८ वैशाख २०८१ शनिबार
कला

नेपथ्यको कन्सर्टमा डा. केसीलाई नमन

सोमबार साँझ नारायणगढ नारायणी नदी किनारमा प्रस्तुति दिँदै नेपथ्य ।

चितवन–सुपरिचित सांगीतिक ब्यान्ड नेपथ्यसँग दर्शक नचाउनका लागि उत्कृष्ट गीतको अभाव छैन । तर सोमबार साँझ नारायणगढको नारायणी नदी किनारमा हज्जारौं दर्शक माझ नेपथ्यले आफ्ना गीत मात्रै गाएन । राल्फाली समूहकको चर्चित प्रगतिशील गीत ‘गाउँ गाउँबाट उठ, वस्ती वस्तीबाट उठ’ समेत सुनायो। नेपथ्यले सो गीत गाउँदै डा. गोविन्द केसीको अभियानप्रति एक्येवद्धता जनायो ।

विस २०४८ मा स्थापना भएको नेपथ्य देश विदेशका नेपालीमाझ चर्चित छ । स्थापनाको २५ औं वर्ष अर्थात रजत जयन्तीका अवसरमा यो पटक ब्याण्डले देशका विभिन्न भागमा आफ्ना प्रस्तुति दिँदै हिँडेको छ । नारायणगढमा दाताज इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको कार्यक्रममा नेपथ्यले दर्शकलाई पूर्ण मनोरञ्जन दिनुका साथै र देश समाजका बारेमा सोच्न पनि आग्रह गर्यो ।

लोक पप शैलीका गीतले दर्शकको मन जितेको नेपथ्यका छेक्यो छेक्यो देउराली डाँडा, रेशम, तालको पानी, भेंडाको ऊन जस्तो, सा कर्णालीजस्ता गीत चर्चित छन् । यो ब्याण्डका मुख्य गायक अमृत गुरुङले गाउँदा ननाच्ने कोही भएन । नाँच्दै गाउँने अमृतले बीच–बीचमा विभिन्न खालका सन्देश पनि दिइरहे । युवा दर्शक खचाखच भएको कार्यक्रममा नेपथ्यका अमृतले गुरुङले भने, ‘तपाईंका टोल छिमेकमा कोही बच्चा शिक्षाबाट वञ्चित नहोस् । यस्ता कुराको ख्याल राख्नु होला । देश विकासको आधार नै शिक्षा हो ।’
उनले राष्ट्रीय भावनाले भरिपूर्ण सन्देश र गीत पनि पस्किए । ‘हामी धेरै थोक होऔंला तर पहिले हामी के हौं ?’ दर्शक तर्फ माइक लैजाँदै उनले सोधे अनि आफैं उत्तर दिए, ‘हेर्नुस, नेपाली बाहेक मुख्य परिचय हाम्रो केही छैन त्यसैले हामी पहिले नेपाली नै हौं । अनि त्यसपछि अरु हौं ।’

गुरुङले डा. केसीको प्रसंग उठाउँदै गर्दा दर्शकले ताली बजाएर समर्थन गरे । उनले भने, ‘डा. केसी हामी सारा नेपालीको अधिकारका लागि अनसनमा बसेको भन्दै गुरुङले डा. केसी एक्लै अनसनमा बस्ने गरे पनि उनको साथमा सारा नेपाली छन् ।’ यसो भन्दै गुरुङले प्रख्यात राल्फाली गीत ‘गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ बोलको जोशिला गीत सुनाए ।

दाताज इभेन्टका दाताराम घिमिरेका अनुसार कार्यक्रममा सात हजारभन्दा बढी दर्शक उपस्थित थिए । नेपथ्यले तीन वर्षपछि नारायणी किनारमा आफ्ने प्रस्तुति दिएको हो । साँझ छ बजे गीत सुनाउन सुरु गरेका अमृत गुरुङले ठिक आठ बजेसम्म गाइरहे । कार्यक्रमको अन्तिममा नेपथ्यले गोपालप्रसाद रिमाल रचित ‘रातो र चन्द्र सूर्य जंगी निसान हाम्रो’ भन्ने राष्ट्रियभावना ओतप्रोत भएको गीत गाएको थियो ।

 

प्रकाशित: ३ माघ २०७४ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App