७ वैशाख २०८१ शुक्रबार
कला

प्रिया प्रकाशलाई अदालतले दियो ‘न्याय’

मुम्बई – साउथ इण्डियनतर्फको मलयालम फिल्म उद्योगकी चर्चित युवा अभिनेत्री प्रिया प्रकाश वारियरलाई सर्वाेच्च अदालतले ‘न्याय’ दिएको छ। उनीविरुद्ध दर्ता भएका एफआईआरमा रोक लगाउँदै अदालतले राहत दिएको हो। 

प्रिया भर्खरै सार्वजनिक एक म्युजिक भिडियोबाट चर्चामा आएकी हुन्। उनको सुन्दरताबाट बलिउडका ठूला हस्ती समेत प्रभावित भएका छन्। तर मुस्लिम समुदायले प्रियाको ‘मणिका मालाराया पूवी’ गीतले आफ्नो भावनामा चोट पुर्याएको भन्दै उनीविरुद्ध हैदराबाको फलकनुमा पुलिस स्टेशनमा एफआईआर दर्ता गरेका थिए।

आफूविरुद्ध दर्ता भएको सो एफआईआर खारेजको माग गर्दै प्रियाले अदालतमा रिट निवेदन दायर गरेकी थिइन्। अदालतले एफआईआरमा रोक लगाउँदै उनीविरुद्ध कारवाही अघि नबढाउन आदेश दिएको हो।

‘मणिका मालाराया पूवी’ बोलको गीत भाइरल भएसँगै प्लस टु मा पढ्दै गरेकी १८ वर्षीय प्रिया र निर्देशकविरुद्ध हैदराबाको फलकनुमा पुलिस स्टेशनमा एफआईआर दर्ता भएको थियो। यसका अलाबा मुम्बई पुलिस र महाराष्ट्रको औरंगाबामा पनि उनीविरुद्ध उजुरी दर्ता भएको छ। उजुरीमा उनको गीत प्रसारणमा रोक लगाउन माग गरिएको छ। यता प्रियाले भने गीतलाई तोडमोड गरेर आफूविरुद्ध कैयौं समूहले उजुरी दिएको गुनासो गरेकी छन्।

सामाजिक सञ्जाल (युट्युब)मा ११ दिन अगाडि सार्वजनिक उनको गीतको भिडियोलाई अहिले ३८ लाखभन्दा बढी मानिसले हेरिसकेका छन्। उनको म्युजिक भिडियोमा आँखा झिम्काएको (आँखो मारेको) दृश्यमा कैयौले आपत्ति जनाएका छन्, जुन युवामाँझ चर्चित बनेको छ। 

प्रकाशित: ९ फाल्गुन २०७४ १२:४९ बुधबार

प्रिया प्रकाशलाई अदालतले दियो न्याय