coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

करोडौं खर्चेका सडक गुणस्तरहीन

फिक्कल–गुप्ती–नयाँबजार सडक अनुगमन गर्दै सूर्याेदय नगरपालीका र माइजोगमाई गाउँपालिकाका जनप्रतिनिधि ।  तस्बिर: नागरिक

इलाम – इलाममा २८ करोड रुपैयाँको लगानीमा निर्माणाधीन २ महŒवपूर्ण सडकको काम ‘गुणस्तरीहीन’ भइरहेको पाइएको छ । स्थानीय तहका जनप्रतिनिधिले ठूलो रकम खर्चेका सडकको काममा व्यापक लापरबाही गरिएको भन्दै विरोध जनाएका छन्।

१९.०२३ किलोमिटरको फिक्कल–गुप्ती–नयाँबजार तथा इलाम नगरपालिका–दुधाङ–सोयाङ–नयाँबजारका बेग्लाबेग्लै दुई सडकको काममा लापर्बाही भइरहेको जनप्रतिनिधिको अनुुगमन टोलीले जनाएको हो । दुवै सडकमा स्टिमेटअनुसार काम नभएको, स्टिमेटमा भएअनुसार मापदण्ड पूरा नगरी सामग्री प्रयोग गरिरहेको, तोकिएको स्थानभन्दा जताततै खनेको र काम गरिनसक्दै सडक भत्किन थालेको उनीहरूले बताएका छन्। 

सूर्याेदय नगरपालिकाको फिक्कलदेखि माइजोगमाई गाउँपालिकाको नयाँबजार जोड्ने निर्माणाधीन फिक्कल–गुप्ती–नयाँबजार सडकमा नगरपालिकाका मेयर र गाउँपालिका अध्यक्षसहितको टोलीले अनुगमन गरेको थियो । सूर्याेदय नगरपालीकाका मेयर रणबहादुर राईले यो सडकमा ‘आँखामा छारो हाल्ने’ हिसाबले मात्रै काम भइरहेको बताए । ‘काममा ज्यादै लापरबाही गरेको देखियो,’ उनले भने, ‘सडक जहाँतही खनिएको, सिमेन्ट प्रयोग भएका ठाउँमा क्युरिङ नगरेको, बनिसकेको सडकसमेत काम पूरा नहुँदै भत्किन थालेको रहेछ।’ 

उनले सडकको निगरानी गर्न सूनपा र माइजोगमाई गाउँपालिकाले अनुगमन समितिसमेत बताएको जानकारी दिए । ‘सडकको काम दिनहुँ निगरानी गर्न संयुक्त अनुगमनसमेत बनाएका छौं,’ मेयर राईले भने, ‘अब सडक निर्माणस्थलमै अनुगमन समितिको कार्यालयसमेत राखेर दिनहुँ निगरानी गर्ने व्यवस्था मिलाएका छौं ।’ मेयर राईले   पर्याप्त मजदुर नलगाएको र साधन उपयोग नगरेकाले ठेक्का अवधिमा काम सकिने अवस्था नरहेको पनि बताए। 

उन्नति परियोजनाको १३ करोड लगानीमा निर्माण भइरहेको यो सडकमा चौडाई बढाउने, ह्युम पाइप, कजवे, ड्रेन, कटिङ, स्तरोन्नतिलगायतका काम हुँदैछन् । १५ महिनाको ठेक्का अवधि मे २०१८ मा सकिँदैछ । तर, अहिलेसम्म ठेक्काको ३० प्रतिशतमात्रै काम भएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । जिल्ला इन्जिनियर ओमराज ढुंगानाले नयाँबजार र फिक्कल दुवैतिरबाट सडकको काम भइरहेको बताए । ‘अहिलेसम्म ५ किलोमिटर ड्रेन, १५ सय मिटर सोलिङ, स्ट्रक्चरलगायतका काम सकिएका छन्,’ उनले भने, ‘थप कामका लागि मेसिन आउँदै गरेको सुनेका छौं।’

इन्जिनियर ढुंगानाले सडकको काम गुणस्तरहीन भइरहेको गुनासो आएको बताए । ‘गुनासो आएपछि हामीले काम सुधार्न ठेकेदारलाई भनेका छौं,’ उनले भने, ‘२ सय मिटर ड्रेन त भत्काएर नयाँ बनाउन निर्देशनसमेत दिएका छौं ।’ उनले निर्माणस्थलमा उन्नतिसहित प्राविधिक कार्यालयका सुपरभाइजरसमेत रहेकाले काममा ‘तल–माथि’ हुन नदिने बताए । ठेक्का सम्झौता अवधि सकिन लागेकाले १ सय ४० को मजदुर संख्या बढाएर ३ सय पु¥याउनसमेत भनेको उनले जनाए । ‘जनप्रतिनिधिले निरन्तर अनुगमन गर्दा र सुझाव दिँदा गुणस्तरीय काम गर्न सहयोग पुग्छ,’ उनले भने। 

यही परियोजनाअन्तर्गत १५ करोड २७ लाख रुपैयाँको लागतमा १०.२२० किलोमिटरको इलाम नगरपालिका–दुधाङ नयाँबजार सडकको माइखोला–भोटेटार खण्ड निर्माणाधीन छ । यो सडकमा पनि कामको गुणस्तर चित्तबुझ्दो नभएको माइजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईले बताए । ‘सडक बनिनसक्दै भत्किएको छ,’ उनले भने, ‘क्युरिङ पुगेको छैन, स्टिमेट एकातिर, काम चाहिँ अर्कातिर भइरहेको छ ।’ उनले सडकमा प्रयोग गरिएको बालुवा गुणस्तरहीन पाइएको भन्दै कमसल वाल र ड्रेन निर्माण भइरहेको बताए । मजदुर कम लगाइएकाले अवधिभित्र काम हुने नदेखिएको, मजदुरलाई ज्याला नदिएको, निर्माण सामग्री अभावले कमसल प्रयोग गर्न बाध्य भएकोजस्ता समस्या यहाँ रहेको बताए। 

‘पुलको नजिकैबाट बालुवा झिकेर प्रयोग भएको छ,’ अध्यक्ष राईले भने, ‘सम्बन्धित प्राविधिकले पनि ध्यान नदिएको स्थानीयको गुनासो छ ।’ उनले आफूहरूले अनुगमन गरी सुधार्न भनिएपनि सुधार गरेजस्तो गर्ने तर अपेक्षाकृत सुधार भने नभएको बताए । अध्यक्ष राईसहितका सरोकारवालाको टोली यो सडकको पनि अनुगमन गरेको छ।

इलाम नगरपालिका–दुधाङ नयाँबजार सडकको माइखोला–भोटेटार खण्डको सडकमा पनि ह्युम पाइप राख्ने, कजवे, ड्रेन, ग्याबिन, सडक चौडा र स्तरोन्नतिको काम भइरहेको प्राविधिक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यहाँको भने ८० प्रतिशत काम पूरा भइसकेको छ । तर, ठेक्काको २५ महिने अवधि गत साउनमै सकिएर थपिएको ६ महिना पनि पुसमै सकिएको कार्यालयका इन्जियनयर हुतराज चौहानले बताए । उनले ‘यहाँको कामको गुणस्तरमा पनि गुनासो आएकाले सुधार्न भनेका छौं,’ प्रमुख जिल्ला इन्जिनियर ढुंगानाले भने, ‘अन्तिममा भएपनि काम क्लियर नहुञ्जेल हामी हेर्नेछौं ।’ इन्जिनियर चौहानले चाहिँ अब मेसिनले गर्ने सडकको सोलिङ र ग्राभेलको काम बाँकी रहेको बताए। 

दुवै सडकको निर्माण जिम्मा नागार्जुन निर्माण कम्पनीले लिएको छ । कम्पनीका प्रतिनिधि सन्तोष कटवालले दर्जनौं समस्याका बाबजुद पनि आफूहरूले सडक गुणस्तरीय बनाइरहेको र काममा तीव्रता दिएको बताए । ‘जनप्रतिनिधिका हेर्ने आँखा नै गलत हुन्, उनीहरू आफूलाई राजा सम्झेर सडक अनुगमन गर्छन्,’ उनले भने, ‘ठेकेदारलाई नाक–मुख थुनिदिएर सास फेर्न लगाइरहेका छन् ।’ भनेका बेला सामान नपाएर काममा कठिनाई भएको भन्दै उनले कामको दौरानमा चौतर्फी धाक–धम्की आउने गरेको बताए । ‘बनाएको वाल राति नै गएर फोरिदिएका छन्, मजदुर डराएका छन्,’ उनले भने, ‘सिमेन्ट, डिजेल र कामदार नै नपाएर काममा समस्या भइरहेको छ ।’ कटवालले दुवै ठेक्कामा मान्छेले गर्ने काम धेरै गरिसकेको र मेसिनको काम मात्रै बाँकी रहेकाले अब काम छिटो हुने बताए । ‘अब मेसिनको काम धेरै भएकाले समयमै सक्ने लक्ष्यसहित गरिरहेका छौं,’ उनले भने ।  

 

प्रकाशित: ९ माघ २०७४ ०८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App