८ वैशाख २०८१ शनिबार
समाज

उपचार खोज्दै बंगलादेशबाट म्याग्दीको तातोपानी

बंगलादेशबाट आएकी याशोदा र उनका छोरा जयदेव। तस्बिर: हरिकृष्ण

म्याग्दी–दक्षिण एसियाली राष्ट्र बंगलादेशकी जशोदालाई एकदशकदेखि ग्यास्ट्रिक र घुँडाको समस्याले सताइरहेको छ । बंगलादेश र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदासमेत निको भएन । अस्पतालमै उनले धेरै पैसा खर्च गरे पनि रोग निको नभएपछि उपचारको खोजीमा म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी कुण्डमा आएर स्नान गरिन् ।

रोजगारको सिलसिलामा युएईमा रहेका छोरा जयदेवको सहयोगमा उनी नेपालमा रहेको तातोपानीमा आएकी हुन् । ‘दुई साता कुण्डमा डुबेर फर्किएँ । अर्को वर्ष पनि आउँछु,’ उनले भनिन् । उनले कुण्डमा रहेका नेपालीको रोग निको भएको जानकारी पाएपछि आफू थप उत्साहित भएको बताइन् । ‘उताबाट आउँदा निराश थिएँ, यहाँ स्नान गरेपछि शरीरमा नयाँ जोश आएको छ,’ जशोदाले भनिन् । 

उनले नेपालको पहाडी जिल्लामा तातोपानी कुण्ड रहेको जानकारी पाएपछि खोजी गरेर आएको बताउँदै आफ्नो जस्तै समस्या भएकालाई जानकारी गराउने बताइन् । बंगलादेशका महंगो अस्पतालमा समेत निको नभएको रोगलाई कुण्डको तातोपानीले निको बनाएको बताइन् । ‘मैले चिकित्सकले दिएको औषधि पनि नियमित खान्छु, कुण्डमा पनि हरेक वर्ष आउँछु,’ उनले भनिन् । 

बिरामीले निको भएपछि १ सयदेखि ५० हजारसम्म चन्दा, आजीवन सदस्यता, सामान सहयोग गर्ने गरेका छन् । 

सार्क  राष्ट्रभित्रका अधिकांश महिलाको दैनिकी कृषि, पशुपालन लगायत घरायसी काम हुने भएकाले पनि नसा, छाला लगायतका रोगले सताउने गरेको उनको भनाइ छ । कुण्डभित्र स्नान गर्न नेपालका विभिन्न जिल्लाबाट आएका बिरामीको रोग स्नान गरेपछि निको भएको खबरले आत्मबलसमेत बढेको बताउँदै छोराको कमाइले हरेकवर्ष कुण्डमा आउन सहज भएको बताइन् । पछिल्ला केही वर्ष यता प्राकृतिक उपचार केन्द्रको रूपमा परिचित तातोपानीमा नेपालका साथै भारत, जापानबाट समेत आउने गरेका छन् । ‘विदेशमा पनि तातोपानी कुण्डको प्रचारप्रसार भइरहेको छ । 

बिरामीको प्रचार प्रसारबाटै धेरै स्नान गर्न आउँछन्,’ कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले भने । उनले जापानबाट नियमित आउने तीन समूहले यहाँका बिरामीको भनाइ र तातोपानी कुण्डको पानीको समेत अनुसन्धान गरेको बताए । उनका अनुसार बर्सेनि करिब २० हजार बिरामीले कुण्डमा स्नान गर्ने गरेको बताए । 

उनले विदेशमा रोजगारको क्रममा दुर्घटनामा परेकाले समेत घर फर्किएपछि कुण्डमा एक महिनासम्म स्नान गर्ने गरेको बताए । मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सियसको तापक्रममा निस्कने बिरेनुन स्वादको तातोपानी आउने गरेको छ । जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने तातोपानी पोखरीमा संकलन गर्ने गरिन्छ । 

गन्ध आफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुने बताए पनि गर्मी मौसममा सरुवा रोग फैलन सक्ने सम्भावनालाई मध्यनजर गरी माक्स र आवश्यक सतर्कता अपनाउने गरिएको छ । बिरामीको चाप बढ्दै जान थालेपछि भौतिक पूर्वाधारका साथै भासिएको पानीलाई मोटरबाट संकलन गरी स्नानको व्यवस्था मिलाइएको छ । कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्रिएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुने लगायतका स्वास्थ्य समस्या भएका बिरामी पुग्ने गरेका छन् । कुण्डमा उपचार गर्न पुगेका बिरामीले निको भएपछि १ सयदेखि ५० हजारसम्म चन्दा, आजीवन सदस्यता, सामान सहयोग गर्ने गरेका छन् ।

डाक्टरको रोजाइमा पनि कुण्ड 
डा. कृष्ण भुसाल र अविता भट्टराई समेत एकसाता तातोपानी कुण्डमा स्नान गरे । नोबेल मेडिकल कलेजबाट एमबिबिएस गरेकी भट्टराई ग्यास्टिकको समस्या निको हुने विश्वासका साथ कुण्डमा आएको बताइन् । उनले नियमित औषधि सेवनसँगै बिरेनुन स्वादको तातोपानीले निको हुने आफन्तको सल्लाहपछि कुण्डमा आएको बताउँदै केही निको भएको बताइन् ।

‘प्राकृतिक उपचार पद्धतिको पनि विश्वास गर्नुपर्छ । यहाँ  तीन दशक देखि नियमित स्नान गर्ने बिरामीसमेत भेटिए,’ उनले भनिन् । चिकित्सक दम्पतीले बिरामीको आत्मबलले समेत रोग निको हुने बताउँदै रोग पहिचान गर्दै उपचार व्यवस्थापन गर्न प्याथोलोजी र प्याथोलोजिस्टको भूमिका रहेपनि प्राकृतिक उपचार प्रद्धतिको प्रयोग आवश्यकता रहेको बताए । कुण्डमा यसअगाडि समेत विभिन्न जिल्लाबाट चिकित्सक नै स्नान गरी केही महिनापछि स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए । पर्यटकीय स्थलमा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकसमेत तातोपानीको अवलोकनको क्रममा कुण्डमा एकसातासम्म स्नान गर्न गरेका छन् । 

प्रकाशित: १० फाल्गुन २०७४ ०७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App