५ वैशाख २०८१ बुधबार
राजनीति

मधेश केन्द्रित दललाई पर्खिदै ओली, माओवादीसँगै सरकारमा ल्याउने कसरत

काठमाडौं – वाम गठबन्धनले मधेश केन्द्रित राजनीतिक दललाई सरकारमा ल्याउन पहल जारी राखेको छ। सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको स्थायी कमिटीले सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)सँग थप परामर्श गरी मन्त्रिमण्डल विस्तार गर्ने निर्णय गरेपछि दुई पक्षबीच अनौपचारिक छलफल भएको छ। 

एमाले नतृत्वले बुधबार समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेको थियो उक्त छलफल निकै सकारात्मक बनेपछि मधेश केन्द्रित दलले उठाएका सवाललाई कसरी सम्बोधन गर्ने भन्नेबारे नेताहरुबीच छलफल जारी छ। 

आफ्नो मुख्य मुद्दा संविधान संशोधनको सुनिश्चितता भए सरकारमा जाने संकेत दिएको समाजवादी फोरमलाई सहभागिता गराउन सरकारले पनि लचकता अपनाई छलफल लम्ब्याएको छ। 

राजपालाई पनि सरकारमा सहभागी गराउने पहलस्वरुप अनौपचारिक छलफल भइरहेको स्वयं नेताहरु बताउँछन्। वाम गठबन्धनले आवश्यकता र औचित्यका आधारमा मात्र संविधान संशोधन गर्ने जनाउँदै आएकाले वार्ता निर्णायक हुन नसकेको बुझिएको छ। 

एमाले सचिव प्रदीप ज्ञवालीले मधेश केन्द्रित दललाई सरकारमा सहभागिता गराउनेबारे छलफल चलिरहेको तर कुनै निष्कर्षमा नपुगेको बताए। दुवै पक्षका नेताहरुबीच शुक्रबार पनि सामान्य कुराकानी भएको बताइएको छ। 

समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले वर्तमान सरकारमा जानेबारे सकारात्मक ढंगले छलफल भएपनि निष्कर्षमा नपुगिएको बताए। 

यसअघि बिहीबार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीले मधेशका मुद्दालाई सम्बोधन हुनेगरी संविधान संशोधनको सुनिश्चितता भए सरकारमा सहभागी हुनसक्ने जनाउ दिएका थिए। रासस

प्रकाशित: ११ फाल्गुन २०७४ १३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App