८ वैशाख २०८१ शनिबार
खेल

एपिएफलाई प्रधानमन्त्री कप उपाधि

प्रतियोगिताको विजेता टोली एपिएफका खेलाडी सामूिहक तस्बिरमा। तस्विर/नागरिक

नेपालगन्ज – एपिएफले पाँचाैं  प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल उपाधि जित्दै नेपाली महिला भलिबलमा आफनो वर्चस्वलाई निरन्तरता दिएको छ। सोमबार नेपालगन्ज कभर्ड हलमा एपिएफले शिवम् न्यु डायमन्डलाई १२–२५, २५–२१, २५–१६, २१–२५, १९–१७ ले हराउँदै प्रधानमन्त्री कप पाँचाैं महिला भलिबलको उपाधि दोस्रो पटक जित्न सफल भएको हो । यसअघि एपिएफ प्रतियोगिताको दोस्रो संस्करणमा च्याम्पियन बनेको हो।

डायमन्डले सोमबार उत्कृष्ट सुरुआत गर्दै फाइनल जित्ने लक्ष्यलाई बलियो बनाउने प्रयास गरेको थियो । पहिलो सेटमा प्रतिभा माली र मन्जु गुरुङले उत्कृष्ट स्पाइक गर्दै खेलमा डायमन्डलाई हाबी बनाएका थिए । तर ब्लक कमजोर हुँदा एपिएफले खेलमा सहजै कमब्याक गर्ने अवसर पायो । कमब्याक गराउने मुख्य खेलाडी बनिन् सरस्वती चौधरी । उनलाई नेबिका चौधरी र रेश्मा भण्डारीले साथ दिएका थिए।

प्रतियोगिताको उत्कृष्ट खेलाडी एवम वुमन अफ द फाइनल बनेकी सरस्वती चौधरीले ३६ अंक बनाइन् । खेलमा सर्वाधिक अंक जोड्ने खेलाडी बनेकी प्रतिभा मालीले ५४ स्कोर गरिन् । तर उनको टोली च्याम्पियन भने हुन सकेन । प्रतियोगिताको उत्कृष्ट स्पाइकर बनेकी प्रतिभाले आफूले पनि अपेक्षा गरेअनुसार खेल्न नसकेको बताइन् । उनले भनिन , ‘हामीले दबाबमा खेलेका थिएनौं । विपक्षी स्पाइकरको लयलाई रोक्न सक्नुपर्ने थियो तर दोस्रो सेटमा त्यो सफलता मिलेन । एपिएफको आज ब्लक राम्रो थियो । खेल रोमाञ्चक बन्यो, खुसी छौं । हामी आगामी दिनमा राम्रो गर्ने कोसिस गर्छांै ।’ एपिएफको जितमा साथ दिएकी नेबिका चौधरीले २१, उषा विष्टले १२ स्कोर गरे।

नेपाली महिला टोलीकी स्पाइकर मन्जु गुरुङले अहिले घरेलु प्रतियोगिता शिवम न्यु डायमन्डबाट खेलिरहेकी छिन् । मन्जुको आगमनले पनि डायमन्ड टोली थप बलियो बनेको थियो । मन्जुले फाइनलमा पनि टोलीको स्कोर बढाउन सहयोगी भूमिका खेलिन् । मन्जुले १८ र कप्तान ललिता नाथले ७ स्कोरको योगदान गरेका थिए । पछिल्लो एक महिनामा न्यु डायमन्ड र एपिएफले तीन प्रतियोगिताको फाइनलमा भिडेका छन् । त्यसमा एपिएफले दुई प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले नेपालगन्जअघि चितवनमा भएको प्रथम मेयर कप महिला भलिबलमा पनि डायमन्डलाई हराएको थियो । त्यसअघि काठमाडौंमा भएको शिवम् न्यु डायमन्ड कप भने आयोजक टोलीले जितेको थियो।

नेपालगन्जमा न्यु डायमन्ड उपाधि जित्न असफल हुँदै आएको छ । डायमन्डले प्रतियोगिताको चौथो संस्करणबाहेक अन्य सबैमा सहभागिता जनाउँदै आएको छ । एपिएफ प्रधानमन्त्री कपको फाइनलमा लगातार तीन पटक पुगेको छ । यसअघिका दुई संस्करणमा भारत रेल्वे टिमसँग पराजित भएको थियो । तर तेस्रो पटक फाइनल पुग्दा एपिएफले जित हासिल गर्न सफल भयो । एपिएफका प्रशिक्षक ज्ञानेन्द्र विष्ट रिसिभ कमजोर हुँदा सुरुको सेटमा हारको सामना गर्नु परेको बताउँछन् । उनले भने, ‘पहिलो सेटमा प्रतिभा माली र कृपा अधिकारीले सर्भिसबाट धेरै अंक लिए । पछिका सेटमा डिफेन्स बलियो भएपछि खेलमा फर्कियो । अन्तिम सेटमा पनि हाम्रो डिफेन्स बिग्रिएको थियो । तर अनुभवी खेलाडी भएकाले फिनिसिङ सफल भयो।’

डायमन्डकी व्यवस्थापक सुनकेशरी मालीले अन्त्यतिर खेल नियन्त्रण गर्न नसकेपछि हार्नुपरेको बताइन् । उनले भनिन्, ‘हामीसँग अझ धेरै अनुभवको कमी देखियो । तर खेल प्रतिस्पर्धात्मक भएको छ । अन्तिम सेटसम्म हामी जितनजिक थियौं । दर्शकको माया कमाएका छौं, यही नै ठूलो कुरा हो।’

फाइनल अघि तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले बंगलादेशको इफाद गु्रप अफ महिला भलिबल टोलीलाई सोझो सेटमा हरायो । बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताका विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, नेपाल भलिबल संघ उपाध्यक्ष यामबहादुर गुरुङ, महासचिव जितेन्द्र बहादुर चन्द, नेपालगन्ज उपमहानगर पालिका उपमेयर उमा थापा, सुशील कोइराला स्मृति प्रतिष्ठानका सदस्यसचिव अतुल कोइराला लगायतले पुरस्कार दिएका थिए । विजेता टोलीले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पुरस्कार पाए।

प्रतियोगिताको उत्कृष्ट खेलाडीः सरस्वती चौधरी (एपिएफ)
उत्कृष्ट स्पाइकरः प्रतिभा माली (शिवम् न्यु डायमन्ड)
उत्कृष्ट सेटरः कृपा अधिकारी (न्यु डायमन्ड)
उत्कृष्ट ब्लकरः हीरा केसी (एपिएफ)
उत्कृष्ट लिबेरोः सलिना श्रेष्ठ (न्यु डायमन्ड)
उत्कृष्ट सर्भरः नेबिका चौधरी (एपिएफ)

 

प्रकाशित: ८ फाल्गुन २०७४ ०१:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App