"

कवि मानार्थ जर्नेल बनेपछि

बिहिबार, ०३ फागुन २०७४, ०९ : ४७ हरि अधिकारी


मानिसले सामान्यतः पाउने पूरा आयुको सय वर्षे कोसेढुंगा छुन १ वर्षमात्र बाँकी भएका वयोवृद्ध कवि माधवप्रसाद घिमिरेको उनका समकालीन, निकट समकालीन र समान सोच भएका व्यक्तिका लागि अत्यन्तै आरिसलाग्दो व्यक्तिगत विवरणमा एउटा अर्को चमकदार आकर्षण थपिएकोे छ । अंग्रेजी भाषामा भन्छन् नि– वान मोर फिदर अन योर ह्याट। हो, ठीक त्यस्तै सुखद कुरो आइलागेको छ कविको जीवनमा । कविको ह्याट्मा अहिले थपिएको सुन्दर कल्की एकजना सामान्य नेपाली जो अक्षरको एक अकिञ्चन चिताइदार मात्र हो, उसका लागि सहजरूपमा प्राप्त हुनेखालको भने छैन। यो रंगीन प्वाँख त विशिष्ट प्रकारको छ र उनलाई एउटा नयाँ पहिचान दिनेखालको पनि छ । अब आइन्दा घिमिरेबा अक्षरको आकाशे खेती गर्दै कालक्षेपण गरिरहेका एकजना पाको उमेरको सामान्य कविमात्र रहने छैनन् किनभने उनकै शब्द सापटी लिएर भन्ने हो भने उनी त अब गौरवशाली इतिहास भएको नेपाली राष्ट्रिय सेनाको जर्नेलको पदवी पाएका विशिष्ठ नेपाली भएका छन् । कवि स्वयंले हालै सरकारी समाचार एजेन्सी राससलाई अन्तर्वार्ता दिँदै स्वीकार गरेका छन्, उनी आफूले प्राप्त गरेको यो नयाँ उपलब्धिलाई लिएर अत्यन्तै उत्साहित छन् र गर्व अनुभूति गरिरहेका छन्।  

शारीरिकरूपले करिव करिव अशक्त भइसकेका बूढा कविलाई अचानक जर्नेलको तामझाम किन भिराउन खोजिएको हो ? त्यसको खुलासा भने निजामती र जंगी दुवै प्रशासनका कर्ताधर्ताबाट अहिलेसम्म भएको छैन।

यसअघि पनि सरकारी गैरसरकारी दुवै किसिमका अनगन्ती मान, सम्मान, पुरस्कार, पदवी पाइसकेका माधवप्रसाद घिमिरेलाई सरकारले नेपाली राष्ट्रिय सेनाको ब्रिगेडियर जेनरलको मानार्थ पदवीबाट विभूषित गर्ने निर्णय गरेको छ । शारीरिकरूपले करिव करिव अशक्त भइसकेका बूढा कविलाई अचानक जर्नेलको तामझाम किन भिराउन खोजिएको हो त्यसको खुलासा भने निजामती र जंगी दुवै प्रशासनका कर्ताधर्ताबाट अहिलेसम्म भएको छैन । एक विशुद्ध कविलाई चुट्की मारेका भरमा एकतारे जर्नेल बनाउने यस्तो अद्भूत सोच सबैभन्दा पहिले आजको घडीमा सत्ताको अन्तपुरमा ढलिमली गरिरहेको कुनचाहिँ घामटको दिमागमा आएको होला ? जटिल अनुमानको विषय भएको छ । त्यो प्रथम दृष्टमा नै हाँस्यास्पद लाग्ने प्रस्ताव निर्णयार्थ पेस हुनेबित्तिकै स्यालहुइयाँ गर्दै समर्थन गर्ने महापण्डितहरू को को हुन् ? त्यो पनि थाहा छैन । थर्थर कामिरहेका कवि जर्नेलको परिकल्पना सबैभन्दा पहिले सेनाले गरेको थियो होला कि निजामतीका तर्फबाट ? त्यो पनि भन्न सकिँदैन । सेनाबाट त्यस प्रस्ताव उठान गरिएको थियो भने त्यसको पहल चिफ राजेन्द्र क्षत्री स्वयंले गरेका होला कि भोलिका चिफ पूर्णचन्द्र थापाले ? यो पनि रहस्यमै छ। 

उनान्सय वर्षका कवि स्वयंले पो इच्छा जाहेर गरेर ठाउँमा पहुँच बनाएपछि यो मनोरञ्जक निर्णय भएको हो कि ? घिमिरे कविजी स्वयंलाई आफूले नागरिक तहको उच्च मानसम्मान त लगभग सबैजसो पाइसकेँ अब यसो फौजी सम्मान पनि कस्तो हुँदो रहेछ हेरिहालौँ भन्ने लागेको हुन नसक्ने कुरो छैन । कवि माधव घिमिरेको एक प्रकारको दबदबा छ नेपालको सांस्कृतिक क्षेत्रमा । त्यस दबदबाको प्रयोग गर्दै न्वारनदेखिको बल लगाएर सोर्स भिडाएपछि उनको बूढो कुममा नेपाली सेनाको जर्नेलको कुममा जडिने तारा टाँसिन आइपुगेको पो हो कि ? आफूले चाहेको चिज जसरी पनि हासिल गरेरै छाड्ने भनेर चर्चित छन् यी चतुर ब्राह्मण यिनका प्रतिस्पर्धीहरूका वृत्तमा । तर यसबारेमा अहिले नै ठोकुवा गरेर यसै हो भन्न सकिँदैन । वास्तविकता जे भए पनि गौरीका विरही पति र नेपाली भाषामा लेखिएको सर्वाधिक लोकप्रिय शोककाव्यका रचयिता माधव घिमिरेजी यस सालको महाशिवरात्रिको पूर्वसन्ध्यादेखि नागरिक कविबाट फौजी कवि बन्न पुगेको भने पक्कै हो । यस प्रकरणले हामी नेपालीलाई राज्यको विधिवत् घोषणाबाट एक वयोवृद्ध कवि अचानक सेनाको जर्नेल बन्ने अद्भूत लोकतान्त्रिक देशको नागरिक बनाइदिएको छ।  

कवि घिमिरेलाई नेपाली सेनाको मानार्थ जर्नेलको पदवीबाट सुशोभित गरेपछि उनको साहित्य र नेपाली फौजबीचको सम्बन्धका केही साझा विन्दुबारे पनि चर्चा हुनु स्वाभाविक भएको छ । माधवप्रसाद घिमिरेले रचेको शास्त्रीय संस्कृत छन्द र नेपाली लोकलयको फ्युजन भएको सस्तो भावुकताले भरिएको साहित्य र नेपाली सेनाको भूत, वर्तमान र भविष्यबीच के÷कस्तो साइनो जोडिएको छ, यस घडीमा त्यस कुराको पनि पडताल गर्न सकिन्छ । नेपाली सेनाको संस्थागत व्यावसायिक विकास र प्रवद्र्धनमा घिमिरेका कृतिहरूले कुनै प्रकारको योगदान गरेका छन् कि छैनन् ?  नेपाली सेनाको पंक्तिहरूमा माधव घिमिरे पढिन्छन् कि पढिएको थाहा छैन । मानार्थ वृज घिमिरेबाट भविष्यमा नेपाली सेनाको उन्नति र प्रगतिमा ठोस योगदान हुने सम्भावना छ कि छैन ? यस्ता अनेक प्रश्न अहिले नउठे पनि पछि गएर उठ्न सक्छन् । उनलाई सो पदमा नियुक्त गर्नुको औचित्य साबित हुने योग्यताका प्रमाणपत्रहरूको अभिलेख नेपाल सरकारको रक्षा मन्त्रालय वा नेपाली सेनाको मुख्यालयले अवश्य पनि राखेको होला भन्ने अनुमान गर्न सकिन्छ । हुन सक्छ, नेपाल सरकारसँग भएका ती दस्तावेजले कवि घिमिरेलाई सेनाको मानार्थ जर्नेलको पदवी दिएको कुराको औचित्य पुष्टि पनि गरुन् । यसबीचमा मानार्थ वृज माधवप्रसादको काम, कर्तव्य र अधिकारबारे सम्बन्धित ठाउँबाट उनलाई ब्रिफिङ पनि भइसक्छ होला । हो, कविजीको शरीरले फौजी जिम्मेवारी पूरा गर्न उनलाई कत्तिको सहयोग गर्छ भन्ने प्रश्न भने ज्युँदै देखिन्छ।

पद, पुरस्कार, प्रशंसा र पैसा इहलोकका यी ४ अत्यावश्यक खराबीले गण्डकी अञ्चल लमजुङ जिल्लाको उत्तरी सीमान्त थुम्को पुस्तुन बाहुनडाँडाका बाहुनचरी माधवप्रसादलाई यी जवान हुँदाको समयदेखि नै पछ्याउँदै आएका छन् भन्दा अत्युक्ति हुँदैन । यिनले माथि लेखिएका भौतिक उपलब्धि प्राप्त गर्न सक्नुका पछाडि केही प्रतिशत जन्मजात प्रतिभा, थोरै कविजीको प्रारब्धको खेला र  धेरै अंशमा यिनको पुरुषार्थ नै रहेको देखिन्छ । निरंकुश सत्ताकालीन नेपालका सन्दर्भमा पद, प्रतिष्ठा र पैसाको क्षुधा बोकेर सुदूर गाउँबाट सहर पसेको गरिब ब्राह्मणले गर्नसक्ने पुरुषार्थ के हुनसक्छ, अनुमान गर्न मुस्किल छैन । त्यो पुरुषार्थ भनेको अरु केही नभएर तत्कालीन शक्तिकेन्द्रको निरन्तर चाकरी थियो जुन माधव घिमिरेले बडो विश्वास र मनोयोगका साथ सुरु गरेर अहिलेसम्म पनि त्यसको निर्वाह गर्दै आएका छन् । यिनका सबै समयका मालिकका लागि खुसीको विषय रहेको हुनुपर्छ, यिनले स्वेच्छामा लिएको चाकरीको त्यो जिम्मेवारी जुनसुकै परिस्थितिमा पनि पूरै इमानजमानका साथ पूरा गरेका छन्। 

राणाकालमा सुरु भएको यिनको सत्ता ताबेदारीको सिलसिला वसन्त क्रान्ति २०६३ को पूर्णाहुतिसम्म नै कायम थियो । प्रथम जनान्दोलन २०४६ का बेलामा यिनले नेपालको तत्कालीन प्राज्ञिक क्षेत्रका ती मानिसको नेतृत्व गरिरहेका थिए जसका नजरमा त्यतिबेलाका सवा करोड नेपालीले देखेको राजनीतिक स्वतन्त्रता र आमव्यक्तिको प्रतिष्ठाको पुनस्र्थापनाको सपनाको कुनै मूल्य थिएन । जनआन्दोलनको गति तीव्र हुनुअगाडिको अन्योलको अवस्थामा कविजीले सरकारी मिडियामार्फत आन्दोलनका विरोधमा बोलेर आन्दोलनमा होमिन तयार भएका लाखौँ नेपाली जनताको मनोबल खस्काउने प्रयत्न पनि गरैकै हुन् । तर जनताको नागरिक स्वतन्त्रताप्रतिको उद्दाम चाहनाको वेग रोक्ने सामथ्र्य स्वयं राजा वीरेन्द्रमा पनि थिएन भने उनको स्तुतिगायनको के कुरा ?   

यी तिनै कवि माधवप्रसाद घिमिरे हुन् जसलाई वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नै सरकार प्रमुख भएका बेला, त्यस्तै १४ वर्षअघि श्री ५ को सरकारले राष्ट्रकविको उच्च पदवी दिएको थियो । यस देशको राष्ट्रियताका संप्रभु मालिक नेपाली जनताको समग्र चेतना र उन्मुक्तिको आकांक्षालाई तृण बराबर नगन्ने घिमिरेलाई त्यो महान् पदवी प्रदान गरेर तत्कालीन सरकारले नेपाली जनताको घोर अपमान गरेको थियो । राणाकालमा राणाहरू र शाहकालमा शाहहरूको निरंकुश परिवारशाहीको मुखर तावेदारी गर्दै आएका दरवारिया रत्न माधव घिमिरेलाई हचुवा तालमा पुरष्कृत गर्नेहरूकै वर्चश्व भएको आजको सत्ताले राष्ट्रका अत्यन्त थोरै व्यक्तिको प्रतिगामी भावनाको प्रतिनिधित्व गर्ने घिमिरेलाई राष्ट्रिय सेनाको मानार्थ जर्नेलको उपाधिले सम्मानित गरेर लोकतन्त्रवादी नेपाली जनताको अपमान त गरेकै छ, साथै नेपाली राष्ट्रिय सेनालाई पनि अनावश्यक विवादमा मुछेको छ । यस घटनाले २०४६ सालको जनआन्दोलन पूर्णरूपमा खेर गएको कुराको पनि पुष्टि गर्छ। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

‘महिलाका यौन इच्छाका बारे बोल्नु अपराध हो?’

‘महिलाका यौन इच्छाका बारे बोल्नु अपराध हो?’

बलिउड अभिनेत्री स्वरा भास्कर हालसालै ‘वीरे दि वेडिङ’को एक दृश्यका कारण ट्रोलको सिकार बनिन्। ...

अनमोल केसी पर्यटन प्रबद्र्धनमा

अनमोल केसी पर्यटन प्रबद्र्धनमा

नायक अनमोल केसी आफू अभिनित फिल्मको प्रमोसन र रिलिजपछि हलमा दर्शकसँग भेट्न बाहेक अन्य समयमा कहाँ के गर्दैछन् भन्ने उनको...

एकसाथ ‘प्रणय’ र ‘अतिरिक्त’

एकसाथ ‘प्रणय’ र ‘अतिरिक्त’

साहित्यकार डा. डिआर उपाध्यायको उपन्यास ‘अतिरिक्त’ र एल्बम ‘प्रणय’ एकसाथ सार्वजनिक भएको छ। ...

फूलमानको ‘इन्द्रेणीको गीत’ उत्कृष्ट

फूलमानको ‘इन्द्रेणीको गीत’ उत्कृष्ट

पत्रकार तथा कवि फूलमान बलको कविता ‘इन्द्रेणीको गीत’ नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय कविता महोत्सव’मा उत्कृष्ट बनेको छ। ...