coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

राजनीतिक वृत्तका खराब समाचार

हाम्रो देशमा राजनीतिक वृत्तबाट सकारात्मक र सर्वसाधारण जनताको उत्साह जगाउनेखालका समाचार आउन छाडेको एक जुग भइसकेको छ भन्दा हुन्छ । पछिल्लो समयमा त यस्ता यस्ता भद्दा र दिक्कलाग्दा समाचार आउन थालेका छन् तिनले हाम्रो यो नयाँ गणतन्त्र एकदमै गलत बाटोमा अघि बढिरहेको छ भन्ने कुरा नै पुष्टि गर्छन् । हामीले परिकल्पना गरेको प्रणाली पूरै पङ्गु भइसकेको छ भन्नेतर्फ संकेत गर्ने ती दिक्कलाग्दा समाचारको आलोकमा हेरेर भन्नुपर्दा हाम्रो नेपाली समाज पतनको गर्तमा भासिन लागेको छ भन्न सकिन्छ।

यस  सन्दर्भमा थप चिन्ताको विषय त के पनि देखिन्छ भने आज देशमा उत्पन्न यस्तो नकारात्मक परिस्थितिमा तत्काल परिवर्तन गर्नसक्ने कुनै प्रभावकारी उपाय हामीसँग छैन । हामी नेपालीले भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्र नाम गरेको एउटा नयाँ र बिलकुलै परीक्षण नगरिएको राजनीतिक प्रणाली अंगीकार गरेका छौँ । यसलाई विडम्वना नै भन्नुपर्ला, यस प्रणालीको उपयुक्ततालाई लिएर सुरुदेखि नै हामी संशयमा छौँ । यस प्रणालीले नेपाली जनताको समग्र जीवनमाथि पार्ने प्रभावको समग्र मूल्याङ्कन गर्न कम्तीमा पनि केही वर्ष समय त लाग्छ नै । त्यसबीचमा यसले भित्राएका प्रत्यक्ष र परोक्ष खराबीका कारण यो देश असफल राष्ट्र बन्ने हदसम्मको दुर्घटनामा परेर यसको अस्तित्व नै जोखिमग्रस्त भयो भने के गर्ने ? भन्ने प्रश्नको उत्तर न हामी निमुखा जनतासँग छ न यस प्रणालीका पैरवीकर्ता विदेशी मित्रहरूसँग नै । न त हाम्रा ती तथाकथित कर्णाधार नेताहरूसँग नै । सम्भवतः हाम्रालागि यस युगको यो सबैभन्दा अप्ठ्यारो प्रश्नको जवाफ कसैसँग पनि छैन।

हामी गहिरो संकटको सन्निकट छौँ । यसबाट बाहिर निस्कन हामीले जानेर वा नजानेर अंगीकार गरेको वर्तमान राजनीतिक प्रणालीको विकल्प ढिला नगरी खोज्नुपर्छ । झट्ट सुन्दा अप्ठ्यारो लाग्ला तर यो तीतो सत्य हो ।

‘प्रदेशहरूको अस्थायी राजधानी तोकेपछि उठेको विवाद र असन्तुष्टिका कारण देशका अनेक ठाउँमा तनावको स्थिति उत्पन्न (असन्तुष्ट पक्षहरूबाट विरोधमा बन्द, हड्ताल आह्वान) भएका छन् । केही ठाउँमा बन्द हड्तालले हिंसात्मक रूप लिएको खबरसमेत छ । पूर्वराष्ट्रपतिको सुविधामा व्यापक वृद्धि, अब उनको मासिक भत्तामा उल्लेख्य बढोत्तरी हुनुका साथै उनले ४ वटा विलाशी गाडी पाउने खबर छ । व्यवहारतः कामचलाउ भइसकेको देउवा सरकारले पूर्वसांसदहरूले तजबिजी ढंगले खर्च गर्न सक्ने गरी  १० अर्ब रुपियाँ निकासा दिन खोज्यो, सर्वोच्च अदालतबाट रोक लागेकाले हाललाई निकासा रोकिएको छ । देशको सरकार प्रमुख हुन पालो पर्खेर बसेका वामपन्थी गठबन्धनका नेता एवं एमाले अध्यक्ष केपी ओलीसँग बैंककमा त्यस देशको बाह्य गुप्तचर एजेन्सी ‘र’ का प्रमुखको भेटपछि भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदर मोदीद्वारा केपी ओलीलाई प्रम पदका लागि अग्रिम शुभकामनाको खबर पनि आएको छ । मोदीको शुभकामना सन्देश प्राप्त भएपछि पर्सामा भारतले मिचेको नेपाली भूभागको ५० बिघा जग्गाका विषयमा ओली मौन बस्ने संकेत । त्यस विषयमा नेकपा एमालेका नेतागण कसैले पनि विरोधको एक शब्दसम्म उच्चारण नगरेको आरोप।’

‘नेकपा एमाले नेतृत्वद्वारा राष्ट्रिय सभाको उम्मेदवार तोक्दा खाँटी कार्यकर्ताको मानमर्दन हुने गरी नवप्रवेशी सुन्दरी कोमल ओलीलाई छानेको भनी प्रदेश नम्बर ५ का पार्टी  कार्यकर्ताद्वारा गहिरो असन्तुष्टि जाहेर ।  नेपाली कांग्रेसका सभापति एवं कामचलाउ प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई कांग्रेस पार्टीका तर्फबाट राष्ट्रिय सभाका लागि उम्मेदवार बनाउन माग गर्दै पार्टीका ४ जना महिला सांसदबाट प्रेस विज्ञप्ति जारी गरी आरजुका पक्षमा वातावरण बनाउने कोसिस । नेकपा एमालेले प्रदेश नम्बर ४ को मुख्यमन्त्रीको पदमा त्यस प्रदेशका आफ्ना दुई नेता किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङलाई अढाई÷अढाई वर्षका लागि पालैपालो नियुक्त गर्ने निर्णय गरेर जनमतको उपहास गर्ने प्रयास । नेकपा एमालेले ग¥यो सरकारी कागज किर्ते गरेको भनी सर्वोच्च अदालतद्वारा छानबीन गर्न आदेश दिइएका नवराज सिलवालको प्रतिरक्षा । एमाले प्रत्याशीका रूपमा निर्वाचित सांसद र पूर्वप्रहरी अधिकारी नवराज सिलवाललाई अदालतको आदेशमा छानबीनका लागि पक्राउ गर्न खोजेकामा नेपाल सरकारको कडा भत्र्सना।’

हालका  दिनहरूमा  काठमाडाँैबाट निस्कने छापा र विद्युतीय माध्यमहरूमा प्रमुखताका साथ प्रकाशित समाचारका केही शीर्षक हुन् यी । यी समाचार हरेक दृष्टिकोणले निराशाजनक छन् । यिनले हाम्रो देशले लिएको राजनीतिक मार्गचित्रको उपयुक्ततामाथि नै प्रश्न उठाउन खोज्छन् । यी समाचारको पछाडिबाट चिहाउने नेताहरूको कुरूप र बासी अनुहारले हामीलाई विष्मित, चकित र क्षुब्धमात्र होइन, आक्रोशित पनि बनाउँछ । दुर्भाग्यले हाम्रो भाग्यविधाता बन्न पुगेका अहिलेको समयका नेतारूपी यी घटिया मानिसको हृदयमा जमेर बसेको कुत्साले सारा राष्ट्रलाई नै केही हजारको संख्यामा रहेका दलाल फौबन्जारहरूको पोल्टामा हालिदिएको छ । देशमा उपलब्ध स्रोत साधन, वित्त व्यवस्था, उद्योगधन्दा, पदपगरी, न्याय, सेवा सुविधा र मानवीय एवं सांस्कृतिक सम्पदा, सबैमाथि तिनै केही हजार मानिसले कब्जा जमाएका छन् । ती बिचौलियालाई पौने तीन करोड सार्वभौम नेपाली जनताका अवैध मालिक बनाउने प्रपञ्चका सूत्रधार बनेका छन् हाम्रो राजनीतिका सञ्चालकहरू।

ती चुसाहा बिचौलियाहरूका संरक्षक हाम्रा नेताहरू कि आफ्नो कि आफन्तहरूको, नभए आफू संलग्न भएको राजनीतिक दलको दुनो सोझ्याउनेमै तल्लीन भइरहेका देखिन्छन् आफ्नो सार्वजनिक जीवनका लगभग प्रत्येक पलमा । त्यस्ता चरम स्वार्थान्ध, अनैतिक वणिकहरूले आफूले गरिरहेका गतिविधिलाई आमजनताले कसरी नियालिरहेका रहेका छन् भन्ने कुराको जाँच पड्ताल गर्ने हेक्का राख्न नसक्नु स्वाभाविक नै हो । राजनीति गर्नु भनेको सत्तामाथि अर्जुनदृष्टि दिनु, त्यसलाई जसरी पनि प्राप्त गर्नु र एकपटक प्राप्त गरिसकेपछि त्यसैलाई दुरुपयोग गरेर सकेसम्म बढी धन आर्जन गर्नु र त्यही धनको आडमा सत्तामा नमरुञ्जेल टाँस्सिइरहनु हो भन्ने गलत धारणा विकसित भएको छ हाम्रा अधिकांश नेताहरूको दिल र दिमागमा । यो घृणायोग्य सत्तालिप्सा नेपाली राजनीति समग्रलाई लठ्याउने वशीकरण मन्त्रजस्तै भएको छ । हाम्रा नेताहरू त्यही वशीकरण मन्त्रको प्रभावमा एकोहोरिएर पद र पैसाका लागि हरप्रकारका जायज÷नाजायज काम गर्न  तयार भइरहेका देखिन्छन् । यस्तो लाग्छ, आजको नेपालका राजनीतिक पार्टीका प्रमुख नेता र संगठित अपराध जगतका नाइकेबीच निकटतम चरित्रगत साम्य भेट्टाउन सकिन्छ।
यस प्रसंगमा अर्को एउटा कुरो पनि उल्लेख गर्नुपर्नेखालको लागेको छ । राजनीतिलाई निजी र दलीय स्वार्थपूर्ति गर्ने साधनका रूपमा मात्र हेर्ने संस्कार राष्ट्रिय स्तरमै स्थापित भएपछि राजनीतिमा लागेका व्यक्ति र दलबीचको पृष्ठभूमि र सिद्धान्तगत भिन्नता बिलकुलै अर्थहीन हुँदोरहेछ । को बुर्जुवा को सर्वहारा ? को पुँजीवादी को साम्यवादी ? को बिपीवादी को माओवादी ? को राजावादी को प्रजावादी ? निजी स्वार्थको सार्वजनिक स्नानघरमा नुहाएर तरोताजा हुने लोभमा नाङ्गा भएकाहरूको हुल नजिक उभिएर हेर्दा सबैजना उस्तै निर्लज्ज, उस्तै ढीट देखिने रहेछन् । बुर्जुवा पंक्तिबाट आउने शेरबहादुर देउवाले राजनीतिमा पत्नीलाई अगाडि बढाउन खोजे यसलाई राम्रो कदम मान्न सकिँदैन । तर कुनै समय सर्वहारा किसानहरूको नाममा काल्पनिक वर्गशत्रुहरूको घाँटी रेट्दै हिँडेका क्रान्तिकारी कामरेडले पनि सांसद र मन्त्री बनाउनुपर्दा पहिलो रोजाइमा आफ्नी अर्धाङ्गिनीलाई नै रोजे । त्योचाहिँ कसरी अनालोच्य हुनसक्छ र ? माओवादी केन्द्र र एमालेका गरी दर्जनभन्दा बढी दम्पती नै सांसद बनेका छन् त्यसलाई पनि कामरेडहरूले गरेको त्याग भन्न त मिल्दैन होला।

विलाशी जीवनशैलीमा पनि कुनै एकथरी नेताहरूको मात्र एकाधिकार रहेन आजको नेपालमा । प्रचण्डको राजसी छाँट हेर्नोस् र हेर्नोस् केपी ओलीको विदेशमा औषधि उपचार गराएको खर्चको सरकारी ढुकुटीबाट बेहोरिएको बिलको रकम । कांग्रेसका मात्र होइन, अरू सबै दलका पहिलो र दोस्रो दर्जाका नेताहरूको श्रीसम्पत्तिको राम्रोसँग लेखापरीक्षण गराउँ, थाहा भइहाल्छ, क–कसको पेटमा कुअन्न टन्नै परेको छ । डाक्टर रामवरण यादवले घर र गाडीलाई लिएर लालच देखाए भनी उनलाई गाली गर्नुपरे गरौँ तर कामरेड विद्या भण्डारीको ढस्सालाई के भन्ने त्यो पनि सोचिहालौँ । अलि गहिरिएर हेर्ने हो भने प्रष्ट हुन्छ– यो देश राजनीतिक नागाबाबाहरूको आराम गर्ने फाइभस्टार कुटी हो जहाँ यिनीहरू निर्वस्त्र सूर्यस्नान गरिरहेका छन्।

यस देशका सबै राजनीतिक समस्याको समाधान संघीय प्रणालीमा छ भन्नेखालको तर्क गरेर संघीयताको वकालत गर्ने नेताहरूका कार्यकर्ता प्रदेशको राजधानी आफ्नो आँगनमा भएन भनेर तोडफोड र आगजनीमा उत्रिएका छन् अहिले । केही समयपहिले तिनीहरू आफ्नो ठाउँ कुनै अमुक प्रदेशमा पर्नुपर्छ भनेर सडकमा टायर बालिरहेका थिए । यस्ता भङ्ज्याहा कार्यकर्ताले भोलिका दिनमा कसरी प्रदेश–प्रदेशबीचको सौहार्दपूर्ण सहकार्य अगाडि बढाउलान् र राष्ट्रिय अखण्डताको रक्षा गर्लान् ? मित्रहरू हामी गहिरो संकटको सन्निकट छौँ । यसबाट बाहिर निस्कन हामीले जानेर वा नजानेर अंगीकार गरेको वर्तमान राजनीतिक प्रणालीको विकल्प ढिला नगरी खोज्नुपर्छ भन्ने निचोडमा पुगेको छ यो लेखक । झट्ट सुन्दा अप्ठ्यारो लाग्ला तर यस समयको यो तीतो सत्य हो।

प्रकाशित: ११ माघ २०७४ ०३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App