"

कुटिल कूटनीति

शुक्रबार, ११ फागुन २०७४, ०९ : ५७ युवराज गौतम


“कूटनीति र सुन्दरीबीच के फरक छ ?” एकजना पश्चिमा कूटनीतिज्ञले अर्का निपुण कूटनीतिज्ञलाई सोधेछन् । विनोदप्रिय, रसिक, पाका र फरासिला कूटनीतिज्ञले जवाफ दिए, “असल कूटनीतिज्ञले ‘हुन्छ’ भन्यो भने ‘हुनसक्छ’ भन्ने बुझ्नू । ‘हुनसक्छ’ भन्यो भने ‘हुँदैन’ भन्ने बुझ्नू । तर ‘हुँदैन’ भनेर ठाडै अस्वीकार गर्छ भने ऊ कूटनीतिज्ञ नै होइन रहेछ भन्ने बुझ्नू।”

“अनि सुन्दरी चिन्ने कसरी ?” युवा राजदूतले उत्सुकतापूर्वक सोधे । जेठा कूटनीतिज्ञ बोले, “शिक्षित, योग्य र राम्री तरुनीले ‘हुँदैन, हुँदैन’ भनिन् भने ‘हुनसक्छ’ भन्ने बुझ्नू । ‘हुनसक्छ’ भनिन् भने ‘हुन्छ’ नै भन्ने बुझ्नू । केही कुरा प्रस्ताव गर्नासाथ ‘भइहाल्छ नि’ भनिन् भने ती गुणस्तरहीन रहिछन् भन्ने बुझ्नू।”

अहिले तराईका कतिपय ठाउँमा नेपाली, मैथिली, थारू, बज्जिका, मगही, भोजपुरी, अवधिलगायतका पुराना भाषालाई विस्थापित गरेर हिन्दी भाषालाई स्थापना गर्न खोजेको पाइन्छ । सरकारी तथ्यांकले त्यहाँ ०.४७ प्रतिशत मात्र हिन्दी बोल्नेहरू भएको देखाएको छ । 

नेपाली कूटनीतिमा पनि ‘भइहाल्छ नि’ भन्ने सस्तो प्रवृत्ति बढेको देखिन्छ । ठूला शक्तिले ससाना, कमजोर र दरिद्र राष्ट्रहरूलाई ‘उपराष्ट्र’ (सुजेरेन्टी) बनाउन खोज्ने दुस्साहस गरिरहेकै छन् । तर साखालीन (काराफुतो) टापुलाई जापानले रसियाबाट कब्जा गरेझैँ, ब्रिटेनले फकल्याडमा हमला गरेझैँ, रसियाले अफगानिस्तानमा ढलीमली गरझैँ, अमेरिकाले पनामामा हानेझैँ वा भारतले सिक्किम क्वाप्प निलेझैँ प्रत्यक्ष हस्तक्षेप गर्ने साहस गर्दैनन्, ठूल्दाजुहरू । उनीहरू साना राष्ट्रलाई घुमाउरो शैलीमा झड्केलो कूटनीतिमार्फत बिटुल्याउन खोज्छन् । लोभीहरूलाई मायाजालमा पार्छन् । ठूल्ठूला परियोजना आफ्नो बनाउँछन् । महानदी, ताल, जंगल र ढुंगामाटोमा हक खोज्छन् । कोशी, गण्डकी, महाकाली आदिमा नेपाल नराम्रोसँग ठगिएको छ । ठगिने र लुटिने क्रम रोकिएको छैन । विद्रुप कूटनीतिको राप र ताप झन् प्रखर देखिएको छ। 

‘क्रान्तिकारी’ भनिएका कथित नायकहरूलाई राष्ट्रवादविरोधी गायक बनाउन सक्छ सस्तो कूटनीतिले । स्पेनबाट ‘क्याट्लोनिया’ टुक्राउन खोज्दा स्पेनिस प्रधानमन्त्री मारिआनो राजोयले स्पष्ट ऐलान गरे, “राष्ट्र सदैव अखण्ड रहन्छ, रहनुपर्छ । कुनै भाषा, जात वा क्षेत्रका आधारमा राष्ट्र टुक्रिँदैन । राष्ट्र टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई क्षमा गरिँदैन ।” राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपालको पुनः एकीकरण गरेपछि उनका एकजना भाइले ‘एक भाग राज्य मलाई पनि चाहियो’ भनेर लोभ देखाए । राजाले गर्जिंदै उत्तर दिए, “हेर् भाइ, राज्य अविभाज्य हुन्छ । देश टुक्र्याउने कुरा गरिस् भने तेरो गर्दन छिनाइदिन्छु।”

हाम्रा पुर्खाले बडो दुःखकष्टले बनाएको र बचाएको राष्ट्र हो नेपाल । आज हजारौँ चुनौतीले घेरिएको छ । सेना दिवस (महाशिवरात्रि) मनाउँदा टुँडिखेलमा एकीकरण अभियान झल्काउने सुन्दर र हृदयस्पर्शी कला प्रदर्शन गरिएको थियो, यसपटक । आन्तरिक कलह र विदेशी फौजको सामना गर्दैै सेनाले राष्ट्र जोगाएको गाथामय कथा सुनाइएको र युद्धको झलक देखाउने दृश्य प्रस्तुत गर्दा दर्शकहरू भावुक र मन्त्रमुग्ध देखिन्थे । विद्यालय र कलेजका पाठ्यक्रममा राख्नुपर्ने र प्रमुख सहर–बजारमै राष्ट्रनिर्माणको यथार्थ आत्मसात् गराउनुपर्ने रूपक, एकांकी, नाटक र संगीतमय प्रदर्शनले युवापुस्ता लाभान्वित हुन सक्छन् । राष्ट्रविखण्डन गर्न खोज्नेहरूविरुद्ध मनोवैज्ञानिक युद्ध गर्नुपर्ने बेला भएकाले राष्ट्रिय सुरक्षाका जिम्मेवार अंगहरूले नयाँ ढंगले सोच्नुपर्ने अवस्था आएको छ । यसमा सैनिक कूटनीतिका असल अभ्यासहरू उपयोगी हुन सक्छन्।

२०६२/०६३ को परिवर्तनपछि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका मात्र होइन, राज्यका प्रायः सबैजसो अंगमा धमिरा लाग्दै गएको छ । विदेशी षड्यन्त्रको किरा लाग्दै गएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थादेखि लिएर विदेशी गुप्तचरहरूले गुँड बनाइरहेका छन् । सेनामा राजनीतिकरण, विदेशी हस्तक्षेप, गुटबन्दी र विकृतिको जालो व्याप्त भइसकेको देखिँदैन । तर राष्ट्रिय सेनाले आफ्नो सुदूर भविष्य तथा राष्ट्रको एकता, अखण्डता र स्वतन्त्रता बचाउन अहिले नै स्पष्ट मार्गचित्र बनाएर निर्भीकतापूर्वक अघि बढ्न सकेन भने सेना मात्र भीरबाट लड्ने होइन, राष्ट्र नै सड्ने अवस्था आउँछ। 

अहिले पनि सेनाका कतिपय उच्चपदस्थ अधिकृतहरूले ‘सरकारको आदेश र कार्ययोजना’अनुसार अघि बढ्ने भन्दै सेना व्यावसायिक रहेको दाबी गरिरहेका छन् । तर सिक्किमलाई भारतमा विलय गराउँदा र अन्य कतिपय मुलुकमा राष्ट्रको स्वतन्त्रता र एकतामाथि खेलबाड हुँदा सरकारको वैधानिक आदेश, प्रजातान्त्रिक प्रक्रिया र राजनीतिक सहमतिमै गरिएको पाइन्छ । दक्षिण सुडान पनि प्रजातान्त्रिक प्रक्रियाबाटै टुक्रिएको थियो भने इथियोपियाबाट इरिट्रिया टुक्र्याउँदा होस् वा इन्डोनेसियाबाट इस्टटिमोर टुक्र्याउँदा, प्रजातान्त्रिक विधि नै अपनाइएको थियो । त्यसैले नेपालमा विदेशी शक्तिले प्रजातान्त्रिक तरिकाले नै सरकारलाई आफ्नो पक्षमा पार्दै सरकारको मार्गचित्रमा हिँड्न सेनालाई बाध्य बनाए भने त्यो बेला सैनिक मुख्यालयले सरकारको विधिसम्मत आदेश र प्रजातान्त्रिक प्रक्रियाको समर्थन भन्दै राष्ट्रघातलाई समर्थन गर्छ ? अहिले धेरैले उठाउने प्रश्न यही हो। 

राष्ट्रियताको सवालमा विचार मिल्छ भने रणनीतिक र कार्यगत एकता हुनसक्छ । त्यसमा इमान चाहिन्छ । चीनका कम्युनिस्ट नेता माओले राजा महेन्द्रलाई पूर्ण विश्वास गर्ने एउटै आधार थियो, उनी विश्व राजनीति  र कूटनीतिमा पूर्णतः असंलग्न थिए, असफल थिएनन् । वासिङ्टन र मस्कोको इसारामा धेरै राष्ट्र नाचिरहेका बेला राजा महेन्द्रले अमेरिका तथा सोभियत संघको भ्रमण गरेर आफ्नो धारणा प्रस्ट पारे । २०१७ सालपछि नेपालको विकासमा अमेरिका र सोभियत संघले ठूलो मद्दत गरे । ब्रिटेनकी महरानी एलिजाबेथले दुईपल्ट नेपाल भ्रमण गरिन् । तर ती राष्ट्रको परोक्ष र प्रत्यक्ष हस्तक्षेप हुन दिइएन । किनभने नेपालले त्यो बेला कुटिल र अमर्यादित कूटनीतिलाई प्रोत्साहन दिएको थिएन । 
झन्डै पँैतीस वर्षअघि संसद् (तत्कालको राष्ट्रिय पञ्चायत) मा ‘रिपोर्टिङ’ गर्ने काममा रेडियो नेपालबाट खटाइएको यो पंक्तिकारलाई कूटनीतिज्ञ (पूर्वपरराष्ट्रमन्त्री) पदमबहादुर खत्रीले भनेका थिए, “काठमाडौँस्थित अमेरिकी राजदूत लगायतले परराष्ट्र सचिवलाई आग्रह गरेपछि मात्र प्रधानमन्त्री र राजासँग भेट गर्न पाउने प्रचलन थियो ।” २०४६ सालपछि भारतीय कूटनीतिज्ञले त नेपालका प्रधानमन्त्रीलाई आफ्नै कारिन्दा र फाँटवाला जस्तो ठान्न थाले । चप्पल लगाएर राजदूतले प्रधानमन्त्रीसँग भेट गरेका दृश्य टेलिभजिनमा देखियो । मर्यादा, आचार, शिष्टाचार र कूटनीतिक अनुशासन हराउँदै गयो । सरकारले दलका कार्यकर्ता र चन्दादाताहरूलाई राजदूत बनाउन थालेपछि कूटनीतिको हुर्मत लिने काम भयो। 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेतामध्येका एक डा. केशरजंग रायमाझीले लेखेका छन्, “एकीकरणकालदेखि आजसम्ममा थुप्रै देशभक्तहरूको योगदानले यो देश बनेको छ । तीमध्ये भीमसेन थापा यस्ता देशभक्त हुन्, जसको नाम कार्ल माक्र्सले समेत लिने गर्थे ।” (श्री ५ वीरेन्द्र स्मृतिग्रन्थ, पृष्ठ ३५) । २०१६ सालमा रुसमा भएको कम्युनिस्टहरूको सम्मेलनमा कृष्णराज बर्मा, शम्भुलाल श्रेष्ठ र केशरजंग रायमाझी सहभागी थिए । चीनको कम्युनिस्ट क्रान्ति सम्पन्न भएको प्रथम दशक समारोहमा भाग लिन २०१५ सालमा डा. तुलसी गिरी, अच्युतराज रेग्मी, पीबी मल्ल र डा. केशरजंग चीन पुग्दा माओले राजा महेन्द्र साम्राज्यवादी र विस्तारवादीको विरोधी भएकाले आफू कम्युनिस्ट भए पनि राजा महेन्द्रको समर्थन गरेको प्रसंग डा. रायमाझीले उल्लेख गरेका छन् । पद पाउन र कुर्सी जोगाउन कहिले दिल्लीराम त कहिले चिनियाँलाल बन्ने छविलालहरूले शान्ति प्रक्रियामा (?) आएपछि भ्रान्ति प्रक्रियामा परेर आफैँलाई कुहिरोको काग साबित गरेका छन् । माओवादीका पछिपछि दौडिएर धेरै वर्ष हन्डर खाएका नेपालगञ्जका नरेन्द्रजंग पिटरले केही दिनअघि एउटा लेखमा थोरै शब्दमा माओवादीको तस्बिर उतारेका छन्, “आजको माओवादी बलिदानीबाट भोगी र विलासीमा फेरियो । अरू के–के भयो, जगजाहेरै छ।”

राष्ट्र, राष्ट्रिय एकता र अखण्डतालाई सिक्किमीकरण, बुरुन्डीकरण  फिजीकरण गर्न खोजिएका धेरै उदारहण छन् । तर कुन बाटो हिँड्ने त ? ‘च्वाइस’ हाम्रो हातमा छ । उन्नाइस दिने जनआन्दोलनको उपलब्धि वा दशवर्षे सशस्त्र विद्रोहको जगमा लेखिएको (लेखाइएको) संविधानले सुख, शान्ति, समृद्धि, स्थायित्व र राष्ट्रको अस्तित्व सुरक्षित गर्छ भन्ने कुरामा भारुजीवी, डलरजीवी र युरोजीपी विद्वान्–विदूषीहरू ढुक्क होलान् । तर बहुसंख्यक जनता राष्ट्रको भविष्यबारे चिन्तित छन् । तर “नेपाली बन, नेपाली भन, सम्हाल नेपाल’ भन्ने राजा महेन्द्र र ‘आफ्ना कुलाधर्म नछोड्नू’ भन्ने पृथ्वीनारायणप्रति सदैव नतमस्तक राष्ट्रवादीहरू राष्ट्र र गणतन्त्रमध्ये एउटा मात्र जोगाउन सकिने अवस्था रहेको विश्लेषण गरिरहेका छन्। 

राष्ट्र अरूलाई नै बुझाएर सिक्किमले पनि गणतन्त्र जोगाएकै छ । सर्वाधिकार बुझाएर अलिकति अधिकार पाएकै छ । भोकै रुनुपर्ने अवस्थामा पनि बुरुन्डी, कंगो, अंगोला, सियरालिओन र मोजाम्बिक लगायतका पचासौँ राष्ट्रमा गणतन्त्र जीवितै छ । तर स्वाभिमान मरिसक्यो । धर्म–संस्कृति मासिए पनि, राष्ट्र भासिए पनि, जनताको पेट सारङ्गीजस्तो भए पनि, लाखौँ जनता भोकै मरे पनि विदेशीले नेतागणलाई गणतन्त्र बचाउन पालनपोषण गर्छन् । जनताको हालत के हुन्छ भनेर गृहयुद्धको आगोमा जलेका राष्ट्रको इतिहास नेता र जनताले पढिदिए पुग्छ । तसर्थ, आफूलाई मन परेको पार्टीले राष्ट्रलाई टुक्राटुक्रा गर्दा जब जुद्धिजीवीहरू समेत ताबेदारी गर्दै हिँड्छन्, त्यहाँका जनताले अवश्य पनि रगतका आँसु झार्नुपर्ने दिन आउँछ। 

जोन एफ केनेडी क्रिश्चियन धर्मको ‘क्याथोलिक’ मतका थिए, युवाअवस्थामै मारिए । वारेन हार्डिङ, ह्यारी ट्रुम्यान, जिमी कार्टर, बिल क्लिन्टन, लिन्डन बी. जोन्सन, थियोडर रुजबेल्ट, एन्ड्रयु ज्याक्सन, जेम्स बुचानन, बेन्जामिन ह्यारिस, डीडी आइजनहावर, रोनाल्ड रेगन, जर्ज वासिङ्टन, जेम्स म्याडिसन, फ्रयांकलिन रुजबेल्ट, जेराल्ड फोर्ड, जर्ज डब्ल्यू बुस, रिचर्ड निक्सन, जोन एडम्स, जोन एडम्स, बाराक ओबामा र डोनाल्ड ट्रम्प सबै अमेरिकी राष्ट्रपति प्रोटेस्टेन्ट हुन् । “मलाई मद्दत गर परमेश्वर” भन्दै देब्रे हातले बाइबल छोएर दाहिने हात उठाउँदै राष्ट्रपतिले त्यहाँ शपथग्रहण गर्ने परम्परा छ । 
पृथ्वीनारायण शाहले नेपाली जनतालाई “आफ्नो कुलाधर्म  नछोड्नू” भन्दा त्यसको अपव्याख्या गर्ने पश्चिमा र उनीहरूका नेपाली मानसपुत्रहरू युरोप र अमेरिका किन बाइबलको बलमा चलिरहेका छन् भनेर कुनै प्रश्न गर्दैनन् । बरू हाम्रा प्राचीन धर्म–संस्कृतिले राष्ट्र पछौटे भएको कुतर्क गर्छन् । बाइबलले १९१७ वर्षभन्दा पहिलेको कुरा बुझ्दैन । जिसस क्राइस्टभन्दा पहिले पश्चिमाका देवी देवता को थिए त भन्ने खुलासा हुँदैन । तर पूर्वीय गोलाद्र्धका दश हजार वर्षभन्दा पुराना ग्रन्थहरूमा खगोल, भूगोल, अन्तरिक्ष, मेडिकल साइन्स, इन्जिनियरिङ, यौन, तन्त्रसाधना, साहित्य, संगीत, कला, इहलोक, परलोक सबैको वर्णन छ । त्यसैले म्याक्समुलर लगायतले हाम्रै प्राचीन ग्रन्थ पढे । अक्सफोर्ड र हार्वर्ड विश्वविद्यालयले गीता, पतञ्जलि दर्शन, उपनिषद् र वेदलगायत ग्रन्थ पाठ्यक्रममा राखे । नेपालमा संस्कृतलाई कुरै नबुझी एकथरी शठहरूले मृतभाषा भनिदिए।

संयुक्त राष्ट्रसंघमा बर्माका ऊ थान्ट (बौद्ध धर्मावलम्बी) बाहेक सबै क्रिश्चियन मात्र महासचिव भए । युएनओको पहिरनमा शान्ति मिसनमा खटिएका पात्रहरूले विभिन्न देशका प्राचीन धर्म–संस्कृति, एकता र अखण्डता भाँडेका धेरै उदारहण छन् । अमेरिकाको दान–दातव्य धेरै भएकाले राष्ट्रसंघ अमेरिकाकै रैतीजस्तो बनेको देखिन्छ । अमेरिकी गुप्तचर संस्थाको गुप्त योजना अनुसार सद्दाम हुसनेलाई मारियो भने नेपालमा २०१५ सालपछि चीनलाई टुक्र्याउन खम्पा विद्रोह चलाएर सीआईएले हिमाली क्षेत्रमा गरेका गतिविधिहरू नेपाली सेनाले निस्तेज तुल्याएको थियो। 

कुनै पनि राष्ट्रको एकता, अखण्डता र स्वतन्त्रता कमजोर तुल्याउन त्यहाँको प्राचीन धर्म, पुराना भाषाहरू र संस्कृति नष्ट गरिन्छ । त्यही षडयन्त्र अनुसार अहिले तराईका कतिपय ठाउँमा नेपाली, मैथिली, थारू, बज्जिका, मगही, भोजपुरी, अवधिलगायतका पुराना भाषालाई विस्थापित गरेर हिन्दी भाषालाई स्थापना गर्न खोजेको पाइन्छ । सरकारी तथ्यांकले त्यहाँ ०.४७ प्रतिशत मात्र हिन्दी बोल्नेहरू भएको देखाएको छ । तर प्रदेश नं. २ मा हिन्दीलाई स्थापित गर्ने र तराईका अन्य जिल्लामा समेत फैलाउने प्रयास भएपछि स्थानीय जनता त्यसका विरुद्ध उत्रिएका छन् । राष्ट्रलाई कमजोर बनाउन खोज्ने र राष्ट्रिय एकता भाँड्न चाहनेहरू संघीयताको खोल ओढेर अहिले पनि सक्रिय देखिन्छन् भने त्यस्ता कुकर्म गराउन नेपालमा बसेका कतिपय विदेशी कूटनीतिज्ञहरूले समेत भूमिका खेलिरहेको पाइन्छ । तसर्थ कूटनीतिमा देखिएका द्वैध चरित्र तथा समाजसेवा एवं राजनीतिक आवरणमा फैलिइरहेको राष्ट्रघाती गतिविधिलाई रोक्न समयमै सतर्क हुनुपर्ने खाँचो देखिएको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

करिश्मा कपूर : अभिषेकसँग तय भएको विहे किन टुट्यो ?

करिश्मा कपूर : अभिषेकसँग तय भएको विहे किन टुट्यो ?

बलिउड अभिनेत्री करिश्मा कपूर अहिले सिंगल जीवन विताइरहेकी छिन्। पति सञ्जय कपूरसँग २०१६ मा सम्बन्ध विच्छेद गरेर उनी सिंगल मदरको...

‘महिलाका यौन इच्छाका बारे बोल्नु अपराध हो?’

‘महिलाका यौन इच्छाका बारे बोल्नु अपराध हो?’

बलिउड अभिनेत्री स्वरा भास्कर हालसालै ‘वीरे दि वेडिङ’को एक दृश्यका कारण ट्रोलको सिकार बनिन्। ...

अनमोल केसी पर्यटन प्रबद्र्धनमा

अनमोल केसी पर्यटन प्रबद्र्धनमा

नायक अनमोल केसी आफू अभिनित फिल्मको प्रमोसन र रिलिजपछि हलमा दर्शकसँग भेट्न बाहेक अन्य समयमा कहाँ के गर्दैछन् भन्ने उनको...

एकसाथ ‘प्रणय’ र ‘अतिरिक्त’

एकसाथ ‘प्रणय’ र ‘अतिरिक्त’

साहित्यकार डा. डिआर उपाध्यायको उपन्यास ‘अतिरिक्त’ र एल्बम ‘प्रणय’ एकसाथ सार्वजनिक भएको छ। ...