६ वैशाख २०८१ बिहीबार
विचार

बेमौसमको बाँसुरी

अघिल्लो साता (२०७४ माघ १८–१९ गते) भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालको दुईदिने भ्रमण गरिन् । छिमेकी देशका विदेशमन्त्रीको भ्रमण स्वाभाविक नै हो । तर समय, भेटघाटको प्रक्रिया र विषयवस्तु उठानका दृष्टिकोणले यो भ्रमण सामान्य र स्वाभाविक रहेन । यस लेखमा स्वराजको नेपाल भ्रमण सम्बन्धमा संक्षेपमा विश्लेषण गरिनेछ । 

१. समयको सवाल

एउटा देशको विदेशमन्त्रीले एक निश्चित समयमा नै अर्को देशको भ्रमण गर्नुपर्छ भन्ने छैन । आवश्यकताअनुसार कुनै पनि समयमा भ्रमण गर्न सकिन्छ । तर स्थानीय, प्रदेश र संघ गरी तीनै तहको निर्वाचन सम्पन्न भई प्रदेश सभाको बैठक सुरू भई सरकार निर्माण गर्ने क्रम रहेको र केन्द«मा राष्ट्रिय सभा गठन सम्पन्न गरी नयाँ सरकार निर्माण गर्ने तयारीले तीव्रता लिइरहेको अवस्थामा स्वराजको भ्रमण भएको छ । त्यतिमात्रै नभएर एमाले र माओवादी जस्ता दुई ठूला वामपन्थी दल एकीकृत हुने र सरकार बनाइ मुलुकमा राजनीतिक स्थायित्व दिने राजनीतिक माहोल बनिरहेको अवस्थामा स्वराजको भ्रमण भएको छ । त्यसरी नै केपी ओली प्रधानमन्त्री हुने लगभग निश्चित भएको अवस्थामा स्वराजको भ्रमण हुनुको पनि आफ्नै महत्व हुन सक्छ। 

भारत आफ्ना छिमेकीलाई प्रभावमा पार्न सधैँ आतुर देखिन्छ । नेपालमा सरकार बन्ने समय जब जब आउँछ तब तब नेपाली नेताहरू भारत जाने वा भारतीय पदाधिकारी र नेताहरू नेपाल आउने शृंखला चल्छ । यसपटकको स्वराजको भ्रमण पनि त्यही सन्दर्भमा भएको र समयको दृष्टिले पनि सोही कुरा पुष्टि गरेको विषय छापामा स्पष्टरूपमै देख्न सकिन्छ । अझ नेपालका केही राजनीतिक हस्तीको अभिव्यक्तिले त स्वराज भ्रमणको समयको अनुपयुक्ततालाई खरोरूपमा सावित गरेका छन् । कांग्रेस नेता शेखर कोइरालाले स्वराजको भ्रमणलाई अनुपयुक्त समयको भ्रमण भनेका छन् भने माओवादी नेता नारायणकाजी श्रेष्ठले सामान्य कूटनीतिक र राजनीतिक अभ्यास अनुकूल नभएको टिप्पणी गरेका छन् । त्यस्तै माओवादी प्रवक्ता पम्फा भुषाल र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको समेत त्यस्तै धारणा छापामा आएका छन् । सबैभन्दा महत्वपूर्ण अभिव्यक्ति त प्रचण्डबाट आएको  छ। स्वराजको नाम नलिइ उनले वाम एकता भाँड्ने देशी÷विदेशी प्रयासका रूपमा चरितार्थ गरेका छन् । 

यसबाट सजिलै के अनुमान गर्न सकिन्छ भने नेपालको राजनीतिमा प्रभाव पार्ने उद्देश्यले स्वराजले नेपालको भ्रमण गरेकी रहिछन् । यसले नेपालप्रतिको भारतको असहिष्णु दृष्टिकोण फेरि छताछुल्ल भएको छ। एक शक्तिशाली छिमेकीको हैसियतमा सहिष्णुतापूर्वक आफ्नो कूटनीतिक भूमिका खेल्नुपर्ने भारतले नेपालको सत्ता र राजनीतिलाई आफैँ डो¥याउन खोज्ने परम्परागत भुल गरेको छ । यो भारतकै लागि प्रत्युत्पादक हुने देखिन्छ। 

२. भेटघाट प्रक्रियाको सवाल 

स्वराजको भ्रमणमा केही महत्वपूर्ण भेटघाट भए । राष्ट्रपति र प्रधानमन्त्रीसँग दोस्रो दिन गरेको भेटघाट औपचारिक रह्यो । तर केही राजनीतिक दल र तिनका नेताहरूसँगको खासगरी ओली र प्रचण्डसँगको भेटघाटले कूटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय कानुन एवं अभ्यासका सन्दर्भमा सवाल खडा गरेका छन्। 

स्वराज नेपाल आएलगतै उनी बसेको स्थान होटल सोल्टीमा ओली–स्वराज भेटघाट र वार्ता भएको थियो । ओली एमालेका अध्यक्षमात्रै होइनन् उनी पूर्व र भावी प्रधानमन्त्रीसमेत हुन । त्यसरी नै प्रचण्ड पनि पूर्वप्रधानमन्त्री हुन् । मर्यादाक्रममा ओली र प्रचण्ड स्वराज (विदेशमन्त्री) भन्दा अग्रणी स्थानमा पर्छन् । पूर्वप्रधानमन्त्री भएको व्यक्ति होटल होटलमा विदेशमन्त्री भेट्न जान कूटनीतिक मर्यादाले मिल्दैन । त्यसरी नै स्वराजले भारतीय सरकारको प्रतिनिधित्व गर्छिन् न कि भारतीय जनता पार्टी वा अरू कुनै राजनीतिक दलको । यस्तो अवस्थामा पूर्वप्रधानमन्त्री भएका व्यक्तिले स्वराजसँग भेट्दा अनिवार्यतः परराष्ट्र मन्त्रालयको सहमति लिनु र परराष्ट्र मन्त्रालयको प्रतिनिधिको उपस्थितिमा मात्रै भेट गर्नुपथ्र्याे । तर यी कूटनीतिक मर्यादा, आचारसंहिता, अन्तर्राष्ट्रिय कानुन र अभ्यासका आधारभूत मान्यताविपरित होटलमा गएर भेटघाट गर्दा मुलुक अपमानित भएकामा लज्जा र हीनताबोध हुनुपर्ने ओली र प्रचण्ड स्वराज आफूलाई भेट्न आएकामा दंग परेका छन् । यस किसिमको भेटघाटले कूटनीतिक मर्यादा उल्लंघन र राष्ट्रिय छविमा ग्लानि त भएको छ, साथसाथै केही गम्भीर राजनीतिक प्रश्न पनि खडा गरेको छ । 

भारतले नेपालको संविधान, २०७२ जारी भएपश्चात लगाएको नाकाबन्दीमा अडान राख्न सकेको सामाजिक छवि ओलीले दिएका थिए । तर त्यो परिस्थितिवसमात्रै सिर्जित रहेछ र भारतप्रतिको उनको हमदर्दी भने स्वाभाविक रहेछ र सत्ताका लागि कूटनीतिक मर्यादासमेत तोड्न सक्दारहेछन् भन्ने दृष्टान्त ओलीले आफँै प्रस्तुत गरेका छन् । अझ स्वराज–ओली भेटघाटपछि एमाले र माओवादीबीचको एकता मोदीको नेपाल भ्रमण पश्चातलाई पु¥याउने सहमति भएको हो भने स्वराजको भ्रमण कूटनीतिक नभएर राजनीतिक षड्यन्त्रका लागि भएको देखिन सक्नेछ । जसले स्वयं ओलीको राष्ट्रियतालाई ढोंगी सावित गर्नेछ । 

३. विषयवस्तु उठान 

नेपाल–भारतबीचको सम्बन्ध ऐतिहासिक छ । जुन दुई छिमेकीका बीच हुनु स्वाभाविक नै हो । नेपाल भारत सम्बन्धमा थुप्रै राम्रा पहलु पनि छन् । त्यति हुँदाहुँदै पनि नेपाल–भारत सम्बन्धका केही पेचिला सवाल पनि छन् । यिनै सवाल उठाउने र तिनको दीर्घकालीन समाधान खोज्ने विषयमा वार्ता केन्दि«त हुनुपर्ने थियो तर सो हुन सकेको देखिँदैन । 

यस्ता सवालमध्ये नाकाबन्दी सबैभन्दा पेचिलो छ । भारतले नेपालमाथि पटकपटक नाकाबन्दी गरेको छ । प्रत्येक नाकाबन्दी राजनीतिक प्रतिशोधमा आधारित थिए । विगतका नाकाबन्दी, खासैगरी सन् १९७६–७८ मा भएको र सन् १९८९–१९९० मा भएको नाकाबन्दीमा भारतले धेरै हदसम्म आफ्नो राजनीतिक स्वार्थ सिद्व गर्न सकेको भए तापनि सन् २०१५–२०१६ मा गरेको पछिल्लो नाकाबन्दीमा उसले शर्मनाक बेइज्जती भोग्नुपरेको थियो । नेपाली समाजको जागरूकता, शैक्षिक प्रगति, राजनीतिक सचेतनालगायतका विभिन्न कारणले गर्दा भारतले लगाएको पछिल्लो नाकाबन्दीमा नेपाली नागरिकले जुन साहस, धैर्य र ऐक्यबद्वता देखाए, त्यससामु मोदी सरकार विवश बन्न पुग्यो र नाकाबन्दी समाप्त ग¥यो । अझ तीनै तहको चुनाव जे÷जसरी र शान्तिपूर्णरूपमा सम्पन्न भयो त्यसले पनि नेपाली राजनीतिमा भारतको चलखेललाई चुनौती दियो । यस्तो महŒवपूर्ण राजनीतिक उपलब्धि र प्रगति भएको अवस्थामा अब भारतले कहिल्यै पनि नेपाललाई नाकाबन्दी गर्न नसक्ने संयन्त्र विकास गर्न र सो किसिमको प्रत्याभूति खोज्न कूटनीतिक वार्ता हुनुपर्नेमा पुनः सत्तामा पुग्ने र सत्ता बचाउने खेलमै वार्ता हुन पुगेको छ । जुन दुःखद छ । 

त्यसरी नै नेपाल भारतको अर्को समस्या सुरक्षासँग सम्बन्धित छ । प्रायः भारतले नेपाललाई आफ्नो सुरक्षा कवचका रूपमा हेर्ने र भारतीय आग्रहहरू पूरा गर्न नेपाललाई लगाउने खेतीमै सीमित थियो । नेपालमा सिर्जना गरेको असुरक्षा र अपराधको विषय विरलै उठ्ने गरेको पाइन्छ । उदाहरणका लागि भारतीय बजारमा हुने यौन व्यापारका कारणले नेपाली महिलाको बेचविखन, ओसारपसार हुने गरेको विषय कतैबाट छिपेको छैन तर यस्ता विषय नियन्त्रण गर्ने सन्दर्भ वार्तामा उठ्ने गर्दैन । 

पानीको सवाल नेपाल–भारत सम्बन्धको एक चुनौतीपूर्ण विषय बन्न पुगेको छ । खासगरी वर्षायाममा भारतीय भूमिमा बाँधिने बाँधका कारणले नेपाली भूमि डुवानमा पर्ने र धनजन विनास हुने कुरा नियमित र निरन्तर बन्न पुगेको छ । भारतीय र नेपाली नागरिकबीच सीमामा हात हालाहाल र भिडन्त हुने क्रम बढेको छ । हाम्रा नदी नालामाथि विद्युत्लगायतका विभिन्न बहानामा भारतीयले कब्जा जमाएका छन् । लाइसेन्स लिने तर काम नगर्ने प्रवृत्ति बढेको छ । यस्ता संगीन विषयले वार्तामा प्रवेश पाउँदैनन् । 

भारतसँगको व्यापार घाटा क्रमिकरूपमा बढ्दो छ । भारतीय बजारको नेपाली बजारमाथिको नियन्त्रण दिनदिनै चुलिँदो छ । यसले नेपालको अर्थतन्त्रमा नै नकारात्मक असर परेको छ । तर पनि यस्तो संवेदनशील विषयले वार्तामा स्थान पाउँदैन । यसबाट हाम्रा नेता आफ्नो राजनीतिक स्वार्थ (सत्तामा पुग्ने र सत्ता टिकाउने) भन्दा माथि उठेर मुलुकको बृहत्तर हितका लागि सोच्ने र काम गर्ने क्षमता राख्दैनन् वा गुमाइसकेका छन् भन्ने देखिन्छ । जुन मुलुक र राष्ट्रिय हितका लागि शुभ संकेत होइन । 

४. निष्कर्ष 

भारतीय पक्षले स्वराजको नेपाल भ्रमण सफल भएको चित्रण गर्नु उनीहरूको राजनीतिक अभिष्ठाका दृष्टिकोणले सही हुन सक्छ । तर मुलुकको हित र राष्ट्रियताको गरिमाका हिसावले नेपाल र नेपालीका लागि आफ्ना नेताले देखाएको प्रवृत्तिका कारणले स्वराजको नेपाल भ्रमण निराशाजनक रहेको अनुभूत गर्न सकिन्छ । जसलाई नेपाली समाजले राजनेताको पगरी र सम्मान दियो उनीहरूले नै आफू त्यस लायक नभएको पुष्टि गरे । यो आफैँमा दुःखद छ । हामी जानुको सट्टा स्वराज हामीलाई भेट्न नेपाल आइन् भन्ने तर्कले त हाम्रा नेताहरूको नेतृत्व कौशलतामा नै प्रश्न उठाउन पुगेको छ । 

त्यसैले अबका दिनमा भारतसँगको सम्बन्ध स्पष्टरूपमा परिभाषित गर्नुको विकल्प छैन । जसको केन्द«मा भविष्यमा भारतले कहिल्यै पनि नेपाललाई नाकाबन्दी गर्न नसक्ने संयन्त्र निर्माण हुनुपर्छ । सुरक्षा, पानी र व्यापारका विषयमा राजनीतिक दृष्टिकोणका आधारमा नभएर विशेषज्ञको दृष्टिकोणका आधारमा नेपालको दृष्टिकोण बन्नुपर्छ र सोही आधारमा भारतसँगको सम्बन्ध परिभाषित गरी निक्र्यौल गरिनुपर्छ । 

(वरिष्ठ अधिवक्ता)

प्रकाशित: २५ माघ २०७४ ०२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App