coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सरकारी ‘पहल’ कुरेको कुर्यै अदुवा व्यवसायी

इलामको बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेलको गोदाममा भण्डारण गरिएको अदुवा । तस्बिर :भीम/नागरिक


इलाम – तीन सातादेखि रोकिएको अदुवा निकासी खुल्ने कुनै छनक नदेखिएपछि व्यवसायी र किसान आजित भएका छन् । वाणिज्य मन्त्रालयसमेत आफूहरूको समस्यामा गम्भीर नभएको भन्दै व्यवसायीले गुनासो गरेका छन् ।

अदुवा व्यवसायीलाई वाणिज्य मन्त्रालयले अदुवा निकासी खुलाउन भारतीय दूतावासमार्फत् ‘पहल गरिरहेको’ आश्वासन दिइरहेको छ । तर, कहिल्यै निकास भने नआएपछि उनीहरू मन्त्रालयले कुनै ‘सुखद्’समाचार दिने पर्खाइमा छन् । अदुवा व्यवसायी संघ अध्यक्ष नरेन्द्र खड्काले मन्त्रालयमा साताअघि नै अदुवाको निकासी रोकिएको जानकारी दिए पनि थप प्रगति के भइरहेको छ भन्नेबारे मन्त्रालयले कुनै सूचना नदिएको बताए । ‘कतिबेला शुभखबर आउला भनेर पर्खेको पर्खियै छौं,’ उनले भने, ‘हामी प्रत्येक व्यवसायीको करोडौं रुपैयाँ डुबिसकेको छ, किसानले बारीमै अदुवा कुहाउनुपरेको छ । मन्त्रालयले दूतावासमा पहल गर्दैछु भन्छ, त्यही कुरा दोहोर्याएको साता बित्यो । कुनै प्रतिक्रिया आएन ।’

अध्यक्ष खड्काले नेपालको सबै अदुवा निकासी हुने झापाको काँकडभिट्टानजिकै पानीट्यांकी नाकामा अनुमति नपाएपछि व्यवसायीको गोदाम र किसानको बारीमा करोडौंको अदुवा अलपत्र परेको बताए । ‘हामीले निकासीका लागि सहयोग माग्ने सरकारसँगै हो, सरकारले नै चासो नदिएपछि हाम्रो केही लागेन,’ उनले भने, ‘वाणिज्य मन्त्रालयले नसके प्रधानमन्त्रीसमेतले भारतसँग कुरा गरेर अदुवा निकासी खुलाइदिन सहयोग गर्नुपर्छ नत्र नेपाली अदुवाको भारतीय बजार ठप्प नै भइसकेको छ ।’

व्यवसायीका अनुसार सन् २०१२ मै भारतले नेपालको ताजा अदुवा भारत आयातमा ‘प्रतिबन्ध’गरेको थियो । भारतले त्यतिबेलै राजपत्रमा ताजा अदुवा आयात रोक्ने निर्णय सार्वजनिक गरिसकेको पाएको अध्यक्ष खड्काले बताए । तर, व्यवसायीले एजेन्टमार्फत् भारतीय वाणिज्य विभागको अनुमतिमा नेपाली अदुवा निर्यात गर्दै थिए । ‘पछिल्लो समय भारतको लखनउस्थित कमिस्नारले ६ वर्षअघिकै व्यवस्था लागू गर्न भन्सारलाई पत्र लेखेको रहेछ,’ उनले भने, ‘तर, सन् २०१२ कै नेपाल–भारत व्यापार सम्झौतामा चाहिँ नेपाली अदुवाको निकासी नरोक्ने भनिएको रहेछ ।’ उनले त्यो सम्झौताको पूर्णपाठ नेपाली व्यवसायीले कहिल्यै हेर्न नपाएको बताए ।

भारतले अकस्मात पानीट्यांकी नाकामा ताजा अदुवा लैजान रोकेपछि आफूले भारतको नयाँदिल्लीसम्म पुगेर निकासीबारे बुझेको उनले बताए । ‘अदुवा आयातको अनुमति दिने भारतीय निकायहरूमा बुझ्दा नेपाली ताजा अदुवा प्रतिबन्ध नै गरेको थाहा पाइयो,’ उनले भने, ‘अब वाणिज्य मन्त्रालय वा प्रधानमन्त्रीस्तरबाट मात्रै यो समस्याको समाधान सम्भव रहेछ । व्यवसायीको तहबाट यसको ठोस समाधान आउने अवस्था देखिएन ।’

अदुवा निकासी रोकिएको तीन साता बित्दा आफूहरू र किसानलाई करोडौंको नोक्सान हुने अवस्था आएको व्यवसायी बताउँछन् । ‘भन्सार नाकाबाट फर्काइएका करिब ५ दर्जन ट्रकमध्ये प्रत्येकमा कम्तीमा साढे तीन लाख रुपैयाँको अदुवा थियो,’ झापाका व्यवसायी पदम पौडेलले भने, ‘दुईपटक लोड र अनलोड गर्दा आधाजति त्यत्तिकै क्षति भइसक्यो, अब झन् कुहिएर त्यसको आधा पनि सग्लो रहँदैन ।’ संघका सदस्यसमेत रहेका व्यवसायी पौडेलले वाणिज्

अदुवा निकासी रोकिएपछि इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, उदयपुर, नवलपरासी, पाल्पालगायत नेपालका २० जिल्लाका किसान र व्यवसायी प्रभावित भएका छन् । पाँचदेखि दुई सय मत (प्रतिमन ४० किलो) सम्म अदुवा रोपेका किसानले अदुवा खनेर बेच्न पाएका छैनन् । लाखौं रुपैयाँ ऋण गरेर अदुवाको बीउ रोपेका किसान निकासी अवरोधले डुब्ने अवस्थामा रहेको सुनाउँछन् । संघका अनुसार यो सिजनमा नेपालबाट एकतिहाई अदुवा मात्रै बिक्री भइसकेको छ । बाँकी अदुवाको तत्काल निकासी नखुले करोडौंको नोक्सान हुने इलाम बिब्ल्याँटेका व्यवसायी कृष्ण पौडेलले बताए ।

नेपाली ताजा अदुवाको भारत निर्यात तीन सातायता रोकिएको छ । पानीट्यांकीस्थित भारतीय भन्सारका कर्मचारीले ‘नेपाली अदुवा नलिन माथिको आदेश छ’ भन्दै अनुमति नदिएपछि निकासी रोकिएको हो । दुई सातासम्म अवरोध नखलेपछि गत सोमबार व्यवसायीले पाँच दर्जन ट्रकको अदुवा झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट फर्काएका थिए । वाणिज्य मन्त्रालयले भने नेपाली अदुवा निकासीका लागि पहल गर्न भारतीय दूतावासमार्फत पहल भइरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता रविशंकर सैजुले दूतावासबाट अहिलेसम्म कुनै जानकारी आफूहरूलाई नआएको जनाए ।   

प्रकाशित: १५ माघ २०७४ ०१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App