६ वैशाख २०८१ बिहीबार
अन्य

पुल प्रयोग गरे हट्छ जाम

चाबहिलमा भएकाे ट्राफिक जाम तस्विर: काष्डमण्डम

कार्यालय लाग्ने र छुट्ने बेला कोटेश्वर–जडीबुटी क्षेत्रमा गाडी चलाउने जोसुकैले धेरैबेर ट्राफिक जाममा बस्नुपर्छ ।भक्तपुरबाट कोटेश्वरतर्फ आउने र कोटेश्वरबाट भक्तपुरतर्फ जाने सवारीसाधनले जडीबुटी चोकमा केहीबेर नरोकीकन बाटो छिचोल्नै पाउँदैनन् ।

यस क्षेत्रमा जाम हुनुको मुख्य कारण नै, पेप्सीकोला–काँडाघारीबाट आएका र त्यसतर्फ जाने सवारीसाधन सहजै पार हुने संरचना नहुनु हो ।पेप्सीकोला–काँडाघारी तर्फबाट आउने तथा भक्तपुरबाट आएका गाडी त्यतातर्फ जानलाई यो क्षेत्रमा न ‘फ्लाइओभर’ छ, न त ‘अन्डरपास’ नै । यही स्थानमा मनहरा खोला पार गर्ने पुल भएकाले त्यसैलाई प्रयोग गरेर ट्राफिक जाम धेरै कम गर्न सकिने देखिन्छ ।

पेप्सीकोला तिरबाट आएका सवारीसाधनलाई जडीबुटीको कार्यालयतर्फ मोडेर मनहरा पुल मुनिबाट सीधै कोटेश्वरतर्फ आउने लेनमा पास गराउन सकिन्छ । त्यसैगरी भक्तपुरतर्फबाट आई पेप्सीकोलातिर जानेलाई पनि पुल मुनिबाट पठाउन सकिन्छ ।प्र्राविधिक र ट्राफिक व्यवस्थापनका अनुभवीहरू यो कुरामा सहमत देखिन्छन् । ट्राफिक इन्जिनियर आशिष गजुरेल उपत्यकाका पुललाई मात्र प्रयोग गरेर पनि धेरै हदसम्म ट्राफिक जाम हटाउन सकिने बताउँछन् । उनी पुल मुनिबाट सवारीसाधन गुडाएर अल्पकालीन भए पनि जाम कम गर्नुपर्नेमा जोड दिन्छन् ।

धेरै लगानी र मेहनतविनै जाम कम गर्न सकिने यस्ता उपाय अपनाउन सरकार भने उदासीन छ । जडीबुटी मात्र होइन, उपत्यकाका तीनकुनेको बाग्मती पुल र बिजुलीबजारको धोबीखोला पुललाई त्यसैगरी उपयोग गरेर बानेश्वर क्षेत्रको जाम हटाउन सकिने देखिन्छ ।

‘बाग्मती–धोबीखोला करिडोर सञ्चालन गर्न सके धेरै हदसम्म ट्राफिक जाम कम गर्न सकिन्छ,’ गजुरेलले भने, ‘पुल मुनिबाटै साना सवारी चलाउन सके जाम कम गर्ने गतिलो विकल्प हुनेछ ।’पुरानो बानेश्वर तर्फबाट शंखमूल जाने सवारीसाधनलाई तीनकुनेस्थित बाग्मती पुलतर्फ ‘डाइभर्ट’ गरेर पुलमुनि हुँदै अर्को लेनबाट चलाउने व्यवस्था गर्दा बानेश्वरचोकको जाम धेरै कम हुने देखिन्छ । यसैगरी, नेपाल यातायात चल्ने रुटका सवारीलाई पनि बिजुलीबजार पुलमुनि धोबीखोला करिडोरबाट हनुमानस्थानतर्फ निकाल्न सकिने ट्राफिक इन्जिनियरको सुझाव छ ।

बाग्मती पुल, धोबीखोलाको पुल र विष्णुमती करिडोर सञ्चालनमा ल्याउन सके मात्रै उपत्यकाको २० प्रतिशत ट्राफिक जाम कम गर्न सकिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकार बताउँछन् । ‘करिडोर सञ्चालनमा ल्याउन सके मात्रै धेरै हदसम्म जाम कम गर्न सकिन्थ्यो,’ उनले भने, ‘सरोकारवालाले तत्कालै करिडोर खोलेर स्थायी रूपमा सञ्चालनमा ल्याउनुपर्नेछ ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसी सिटौलाले अस्थायी रूपमा पुल मुनिबाट सवारीसाधन गुडाएर जाम कम गर्न सकिने बताए । ‘पुलको क्षमता हेरेर अस्थायी रूपमा पुल मुनिबाट सवारी गुडाएर जाम कम गर्न सकिन्छ,’ उनले भने, ‘दीर्घकालीन रूपमा भने फ्लाइओभर नबनाई सुखै छैन।’

उसो त सरकारी अधिकारी समेत पुलमुनिबाट सवारी पास गराउने व्यवस्था गर्ने तयारीमा रहेको बताउँछन् । मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका वरिष्ठ इन्जिनियर प्रदीपकुमार श्रेष्ठले बाग्मती र धोबीखोलामा निर्माणाधीन पुल सम्पन्न भएसँगै पुल मुनिबाट बाटो खोल्ने तयारी गरेको बताए । ‘यसअघि पनि पुल मुनिबाट सवारीसाधन गुडाउँदै आइराखेका थियौँ, अहिले आर्क ब्रिज निर्माणाधीन भएकाले रोक लगाएका हौँ,’ उनले भने, ‘पुल निर्माण सम्पन्न भएसँगै पुल मुनिबाट सडक खोल्नेछौँ ।’

पूर्वट्राफिक प्रहरी उपरीक्षक जगतमान श्रेष्ठ सहर विस्तारको तुलनामा चोकहरू व्यवस्थापन हुन नसकेकाले जाम बढेको बताउँछन् । ‘सडकको इन्जिनियररिङ अनुसार चोक व्यवस्थापन गर्नै सकेनौँ,’ उनले भने, ‘त्यसले अहिलेको समस्या देखिएको हो ।’उनले चोकहरू गाडी घुमाउन मिल्ने गरी ‘ओभल सेप’मा हुनुपर्ने बताए । ‘यहाँका अधिकांश चोक ९० डिग्री कोणमा बनेका छन्,’ श्रेष्ठले भने, ‘दुई–चारवटा सवारी घुम्नेबित्तिकै चोक अस्तव्यस्त हुने अवस्था छ ।’
कति छन् सवारीसाधन ?
यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा साविकको बाग्मती अञ्चलमा मात्र एक लाख २० हजार सवारीसाधन दर्ता भएका छन् ।

त्यसभन्दा अघिल्लो वर्ष ७२ हजार सात सय ३३ सवारीसाधन दर्ता भएका थिए । गत आर्थिक वर्षसम्म बाग्मती अञ्चलमा दर्ता भएका सवारीसाधनको कुल संख्या १० लाख ४२ हजार आठ सय ५६ पुगेको छ । ‘बाग्मतीमा दर्ता भएकामध्ये अधिकांश सवारीसाधन राजधानीमै चल्छन्, यो क्रम ह्वात्तै बढेको छ,’ विभागका महानिर्देशक रूपनारायण भट्टराईले भने, ‘दुईपांग्रे सवारीको दर यसमा उच्च छ ।’
बाग्मतीमा एक वर्षभित्र थपिएका एक लाख १९ हजार नौ सय ५६ सवारी साधनमध्ये ९४ हजार सात सय ५१ दुईपांग्रे मात्र छन् । तीमध्ये अधिकांश दुईपांग्रे सवारी उपत्यकाभित्र चल्छन् । त्यसले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ ।

 

प्रकाशित: ७ फाल्गुन २०७४ ०६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App