coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

भलिबलले जोडेको मन

भक्तपुरमा आयोजित अन्तर नगर मेयर कप भलिबल प्रतियोगिताको फाइनल खेल्दै कैलालीको गोदावरी नगरपालिका (हरियो) र भक्तपुरको सूर्यविनायक नगरपालिका । तस्बिर : उपेन्द्र लामिछाने

सामान्यतया खेलाडीलाई होम ग्राउन्डको फाइदा रहन्छ ।  समर्थनमा सुनिने हुटिङले खेलाडीको उत्साह बढाउँछ । भक्तपुरमा फागुन ३ देखि ८ गतेसम्म आयोजित अन्तर्नगर मेयर कप भलिबलमा भने त्यस्तो देखिएन । यहाँ स्थानीय टिमको पक्षमा भन्दा पनि राम्रो खेल्नेको पक्षमा समर्थन गर्ने बढी भेटिए। 

यो अतिथि टिमलाई गरिने सम्मानको उच्चतम नमुना हो । फाइनल खेलेका भक्तपुरको सूर्यविनायक नगरपालिकाको भन्दा कैलालीको गोदावरी नगरपालिकाका पक्षमा बढी समर्थन गुञ्जियो। 

अन्तर नगर मेयर कप भलिबल फाइनलमा भक्तपुरको सूर्यविनायक नगरपालिकाभन्दा सुदूरपश्चिमको गोदावरी नगरपालिका टिमको पक्षमा दर्शकको समर्थन बढी देखियो। 

‘खेल सुरु भएदेखि नै ‘कैलाली–कैलाली’ को नाराले भक्तपुर गुन्जिरह्यो,’ भक्तपुर, सूर्यविनायकका अनिश अवालले भने, ‘कैलालीले प्रदर्शन गरेको खेलले यहाँ केही दिनमै उसका समर्थक बढीसकेछन् ।’ स्थान विशेषले सूर्यविनायकको समर्थक बढी हुनु पर्ने भए पनि प्रदर्शन राम्रो गरेकाले गोदावरीको समर्थक बढेको उनले बताए। 

प्रतियोगितामा गोदावरीले ५ खेल जितेर फाइनलमा पुगेको थियो । तर, फाइनलमा भने उसको नतिजा सुखद भएन । फाइनलको पहिलो सेट आफ्नो पक्षमा पारेको गोदावरीले अन्य तीन सेट विपक्षीलाई सुम्पियो । विपक्षीले नतिजा आफ्नो पक्षमा पार्दा पनि गोदावरीका खेलाडी निरास देखिँदैनथे । दूरदराजमा मिलेको हौसलाले खेलाडी तथा प्रशिक्षक खुसी थिए । ‘हामीले राम्रो खेल्दै आएकाले हाम्रो पक्षमा धेरै आवाज आएको हुन सक्छ,’ कैलालीका प्रशिक्षक अशोककुमार भट्टले भने, ‘पराई ठाउँमा आएर यति धेरै समर्थन पाउँदा खुसी लाग्दो रहेछ।’ 

फाइनलमा पराजित भए पनि कैलालीले सर्वसाधारणको मन जितेको भक्तपुर नगरपालिकाका अधिकृत दामोदर सुवालले बताए । ‘उनीहरूको पक्षमा धेरै समर्थक थिए,’ उनले भने, ‘यो कुनै ठाउँको भन्दा पनि खेलको समर्थनमा सर्वसाधारणले पोखेको भावना हो ।’ 

फाइनलमा मात्र होइन, अघिल्ला खेलमा पनि ठाउँ विशेषको भन्दा पनि राम्रो खेल्नेको पक्षमा समर्थन देखिएको उनले बताए । ‘भक्तपुर नगरपालिका र ललितपुरको गोदावरी नगरपालिकको खेलमा पनि गोदावरीकै पक्षमा बढी हुटिङ भएको थियो,’ उनी भन्छन्, ‘नयाँ पिँढीले खेलतर्फ बढी माया देखाएको प्रतीत हुन्छ।’ 

उपाधि बिजेता सूर्यविनायक नगरपालिका प्रशिक्षक दीपक थापा पनि कैलालीको गोदावरी नगरपालिकाको टिमले राम्रो खेल्दै आएको बताउँछन् । ‘कैलालीको पक्षमा हुटिङ हुँदा पनि हामीलाई नरमाइलो लागेन,’ उनले भने, ‘उनीहरूले राम्रो खेल्दा उनीहरूको पक्षमा आवाज बढी आउँथ्यो भने हामीले खेल्दा हाम्रो पक्षमा बढी आवाज आउँथ्यो ।’ समग्रमा खेलको जित भएको उनले बताए।

समूह चरणका खेलमा हेटौडा र मध्यपुर नगरपालिकालाई गोदावरीले सेमिफाइनलमा ललितपुर महानगरपालिकालाई हराएको थियो । ‘पाहुना टिमलाई बढी समर्थन मिलेको हो,’ सुवाल थप्छन्, ‘यसबाट अन्य टिम पनि उत्साहित भएका छन्।’ 

फागुन ३ गतेबाट सुरु भएको प्रतियोगितामा ललितपुर, पोखरा, वीरगन्ज महानगरपालिका, हेटौडा र जनकपुर उपमहानगरपालिकासहित २१ वटा नगरपालिकाको सहभागिता थियो । सम्बन्ध विस्तारका लागि आयोजना गरिएको उक्त प्रतियोगितामा कुनै दिन पनि तनाव देखिएन ।  सम्पूर्ण खेल अवधिभर कुनै पनि कार्डको प्रयोग भएको थिएन । 
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने टोलीलाई क्रमशः १ लाख ५१ हजार, ७५ हजार, ३० हजार र सान्त्वना हुनेलाई २० हजार रूपैया नगद पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा सूर्यविनायक नगरपालिकाका चित्रबहादुर केसीले बेस्ट प्लेयर र बेस्ट सर्भरको उपाधि पाए भने गोदावरीका विनोद चन्द बेस्ट डिफेन्डर घोषित भए। 

भक्तपुर १ का सांसद प्रेम सुवालले विजयीलाई पुरस्कृत गर्दै  खेलकुदको माध्यमबाट समाज जोडिने बताए। 

प्रकाशित: १२ फाल्गुन २०७४ ०३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App