"

बारुदमाथि महोत्सव

शुक्रबार, १९ माघ २०७४, ०८ : ३६ युवराज गौतम


भारत स्वतन्त्र हुनुभन्दा अघि त्यहाँ पाँचसय पैंसठ्ठीवटा राज्य थिए । सुरुमा, ब्रिटिस साम्राज्यको सिकार भए उनीहरू । दरबारमै बसेर अत्यन्त महँगा आभूषण र बस्त्रले सिँगारिए पनि ती राजा–महाराजाको कुनै राजनीतिक अधिकार बाँकी रहेन । सन् १९४७ पछि हैदरावादका निजाम (राजा) विद्रोही भएर उभिए तर सन् १९४८ को सेप्टेम्बर १३ तारिखमा बलपूर्वक सो राज्यलाई पनि भारतमा गाभियो । संकटमा माटोको रक्षा गर्न नसक्दा पराधीन बन्नुपर्छ । यस्ता उदाहरण धेरै छन्।

मुसलमानहरूको बाहुल्य भएको जम्मु–कास्मिरका हिन्दु राजा थिए हरि सिंह । उनकी चौथो पत्नी तारादेवीबाट जन्मेका हुन्– डा. करण सिंह । सन् १९५२ मा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु र गृहमन्त्री बल्लभभाइ पटेलको षड्यन्त्रमा जम्मु–कास्मिरको राजतन्त्र पनि समाप्त भयो । सूर्यका पुजक, सूर्यवंशी डोगरा राजपुतको शासन ‘धर्म निरपेक्ष’ समर्थकहरूले समाप्त पारिदिए । लाचार करण सिंह पं. नेहरु र पटेलका पछिपछि लागे।

करण सिंहले श्री ३ मोहनशमशेरकी नातिनी तथा शारदा शमशेरकी छोरी नेपाली कन्यासँग विवाह गरे । जम्मु कास्मिरको राजगद्दी दिल्लीलाई बुझाएर गभर्नर, मन्त्री तथा राजदूत जस्ता ससाना पदमा चित्त बुझाए उनले । राष्ट्रपति हुने इच्छा गरे पनि कांग्रेस पार्टीले पत्याएन । ‘विकास भनेको परिवार नियोजनको सबैभन्दा प्रभावशाली उपाय हो’ भन्ने करण सिंह भारतका प्रसिद्ध विद्वान्मा गनिन्छन् । तर जम्मु कास्मिरको स्वतन्त्रता भारतलाई बुझाएर उनले गलत काम गरेको देखिन्छ । पचासौँ वर्षअघिदेखि कास्मिर ठूलो संकटमा छ । त्यहाँ हजारौँ जनता र सुरक्षाकर्मी मारिएका छन् । त्यो क्रम अझै रोकिएको छैन । कास्मिरीहरु स्वतन्त्रताको निम्ति अझै संघर्ष गरिरहेका छन् । रगतको आँसु बगाइरहेका छन्।

ब्रिटेनका फिल्ड मार्सल चेट्उडको एउटा कथन हरेक राष्ट्रका राष्ट्रिय सुरक्षाकर्मीका निमित्त आदर्श वाक्य मानिन्छ– ‘(सेनाका निम्ति) राष्ट्रको सुरक्षा, सम्मान र कल्याण सर्वाधिक महत्त्वको हुन्छ र त्यो सबैभन्दा पहिले आउँछ । आफूले हाँकेका (कमान्ड गरेका) व्यक्तिको सम्मान, कल्याण र सुविस्ता दोस्रो प्राथमिकतामा पर्छ । त्यसपछि मात्र आउँछ तिम्रो (कमान्डरको) सुविस्ता, आराम र सुरक्षा ।’ राजनीतिक नेतृत्वमा पनि यही सूत्र लागु हुन्छ । राष्ट्र सर्वोच्च हुन्छ । जनताको सुख, शान्ति र सुविस्ता त्यसपछि आउँछ र अन्त्यमा आउँछ नेताको सुख–सुविधा । उल्टो हुने गरेको छ नेपालमा । प्रधानमन्त्री, मन्त्री र सांसदलगायतका उच्चपदस्थहरू आफ्नो तलव, भत्ता र सुविधा पहिले बढाउँछन् । राष्ट्र बेवारिस जस्तो बन्दै गएको छ आज । जनताका न्यूनतम् अधिकार (गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षा) ओझेलमा पर्दै गएको अवस्था छ । राजनीतिक, प्रशासनिक आदि क्षेत्रमा प्रत्येक महिना अर्बौंँ रुपियाँ खर्च बढ्दैछ र आम्दानीका स्रोत सीमित बन्दैछन् । तर राष्ट्र थिचिने र मिचिने क्रम रोकिएको छैन ।
केही दिनअघिमात्र एकजना जिम्मेवार नेताले अत्यन्त गैरजिम्मेवार अभिव्यक्ति दिएपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा त्यसको विरोध भइरहेको छ । आर्थिक अनुशासनको मर्म, भावना र धरातलविरुद्ध उनले एकपटकलाई ‘अवैध धनलाई वैध हुन दिनुपर्ने’ तर्क दिए । अवैधरूपमा प्रशस्त सम्पत्ति आर्जन गर्नेहरूले आतंकवाददेखि लिएर मन्दिर, गुम्बा, चर्च र धर्मशाला, राजनीति, कूटनीति, सञ्चारमाध्यम आदि क्षेत्रमा समेत प्रशस्त खर्च गरेका धेरै उदाहरण संसारमा पाइन्छ । यस्तो प्रवृत्तिले धेरै राष्ट्रलाई सताएको छ । राष्ट्रिय सुरक्षाका दृष्टिले ‘अवैध धन’ प्रमुख चुनौतीमध्येको एक हो । तसर्थ, जुनसुकै दलका नेता हुन्, उनीहरूले राष्ट्रको हितलाई उच्च प्राथमकिता दिन सकेनन् भने ती व्यक्ति पतीत बन्ने सम्भावना रहन्छ । प्राध्यापक मदनकुमार दाहालले लेखे– ‘समानान्तर अर्थतन्त्र हाबी भएको मुलुकमा कालो धन स्वतः सेतोमा परिणत गर्दा सरकार तस्करहरूको नियन्त्रणमा रहने निश्चित छ ।’ भन्नु परोइन, कालो धनको भूगोल हुँदैन । सीमा–सरहद हुँदैन । नीति, आदर्श, सिद्धान्त र दर्शन हुँदैन । राम आउँदा रामलाई स्वस्ति, रावण आए रावणलाई स्वस्ति गरेर धन कमाउन हजारौँ जालझेल गर्नेहरूले गुम्बा बनाएर पनि त्यसभित्र हतियार थुपार्ने गरेको खम्पा विद्रोहका बेला देखिएकै हो।

नेपालको फितलो ‘राज्य–व्यवस्था’ (?) बाट प्रशस्त फाइदा उठाइरहेका भ्रष्टाचारीहरू । तसर्थ विधिको शासन, पारदर्शिता, सुशासन र अनुशासन कमजोर भएमा नेपाल आर्थिक दृष्टिले कंगाल बन्ने प्रवल सम्भावना देखिन्छ । संघीयता पाल्न जनताले पेटमा पटुका बाँधेर कर तिर्नुपर्ने अवस्था देखिएको छ भने विदेशी शक्तिको अपारदर्शी लगानी बढ्दै जाने खतरा त्यत्तिकै देखिन्छ । यस्तो स्थितिमा कालो धनलाई सेतो बनाइदिने हो भने राष्ट्रको हालत के होला ?

केही सीमित तस्कर, फटाहा, कालाबजारिया, घुस्याहा र अवैध ढंगले धन कमाएर राजनीतिक दल, कर्मचारीतन्त्रलगायत यावत् क्षेत्रमा प्रभाव पार्न सक्ने व्यक्तिका लहैलहैमा लागेर राष्ट्रिय हितको उपेक्षा गर्ने हो भने त्यो क्षम्य हुन सक्दैन।

राजनीति गर्नेहरूले राष्ट्र र जनताको हितको उपेक्षा गरेर गलत काम गर्न थाले भने उनीहरू फर्डिनान्ड मार्कोस, निकोलाइ चाउचेस्कु, अनबर होजा, बोकासा, इदी अमिन, दुभालियर वा अगस्टो पिनोचे बन्न सक्छन् । निकारागुवाका अर्नोल्डो आलेमन, युक्रेनका पाब्लो लाजरेन्को, पेरुका अल्बर्टो फुजिमोरी, सर्वियाका स्लोभोदान मिलोसेभिच, नाइजेरियाका सानी आबाचा आदिले बेरोकटोक राष्ट्र लुटे । उनीहरूलाई तह लगाउने कोही थिएन । तर जुन दिन विधिको शासन गर्ने प्रयास भयो, त्यसबेला जनता जागे।

अत्यन्त असुुरक्षित, कमजोर, अस्थिर तथा अविकसित राष्ट्र सोमालिया, लाइबेरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, इथियोपिया, अफगानिस्तान, जिबुटी, सिरिया आदि राष्ट्र नेतृत्वको अस्वस्थ प्रतिस्पर्धा, भ्रष्टाचार, अपारदर्शी शासन आदिले आक्रान्त छन्। यस्तै, राष्ट्रलाई ‘असफल’ तुल्याउने तत्त्वहरू प्रवल भएमा यमन, कंगो, चाड, इराक, हाइटी, नाइजर, इरिट्रिया, लिविया, क्यामरुन, अंगोला वा सियरालिओनझैँ राष्ट्र शिथिल बन्दै जान्छ।

कार्यपालिका, न्यायापालिका, व्यवस्थापिका, प्रेस जगत, गैरसरकारी क्षेत्र, बौद्धिक समुदाय र आर्थिक क्षेत्रसँग प्रत्यक्षरूपमा सम्बन्धित व्यक्ति एवं संघ/संस्था विदेशीको स्वार्थमा समर्पित हुने प्रचलन बस्यो भने भावी सन्ततिले ‘चीन र भारतका बीचमा नेपाल पनि विगतमा स्वाधीन राष्ट्र थियो’ भनेर पढ्नुपर्ने दिन आउन सक्छ। दौरा–सुरुवाल, चौबन्दी, ढाकाटोपी र गुन्यु त दार्जिलिङ र सिक्किमका बासिन्दाले पनि लगाउँछन् । नेपाली लोकगीत गाउँछन्। तिहारमा देउसीभैलो खेल्छन्। उनीहरूलाई भारतले अहिले पनि आफ्नो ठानेको छैन । उनीहरूको आफ्नै कथा–व्यथा छ। अलिकति अधिकार माग्दा भारत सरकार उनीहरूलाई वक्रदृष्टिले हेर्छ भने सहज अवस्थामा त्यहाँका कतिपय टाठाबाठा नेपालीभाषीहरूकै अधिकार खोस्न दिल्लीमा पोल लगाउँछन्। सिक्किमलाई भारतमा गाभ्न रामचन्द्र पौडेल, नरबहादुर खतिवडा आदिलाई लेन्डुप दोर्जेका सुन्ड–मसुन्ड बनाइएको थियो भने गान्तोकमा भारतको राष्ट्रिय झण्डा फर्फराएपछि राष्ट्रघातीहरूलाई फोहोर पुछेर फ्याँकिएको टालो जस्तो बनाइयो। हरेक राष्ट्रमा राष्ट्रघातीको नियति त्यस्तै हुन्छ । तसर्थ, नेपाल टुक्रयाउने, कमजोर बनाउने र राष्ट्रलाई क्षत्विक्षत् तुल्याएर आफू विदेशीका प्रिय बन्न चाहनेहरूले बुझ्नुपर्छ, नगर वधूझैँ उनीहरूले पनि आफ्ना कुकर्मबारे पछुतोमात्र गर्ने अवस्था अवश्य आउँछ।

राष्ट्र कमजोर भएकै कारण वीरगन्ज–छपकैयाका बद्री साह कानु, रवीन्द्र कोइरी, महावीर दासलगायतका जग्गाधनीको जमिन ‘भारतमा परेको’ हालैको घटनापछि नेपाली पुनः झस्किएका छन्। कञ्चनपुर परासनमा सात सय विघा जमिन भारतले मिच्दा, आनन्दबजारका गोविन्द गौतम भारतीय सुरक्षा फौजबाट मारिँदा वा मेचीदेखि महाकालीका सत्तरी हजार हेक्टर भूभाग भारतमा गाभिँदा कुनै पनि नेता वा उच्चपदस्थको मन दुखेन । किनभने त्यो उनीहरूको व्यक्तिगत खेतबारी थिएन, पृथ्वीनारायण शाहका भाषामा त्यो ‘नेपाल फूलबारी’ थियो । उच्चपदस्थहरूलाई करोडौँ रुपियाँको सुखसुविधा दिएर नेपाललाई कसरी खोक्रो पारिँदैछ भन्ने बुझ्न देश घुम्नुपर्छ । सर्वसाधारणका पीडा सुन्नुपर्छ र उनीहरूका प्रत्येक थोपाथोपा आँसुको भाषा बुझ्न सक्नुपर्छ।

एउटा घर लुट्नेलाई कारागार र सिंगो राष्ट्र लुट्नेलाई सिंहदरबारको शासक बनाइन्छ यहाँ । हजारौँ हत्यारालाई लोकतन्त्रवादीको मुकुट लगाइन्छ । दशवर्षे द्वन्द्वका क्रममा माओवादीले सुजाता कोइराला, गायत्री नेपाल, रविलक्ष्मी चित्रकार, आरजु राणा, नीलम खड्का, तुलसा थापा, राधिका शाक्य आदिको हत्या गरेका भए गिरिजाप्रसाद कोइराला, माधव नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, सिपी मैनाली, वामदेव गौतम, केपी ओली आदिले माओवादीसँग चाटाचाट गर्ने थिएनन् । तर हजारौँ कार्यकर्ता, समर्थक र निर्दोष नागरिक मारिएकामा उनीहरूलाई कुनै पीडावोध भएन । अहिले पनि हजारौँ द्वन्द्वपीडित आँसु बगाइरहेका छन् । अनाहकमा मारिएका आफ्ना आमाबाबु सम्झिएर उनीहरूका सन्तान मनोवैज्ञानिक चोटको सिकार बनेका छन् । त्यसको क्षतिपूर्ति कसले गर्छ ? तर अहिले आएर अर्बौँ रुपियाँ लुट्ने र कालो धनलाई सेतो बनाउन खोज्ने प्रयास हुँदैछ । यो छट्टु स्यालको कथाभन्दा फरक छैन।

स्कुल–कलेजमा इतिहासको ज्ञान दिइँदैन अचेल । विश्वविद्यालयमा इतिहास विभाग आजका मितिसम्म साइनबोर्डमा सीमित छ । तर विद्यार्थी छैनन् । इतिहास पढाउँदा पुर्खाको साहस, सौर्य, बलिदान, इमान र स्वाभिमानका कथा सिक्छन्, नयाँ पुस्ताले । राष्ट्रको गौरवबारे जानकारी राख्छन् । देश÷देशान्तरको इतिहास पढ्दा उनीहरूमा विद्वता बढ्दै जान्छ । तर त्यो ‘धन कमाउने विद्या’ होइन । धर्म, संस्कृति, परम्परा, राष्ट्रिय मूल्य/मान्यता र पुर्खाको गाथाबाट विमुख बनाइँदैछ युवा पुस्तालाई । राज्यले निःशुल्क भए पनि पढाउनुपर्छ इतिहास । तर धर्म र इतिहास नै मान्दिन भन्नेहरू प्रधानमन्त्री हुन पाउँछन् नेपालमा । गीतामा भनिएको छ– ‘धर्म नमान्नेहरू असुर (राक्षस) हुन् ।’ (सोह्रौँ अध्याय) असुरलाई नेता मान्छन् भने ती अन्धभक्तलाई के भन्ने ? गीतामा त्यसको परिभाषा छैन तर देवासुर संग्राममा जो असुरका पक्षमा उभिन्छन्, उनीहरू पनि असुर नै हुन्।

राष्ट्र जोगाउनुपर्छ भन्नेले सिमाना, त्यस सरहदभित्रको इतिहास, धर्म–संस्कृति, परम्परा र पुर्खाले जेगाएका अतुल्य–अमूल्य र अखण्ड सभ्यता पनि जोगाउनुपर्छ । तर आजको अवस्था हेर्दा राष्ट्र निर्जीवझैँ देखिएको छ । जिन्दावाद र मुर्दावाद त पराधीन राष्ट्रमा पनि हुन्छ । चुनाव त विदेशी सेनाको बुटमुनि पनि हुन्छ । हाम्रो चेतना त अविनासी आत्माजस्तो हुनुपथ्र्याे, शस्त्रले नकाट्ने, आगोले नडढाउने, पानीले नभिजाउने र हावाले नसुकाउने । संस्कारीहरूलाई आमा–बाहरूले सिकाएका गीताका वाणी ‘नैनं छिन्दन्ति शस्त्राणि, नैनं दहति पावक । न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।’ शरीरका अंग–प्रत्यंग किड्नी (मिर्गौला), फोक्सो, कलेजो, पित्तासय, अग्न्यासय (प्यान्क्रियज), धमनी (आर्टरी), आन्द्रा आदि विकृत भइसकेपछि पनि कतिपय मानिस ट्याउँट्याउँ बोलिरहन्छन् । अन्त्यमा मुटु बन्द भएपछि मात्र डाक्टरहरूले ‘मृत’ घोषणा गर्छन् । अहिले राजनीतिको ‘ट्याउँट्याउँ’ त्यस्तै देखिएको छ । सार्वभौमसत्ताकै प्राणपखेरु उड्ने संकेत देखिएको छ । घाँटीभित्र क्यान्सर हुनेले पनि घाँटीमा टाइ झुण्ड्याउँछ । गाँड हुनेले मफलरले गाँड छोप्छ । आज कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र सुरक्षा अंगहरू मक्किदै गएको देखिन्छ । हरेक ठाउँमा राजनीतिको दुष्प्रभाव र विदेशीको शक्तिको ढलीमली बढ्दै गएको छ । प्रखर र सच्चा राष्ट्रवादीहरू थन्किँदै र लुप्त हुँदै गएका छन् । हरेक ठाउँमा विदेशीले घोडा चढेको देखिन्छ । राष्ट्र बलियो, सुरक्षित र सुव्यवस्थित बन्दैछ भनेर ढुक्क हुने आधार कहाँ छ?

झण्डै चालीस वर्षपहिले वीर अस्पतालका डाक्टरहरूले कीर्तिपुरमा परिवार नियोजनबारे जनचेतना कार्यक्रम चलाएछन् । प्रायः अंग्रेजी शब्द मिसाएर बोल्ने त नेपालका शिक्षितहरूको रोग नै हो । डाक्टरहरूले पनि त्यसै गरे । त्यही हुनाले धेरैले कुरो बुझेनन् । प्रशिक्षणका बेला लज्जालु महिलाहरू पहिलो दिनमै भागे । भोलिपल्ट पुरुषहरूलाई परिवार नियोजनका अस्थायी साधन बाँडियो । दुई दिन लामो प्रशिक्षण सकिएपछि घर फर्किने बेलामा हातमा ‘कन्डम’ लिएर एकजना किसानले आफ्नै लवजमा सोधे– दाक्दर साप, यो ओखटी टाटो पानीसँग खान्या हो कि चिसो पानीसँग?

संघीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई अधिकांश नेपाली जनताले त्यसरी नै बुुझेका छन् । राष्ट्रप्रति इमानदार, स्वाभिमानी र राष्ट्रवादीहरूले संविधानका प्रमुख तत्त्वलाई अर्कै ढंगले बुझेका छन् । संघीयता राष्ट्रलाई धुजाधुजा बनाउन विदेशीले ओछ्याइदिएको बारुदी सुरुङ (ल्यान्ड माइन) भन्ने उनीहरूको बुझाइ छ । त्यसैले हामी बारुदमाथि उभिएर महोत्सव मनाइरहेका छाैँ । होली खेलिरहेका छौँ र रमाइरहेका छाैँ ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सन्नी लियोनी अस्पताल भर्ना

सन्नी लियोनी अस्पताल भर्ना

बलिउड अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनी अस्पताल भर्ना भएकी छिन्। टिभी शो स्प्लिट्सविला सीजन ११ को शुटिङ्गका विरामी परेर चामुण्डा...

स्वस्तिमा बनिन् टेम्पो चालक

स्वस्तिमा बनिन् टेम्पो चालक

राजधानीमा टेम्पो चालक महिलाको संख्या उलेख्य छ यसैले महिला चालक हुनु नयाँ भएन। तर शुक्रबार बिहान विजुली बजार क्षेत्रमा चलेको...

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

न्युरो एन्डोक्रइन क्यान्सरबाट पीडित अभिनेता इरफान खान विगत ३ महिनादेखि उपचारका लागि बेलायतको लण्डनमा छन्। शरीरमा ट्युमर हुने रोगसँग जुधिरहेका...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...