर बसेकै हो । ४७ अघि भारत पाकिस्तान, बंगलादेश एउटै थियो । चीनको आगमन नेपालबाहेक दक्षिण एसियामा त्यति पुरानो होइन । दक्षिण एसियासहित विश्वमा चीन जसरी आएको छ । पछिल्लो दशकमा जसरी विस्तारिक र विस्तृत रूपमा चीन अफ्रिका, दक्षिणपूर्वी एसिया, मध्य एसिया, युरोप, दक्षिण एसियामा गयो यो विषय आश्चर्यजनक नै छ । जसरी चीनले यो देश र क्षेत्रहरूमा प्रवेश गर्दै छ, सबै आश्चर्यचकित नै छन् । बेल्ट एन्ड रोड इनिसिएटिभ र अन्य विषय रहेको छ । त्यसै प्रकारले चीन दक्षिण एसियामा प्रवेश गरेको छ । त्यसले देशको भारतसँग र भारतको छिमेकी देशसँगको सम्बन्धको जुन सोच थियो, त्यसमा नै परिवर्तन आएको छ । चीन चाहिँ नयाँ फ्याक्टर बनेर आएको छ । ठूलो र सबैलाई अँगाल्ने प्रकारको फ्याक्टर बनेर आएको छ। 

नेपालले चीन र भारतलाई कसरी सन्तुलनमा राख्छ त ? 
सबैभन्दा ठूलो प्रश्न भनेको अहिलेको भारत र उसका छिमेकीहरूबीचको पुरानो जुन व्यवस्था थियो, त्यो काम लाग्छ कि लाग्दैन भन्ने हो । अहिलेको व्यवस्था काम लागेन भने अर्को व्यवस्था के हुनुपर्छ भनेर दुवै देशले बसेर सोच्नुपर्ने बेला आएको छ । हिजो माल्दिभ्स र भारतबीच जुन प्रकारको सम्बन्ध थियो, आज कहाँ पुग्यो ? श्रीलंका वा बंगलादेश वा अन्य देशसँगको दशकौँदेखि चल्दै आएको पुरानो सम्बन्धमा चीन नयाँ फ्याक्टर बनेर आएको छ, त्यसैले चीनको चर्चा हुनु स्वाभाविक हो। 

अंग्रेजबाट स्वतन्त्र भएपछि जुन प्रकारको शक्ति सन्तुलन दक्षिण एसियामा थियो, त्यो भत्केर नयाँ बन्ने अवस्थामा दक्षिण एसियाका नेपालसहितका देशहरू पुगेको अवस्था हो ? नयाँ शक्ति सन्तुलनको संक्रमणकालमा छौँ ?
अहिले नयाँ व्यवस्था बन्न लागेको दक्षिण एसियाली क्षेत्रमा मात्रै होइन । मलेसिया, थाइल्यान्ड वा भियतनाम जता जाऔँ, त्यहाँ पनि त्यस्तै अवस्था छ । पहिलो त्यस क्षेत्रमा प्रभाव रहेको अमेरिकी अवाक् बनेका छन् । अफ्रिकामा युरोपहरूको अवस्था उस्तै छ । अहिले उनीहरू त्यसै परिस्थिति अनुकूल हुन खोजिरहेका छन्।

दक्षिण एसियामा पनि भारतजस्तो ठूलो राष्ट्रले नयाँ प्रकारको खेल सुरु भएको अवस्थामा छिमेकी देशहरूसँग बसेर कुरा गर्नैपर्ने अवस्था आएको छ । किनभने अस्तिसम्म चीन चीनमै थियो, अहिले नेपालसहित सबै देशमा पसेको छ । अस्तिसम्म आर्थिक अनुदानको नाममा प्रवेश गरेको थियो तर अहिले त्यो पस्ने प्रक्रिया पूरै फरक भएको छ । सडक, बिजुली, कारखाना, पानी, व्यापार, व्यक्ति र संस्कृतिसहितका धेरै कुरासहित पसेको छ । त्यसैले कस्तो प्रकारको सम्बन्ध भन्ने नयाँ सोच आउँदैन । यो धेरै महत्वपूर्ण चरण हो र यसमा एड्जस्टमेन्ट गर्नुपर्नेछ।

पछिल्लो सममा त्रिदेशीय साझेदारीको विषय आएको छ । भारतले आफ्नो प्रभाव क्षेत्र रहेको क्षेत्रमा त्रिदेशीय साझेदारीको विषय आउँदा त्यसलाई स्वीकारेर जाने अवस्था कत्तिको देख्नुहुन्छ ?
अन्तर्राष्ट्रिय सम्बन्धमा तीन विषय रहेका छन् । युद्ध गरेर यिनीहरूलाई उछिन्नु भन्ने हुन्छ । विश्वयुद्ध वा भारत र चीन वा अमेरिका र भियतनाम युद्धमा पनि भएकै विषय हो । होइन मिलेर काम गर्ने विषय पनि भएकै छ । चीन र युरोपेली देशहरू मिलेर काम गर्दैछन् । नब्बेसम्म त्यति राम्रो सम्बन्ध नभएको भारत र अमेरिका मिलेर काम गर्दैछन् । तेस्रो भनेको मिल्दा पनि नमिल्ने, झगडा पनि नगर्ने चुपचाप बस्ने हो। 

तीनमध्ये कुन आत्मसात् गर्नु राम्रो हो त ? 
यसमा मलाई लागेको जुन प्रकारले भारतको यस क्षेत्रमा पारम्परिक प्रभुत्व छ । सांस्कृतिक आदानप्रदान हुन्छ । आर्थिक विषय रहेको छ । भारतलाई दक्षिण एसियामा प्रधान वा नेतृत्व दिने देश भनेर मान्नैपर्ने हुन्छ । कतिले के भन्लान्, तर पनि मान्नैपर्ने हुन्छ । यस्तो अवस्थामा भारतले चीनसँग मिलेर काम गर्ने कि चुप बस्ने कि झगडा गर्ने, तीन सम्भावनामध्ये सबैभन्दा राम्रो मिलेर काम गरौँ भन्ने हो। 

तर मिलेर काम गर्ने भनेको दक्षिण एसियामा मात्रै होइन मध्य एसिया, अफ्रिका र दक्षिण पूर्वी एसियामा पनि हो । त्यो धारणा लियो भने एकअर्कालाई आरोप लगाउने यो खेल नै खत्तम हुन्छ । यो विशेष प्रकारको समयमा हो । सबैलाई राम्रोसँग सोच्यो भने हुनुपर्ने पनि हो।

भारतले भारत, बर्मा र थाइल्यान्ड जोडेर सडक बनाउँदै छ । त्यतैतिर पनि बेल्ट एन्ड रोडको पनि सडक बन्दै छ । त्यस्तो अवस्थामा यो बाटो भारतले चलाउन सक्छ । यो चीनले चलाउन सक्दैन भन्ने विषय हुँदै हुँदैन । धेरैको धेरै विचार छ । भारत, नेपाल र चीन मिलेर धेरै काम गर्न सक्छन्।

हिमालहरू सुरक्षाको किल्ला हुन् र आफ्नो प्रभाव क्षेत्रमा कसैलाई प्रवेश गर्न नदिने भन्ने भारतीय अवधारणा छ । त्यसमा परिवर्तन आइसकेको हो कि, कुरा के हो ? 
चुनौती नै दिएको हो । हिमाली क्षेत्रका लागि अंग्रेज सरकारले छाडेर गएको नीति थियो, त्यस विषयमा पुनर्विचार गर्नुपर्छ भनेर बारम्बर भन्दै आएका छौँ । किनभने, वस्तुगतदेखि राजनीतिक सबै स्थितिमा परिवर्तन आएको छ । जस्तो ५० मात्रै होइन, ७० को दशकमा आइपुग्दा समेत नेपाल–भारत सम्बन्धको आयामहरूमा धेरै परिवर्तन आएको छ । जापानी, अंग्रेजदेखि सबै आफूलाई सम्बन्धमा आएको समयअनुसार परिवर्तन गर्दै लगेका छन् । पहिले मित्र रहेका, फेरि शुत्र भएका र अहिले फेरि मिलेका रुस र चीनले आफ्नो सीमा विवादलाई समाधान गरे । स्थितिअनुसार परिमार्जन गर्नुपर्छ भन्नेमा सरकार र जनता डग्मगाउनु हुँदैन। 

भारत के गरिरहेछ ?
एक वर्षपछि भारतमा चुनाव हुँदै छ । तर अहिले आफ्नो प्रभाव क्षेत्र पनि जोगाउन नसकेको भन्ने जनतामा परेको बुझिन्छ । भारतको अनुभव एकदमै गहिरो छ । सानो विषयले भारतलाई हल्लाउँदैन र केही पनि हुँदैन । भारतको सहनशक्ति धेरै नै छ । मुम्बईमा बम ब्लास्ट भो, तीन दिनमा जनजीवन सामान्य भयो । भारत धेरै फिँजिएको देश हो । आज मुम्बईले राम्रो गरेन भने कोलकता र बेङलोरले राम्रो गरिरहेको हुन्छ । कुनै पनि देशको सरकार वा राजनीतिक दलसँग भारतलाई जोड्नु हुँदैन । नेपाल, बंगलादेश वा श्रीलंकामा यो चाहिँ मेरो सरकार हो भनेर आफूलाई जोड्नु हुँदैन, भारतले।

म्याइक्रो म्यानेजमेन्ट छाड्नुपर्‍यो ?
तपार्इंले माइक्रो म्यानेजमेन्ट भन्नुहोस् वा अन्य केही नाम दिनुहोस् । तर भारत जस्तो महान् देशले वा सरकारले सबैसँग आफूलाई जोडेको छ । त्यस सयममा भारतलाई निकै चर्को पर्ने गरेको छ । बंगलादेश, श्रीलंका मात्रै होइन, अहिले माल्दिभ्समा पनि देखियो । नेपालमा पनि देखियो । त्यसैले कुनै पनि सरकारलाई यो मेरो सरकार वा दल भन्नु हुँदैन।

तर सञ्चारमाध्यम र अन्यहरूले नेपालको अहिलेको सरकारलाई प्रो चाइना पनि भन्छन् नि ?
सरकारी स्तरबाट त्यस्तो भनिएको छैन । दक्षिण एसियामा अन्य देशमा नयाँ फ्याक्टरको रूपमा आयो तर चीन नेपालका लागि नयाँ फ्याक्टर पनि होइन । ५० को सन्धिअघि पनि नेपाल र तिब्बतबीचको व्यापक रूपमा भएकै हो । सुनकोशी (अरनिको राजमार्ग)को बाटो मात्रै भएर पृथ्वी राजमार्ग बनाएकै हो । चीनको गतिविधि र काम गर्ने तरिका भनेको नयाँ भएको हो । त्यसले यस क्षेत्रमा उथलपुथल आएको मात्रै हो। 

नयाँ संक्रमणकालीन व्यवस्थामा सबैभन्दा ठूलो चुनौती र सम्भावना यस क्षेत्रका देशहरूलाई देख्नुहुन्छ ?
नयाँ राजनीतिक समीकरणले स्थायित्वको आभास दिएको छ । दिल्लीमा बसेर हेर्दा लागेको विषय नेपालले अब आत्मविश्वास ल्याउनुपर्‍यो । हामी बलियो छौँ, यो गर्ने सक्छौँ, विश्वमा यो गरेर देखाउन सक्छौँ भन्नेमा पूरापूर विश्वास हुनुप¥यो । आफूमा गर्व हुनुपर्‍यो र आफूले काम गर्ने विषयमा समर्पित हुनुपर्‍यो। भारतबाट र अन्य देशबाट के विषयलाई ल्याएर देश र जनताका लागि केही गर्न गर्नसक्छु भन्ने हुनुपर्‍यो । यो अलि अभाव भएको जस्तो लाग्छ । जब आफूसँग केही पनि हुँदैन, आत्मविश्वास पनि हुँदैन भने त्यस समयमा अरूले फाइदा उठाइहाल्छन्। 

हामीले के गर्नुपर्छ अब ?
नेपालले आफूले कुन–कुन क्षेत्रमा के–के गर्ने हो त्यसबारे स्पष्टसँग राख्ने समय आएको छ। त्यस्तो भयो भने भारत, अमेरिका, चीन वा जापानले नेपालमा के गर्नुपर्छ भन्ने विषय स्पष्टिँदै जाने थियो। नेपालसँग स्रोत र साधन छ। नेपाललाई चाहिएको आधुनिक संस्था हो । 







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

बलिउडमा रणवीर कपुर र आलिया भट्टको जोडी अहिले चर्चामा छ। दुबैले प्रेम सम्बन्धलाई स्वीकार गरिसकेका छन्। अब दुबैबीच विहे कहिले...

'आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था'

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ...

लेखिका प्रियंका

लेखिका प्रियंका

हलिउड टेलिभिजन सो ‘क्वान्टिको’को पछिल्लो श्रृंखलाबाट विवादमा तानिएकी बलिउड नायिका प्रियंका चोपडाले सन् २०१९ मा ‘अनफिनिस्ड’ नामक पुस्तक पाठकमाझ ल्याउने...