"

अब म कुनै दलमा छैन

शुक्रबार, १२ माघ २०७४, १० : ३१ डा.सरोज धिताल


साठी पुगेका मानिसहरूको एउटा जीवित पुस्ता छ । अनेक उथलपुथलले भरिएको एउटा महत्वपूर्ण कालखण्डको साक्षी बनेको, राणाकालपछिको यो पुस्ताका धेरैले समाज रूपान्तरणका निम्ति महत्वपूर्ण भूमिका निभाए । निर्दलीय पञ्चायती व्यवस्था नाम दिइएको प्रत्यक्ष राजतन्त्रको तानाशाहीविरुद्ध आफ्नो अघिल्लो र पछिल्लो पुस्तासँगै निरन्तर लडे । अत्यन्त डरलाग्दो त्यो ‘पञ्चायत व्यवस्था’को अन्त्य गर्नदेखि लिएर राजतन्त्रलाई नै समाप्त पारेर गणतन्त्र स्थापना गर्ने आन्दोलनसम्म यो पुस्ताको सक्रिय र महत्वपूर्ण भूमिका रह्यो । त्यो पुस्ताका थोरै मानिसहरू अझै पनि राजनीतिमा इमानदारीको मानक बनाएर बाँचिरहेका छन् । तर त्यही पुस्ताका कतिले आफ्नो यो संघर्षलाई लगानीका रूपमा राजनीतिको परम्परागत व्यापारमा लगाए । यी राजनीतिक व्यापारीमध्ये कति त हिजोको तपस्याबाट प्राप्त उच्च स्थानबाट झरेर लोभीपापीको नारकीय संसारमै झरिसके । उही पुस्ता र उही यात्राका सहभागी अरू धेरैले भने आफ्नो हराएको सपना अझै खोजिरहेका छन् । आफ्नो पुस्ताको विश्राम गर्ने समय भयो भनेर नयाँ पुस्तालाई भारी बिसाउने चाहना पनि कतिले गरेका छन् । परम्परागत राजनीतिमा के त्यस्तो तत्व रहेछ जसले आफ्ना घनिष्ठ सहयोद्धाहरू प्रदूषित भए, चिप्लिए, विकृत भए भनेर घोत्लिइरहेका पनि छन् केही सरल मनहरू । पार्टी विशेषमा हैन, परम्परागत राजनीतिमै पो समस्या छ कि, राजनीतिलाई नै पुनःपरिभाषित गर्न आवश्यक छ कि भनी आफैँसँग प्रश्न गरिरहेका यिनीहरू उस्तै सोच राख्ने नयाँ पुस्ताका मानिससँग एकाकार हुन खोज्छन्। 

केही समययता ‘वैकल्पिक राजनीति’ भन्ने शब्दावली विभिन्न सञ्चार माध्यममा देखापर्न थालेको छ । ‘हामी अर्को नयाँ पार्टी खोलिरहेका छैनौँ, परम्परागत राजनीतिका ठाउँमा उच्च चेतसहितको नयाँ राजनीति स्थापना गर्न खोज्दैछौँ’ भन्ने अभिव्यक्ति सुनिइरहेको छ । अझै प्रदूषित नभइसकेका, प्राञ्जल, ऊर्जाशील, मेधावी, निर्भय युवाहरूको नयाँ जमात नयाँ खाले सकारात्मक आन्दोलनमा देखापरेका छन् । केही समय यता त फेसन नै बन्ला भनेझैँ एउटा नयाँ घटनाप्रवृत्ति नै देखापर्न थालेको छ– पुरानो राजनीतिलाई विस्थापित गर्न भनेर एकपछि अर्को नयाँ संगठित समूहहरू देखापरिरहेका छन् । र यो सिलसिलामा केही पहिले नै संगठित ‘विवेकशील’ समूह र अलि पछि संगठित भएको ‘साझा’ समूह मिलेर विवेकशील साझा पार्टी पनि बन्यो । यिनको एकीकरणका निम्ति पनि उही साठीका पुस्ताले समेत महत्वपूर्ण भूमिका खेले । यस क्रममा जनमानसबीच आशाको केही सञ्चार पनि भयो। 

तर इतिहासको कुनै पनि कालखण्डमा पुरानो सत्ता सजिलै विस्थापित हुँदैन । दशकौँ (वा सदियौँ) पुरानो सत्ता–संस्कार विस्थापित हुन त झनै गाह्रो हुन्छ नै । कुनै एउटा पार्टी विशेषको प्रतिस्पर्धीका रूपमा मात्रै हैन, पुरानो खालको राजनीतिकै विकल्पका रूपमा उदाउन खोज्ने अभियान सहजै सम्पन्न हुने कुरै हैन । छाडा बजार, भ्रष्टाचार, परनिर्भरता, दण्डविहीनता आदिमा चुर्लुम्म डुबेको समाजमा समाज रूपान्तरणका नयाँ प्रयत्नहरू बरू विकृत हुन सजिलो हुन्छ । निष्कपट युवाहरूको जमातमा कतिबेला पुरातन परम्परागत राजनीतिको खेलले प्रवेश पाउँछ, कतिबेला व्यक्ति केन्द्रित गतिविधिले प्रश्रय पाउँछ, सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्ने चाहना राखेर जम्मा भएका निर्दोष मानिसहरूबीच कति बेला पुरानै भेद नीतिले जरा हाल्न थाल्छ, धेरै तत्वहरूले निर्धारण गर्ने यस्ता कुरा सधैँ अनुमान गर्न सकिन्न । कुनै बेला त नयाँ राजनीतिका अभियन्ता भनी चिनिएकाहरू नै थाहै नपाई परम्परागत राजनीतिको हिलोमा जाकिइसकेका हुन्छन्।  

नयाँ पार्टीहरू बन्ने, बिग्रने, टुट्ने, जुट्ने प्रक्रिया चलिरहन्छ– त्यसलाई स्वाभाविकै मान्नुपर्छ । तर यस्ता प्रक्रियाहरूसँगै युवाहरूको एउटा पुस्ताले मात्रै हैन, दुई तीन पुस्ताले नै आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण वर्षहरूको सृजनात्मकता गुमाए भने त्यो ठूलो नोक्सानी हुन पुग्छ । प्रजा परिषद्, कांग्रेस, कम्युनिस्टका पुराना संस्करण हुँदै अहिले अझै निस्किरहेका असन्तुष्ट क्रुद्ध संस्करणहरूसम्म, र विभिन्न संवेगात्मक घटना प्रवृत्तिले जन्माएका अन्य आन्दोलनकारीसम्म आइपुग्दा आआफ्ना समयका सबभन्दा असल, सफा, त्यागी, कल्पनाशील र सृजनशील युवाहरूले धेरै कुरा गुमाएका छन्, धेरैले ज्यानै गुमाएका छन् । र देशले ती पाइनसक्नु रत्नलाई गुमाएको छ । समाज परिवर्तनका अबका प्रयत्नहरूमा पनि युवा पुस्ताको सृजनशीलता यसरी नै भ्रमको गुफाभित्र कैद भइरहने हो भने, यसरी नै मानव जीवनको अनावश्यक खर्च भइरहने हो भने त्यो ठूलो त्रासदी हुनेछ।

सरकार परिवर्तन नाटकीय ढंगले हुन सक्छ । तर समाज परिवर्तन त्यति नाटकीय हुँदैन । धैर्यविहीनताले कसैलाई गन्तव्यमा पुर्‍याउँदैन, बरू हिँडिरहेको दिशा नै हराउने र अल्मलमा परिने खतरा हुन्छ । समाज रूपान्तरणको यज्ञ घटोत्कचले रातारात सहर बसाइदिएझैँ तुरन्तातुरन्तै सम्पन्न हुने हैन, यसका निम्ति धैर्यसहितको लगन जहिले पनि आवश्यक छ । यो सामान्य सत्य पनि बेला बेलामा हामी बिर्संदा रहेछौँ । समाजलाई, राष्ट्रलाई सही दिशामा उन्मुख गराउन लागिपरेका सुन्दर हृदय भएका युवाले कुनै पनि बेला आफ्नो सृजनात्मक क्षमतालाई खेर फ्याक्नु भनेको राष्ट्रकै लागि, मानवताकै लागि महँगो पर्छ।   

यो सुन्दा परिवर्तनको तीव्र चाहना भएका युवाहरूलाई दिक्क लाग्न सक्छ । तर ‘खुसीका समाचार’ पनि त छन् ! यी ‘खुसीका समाचार’मध्ये दुई महत्वपूर्ण तथ्य हुन्– एक, समाज विकासको गति झन् झन् तीव्र भइरहेको छ । शताब्दियौँ लाग्ने परिवर्तन यो युगमा केही वर्षमै हुन थालेका छन् । दुई, कसैले चाहे पनि नचाहे पनि सञ्चार प्रविधिकै कारण पनि सिंगै मानव समाज पारदर्शितातर्फ उन्मुख हुन झन् झन् बाध्य भइरहेको छ । परिवर्तनकामी अभियन्ताहरूका निम्ति यी दुवै सुसमाचार हुन् । यी दुवै कुराले मानिसलाई यस्तो युगतिर लाने सम्भावना छ, जहाँ लुकाउनुपर्ने कुनै कुरा गर्नै नपरोस्, जहाँ सहभागितामूलक लोकतन्त्र साँच्चै नै स्थापित हुन सकोस्, जहाँ स्वधर्म (इथिक्स) को पालन अत्यन्त सहज र स्वाभाविक बनोस् । तर यी सुसमाचारहरूबीच पनि बिर्सनै नहुने कठोर तथ्य के छ भने पुराना प्रचलन, व्यवहार, पुराना छक्कापन्जा आदिले जति बेला पनि जुनसुकै संगठित समूहमा प्रवेश गर्न सक्छ । त्यसैले पारदर्शिता र सहभागितामूलक लोकतन्त्रको अभ्यासलाई एक निमेषमात्र छोड्दा पनि नचाहेको कुरा भइसक्छ। 

सहभागितामूलक लोकतन्त्र उन्मुख अभियन्ताहरूको नयाँ सृजनात्मक राजनीतिलाई नै वैकल्पिक राजनीति भन्ने हो भने, यस्तो वैकल्पिक राजनीतिले व्यहोर्नुपर्ने अनेक चुनौतीमध्ये एउटा चुनौती हो– पुरानै परिपाटीको, महँगो, अनेक छिद्र भएको, प्रतिनिधिमूलक निर्वाचनबाट अनुमोदित हुनुपर्ने बाध्यता । यो बाध्यताको अन्त्य त्यतिबेला मात्र हुन्छ, जब साँच्चैको सहभागितामूलक लोकतन्त्रका प्रत्यक्ष निर्वाचनका नयाँ विधिहरूको विकास हुन्छ । सञ्चार प्रविधिमा निरन्तर भइरहेका विस्मयकारी प्रगति, पारदर्शिताको लहर, लोकतन्त्रलाई समेत पुनःपरिभाषित, पुनःव्याख्या गर्नुपर्ने नयाँ परिस्थिति आदिका कारण त्यो सम्भव हुनेछ भन्ने विश्वास पनि छ । भ्रष्टाचारलगायत महारोगहरूले कसरी मानवजातिकै दुर्भाग्य निम्त्याउँदै छन्, कसरी हाम्रो वासस्थान बनेको यो सुन्दर ग्रह छाड्नुपर्नेसम्मको स्थिति आउन सक्छ भन्नेबारे अभूतपूर्व प्रामाणिक ज्ञान प्राप्त हुँदैछ । यसले पनि नयाँ सृजनात्मक राजनीतिको माग गर्दैछ। 

त्यसैले वैकल्पिक राजनीति गर्छु भन्नेहरू पनि यदाकदा उही पुरानो, मैलो, च्यात्तिएको परम्परागत राजनीतिका चालहरूमा फस्ने र जानेर नजानेर यो वा त्यो पुरानो पार्टीका फलानालाई समर्थन् भन्ने जस्ता काम भए तापनि, वैकल्पिक राजनीतिको आवश्यकता झन् झन् टड्कारो हुँदै छ । यस्तो बेलामा, त्यही ‘साठी उमेर समूह’को एउटा सदस्यका नाताले रहरलाग्दो नयाँ पुस्तालाई शुभकामना दिन चाहन्छु । ती ऊर्जावान, सृजनशील युवाहरूको हरेक सकारात्मक कदममा साथ दिने प्रयत्न गर्नेछु । तर संगठनमै औपचारिक रूपमा आबद्ध भएर केही गर्ने सायद यो उमेर हैन । सबै किसिमका दलगत राजनीतिबाट अलग रहँदा नै समाजप्रति जो सकेको सार्थक कृतज्ञता व्यक्त गर्न सकूँला भन्ने लाग्छ । म लामो समयसम्म कुनै राजनीतिक पार्टीमा नरही विभिन्न अभियानमा संलग्न रहिआएकामा विगत एक वर्ष जति परिस्थितिमा केही परिवर्तन आएको थियो । अब फेरि म कुनै दलगत राजनीतिमा नरही उमेर सुहाउँदो नागरिकको समूहमा रहेर सकेको योगदान गर्नेछु। 

नयाँ पुस्तालाई फेरि पनि शुभकामना !  






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

कोइरालालाई नोबेल सम्मान

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘नोबेल साकोस साहित्य प्रतिष्ठान’द्वारा स्थापित विभिन्न सम्मान तथा पुरस्कारहरू शनिबार स्रष्टाहरुलाई प्रदान गर्नुभयो । ...

‘अब थोरै फिल्ममा काम गर्छु’

‘अब थोरै फिल्ममा काम गर्छु’

कुनै समय अभिनेता दयाहाङ राई अभिनित फिल्म एक महिनामा झण्डै आधा दर्जनको हाराहारीमा रिलिज हुन्थे। ...

यल : फिल्म फेस्टिभल हुने

यल : फिल्म फेस्टिभल हुने

फिल्म तथा वृत्तचित्र निर्माणमा स्वतन्त्र रुपले काम गरिरहेका निर्देशकहरुलाई प्रोत्साहित गर्न ‘यल इन्टरनेसनल इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल(यिफ)’ हुने भएको छ ।...

‘अक्षरदेखि अक्षरसम्म’माथि विमर्श

डा. बद्री पोख्रेलको जीवनदर्शन समेटिएको पुस्तक ‘अक्षरदेखि अक्षरसम्म’ नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति श्रीगंगाप्रसाद उप्रेतीले सार्वजनिक गरेका छन् । ...