"

राजनीतिमा ‘म’ व्यवस्थापन

शुक्रबार, ११ फागुन २०७४, ०९ : ५९ डा.सरोज धिताल


लोकतान्त्रिक संघीय गणतन्त्रका नागरिक भएका छौँ हामी अहिले । ऊबेलाको निरंकुश राजतन्त्रबाट आजको गणतन्त्रसम्मको यात्रा सहजै तय भएको हैन । लामो र कठीन थियो यो यात्रा । र, यो कठीन यात्रामा देशका असंख्य असल, त्यागी मानिसले आफ्नो किशोरावस्था, युवावस्थादेखि नै अत्यन्त महङ्गो मूल्य चुकाएका छन् । देश र समाज परिवर्तनका निम्ति आफ्नो सुख÷सुविधा, स्वास्थ्य, परिवार, सम्बन्ध, वृत्ति विकास, व्यक्तिगत तहका अनेक सम्भावना त्यागेको मात्रै हैन, धेरैले जीवनकै आहुति दिएका छन् । जो अहिले सत्तामा पुगेका छन्, ती पनि कुनैबेला त्यही असल र त्यागी मानिसकै पंक्तिमा लामबद्ध भएका मानिस हुन् । 

नयाँ गणतन्त्रको नयाँ संविधान कार्यान्वयन भइरहेको यतिबेला तिनै त्यागी साहसी असल मानिससँगै कुनै बेला लामबद्ध भएका मानिसको हातमा सत्ताको साँचो पुगेको बेला देश उत्सवमय हुनुपर्ने हो । जनता आशामा, भरोसामा चुर्लुम्म डुब्नुपर्ने हो । तर त्यस्तो देखिँदैन । अझै पनि जनताका मनमा अनेक शङ्काको बास छ । किनकि दन्त्यकथा जस्ता लाग्ने क्रान्तिका अधिकांश पात्रमा अकल्पनीय परिवर्तन आएको देखिन्छ । 

अहिले सत्तामा पुगेका कम्युनिस्टहरूप्रति कतिपयको पूर्वाग्रह होला तर जुन जनमतका साथ उनीहरू सत्तामा पुगेका छन् त्यसले उनीहरूप्रति कति धेरै अपेक्षा छ भन्ने पनि देखाउँछ ।

क्रान्तिबाट राजनीतिसम्म आइपुग्दा, आन्दोलनबाट शासनसम्म आइपुग्दा यति धेरै ठूलो परिवर्तन किन हुन्छ उही मानिसमा ? सार्थक र सकारात्मक परिवर्तनका निम्ति भनेर आफ्नो सबथोक त्यागेर हिँडेका क्रान्तिकारीहरूका बीचमा हुने स्नेह, एकता, त्यागको भावना कहाँ पुग्छ सत्ताको छेउछाउ पुगेपछि ? देश, समाज र जीवनमा सकारात्मक परिवर्तनका निम्ति ज्यानै दिन तत्पर मानिस किन सत्ताको छहारीमा पुग्नेबित्तिकै यति बढी आत्मकेन्द्रित हुन पुग्छन् ? किन सत्ताधारीहरूका बीचमा कुनै प्रिय विवेकी बुद्धिमान, ऋषि, गुरु, बोधिसत्व जस्ता आदरणीय मानिस भेटिँदैनन् ? के सत्ता भनेकै त्यस्तो भूमि हो जहाँ मानवीय सद्गुण स्वतः मासिन्छ र केवल व्यक्तिभित्र लुकेर बसेको विषवीजमात्रै सजिलै हुर्किन र झ्याङ्गिंन सक्छ ? किन सत्ता यस्तो दरवार बन्छ जहाँ सिद्धार्थहरूसमेत सजिलै देवदत्तमा रूपान्तरित हुन्छन् ?

सम्भवतः यी यस्ता प्रश्न हुन् जो यतिबेला सधैंँभन्दा अझ महत्त्वपूर्ण बनेका छन् । भ्रष्टाचार र परनिर्भरता नै देशको सबभन्दा भयानक व्याधि बनेको यो बेला, यीसँग जुझ्न सक्ने नेताको आवश्यकता छ । तर केही दशकयताको अनुभव हेर्ने हो भने यस्तो लाग्छ– राजनीतिको त्यस्तो खेलाडीलाई मात्र ‘सफल’ मानिने गरेको छ जो यिनै व्याधिमा रम्न सक्छन्। ‘राजनीति गर्ने जोगी हुनलाई हैन’ भन्नेखालका ‘महानवाणी’ सबैको मन्त्र भएको छ अचेल । कतिपय नेतामा वस्तुवादी हुने नाममा, व्यावहारिक हुने नाममा आत्मकेन्द्रवादले पराकाष्ठा नाघ्न थालेको देखिन्छ । ‘वैज्ञानिक सोंच’ राख्ने नाममा सबै किसिमका आदर्श, स्वअनुशासन आदि सद्गुणलाई रछ्यानमा मिल्क्याउन थालिएको जस्तो लाग्छ ।  

निश्चय नै स्वार्थबिनाको मानिस हुँदैन । कसैले जब ‘यसमा मेरो के स्वार्थ छ र ?’ भन्छ, त्यहाँ नजिकै कतै पाखण्ड लुकेकै हुन्छ । त्यसैले आफूलाई निस्वार्थी भन्नेहरू भन्दा ‘मेरो स्वार्थ यो हो’ भन्ने बरु विश्वसनीय हुन्छन् । तर त्यो स्वार्थ कस्तो छ, कत्रो छ, केमा छ भन्ने कुरा सबभन्दा महत्त्वपूर्ण हो । 

स्कट पेक भन्छन्– मानिसको बच्चा जन्मिँदा उसको ‘म’ भाव त्यति स्पष्ट हुँदैन । वरिपरिको वातावरणसँग  खास गरी आमासँगको विभिन्न अन्तरक्रियाका क्रममा निर्माण हुँदै गएको ‘म’ भाव जन्मिएपछिका दुई वर्षभित्रमा करिब करिब ठोस भइसक्छ । त्यो उमेरको बच्चा कति आत्मकेन्द्रित हुन्छ, हामी सबैले देखेकै कुरा हो । दुई वर्षको उमेरपछि यो ‘म’ भाव उमेरसँगै क्रमशः पातलिँदै, फराकिलो हुँदै जान्छ र यही क्रममा उसको सामाजिक सम्बन्ध, उसको आचारबोध, स्वधर्म, स्वअनुशासन आदि बन्दै जान्छ । जुन व्यक्तिको ‘म’ भाव दुई वर्षकै उमेरमा जस्तो साँघुरो रहन्छ, जीवनभर त्यो अति नै आत्मकेन्द्रित भइरहन्छ, कालान्तरमा खतरनाक तानाशाह बन्ने सम्भावना हुन्छ । जसको ‘म’ भाव किशोरावस्थाभन्दा माथि विकास हुँदैन, त्यो सानो गुटमै रमाइरहन्छ । थोरै मानिसमात्र आफूलाई फराकिलो पार्दै लान्छन् र यो क्रममा समुदायको, समाजको, राष्ट्रको र विश्वकै सम्मानित व्यक्ति बन्न पुग्छन्, पूजनीय बन्छन् ।

समाजको, देशको रूपान्तरणका लागि आफ्नो सबथोक दिन तयार असल मानिस प्रायः किशोरावस्था, उत्तर किशोरावस्था वा नवयुवावस्थामा क्रान्तिकारी गतिविधि वा आन्दोलनमा लागेका हुन्छन् । त्यो उमेरको विशेषता हो, आफ्नो समूहप्रतिको असीम विश्वास । त्यही उमेरका मानिसको अर्को विशेषता हो– आफूले मन पराएको, भित्रैदेखि आदर गरेको व्यक्ति वा सिद्धान्तप्रतिको पूर्ण समर्पणभाव । त्यसैले, कुनै पनि बिष्फोटक प्रकृतिको आन्दोलनमा यो उमेरका कञ्चन मन, बालसुलभ भोलापन, कल्पनाशीलताले भरिएका किशोरकिशोरी र नवयुवा सजिलै फाल हाल्छन्, सहिद हुन्छन्, दुःख पाउँछन् । तीमध्ये बाँच्नेले विवेकी नेतृत्व पाएछन् भने जीवनको अर्थ भेटेको अनुभव गर्लान् र समाजका निम्ति अझै उपयोगी भएर, जीवनप्रति कृतज्ञ भएर भौतिक दुःख कष्टबीच पनि रमाइरहन सक्लान् । अविवेकी नेतृत्वको फेला परेछन् भने ‘उपयोग गर र फ्याँक’ (युज एन्ड थ्रो) भन्ने उपयोगवादिताको सिकार बन्लान् र  दूधबाट झिंगा फ्याँकिएझैंँ फ्याँकिएलान् । 

चरम शोषणको सिकार बनेको अनुभूति लिएर बाँच्न अभिशप्त यिनले अर्को कुनै उचित मार्ग फेला पारेनन् भने कि चरम निराशा र विषादमा डुब्ने कि समाजमा असन्तुष्टिको मुहानका रूपमा परिणत हुने वा हिंस्रक गतिविधिमै लाग्ने सम्भावना पनि हुनसक्छ । अर्काथरी आफँै विस्तारै नेतृत्व तहमा पुग्लान् तर किशोरावस्थाको ‘म’ भावबाट अलिकति पनि फराकिलो हुन नसक्दा जहिले पनि आफ्नो गुटभन्दा पारि देख्न नसक्ने लघुदृष्टि (मायोपिया) का सिकार हुन्छन् । अत्यन्त थोरै मानिस त्यस्ता हुन्छन् जसले आफ्नो ‘म’ भावलाई युगले खोजेको, देशले खोजेको जत्तिकै विशालता प्राप्त गर्न सक्छन् । त्यस्ता मानिस मात्रै साँच्चैका नेता हुन्छन् । नेता हुन गुरुको खुबी चाहिन्छ । गुरु हुन, आमाबाबुको जस्तो स्नेहका धनी हुनुपर्छ । साँच्चैको आमा÷बुबा हुन नयाँ पुस्ताप्रति साँच्चैको प्रेम चाहिन्छ । र, साँच्चैको प्रेम गर्न आफ्नो ‘म’ लाई फराकिलो र पातलो पार्ने खुबी चाहिन्छ । देशले खोजेको यस्तो नेता हो । दुर्भाग्यवश यस्ता नेताको अभाव झन् झन् खड्किँदो छ ।

के यो असम्भव  कुरा हो ? के यो चाहना अप्राप्य आदर्श कल्पनामात्र हो ? दिवास्वप्न वा पागलपन हो ? 

त्यसो त नहुनुपर्ने ! 

जताजतै ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने नारा सुनिन्छ अचेल । बुद्धले सिकाएका अत्यन्त व्यावहारिक, आधुनिक विज्ञानले समेत सम्भव भनी प्रमाणित गरेका तथ्य कसरी असम्भव होला र ? कुनै न कुनै रूपमा ‘म’ को व्यवस्थापन सिकाउँछन् बौद्ध धर्मका हरेक ‘यान’ ले । त्यस्ता असाध्य र असम्भव कुरा पनि छैनन् । अलिकति जाग्रत रहँदा, करुणाको मलजल गर्दा, प्रेमको सीमालाई अलिकति फराकिलो पार्दा, थोरैमात्र शील पालन गर्दा पनि अकल्पनीय परिवर्तन आउँछ मानिसमा भने त्यो कसरी असमम्भव हुन्छ ? सबै राजनीतिक पार्टी ‘प्रशिक्षण’, ‘शुद्धीकरण’ जस्ता शब्दावली प्रयोग गर्छन् । कम्युनिस्टहरू त अझ बढी प्रयोग गर्छन् यस्ता शब्दावली । पार्टी पंक्तिभित्र होस् वा सरकारी कर्मचारीतन्त्रभित्र, सबैले अलि असल बन्ने प्रयत्न गर्नु सक्दै नसकिने कुरा हो र ?

अहिले सत्तामा पुगेका कम्युनिस्टहरूप्रति कतिपयको पूर्वाग्रह होला तर जुन जनमतका साथ उनीहरू सत्तामा पुगेका छन् त्यसले उनीहरूप्रति कति धेरै अपेक्षा छ भन्ने पनि देखाउँछ । यी कम्युनिस्ट नेताहरूलाई चीनका लिउ साओ छिका बारेमा थाहा नहुने कुरै छैन । लिउलाई धुलिसात गर्न, उनको दानवीकरण गर्न, ‘सांस्कृतिक क्रान्ति’ का बेला जे÷जे उपयोग भए, तीमध्ये एउटा ‘कसरी असल कम्युनिस्ट बन्ने’ भन्ने उनको पुस्तिकासमेत परेको थियो । अहिले चीनमै पनि परिस्थिति फेरिएको छ । नेपालमै पनि कम्युनिस्टहरूले छोटो समयमै सिक्नुपर्ने धेरै पाठ सिक्ने अवसर पाएका छन् । नेपालमा जन्मिएका बुद्ध वैचारिक हिसाबले अलि टाढैको लाग्छ भने तिनै लिउ साओ छिले लेखेको ‘कसरी असल कम्युनिस्ट बन्ने’ भन्ने किताबमात्रै भए पनि कमरेडहरूले समय सान्दर्भिक ढंगले अध्ययन गर्दा के पो बिग्रिएला र ? यथार्थवादी, वस्तुवादी, वैज्ञानिक सोच राख्ने कामरेडहरूलाई झन् झन् असल बन्न केले छेक्ला र ?

स्थिरता, सामाजिक न्याय र समृद्धिसहितको विकसित लोकतन्त्रको जनआकांक्षालाई नयाँ सत्ताधारीले बुझ्न सकून् । त्यसअनुरूप केही गर्न सकून् । आआफ्ना ‘म’ को उचित व्यवस्थापन गर्न सकून् । शुभकामना !







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सन्नी लियोनी अस्पताल भर्ना

सन्नी लियोनी अस्पताल भर्ना

बलिउड अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनी अस्पताल भर्ना भएकी छिन्। टिभी शो स्प्लिट्सविला सीजन ११ को शुटिङ्गका विरामी परेर चामुण्डा...

स्वस्तिमा बनिन् टेम्पो चालक

स्वस्तिमा बनिन् टेम्पो चालक

राजधानीमा टेम्पो चालक महिलाको संख्या उलेख्य छ यसैले महिला चालक हुनु नयाँ भएन। तर शुक्रबार बिहान विजुली बजार क्षेत्रमा चलेको...

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

न्युरो एन्डोक्रइन क्यान्सरबाट पीडित अभिनेता इरफान खान विगत ३ महिनादेखि उपचारका लागि बेलायतको लण्डनमा छन्। शरीरमा ट्युमर हुने रोगसँग जुधिरहेका...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...