८ वैशाख २०८१ शनिबार
समाज

ट्राफिकको आँखा छलेर ट्याक्टरमा ‘ओभरलोड’

संघिय प्रहरी इकाई नेपालगन्जले बुधबार नियन्त्रणमा लिएका ओभरलोड ट्याक्टर । तस्बिर : नागरिक

नेपालगन्ज – ट्राफिक नियम विपरित बाँकेमा ट्याक्टरले ‘ओभरलोड’ बोक्ने क्रम फेरी पनि बढेको छ। गतवर्ष ट्राफिक प्रहरीले चारैतिरका नाकामा कडा गरेपछि ट्याक्टरहरुले ओभरलोड सामान बोक्न छाडेका थिए। तर, यसवर्ष जिल्लाका नदी तथा खोलाबाट ढुंगा, गिट्टी, बालुवा र मोरङ ओभरलोड बोक्ने क्रम बढेको पाइएको छ।

ट्याक्टरले क्षमताभन्दा बढी ओभर लोड बोक्दा दुर्घटना बढी मात्रामा हुने ट्राफिक प्रहरी बताउँछ। नदी तथा खोलाबाट आउने ट्याक्टरले ट्राफिक प्रहरीको आँखा छलेर दिनहुँ नदीजन्य सामाग्री नेपालगन्ज भित्र्याउँछन। यसैक्रममा संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जले बुधबार एकैचोटी १४ वटा ओभरलोड गरिएका ट्याक्टरलाई नियन्त्रणमा लियो।

संघीय प्रहरी इकाई नेपालगन्जका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक महेशविक्रम शाहले ओभरलोड गरिएका ती ट्याक्टरलाई नियन्त्रणमा लिइएको बताए। डुडुवा गाउँपालिका क्षेत्रका नदी तथा खोलाबाट ओभरलोड गरेर नेपालगन्ज प्रवेश गरिरहेको अवस्थामा ट्याक्टरलाई नियन्त्रणमा लिइएको एसएसपी शाहले जानकारी दिए। नियन्त्रणमा रहेका ट्याक्टरलाई आवश्यक कारबाहीका लागी जिल्ला समन्वय समिति समक्ष बुझाइएको उनले बताए। शाहका अनुसार ट्राफिक प्रहरीले ट्याक्टरलाई जरिवाना बाहेक अरु केही गर्न सक्दैन। खोलामा ठेक्का सञ्चालन गर्ने जिम्मेवारी पाएको समन्वय समितिसँग ट्याक्टरलाई कडा कारबाही गर्न सक्ने अधिकार पनि छ।

तत्कालिन जिल्ला विकास समितिले नदी तथा खोलामा ठेक्का लगाउँदै आएकोमा नयाँ संरचना अनुसार जिल्ला समन्वय समितिले जिम्मेवारी पाएको छ। ट्राफिक प्रहरीले गर्नुपर्ने कामलाई संघिय प्रहरी इकाई कार्यालयले हस्तक्षेप गरेको ट्याक्टर व्यवसायीको गुनासो छ। ट्याक्टर व्यवसायी संघ बाँकेका अध्यक्ष प्रह्लाद साहुले ओभरलोड ट्राफिक नियम विपरित भएको स्वीकार गर्दै कारबाही गर्ने जिम्मा ट्राफिक प्रहरीको हुँदा हुँदै जिल्ला समन्वय समितिको जिम्मा लगाउनु उचित नभएको जिकिर गरे। यता एसएसपी शाहले ओभरलोड भएका ट्याक्टरलाई नियन्त्रण गरेर जिल्ला समन्वय समिति समक्ष बुझाएर प्रहरीले कर्तव्य पुरा गरेको दाबी गरेका छन्।

जिल्ला ट्राफिक प्रहरी प्रमुख एवम् ट्राफिक प्रहरी निरिक्षक होम थापाले ओभरलोड बोक्ने ट्याक्टरविरुद्ध आफूहरुको निगरानी यथावत रहेको बताए। ‘हामीले कारबाही गरेकै छौं, तर कतिपय अवस्थामा अटेरी गरेर ट्राफिकलाई छलेर नेपालगन्ज भित्रिन्छन्,’ उनले भने। ओभरलोड बोक्ने ट्याक्टर विरुद्ध कारबाही अभियान चलाउन ट्राफिक प्रहरीसँग जनशक्ति पनि अपर्याप्त रहेको थापाले बताए।

प्रकाशित: १७ माघ २०७४ १४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App