८ वैशाख २०८१ शनिबार
अन्य

चिसो चुलोमा जातीय विभेदको चिन्तन

बालकृष्ण सम (वि.सं. १९५९–२०३८) नेपाली साहित्य र कला जगत्का विराट प्रतिभा हुन् । उनको विराट व्यक्तित्वले नेपाली साहित्यमा नाटक, एकांकी, कविता–काव्य, निबन्ध प्रबन्ध, आत्मजीवनी, कथा आदि विधागत लेखन झ्यांगिएको र गीत–संगीत, नाट्यअभिनय र निर्देशन, ललितकला (चित्रकला) आदि विधा पल्लवित–पुष्पित भएको पाइन्छ ।

किशोर अवस्थादेखि नै टिएस इलियट, एज्रा पाउन्ड, वाल्ट ह्विटम्यान, रबर्ट फ्रस्ट जस्ता विश्वका विख्यात महाकविका साथै नेपालका लेखनाथ पौड्याल, चक्रपाणि चालिसे आदि विशिष्ट काव्यस्रष्टाबाट प्रभावित समले १६ वर्षकै उमेरमा ‘एक प्रभात संस्मरण’ शीर्षकमा महाकाव्यको थालनी गरेका थिए । त्यस प्रयासमा आपूmलाई सफलता प्राप्त नहुने देखी उनी आफ्नी सुसारे दिदी गुनकेशरीको स्मृतिमा ‘आर्यघाट’ र फेरि ‘आर्याघाट’ शीर्षकका महाकाव्यको अभ्यासमा प्रवृत्त बने ।

तिनले पनि महाकाव्यको आयाम समेट्न नसकेपछि उनले अर्काे प्रयास ‘अवतार दर्शन’ का निम्ति गरे । आखिर नेपाली नाट्यरचनाको सर्वाेच्च धुरीमा पुगेका समले नाटकमा आफ्नो गति केही सुस्ताएको अवस्थामा २०११ मा ‘आगो र पानी’ खण्डकाव्य र २०१५ मा ‘चिसो चुलो’ महाकाव्य प्रकाशित गरेका हुन् ।यद्यपि उनको फुटकर कविता सिर्जना भने नाट्यरचनाका अवधिदेखि जीवनका अन्तिम दिनसम्म पनि चलिरहेकै हो ।

‘चिसो चुलो’ महाकाव्य र ‘आगो र पानी’ खण्डकाव्य नेपाली साहित्यमा काव्यिक रचना क्रमका हिसाबले प्राथमिकताका क्रममा पर्दैनन् । तापनि यी दुई काव्यले नेपालको महाकाव्य र खण्डकाव्यमा शैलीगत दृष्टिले प्रथम स्थान ओगटेका छन् । किनभने, शास्त्रीय वर्णमात्रिक छन्दका साथै लोकछन्दमा महाकाव्य र खण्डकाव्य लेख्ने प्रचलित परम्परालाई तोड्दै बालकृष्ण समले गद्यलयमा महाकाव्य र खण्डकाव्य रचनाको थालनी यिनै दुई काव्यमार्फत गरेका हुन् ।

दार्शनिक–वैचारिक अध्ययन, चिन्तन र मननमा परिपक्वता पाउँदाको अवस्थामा समले ५५ वर्षको उमेरमा ‘चिसो चुलो’ महाकाव्यको रचना गरेका हुन् । ‘चिसो चुलो’ महाकाव्यमार्फत उनले नेपाली काव्य परम्पराले यसअघि पछ्याएको शैलीगत र वैचारिक दुवै प्रवृत्तिविरुद्ध विद्रोह गरे ।

संस्कृत काव्य सिद्धान्तका प्रणेता आचार्य भामहदेखि महाकाव्यका शास्त्रीय सिद्धान्तकार ‘साहित्य दर्पण’ का रचयिता विश्वनाथद्वारा प्रतिपादित महाकाव्यीय सिद्धान्तको सीमारेखालाई नेपाली महाकाव्यकारले नाघ्न नसकेको अवस्थामा समको ‘चिसो चुलो’ महाकाव्यको उदय भएको थियो । यस उदयले विश्वनाथको ‘सर्गबन्धो महाकाव्य तत्रैको नायक सुरः’  लगायतका निर्धारित महाकाव्यीय नियमलाई मिचेर नेपाली महाकाव्यलाई नयाँ स्वरूपमा स्थापित गरेको थियो । महाकाव्यको उपर्युक्त परिवर्तित आयाममध्ये एक शैलीगत थियो भने अर्काे आयाम वैचारिक थियो । उक्त दुवै आयाममा नयाँ परिवर्तनको मानदण्ड स्थापित गरेका समको वैचारिक चिन्तन र समाजलाई हेर्ने क्रान्तिकारी दार्शनिक चेतका सन्दर्भमा यो लेख केन्द्रित  छ ।

समको समयमा यस भू–भागको समाज बन्द पिँजडाभित्र थियो । त्यो राणाकालीन पिँजडा सामाजिक छुवाछुत, भेदभाव, गरिबी र चेतनाशून्यतामा रुमलिरहेको थियो । समाजमा कथित उपल्लो जातले कथित तल्लो जातमाथि आर्थिक शोषणका साथै छुवाछुत गर्थे । त्यसबेला अछुत मानिएका कामी, सार्की, दमाई, पोडे, च्यामे आदि श्रमजीवी वर्ग बढी उत्पीडित थिए भने नारीहरु पुरुषवादी समाजको उत्पीडनमा थिए । नारी केवल भोग्या थिए र तिनको सामाजिक अस्तित्व पितृसत्ता सोचको अधीनमा थियो । यस्तै सामाजिक परिवेशमा आफ्नो उमेर र चेतना वृद्धिसँगै सममा राणा परिवारविरुद्ध घृणा र विद्रोही भावना बढिरहेको थियो । उनले त्यस विद्रोही भावनालाई सात सालको क्रान्तिपछि मात्र ‘चिसो चुलो’ महाकाव्य र ‘प्रेमपिण्ड’ महानाटकका माध्यमबाट अभिव्यक्त गरे ।

नेपाली समाजमा रहेको जातीय भेदभाव तथा छुवाछुत, बालविवाह र अनमेल विवाह जस्ता कुप्रथाको उन्मूलनमा कुनै ऐन–कानुन बन्न सकेका थिएनन् । अतः ती कुप्रथा सामाजिक रूपमै स्वीकृत थिए । यस्तो परिस्थितिमा पनि चन्द्रशमशेरले दासप्रथा र सतीप्रथाजस्ता परम्परागत घृणास्पद प्रथालाई खारेज गरेका थिए । बाँकी सामाजिक कुरीति २०२० सालसम्म यथावत रहे ।

ऐन–कानुन नबन्दासम्म ती राज्यस्तरमै स्वीकृत रहे । २०२० भदौ १ गते राजा महेन्द्रबाट राज्यका नाममा नयाँ मुलुकी ऐन जारी भएपछि त्यस्ता कुरीति कानुनतः अस्वीकृत बने पनि सामाजिक चालचलन र व्यवहारमा अद्यापि स्वीकृतजस्तै छन् । यद्यपि अहिले नयाँ लोकतान्त्रिक व्यवस्थामा समावेशिताका नाममा नयाँ कानुन बनेका छन् र राज्यमा समावेशी जनप्रतिनिधित्वको व्यवस्था समेत गरिएको छ ।

समको ‘चिसो चुलो’ महाकाव्यको कथानक संरचना २००७ सालभन्दा अघिको राणाकालीन समाज–व्यवस्थासँग सम्बन्धित छ । यसको सर्ग २० मा वर्णन गरिएको घन्टाघर, रानीपोखरी, दरबार स्कुल र सरस्वती सदन आदिको परिवेश र सरस्वती सदनमा भएको कवि सम्मेलनले यस महाकाव्यको कथानकलाई २००४ सालको राणाकालीन समाजसँग जोड्न सकिन्छ ।

२००४ सालमा सरस्वती सदनमा भएको कवि सम्मेलनको चर्चाले त्यसलाई पुष्टि गरेको छ । यस परिवेशमा ५५ वर्षको उमेरका सममा बाह्य सामाजिक चेतनासँगै आभ्यन्तर दार्शनिक चिन्तन विकसित भइसकेको बुझिन्छ । यसैले यस कालखण्ड वरपरका उनका काव्य–महाकाव्य र नाटक समेतमा गम्भीर मानववादी दार्शनिकता प्रकट भएको पाइन्छ । सम स्वयंले आफ्नो महाकाव्यको दोस्रो संस्करणको भूमिकामा भनेका छन्,‘चिसो चुलोमा मैले परम्परावादीलाई प्यारो नलाग्ने कुरा मात्र बोलेको छैन, बरु सत्य कुरा बोल्न खोजेको छु । मानववाद मेरो दर्शन छ ।’

समको यस महाकाव्यको बाह्य संरचना समाजमा विद्यमान जातजाति, छुवाछुत, अनमेल विवाह आदि घटना–परिघटनाको संयोजन हो । तत्कालीन समाजले अछुत मानेर होच्याएको दमाई जातको युवक सन्तेको त्यही समाजको उच्च जात तथा मध्यमवर्गीय परिवारकी युवती गौरीसँगको प्रेम प्रसंगलाई कविले यस काव्यको मूल कथानक बनाएका छन् । यसरी अन्तर्जातीय विवाह वर्जित मात्र नभएर त्यसले दण्डित समेत हुनुपर्ने राणाकालीन नेपाल र त्यसमा पनि राणाशासकको दृष्टि र बसोबास वरपरकै परिवेशमा त्यस प्रकारको प्रेमप्रसंग काव्यको सामग्री बन्नु सामाजिक अपराधको विषय बन्न सक्थ्यो र कवि स्वयं दण्डित बन्न सक्थे ।

तत्काल लेखिएको यस महाकाव्यलाई गोप्य राखी २०१५ सालमा आएर मात्र कविले यसलाई प्रकाशन गरे । यद्यपि मुलुकमा २००७ सालले प्रजातन्त्र दिइसकेको अवस्थामा पनि राज्यले प्रजातान्त्रिक व्यवस्थाको प्रतिकूल रहेका जातजातिबीचको भेदभाव, छुवाछुत, अनमेल विवाह आदि अपराधविरुद्ध कुनै कानुनी व्यवस्था गरेन, त्यसका लागि २०२० सालको नयाँ मुलुकी ऐन नै पर्खनुपर्यो । महाकाव्यकी नायिका (तर पूर्वीय परम्पराले नायिका बन्नबाट वर्जित रहेकी) गौरीले त्यसैले भन्नुपर्यो :
कर्महारा स्वास्नीमान्छेले
आपूmले भनेकै पाउने दिन त
कहिले आउने होला ख्वै ? (पृ.८२)
तत्कालीन समाजका नारी र पुरुषमा पारस्परिक आकर्षण बलात्विकर्षित बन्न पुग्ने दुर्घटनातिर इंगित गर्दै त्यसका अवरोधतिर सन्तेको हृदय यसरी व्यक्त हुन पुग्छ :
‘पैसा पनि छैन, जात पनि छैन, मेरो बलियो हात पनि छैन ।’ (पृ.९२)

‘चिसो चुलो’ महाकाव्यले अँगालेको बाह्य द्वन्द्वको मूल विषय धन र मनबीचको द्वन्द्व पनि हो । जहाँ समाज हुन्छ, त्यहाँ धनवान् र मन हुनेका बीचको संघर्ष निरन्तर चलिरहन्छ । ‘चिसो चुलो’को समाज पनि त्यस्तै हो । चरम गरिबीको जीवन बाँच्नु सन्ते र उसको अभिभावक रहेको बिजुलेकोे बाध्यता हो । त्यस बाध्यता र विवशतापूर्ण जीवनमा एउटा युवकको अर्काे युवतीसँगको स्वच्छ प्रेममा धन पनि बाधक बन्न पुगेको छ र वर्गविभेद त्यसमा कारण बन्न पुगेको छ । यसैले महाकाव्यको ‘नेपाल जन्म’ उपशीर्षकअन्तर्गत कवि प्रश्न गर्छन् :
किन चिसो चुलो रुन्छ कतै ?
किन चुलो डढी चर्कन्छ कतै ? (पृ.२२७)
महाकाव्यकार समलाई पनि काव्य निर्माणको रातमा यस प्रश्नले सुरूमै झस्काएको छ ः
जहाँ दरिद्रनारायणको पवित्र पराले मन्दिर छ
त्यस तटमा मेरो अर्घ यो उत्रन सक्छ कि सक्दैन ? (पृ.५)
यसरी श्रमजीवी कर्मकर जाति विपन्नबाट झन् विपन्नतामा झर्दैझर्दै जाने र मुलुकका मुठीभर सामन्त झन् सम्पन्न हुँदै जाने व्यवस्थाले नै जातिभेद, वर्गभेद बढाएको र त्यसले मानिसबीचको हार्दिक प्रेम समाप्त हुँदै जाने अनि समाजमा श्रमको अवमूल्यन हुने अवस्थालाई कविले प्रस्तुत महाकाव्यमा यसरी प्रश्न उठाएका छन् :

‘दमाहा बजाउने दमाईहरूको पानी पनि नचल्ने भो
हाम्रै संगीत खाइखाई हामीलाई अछुत भने’ (पृ.४६)
सन्ते र गौरीका बीचको अव्यक्त प्रेम हृदयमै सीमित रहन्छ दुवैको । गौरी सन्तेको प्रेमलाई मनभित्रै लुकाएर बस्छे । आफ्नो उमेरसँग वैषम्य राख्ने एउटा वृद्धावस्थातिर उन्मुख व्यक्तिलाई पतिका रूपमा वरण गर्नुपर्दा पनि उसको मनमा सन्ते नै हुन्छ । पति रणवीरको मृत्यु हुँदा र वैधव्य अवस्थामा पुग्दा पनि उसको हृदयको अन्तरालमा सन्ते नै रहन्छ र त्यहाँबाट बिदा लिएर पुनः चापागाउँस्थित माइतमा आउँदा र त्यसपछि जीवनको अवसानसम्म उसको हृदयमा सन्ते नै रहन्छ तर सधैँ अव्यक्त रूपमा । त्यो बोलचालको भाषामा नभई हृदयको मुक बोलीमा सीमित रहन्छ ।

यसरी मनको भाषा व्यक्त गर्न नसक्ने अवस्थामा सन्ते पनि छ । गौरीका लागि विवाहको चोलो सिउँदा, वाद्यवादकका रूपमा गौरी माइतीघरमा पुग्दा आदि स्थितिमा सन्ते र गौरीका बीचको प्रेम हृदय–हृदयका बीच सीमित रहन्छ, अव्यक्त तर हृदयको अन्तरालसम्म । काठमाडौंका कुनै राणा परिवारमा बालकको हेरचाहको काम गर्न पुगेकी गौरीको खोजीमा सन्ते कान्छासँग काठमाडौं घुम्दै गर्दा पशुपति–गुह्येश्वरीको पदमार्गमा देखिएकी गौरीका अगाडि पुग्दा पनि उसको वाक् फुट्न सकेन । समाजले यहाँ आएर पनि सन्तेमाथि अन्याय गरेको कुरा सन्ते स्वयंले अनुभव गर्यो ।
उसले त बोल्न चाहेकी थिई, समाज तैँले घाँटी अँठ्याइस् ।’ (पृ.२७८)
यसरी सन्तेको अन्तर्हृदयमा गुम्सिएर रहेको जातिवादी भेदभावमा अडिएको समाजविरुद्धको स्वर कविले ‘चिसो चुलो’ महाकाव्यको दर्शन शीर्षक अध्यायमा सन्तेका मुखबाट व्यक्त गरेका छन् ः
‘समाज,

तँ कसरी उठिस् त्यो स्पष्ट छ
केमा उभिइस् छर्लंग छ
कहिल्यै पनि तँ निर्धाको भइनस्
उसको मनलाई कुल्चेर हिँडिस्
असभ्य अवस्थामा मनुष्यले कल्पना पनि गर्न नसक्ने
दुव्र्यवहारको नीतिलाई तैँले सामाजिकशास्त्र भनिस् ।’ (पृ. २७९)

समाजले जुन प्रेमलाई ‘प्रेम’ भन्ने गरेको छ, ‘चिसो चुलो’का महाकाव्यकारको दृष्टि त्यसभन्दा विस्तृत र व्यापक छ । सन्ते र गौरीबीचको जस्तो त्यही व्यापक र गम्भीर प्रेमले मात्र समाजलाई वास्तविक समाज बनाउँछ । ‘आफ्नो हित सल्काई अर्काको हित उकास्ने’ भावनामै समाजको उन्नत अवस्था प्रतिविम्बित हुन्छ । यस किसिमको सामाजिक रूपान्तरणको दृष्टि जनसमान्यको सोचाइमा पाइँदैन । त्यो त मानववादी दार्शनिक सोचाइ भएका बालकृष्ण समजस्ता साहित्यिक प्रतिभामा मात्र पाइन्छ । सम लेख्छन् ः
‘अरूका रमाइलालाई प्रेमी निशाझैँ काला देख्छन्

अरूहरूका यस्ता निशामा उनीहरू जागिरहेका हुन्छन् ।’ (पृ.५)
समले आफ्ना यी काव्यपंक्तिमा उल्लेख गरेका ‘प्रेमी’हरू सामान्य प्रेमी होइन । व्यक्ति प्रेम वा जाति प्रेमभन्दा माथिल्लो स्तरमा पुगेर समाजलाई उठाउने ऋषितुल्य चिन्तक नै वास्तविक प्रेमी हुन् ।
बालकृष्ण समले आफ्नो यस महाकाव्यका नायक पात्र सन्तेलाई त्यही संयमी ऋषिको स्तरमा उकास्ने प्रयत्न गरेका छन् । उसको गौरीप्रतिको प्रेममा कतै पनि यौन वासनाको लेससम्म पनि पाइँदैन ।

मौन रहीरही ऊ गौरीको उपासना गर्छ । यस अर्थमा ऊ मुनि हो, आजको समाजको उसले गरेको गौरीप्रतिको प्रेम व्यक्तिगत नभई मानवीय प्रेम हो । यसैले समले व्यक्तिवादिताभन्दा धेरै पर र जातिवादिताभन्दा पृथक् रहेर मानववादी प्रेमको निर्माणतिर यस काव्यमार्फत उत्पे्ररित गरेका छन् :

मेरो सन्ते हाम्रो प्रियता मावनतामा परिणत होस्
मानवताकै यज्ञशालामा तिम्रो मेरो हवन चलोस्
आत्मबलिदान गरेर जगत्मा मानिसलाई उँचो पार
संतप्त चिसो चुलोलाई तपस्याले तप्त बनाऊ
बन्धनमा हाम्रो जीवन बित्यो, एक्लाएक्लै हामीले
त्यस सिक्रीलाई छिनाल्न सकेनौँ,
अब मेरो प्रेमको बलले तिमी मनुष्य मात्रको बन्धन तोड । (पृ.३१७)
समले यस महाकाव्यमा सामाजिक अन्याय र बेथितिका थुप्रै प्रश्न उठाएका छन् । त्यस्ता अन्याय र बेथितिको अवस्थामा हिजोको समाज थियो र आज पनि समाज त्यस्ता मानवविरोधी असभ्य स्थितिबाट मुक्त हुन सकेको छैन । कविले ‘दर्शन’ शीर्षकमा समाजबारे लेखेका छन् ।
बलवान्सधैँ स्थिति तोडिरहन्छ
निर्धाे, निर्दाेष सडी मर्छ
समाज तँ मनुजको बाधक होस्
समाज, तँ दनुजको साधक होस्
मानवधर्ममा लडाइँ हुन्न, झगडा हुन्न, भेदभाव हुन्न
तलमाथि हुन्न, इष्र्या हुन्न, भय पराधीनता हुन्न
व्यभिचार अत्याचार हुँदैन । (पृ. २७९)
‘चिसो चुलो’को प्रकाशन झन्डै ६ दशक बितिसकेको छ । यसबीचमा कैयौँ सामाजिक,राजनीतिक परिवर्तन भए, हाम्रो देशमा । तर समले रचेका उपर्युक्तकाव्य पंक्तिमा उल्लेख भएका सामाजिक विकृति र विसंतिहरू वर्तमान समयको नेपालमा पनि विद्यमान छन् । अहिले लोकतन्त्रको मिठो बाजा बजेको छ ।

तर, समाजमा ‘चोरलाई चौतारो साधुलाई सुली’ अहिले पनि चरितार्थ भइरहेको छ । संसारका प्रायः मुलुक जातजातिको बन्धनबाट मुक्त हुँदा पनि नेपाली समाजको जरोमा बसेको विभेदकारी पार्खालको जग यथावत् छ । हामीले राजनीतिक परिवर्तन गर्दा पनि राणाकालीन शासन व्यवस्था हुँदै अहिलेसम्म सन्निपात बनेर रहेको सामाजिक रोगलाई हटाउन सकेका छैनौँ । राजनीति स्वार्थप्रेरित हुन्छ र त्यसले मानिस मानिसका बीचको विभेदलाई जातजातिका आँखाले मात्र हेर्छ । तर उत्तम साहित्य निस्वार्थमा सिर्जित हुन्छ र त्यहाँ मानिसले मानिसलाई मानववादी दृष्टिले नियाल्छ । समले ‘चिसो चुलो’ महाकाव्यमा विशुद्ध मानववादी चिन्तन अँगालेका छन्, आफ्नो हित सल्काई अर्काको हित उकास्ने विशुद्ध मानववादी विचार ।

समको दर्शन मानववादी हो । यद्यपि यो कुनै पूर्ण दार्शनिक सिद्धान्त होइन । यसैले महाकवि देवकोटाले समलाई ‘अर्धदर्शनतारका’ भनेका हुन् । तापनि सम ‘समोहं सर्वभूतेषु’ (म सम्पूर्ण प्राणीहरूमा समान छु ) को तहसम्म नपुगे पनि समग्र मानवका बीचको समानताको सिद्धान्तसम्म पुगेर आफ्नो मानवीय प्रेम नै परमेश्वर हो भन्ने विचार प्रतिपादन गर्न समर्थ बनेका छन् प्रस्तुत ‘चिसो चुलो’ महाकाव्यमा । यही नै यस महाकाव्यको प्रमुख उपलब्धि हो ।

 

प्रकाशित: ५ फाल्गुन २०७४ ०२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App