७ वैशाख २०८१ शुक्रबार
समाज

‘तावाबाट उम्केर भुंग्रोमा’

झापा – घरमा भोगिरहेको हिंसाबाट जोगिन वैदेशिक रोजगारीमा गएका महिला विदेशमा झनै ठूलो यातनाको सिकार बन्दै फर्किन बाध्य छन् । विदेशमा सहेको यातना र दुव्र्यवहारको पीडाले धेरैको जीवन थप बर्बादीतिर गएको छ । कोही भने लामो समयदेखि सम्पर्कविहीन हुँदा उनीहरुको घरबारसमेत भताभुंग बनेको छ।

स्वास्थ्य, शिक्षा र रोजगारीको अवसरका दृष्टिले ‘अगुवा’ भनेर प्रचार गरिँदै आएको झापामै पनि यस्ता धेरै महिला छन्, जसले घरको हिंसा छल्न बिदेसिँदा त्यहाँ झन् ठूलो यातनाको सिकार सहेका छन् । यो समस्या विपन्न परिवारमा मात्रै सीमित छैन । सम्पन्न परिवारकै सदस्यहरु पनि यस्तो समस्याको चंगुलमा फसेको पाइएको छ । ‘विदेश गएर नकमाई नहुने अवस्थाका परिवारमा त छँदैछ, सम्पत्ति भएका परिवारका महिला पनि पीडित भएको भेटिएको छ,’ महिला जनचेतना केन्द्र झापाकी प्रमुख राधा प्रधान कार्कीले भनिन्, ‘हिंसाको मोडेल फरक छ तर पीडा समान छ । त्यसैले बिदेसिने धरै छन् । विदेशमा पुगेर झन् ठूलो यातना भोग्नेहरु पनि धेरै छन् । उनीहरुको पुनस्र्थापना र भावी जीवन सहज बनाउने विषय सोच्दा पनि कहालीलाग्दो छ।’

यस्तैमध्येकी एक हुन् झापा मेचीनगरकी गीता चौधरी (नाम परिवर्तन) ।  दुई छोराछोरी हुर्किंदै थिए । गीतालाई उनीहरुको भविष्यको चिन्ताले गाँज्दै थियो । तर, घरेलु अवस्था भने लालाबालाको बलियो भविष्य उन्मुख थिएन । दिनरात रक्सी खाएर आफूलाई कुटपिट गर्ने पति, उनकै कार्यशैलीलाई प्रोत्साहित गर्ने अभिभावकको रबैयालगायतले उनलाई निरन्तर निराशातिर धकेलिरहेको थियो।

यस्तो अवस्थाबाट मुक्तिका लागि उनले देखेको एकमात्र विकल्प थियो, वैदेशिक रोजगारी । नभन्दै घरेलु हिंसाको चंगुलबाट छुटकारा पाइने र आर्थिक रुपमा पनि सबल बन्ने आशा लिएर उनी कुवेत पुगिन् । तर, गीताका लागि त्यो बिरानो ठाउँ  ‘तावाबाट उम्केर भुंग्रो’ जस्तै भयो । जुन घरमा उनी काम गर्थिन्, त्यहीं मालिकको छोराबाट पटक–पटक बलात्कृत भइन् । त्यही क्रममा गर्भ रहँदा उनले छोरी जन्माइन् । विदेशबाट घर आउँदा उनको साथमा छोरी मात्रै थिइन् । अहिले परिवारबाट अलग्गै रहेर डेढ वर्षे छोरी हुर्काउने क्रममा उनले व्यहोरिरहेको सामाजिक हिंसा झन् डरलाग्दो छ । ‘धेरैले पीडितलाई हौसला दिनेभन्दा पनि चरित्र र नैतिकताको नचाहिँदो बखेडा झिकेर घाउमा नुनचुक छरिरहन्छ,’ लामो समयदेखि हिंसा पीडित महिलाका पक्षमा काम गरिरहेकी प्रधानले भनिन्, ‘यसको मुख्य जड घरेलु हिंसा हो।’

झापा बाहुनडाँगीकी शर्मिला मगर १८ वर्षभन्दा लामो समयदेखि बेपत्ता छिन् । गाउँकै किसान थरका व्यक्तिसँँग प्रेमविवाह गरेकी उनका तीन सन्तान हुर्किंदै थिए ।  तर, पतिको जीवनशैलीले उनलाई दिक्क बनाएको थियो । त्यसैले उनी त्यहीबेला बिदेसिइन् । ‘छोरीज्वाइँबीच कहिल्यै राम्रो भएन, दिनरात झगडा भयो’, शर्मिलाकी आमा दिलमाया मगरले भनिन्, ‘हामी माइतीकै सल्लाहमा उसलाई विदेश पठायौं । तर, अहिले २० वर्ष हुन आँट्यो ऊ बेपत्ता छे । सम्पर्क छैन ।’ शर्मिला कहाँ गएकी थिइन् भन्नेसमेत अहिले टुंगो छैन । ‘खै कुवेत हो कि साउदी हो मैले पनि बिर्सें’, ६९ वर्षीया दिलमायाले नागरिकसँग भनिन् ‘आइदिए हुन्थ्यो भन्ने लाग्छ तर यत्रो वर्ष भइसक्यो केही खबरखाबर छैन ।’
शर्मिलाले सानैमा छाडेर गएका नानीहरुले अहिले उनको अनुहारसमेत बिर्सेको दिलमायाको भनाइ छ । उनीहरुको बिहेबारी भइसकेको छ ।  उनका पतिको निधन भइसकेको छ । घरेलु हिंसाबाट सुरु भएको यो परिवारको दुःख यतिबेला छिन्नभिन्न मात्रै छैन, बेपत्ता शर्मिलाको अवस्थाले पिरोलिने आफन्तसमेत घट्दै गएका छन्।

बुद्धशान्ति गाउँपालिकाको एउटा धनाढ्य परिवारका युवकसँग प्रेमविवाह गरेकी मीना अधिकारी (नाम परिवर्तन) तीन वर्षअघि कुवेत पुगेकी थिइन् । घरेलु कामदारका रुपमा कार्यरत रहेकै बेला उनले पनि यौनहिंसा सहनुप¥यो । ‘मलाई विदेशमा गएर कमाउनु थिएन, जाँडरक्सी तथा लागूऔषध खाएर दिनरात सताउने पतिलाई सुधार केन्द्र पठाएर आफू पनि विदेश गएकी थिएँ’, उनले भनिन् ‘तर, त्यहाँ पुगेको तीन महिनापछि शारीरिक यातना पाउन थालें । यौन दुव्र्यवहार पनि सहनुप¥यो । त्यसैले बाध्य भएर छ महिनामै फर्किएँ ।’ अहिले उनी झापामै रहेको मानव बेचबिखनविरुद्ध काम गर्ने एउटा संस्थामा परामर्शदाताका रुपमा कार्यरत छिन् । उनका अनुसार घरेलु हिंसाबाट जोगिने उपाय खोज्दै बिदेसिएका तर त्यहाँ झन् ठूलो यातना सहेकाहरुको संख्या लगातार बढ्ने क्रममा छ ।  ‘त्यसरी पीडामा परेकाहरुलाई हरेस नखान, नयाँ मोडबाट जिन्दगी थाल्न सम्झाइरहेकी छु’, उनले भनिन् ‘तर, कमजोर शैक्षिक धरातल, असहयोगी पारिवारिक वातावरणले धेरैलाई उत्साहप्रद जीवन बाँच्न दिएको छैन । अहिलेको मुख्य चुनौती यही हो ।’ उनको अनुभवले भन्छ, ‘घरेलु हिंसा घटाउन सकिने हो भने यस्तो पीडाको एउटा मुख्य मुहान नै बन्द हुन्छ।’

बेरोजगारी, पारिवारिक तनाव र बेमेल, घरेलु हिंसाजस्ता पीडामा रुमल्लिएका महिला मात्रै होइन, तत्कालै पैसा कमाइहाल्ने महŒवाकांक्षा बोकेका शिक्षित युवती पनि विदेशमा पुगेर अनेकौं यातनाको सिकार बनेका छन् । यसमा सरकारी कमजोरीले सबैभन्दा धेरै काम गरेको जानकारहरु बताउँछन् । ‘रेमिट्यान्समा रमाउने राज्य तिनै नागरिक विदेशमा रहँदाको सुरक्षाबारे मौन छ’, महिला र बालबालिकाविरुद्ध हुने हिंसाविरुद्ध काम गरिरहेका झापाका मणिकुमार लिम्बु भन्छन्, ‘सुरक्षित वैदेशिक रोजगारीका लागि चाहिने प्रबन्ध गर्न सरकार अग्रसर हुनुपर्छ ।’ धुलाबारी क्याम्पसमा अध्याउनसमेत गर्ने लिम्बु यसबाहेक घरेलु हिंसाको अन्त्यका लागि  आन्तरिक रुपमा पनि बलियो उपाय खोज्नुपर्ने बताउँछन् । ‘सुन्दा सामान्य लाग्ने घरेलु हिंसा धेरैको जीवन बर्बादीको कारण बनेको छ’, उनले भने, ‘त्यसैले कानुन कार्यान्वयनदेखि चेतना अभियानमा अझै जोड दिनुपर्ने खाँचो छ । अब यी काम स्थानीय सरकारको मुख्य प्राथमिकता हुनुपर्छ।’

प्रकाशित: २१ माघ २०७४ ००:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App