७ वैशाख २०८१ शुक्रबार
खेल

सेमिफाइनल समिकरण पूरा

धनगढी – राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीको उत्कृष्ट प्रदर्शनप्रेरित पूर्वाञ्चलले शुक्रबार मध्य पश्चिमाञ्चललाई ९८ रनले हराउँदै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम चार स्थानमा पक्का गरेको छ। शुक्रवारै मध्यमाञ्चलले घरेलु टोली सुदूर पश्चिमाञ्चललाई १२ रनले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ। यससँगै प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ।

फाइनल प्रवेशका लािग समूह ‘ए’को विजेता मध्यमाञ्चलले समूह ‘बी’को उपविजेता पूर्वाञ्चलसँग फाईनल प्रदेशका लागि प्रतिस्पर्धा गर्नेछ। समूह ‘ए’को उपविजेता सुदूर पश्चिमाञ्चलले समूह ‘बी’को विजेता सशत्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्नेछ। सेमीफाइनलका दुवै खेल शनिवार फाप्ला क्रिकेट मैदानमा हुनेछन्।

पहिलो खेलमा टस जितेर व्याटिङ थालेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३४ रन बनायो। पूर्वाञ्चलका लागि काजोल श्रेष्ठले ४२, कप्तान रुवीना क्षेत्रीले ४१ र रोमा थापाले २५ रन जोडे। १ सय ३५ रनको लक्ष्यसहित मैदान उत्रिएको मध्य पश्चिमाञ्चलले १९ ओभरमा सबै विकेट गुमाएर ३६ रन मात्र जोड्न सक्यो।

पूर्वाञ्चलका कप्तान रुवीना, अनुपमा चौधरी र संगम तामाङले समान २/२ विकेट लिए। प्लेयर अफ द म्याच पुर्वाञ्चलकी कप्तान रुविना भइन्। शुक्रवारै दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५ रन बनायो। मध्यमाञ्चलका लागि सिता श्रेष्ठले २३, अस्मिता खरेलले २२ रन जोड्दा रोशनी बोहरा र कप्तान आरती बिराडीले १४/१४ रन बनाए। सुदूर पश्चिमकी कविता जोशीले ४ विकेट लिइन।

१ सय ६ रनको लक्ष्य पछ्याएको सुदूर पश्चिमले राम्रो सुरुआत गरे पनि विजयी नतिजा निकाल्न सकेनन्। सुदुरपश्चिमले २० ओभरमा ३ विकेट गुमाएर ९३ रन मात्रै बनाउन सक्यो। सुदुर पश्चिमकी कविता जोशीले अविजित ३९ तथा कविता कुँवरले २२ रन जोड्नुवाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

प्रकाशित: १२ फाल्गुन २०७४ ०३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App