८ वैशाख २०८१ शनिबार
राजनीति

चिनियाँ पर्यटक भित्र्याउन सके प्रदेशको कायापलट हुन्छ : मुख्यमन्त्री गुरुङ

म्याग्दी – प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध प्रदेश बनाउने बताएका छन्। गुरुङले प्रदेश ४ लाई नेपालकै नमुना प्रदेश बनाउने घोषणा गरे। जलविद्युत्, पर्यटन, कृषिमा सम्भावना रहेको प्रदेशमा लगानीमैत्री वातावरण बनाउने उनको भनाई छ।

म्याग्दीको सदरमुकाम बेनीमा शनिबार आयोजित लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ विवान को क्याबिनेट बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले नेपालका अन्य प्रदेशको तुलनामा कम विवादित प्रदेशका रूपमा समेत चिनिएको बताउँदै सुन्दर, शान्त, समृद्ध र सभ्यता अर्थात्  ‘४’ स को प्रदेश बनाउने बताए।

‘लगानीलाई आकर्षित गर्न काम सुरू गरेको छु। पूर्वाधार निर्माण पहिलो प्राथमिकतामा छ,’ गुरूङले भने। प्रदेशभित्र रहेका साना समस्यालाई समाधान गरी कृषि, पर्यटन, जलविद्युतमा लगानी भित्राउन लगानीकर्तालाई आर्कषित गर्ने योजनाहरू समेत तयार भइरहेको बताए। ‘प्रदेशभित्रका सबै सम्भावनालाई उजागर गर्ने गरी काम गरिनेछ। प्रदेशभित्रका सम्भावनालाई प्रयोग गरेमात्रै विश्वको ध्यान तान्न सकिन्छ,’ उनले भने। उनले जल, जमिन र जंगलभित्र रहेका सम्भावनामा लगानी गर्न छिमेकी देश चीनबाट समेत धेरै सिक्न सकिने बताए। ‘चीनसँग जोडिएका सबै नाका खोल्नुपर्छ। एक प्रतिशत चिनियाँ पर्यटक मात्रै प्रदेशमा भित्र्याउन सके मात्रै पर्यटनको क्षेत्रमा कायापलट हुन्छ,’ गुरूङले भने। उनले कोरला नाका, कालीगण्डकी करिडोर प्राथमिकताभित्र भएको बताए। उनले पूर्वपश्चिम रेलमार्गको विस्तारसमेत प्राथमिकताभित्र रहेको बताए। 

देशभरका करिब १९ सय लायन्स सहभागी रहेको बैठकलाई सम्बोधन गदैं गुरूङले प्रदेश सरकारका भिजनमा सामाजिक संघसंस्थाबाट समेत सहयोगको आवश्यकता रहेको बताए। आवश्यक नीतिनियम र कानुनको निर्माण गरी तत्काल स्थानीय तहलाई बलियो बनाइने भन्दै मुख्यमन्त्री गुरुङले योजना निर्माणका साथै नीति र तयारीका लागि आफूहरू प्रारम्भिक छलफलमा रहेको बताए। उनले सरकारले पूर्णता पाउने क्रममा रहेकाले त्यसपछि प्रदेशको आवश्यक नीतिनियम तयार गरी स्थानीय तहमा लागू गरिने बताए। विकास  र समृद्धिमा बाधक तत्वको पहिचान गरी तत्काल समाधान गर्न प्रदेशदेखि केन्द्रसम्म दुईतिहाइको सरकार बनाएर आफू अनुकूलको काम गर्ने नीतिनियम बनाउनुपर्नेे गुरूङको भनाइ थियो। 

‘लगानीकर्ताको पहिलो रोजाइ हाम्रो प्रदेशमा हुनेछ। पाँच वर्ष बिना अवरोध काम गर्ने वातावरण प्रदेश सरकारले बनाउँछ,’ गुरूङले भने। उनले विश्वमै नभएको सुन्दरता प्रदेशको राजधानी पोखरामा भएको बताउँदै ९ वटा ताल र १२ वटा हिमाल भएको प्रदेशको केन्द्र पोखराबाट एउटै झ्यालबाट आँखैले दर्जन हिमाल देख्न सकिने बताए। 

यसैबीच शनिबारै नेकपा एमाले म्याग्दीले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले भ्रष्टाचार, घुसखोरी र अनियमितता नियन्त्रणका लागि जनताले कम्युनिष्टलाई मत दिएको बताए। यसैगरी म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले दिगो विकासको अवधारणा अनुसार विकास निर्माणका क्षेत्रलाई अगाडि बढाउनुपर्ने धारणा राखेका थिए। निजी क्षेत्रको योगदान रहेको भन्दै उद्योगी व्यवसायीका समस्या समाधानका लागि आफूले पहल गर्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने बताए। उद्योगी व्यापारीलाई प्रदेश सरकारबाट समेत विभिन्न कार्यक्रममा प्राथमिकता दिने मुख्यमन्त्री गुरूङले आश्वासन दिएका थिए। 

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले जिल्लाभित्र रहेका सम्भावना र लगानीका आवश्यक क्षेत्रबारे जानकारी गराएका थिए।

प्रकाशित: १२ फाल्गुन २०७४ १५:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App