"

मगर जातिले मनाउने माघे सङ्क्रान्ति

सोमबार, ०१ माघ २०७४, १३ : ४६ डा. मीन श्रीस मगर


परिचय
सौर्य तिथिका हिसाबले माघ महिनाको पहिलो दिन सूर्य मकर राशीमा प्रवेश गर्दछ । यो दिन पृथ्वीको उत्तरी गोलाद्र्धमा वर्षभरिको सबैभन्दा छोटो दिन, लामो रात र न्यून तापक्रम हुन्छ । माघे सङ्क्रान्तिकै दिनदेखि सूर्यले मकर राशीबाट उत्तर कर्कट राशितर्फको यात्रा प्रारम्भ गर्ने भएकाले दिन लामो, रात छोटो र तापक्रम बृद्धि हुँदै जान्छ ।  त्यसकारण सूर्य उत्तरायणको समयावधि अर्थात माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्ति  सम्मको अवधिलाई उँभेउली वा गर्मी याम भनिन्छ । उँभेउलीको प्रारम्भमा प्राचीनकालदेखि संसारभरका मानव समाजमा कुनै न कुनै उत्सव वा चाडवाड मनाउने चलनको विकास भएको पाइन्छ । पूर्वी एशियाका चीन, जापान, कोरिया, भियतनाम लगायतका देशहरूमा पनि सूर्य उत्तरायणको अवसरमा सकारात्मक शक्ति र बुद्धि बृद्धि हुने विश्वासका साथ नयाँ वर्षका रुपमा विभिन्न नाम र शैलीमा चाडवाडहरू मनाउने गरिन्छ । अंग्रेजी पात्रोअनुसार पनि यही समयतिर साल फेरिने हुन्छ । 

माघे सङ्क्रान्तिमा धनुवाण खेल्ने, वनजंगलमा गएर तरुल, गिठा–भ्याकुर जस्ता कन्दमूल संकलन गर्ने परम्पराले सिकारी युगको झल्को दिन्छ भने बारीमा उम्रेका जौंका मुना (झोप्ल्यानी) उखेलेर पितृलाई चढाउने तथा मानिसले सिउरिने र दहीचामलको सेतो टीका लगाउने चलनले सिकारी युगबाट भर्खर कृषियुगमा प्रवेश गरेको समयलाई प्रतिविम्बित गर्दछ ।

शैलीगत विविधता र मान्यताहरू
नेपाल र भारतका अधिकांश समुदायमा माघे सङ्क्रान्तिलाई फरक–फरक नाम र मान्यताका आधारमा मनाउने चलन रहेको पाइन्छ । नेपालको पहाडी समुदायमा ‘माघे सङ्क्रान्ति’ काठमाडौंको नेवार समुदायमा ‘हामो संल्हु’ वा ‘घ्योचाकु संल्हु’ र तराईको थारु समुदायमा ‘माघी’ नामले यो चाड मनाइन्छ । नेपालको हिमाली समुदायमा पनि लगभग सूर्य उत्तरायणकै समयमा नयाँ वर्षको रुपमा ‘ल्होसार’ मनाउने गरिन्छ । छिमेकी भारतका अधिकांश स्थानमा मकर सङ्क्रान्ति नामले तीन चार दिनसम्म यो चाड मनाइन्छ । दहीचिउरा, तिलको मिठाई, खिच्री र खिर (पंजावमा) खाने गरिन्छ । हरियाणा, हिमाचल र पंजावमा ‘माघी’, तमिलनाडूमा ‘पोङगाल’, आसाममा ‘माघ विहु’ वा ‘भोगाली विहु’ र काश्मिरमा ‘शिशुर सयन्क्रात’ नामले मनाउने गरिन्छ । थाइल्याण्डमा ‘सोङ्गक्रान’, कम्वोडियामा ‘मोहा सङ्गक्रान’ लावसमा ‘पि–मा–लाख’ र वर्मा (म्यानमार) मा ‘थिङ्गयान’ नामले मनाइन्छ । हिन्दु समुदायमा विशेष धार्मिक विधिविधानअनुसार नदी–तलाउमा स्नान, तिर्थव्रत, पूजा आराधना, दानदक्षिणा गरेर मनाइन्छ । हरिद्वार, उज्जैन आदि स्थानमा बाह्रवर्षे कुम्भ मेला, प्रयागमा हरेक वर्ष मकर मेला लाग्ने गर्दछ भने नेपालको वागमती, शंखमुल, टेकुदोभान, पनौती, दोलालघाट, वराहक्षेत्र, त्रिवेणी संगम, सप्तगण्डी संगम, रिडी, देवघाट आदि नदी दोभानहरूमा मकर मेला लाग्ने गर्दछ । आदिवासी जनजाति समुदायमा भने धार्मिकभन्दा पनि सांस्कृतिक रुपमा माघेसक्राति मनाउने चलन रहेको पाइन्छ । 

उत्पत्ति
माघे सङ्क्रान्ति  मनाउने शैली र खानाका परिकारहरूका आधारमा यो चाडको विकास सिकारी युग (hunting gathering age) मा भएको बुझिन्छ । माघे सङ्क्रान्तिमा धनुवाण खेल्ने, वनजंगलमा गएर तरुल, गिठा–भ्याकुर जस्ता कन्दमूल संकलन गर्ने परम्पराले सिकारी युगको झल्को दिन्छ भने बारीमा उम्रेका जौंका मुना (झोप्ल्यानी) उखेलेर पितृलाई चढाउने तथा मानिसले सिउरिने र दहीचामलको सेतो टीका लगाउने चलनले सिकारी युगबाट भर्खर कृषियुगमा प्रवेश गरेको समयलाई प्रतिविम्बित गर्दछ । रुकुमका कुनै भेगका मगरहरूले माघे सङ्क्रान्तिमा सिस्नो खेल्ने परम्पराले पनि सिकारी युगलाई नै संकेत गर्दछ । सिस्नोको जरा खान आएको वदेललाई सिकार गर्ने क्रममा सिस्नोको झाङ हुँदै भागदौड हुने घटनालाई प्रतिविम्बित गर्न यो खेल वर्तमान समयमा मनोरञ्जनको माध्यम बनेको देखिन्छ ।  

धार्मिक पक्ष
यो चाड कुनै खास धार्मिक तथा जातीय समुदायसँग मात्र सम्बन्धित नभएर खास यामको थालनी अर्थात उँभेउली यामको प्रारम्भसँग अन्तरसम्बन्धित रहेकाले स्थान र समुदायअनुसार आ–आफ्नै खाले मान्यता र जीवनशैली अनुरुप मनाउने परम्पराको विकास भएको पाइन्छ । मगर समाजमा माघे सङ्क्रान्तिलाई उँभेउलीको पहिलो चाड वा मिन्हामल्हेस (नयाँ वर्ष) को रुपमा मनाउने गरिएको पाइन्छ । मगरहरूले विशेषतः सांस्कृतिक चाडको रुपमा मनाउने गरे पनि कुलपितृको पूजा स्मरण गर्ने आफ्नै खाले धार्मिक विश्वास र मान्यता रहेको छ । मगर समाजमा हरेक चाडवाड एवं संस्कारजन्य कार्यहरूमा सर्वप्रथम आफ्नै कुलपितृ र स्थानीय देवदेवीको आराधना गर्ने परम्परा रहेको पाइन्छ । माघे सङ्क्रान्तिको विहानै स्नान गरी घरआँगन सरसफाई गरेपछि कुलपितृलाई धूप, दीप, जल, ध्वजा र प्रसाद चढाएर सुख, शान्ति, सम्बृद्धि र सुस्वास्थ्यको निम्ति कामना गरिन्छ । वागलुङ गलकोट खुवाक्षेत्रका मगरहरूले पितृको नाउमा माघेको पातमा सुकुटी र घिउमा फुराएको चामल राखेर अगेनाको नजिक अम्टोमा र छानामा घुसार्ने गर्दछन् । गण्डकी प्रश्रवणक्षेत्रको मगर समाजमा माघेसक्रातिको विहानै घरमुलीले खोला वा पँधेरामा गएर स्नान गरी केराको पातमा एक–एक मुठी चामल र मासको दाल, अदुवाको टुक्रा, सिद्रा, फलफूल र जाँडरक्सी सात ठाउँमा राखेर धूपदीप सहित पितृलाई चढाउने चलन छ, जसलाई ‘मुठी याहाके’ (मुठी दिने) वा ‘डी डाके’ (पानी चढाउने) भनिन्छ ।

रुकुमका कुनै भेगका मगरहरूले माघे सङ्क्रान्तिमा सिस्नो खेल्ने परम्पराले पनि सिकारी युगलाई नै संकेत गर्दछ । सिस्नोको जरा खान आएको वदेललाई सिकार गर्ने क्रममा सिस्नोको झाङ हुँदै भागदौड हुने घटनालाई प्रतिविम्बित गर्न यो खेल वर्तमान समयमा मनोरञ्जनको माध्यम बनेको देखिन्छ । 

व्यक्तिगत वा पारिवारिक पितृपूजाका अतिरिक्त गाउँटोलका सबै घरधुरी मिलेर सामुहिक पितृपूजा गर्ने चलन पनि छ । काह्राङ्च पूजा (ठूलो पूजा) नामले गरिने यस्तो पूजामा झांक्री विधिबाट बाजेबजैको थानमा सुँगुर, बोका र कुखुरा बलि चढाइन्छ (वराल मगर, २०५०ः १२५ र थापा मगर, २०७३ः ९–१०)। डोल्पाली मगर समाजमा भोजपत्रको पातमा सेलरोटी, फर्सी, दालभात लगायतका परिकारहरू राखेर कागको पूजा गर्ने, राँको फाल्ने र सिकपाती (मोसोमा तेल राखेर बनाएको टीका) लगाएर आशीर्वाद दिने चलन रहेको छ । रुकुम रोल्पाको मगर समाजमा छोरीचेलीहरूले विहान स्नान गरी बारीमा उम्रेका जौंको झोप्ल्यानी (फूलको रुपमा प्रयोग गरिने जौंको पात) र दहीचामलको सेतो टीकाले पँधेरो, धुरीखाँबो र अगेना पुजेपछि घरपरिवारका सबै सदस्यहरूलाई टीका लगाइदिन्छन् । त्यसपछि छोरीचेलीहरूलाई मिसरा (चामल, तरुल, पिडालु, दाल र पैसा) दिइन्छ (बुढा मगर, २०७४ः १) । कतिपय गाउँका युवायुवतीहरूले माघे सङ्क्रान्तिभन्दा अघि उच्च लेकाली क्षेत्रको चरनमा गएर कुलपितृलाई चढाउनका लागि फूल टिपेर ल्याउने गर्दछन् । दोलखातिरका सारु मगरहरूले माघे सङ्क्रान्तिको अवसरमा लामाझांक्री विधिबाट चार दिनसम्म कुलपूजाको कार्यक्रम चलाउने र पाहुना बोलाएर ख्वाउने गर्दछन् भने रुकुमका केही मगरहरूले पनि माघे सङ्क्रान्तिका  दिन कुलपूजा गरेको पाइन्छ (श्रीस मगर २०६७ः ६०) । माघे सङ्क्रान्तिका दिनमा गरिने यस प्रकारका रीथिथितिलाई मगर जातिको पितृ र प्रकृति पूजक धार्मिक परम्परा र मान्यताको रुपमा लिन सकिन्छ । 

रुकुमको कुनै भेगमा सिस्नो खेल्ने पनि गरिन्छ । डोल्पाली मगरहरूले माघेसंक्रान्तिको अवसरमा तारो हान्ने, घोडा दौडाउने र पुतली नचाउने गर्दछन् । वागलुङको निसी भल्कोटमा पञ्चेबाजाको तालमा पुतलीनाच (तरवारनाच) नचाइन्छ भने निसी कापारुपमा मुकुण्डो लगाएर जौं बारीमा उफ्रदै घरघरमा गएर दान माग्दै नाच्ने काइपानाच नचाइन्छ ।

सामाजिक पक्ष
माघे सङ्क्रान्तिको अवसरमा टोलछिमेक भेला भएर मासुका लागि खसीबोका, सुँगुर, राँगा आदि काट्ने, वनमा गएर तरुल खन्ने तथा पात टिपेर ल्याई दुनाटपरी खुट्ने, माइती–चेली भेटघाट हुने र मिठोमसिने परिकार बनाएर खाने जस्ता गतिविधिले सामाजिक सम्बन्धलाई सुमधुर बनाउने गर्दछ । मगर समाजमा मनाइने माघे सङ्क्रान्तिले यही सामाजिक पक्षलाई विशेष जोड दिएको पाइन्छ । विवाह गरेर गएका आफ्ना छोरीचेलीलाई माइतीले सम्झने, आफ्नै छोरीचेली नभएकाहरूले दाजुभाइ खलकका छोरीचेलीलाई बोलाएर भए पनि एकछाक मिठोचोखो खुवाउने र मिसरा दिने परम्परा रहेको छ । मगर समाजमा माघे सङ्क्रान्तिको विशेष परिकारलाई मिसरा भनिन्छ । भारतको विहारमा माघे सङ्क्रान्तिको बेलामा खाने दाल, चामल, काउली, केराउ र आलु मिसाएर बनाएको परिकारलाई खिच्री भनिन्छ भने कुमाउँमा दाल र चामलको मिश्रित परिकारलाई खिचडी भनिन्छ । नेपालको अधिकांश समुदायमा मासको दाल, चामल, अदुवा, नून, बेसार र घिउको मिश्रणबाट बनेको परिकारलाई खिचडी भन्ने गरिन्छ । रुकुम रोल्पा भेगको मगर समाजमा माघेसक्रातिको बेलामा चेलीवेटीलाई दिइने विशेष परिकार र दक्षिणा (तरुल, पिंडालु, सखरखण्ड, रोटी, चामल, सिमी, पैसा आदि) लाई मिसरा भनिन्छ । वागलुङ गलकोट खुवाक्षेत्रको मगर समाजमा चेलीलाई दिइने मिसरामा सुकुटी समेत समावेश गरिएको हुन्छ । रुकुम रोल्पातिर सङ्क्रान्तिको दिन दाजुभाइले विहानै स्नान गरी केही नखाएर विवाहित चेलीको घरमा मिसरा लिएर जाने गर्दछन् । माघको दोस्रो दिन चेलीहरूले लिसक (रक्सी आदि पाहुर) लिएर माइतीमा आएर खानपिन गर्दछन् । सोही दिन कन्याकेटीहरू जान्या (वनभोज) जाने चलन छ । माघे सङ्क्रान्तिका बेलामा विवाहित चेलीसँग भेट हुन अनुकूलता नमिलेमा माघ महिनाभित्रको कुनै पनि दिनमा चेली पुज्ने अर्थात मिसरा दिने र भोजन गराउने चलन छ । वागलुङ गलकोट खुवाक्षेत्रका अर्गल, हिल, तारा र अमरभूमि भेगका मगरहरूले माघको पहिलो दिनलाई जेठी सङ्क्रान्ति र दोस्रो दिनलाई कान्छी सङक्रान्ति भनेर मनाउने गर्दछन् । जेठी सङ्क्रान्तिका दिन आउन नपाएका चेलीहरूलाई कान्छी सङ्क्रान्तिका दिन बोलाइन्छ । चेलीवेटी ख्वाएपछि मिसरा दिएर पठाइन्छ तर कुनै कारणवस माइती आउन नसकेका चेलीवेटीका लागि मिसरा घरमै पठाइन्छ । माघे सङ्क्रान्तिको मुख्य परिकारको रुपमा खिचडी, तरुल, पिडालु, मासु, रक्सी आदिलाई लिइन्छ । यद्धपि वागलुङको अर्गल, रुकुम–रोल्पाका केही भेगको मगर समाजमा खिचडी खाने चलन पाइँदैन । गण्डकी प्रश्रवणक्षेत्रको कतिपय मगर गाउँमा डेउली बारा अर्थात मास वा मस्याङ (सिल्टुङ) बाट बनाएको बारा, नौ थरिका अन्न मिसाएर पकाएको खिचडी, तरुल, सखरखण्ड आदि परिकार खाने चलन छ (थापा मगर, २०७३ः १०) । माघे सङ्क्रान्तिको समयमा पिडालु, तरुल, अदुवा जस्ता कन्दमुलहरू एवं मास, सिमी जस्ता गेडागुडी तयार हुने भएकाले नै मुख्य परिकारको रुपमा प्रयोग गरिएको हो । माघे सङ्क्रान्तिमा तरुल खाएमा शरीरका रोगव्याधी पखालिने र वर्षभरि नै रोग नलाग्ने विश्वास पनि लिइन्छ । 

तारो हान्दा निसाना ढाल्ने व्यक्तिलाई बाजा बजाउँदै र ‘स्याम्बो स्याम्बो राजा, स्याम्बो स्याम्बो रानी’ भन्ने गीत गाउदै बोकेर डुलाउने गरिन्छ । यो खेलमा तारो हान्ने युवककी साली वा अन्य युवतीले रुमाल, पछ्यौरी, पोते जस्ता सामान बाजी थाप्ने गर्दछन् । जित्नेले सामान लैजाने तर पछि सो सामानमा खानेकुरा, पैसा र अन्य सामाग्री थपेर कोसेली स्वरुप फिर्ता दिने चलन छ ।

सांस्कृतिक पक्ष
मगर समाजमा मनाइने माघे सङ्क्रान्तिको प्रमुख आयाम भनेको सामाजिक र सांस्कृतिक पक्ष हो । मगरहरू स्वभावैले बढी मनोरञ्जनमुखी हुने भएकाले गीत, संगीत, नाच र खेलहरू पहिलो प्राथमिकतामा परेका हुन्छन् । यो चाडमा बन्दुक वा धनुवाण वा गुलेलीले तारो हानेर मनोरञ्जन लिने गरिन्छ । रुकुम रोल्पातिरको मगर समाजमा पुस १५ गते नम्सुइँ (तीर फुकाउने) विधि गरेर तीर हान्ने अभ्यास शुरु गरिन्छ । माघको तेस्रो दिनदेखि पाँचौं दिनसम्म एक ठाउँमा भेला भएर तारो हान्ने चलन रहेको छ । स्थानीय मगर भाषामा लामुई र कोथले भनिने धनुषवाणले काठको फल्याकमा बनाइएको गोलो चिन्हमा तिर हान्ने गरिन्छ । तारो हान्दा निसाना ढाल्ने व्यक्तिलाई बाजा बजाउँदै र ‘स्याम्बो स्याम्बो राजा, स्याम्बो स्याम्बो रानी’ भन्ने गीत गाउदै बोकेर डुलाउने गरिन्छ । यो खेलमा तारो हान्ने युवककी साली वा अन्य युवतीले रुमाल, पछ्यौरी, पोते जस्ता सामान बाजी थाप्ने गर्दछन् । जित्नेले सामान लैजाने तर पछि सो सामानमा खानेकुरा, पैसा र अन्य सामाग्री थपेर कोसेली स्वरुप फिर्ता दिने चलन छ । तारो हान्ने खेलको क्रममा युवायुवतीहरूले गाउने र नाच्ने गर्दछन् (थापा मगर, २०७३ः ११) । रुकुमको कुनै भेगमा सिस्नो खेल्ने पनि गरिन्छ । डोल्पाली मगरहरूले माघेसंक्रान्तिको अवसरमा तारो हान्ने, घोडा दौडाउने र पुतली नचाउने गर्दछन् । वागलुङको निसी भल्कोटमा पञ्चेबाजाको तालमा पुतलीनाच (तरवारनाच) नचाइन्छ भने निसी कापारुपमा मुकुण्डो लगाएर जौं बारीमा उफ्रदै घरघरमा गएर दान माग्दै नाच्ने काइपानाच नचाइन्छ ।

माघेसक्रातिको अघिल्लो साँझ (पुस मसान्तको साँझ) घरघरमा बारा पकाउने हुँदा युवायुवतीहरूले समूह बनाएर बारा माग्न जाने गर्दछन्, जसलाई ओह्याँ बारा गेस्के (खेल्ने) भनिन्छ । एउटा लामो लौरोको एक टुप्पामा कोर्को बाँधेर दैलोबाट भित्र बारा पकाइरहेको स्थानतिर छिराउने गर्दछन् । यस क्रममा एक जनाले बच्चा रोए झैं ‘ओह्याँ ओह्याँ’ आवाज निकाल्ने र अरुले फकाए झैं ‘नरोऊ नानी भोकायौ होल; घरधनीले बारा दिन्छिन्’ भन्ने गर्दछन् ।

तिहारमा भैलोदेउसी खेले झैं घरघरमा गएर दान लिने चलन रुकुम रोल्पातिर पनि रहेको छ । माइतीमा आएका चेलीहरू र गाउँका अन्य चेलीहरूले मिसरा खाइसकेपछि एक ठाउँमा भेला भएर प्रत्येक घरघरमा गएर मस्यान्द्रा खेल्ने गर्दछन् । यस क्रममा उनीहरूले ढोकामा झोप्ल्यानी टाँसेपछि एकै स्वरमा मस्यान्द्रा पाई कि नपाई भन्दै भित्र पसेर घरका सदस्यहरूलाई दहीचामलको सेतो टीका र झोप्ल्यानी लगाइदिन्छन् । तिनीहरूलाई पिठो, चामल, नून, तेल, मासु आदि खानेकुरा र पैसा दान दिइन्छ । युवाहरू भिकुरा भन्ने चराको सिकार खेल्न वनतिर जाने गर्दछन् । मस्यान्द्रा खेल्ने र सिकार खेल्नेहरू साँझ पख पायक पर्ने नदी किनारमा भेला भएर जम्मा गरिएको खानेकुरा पकाएर खाने र कपडाको पुतला बनाई दहन गर्दछन् जसलाई स्थानीय मगर भाषामा ‘पुतली हिप्ने’ भनिन्छ । यसरी भैलीमा झैं दानदक्षिणा उठाउने चलन गण्डकी प्रश्रवणक्षेत्रमा पनि रहेको पाइन्छ ।

माघेसक्रातिको अघिल्लो साँझ (पुस मसान्तको साँझ) घरघरमा बारा पकाउने हुँदा युवायुवतीहरूले समूह बनाएर बारा माग्न जाने गर्दछन्, जसलाई ओह्याँ बारा गेस्के (खेल्ने) भनिन्छ । एउटा लामो लौरोको एक टुप्पामा कोर्को बाँधेर दैलोबाट भित्र बारा पकाइरहेको स्थानतिर छिराउने गर्दछन् । यस क्रममा एक जनाले बच्चा रोए झैं ‘ओह्याँ ओह्याँ’ आवाज निकाल्ने र अरुले फकाए झैं ‘नरोऊ नानी भोकायौ होल; घरधनीले बारा दिन्छिन्’ भन्ने गर्दछन् । उक्त कोर्कोमा बारा, तरुल, सखरखण्ड, रक्सी, मासु आदि राखिदिन्छन् । कोर्कोको सामाग्री कसैले नझिकोस् भनेर सिस्नेले छोपिएको हुन्छ । यसरी रातभरि घरघरमा डुलेर जम्मा गरिएको परिकारलाई कुनै एउटा घरमा बसेर खाने र नाचगान गरी रमाउने गर्दछन् । पूर्वी पाल्पा, तनहूँ लगायतका मगर बस्तीहरूमा माघेसक्रातिकै दिन कौ¥हा नाचको विधिवत थालनी गरिन्छ । कौ¥हामा गुरुवाले गीत शुरु गर्ने, सहभागी पुरुषहरूले छोप्ने, युवाहरूले खैँजडी बजाउने र कन्या (अविवाहित युवती) हरू नाच्ने गर्दछन् । कौ¥हा नाचमा बन्धन लिँदा लामाझांक्री र पुजारीहरूलाई झाँक आउँदछ । कन्याहरूले नाच्दै झाँक आएकाहरूको शिरमा छोएपछि झाँक छुट्छ । त्यसपछि स्वच्छन्द तरिकाले गीत गाएर नाच्ने गरिन्छ । रुकुम रोल्पातिरको मगर समाजमा माघेसक्रातिको दिन डाँफे र मयुरको आख्यानमा आधारित डाम्फ्या स्याई (झोराल्नी वा जोरा स्याई) नृत्य गीत प्रस्तुत गरिन्छ (बराल मगर, २०५०ः ११८, आचार्य, २०६८ः १५ र थापा मगर, २०७३ः १०) ।  

माघेसक्रातिका मानव–पर्यावरणीय विम्वहरू
साउने सङ्क्रान्तिदेखि सूर्य दक्षिणायन अर्थात उँधेउली याम र माघेसङ्क्रान्ति सूर्य उत्तरायण अर्थात उँभेउली यामको सांस्कृतिक विम्व भएकाले यी चाडहरू मनाउने तरिकामा स्थानीय पर्यावरण अनुकूलका रीतिथिति र मान्यताहरूको विकास भएको पाइन्छ । माघे सङ्क्रान्तिपछि तापक्रम बढ्दै जाने हुँदा आगो तापेर बस्ने समयको अन्त्य भएको प्रतीकका रुपमा डोल्पाली मगरहरूले राँको फाल्ने र काग पुज्ने रीति प्रचलनमा ल्याएको बुझिन्छ । गर्मी याममा झिंगा, लामखुट्टे, सर्प, विच्छी, मुसा जस्ता हानीकारक जीवहरू सक्रिय हुने तथा घर, आँगन र बारीको फोहरले रोग निम्त्याउने हुँदा मानव बस्ती वरपरको सफाईमा सघाउने कागलाई पूजा आह्वान गरिएको हो । साउनेसङ्क्रान्तिदेखि तापक्रम घट्दै जाने भएकाले डोल्पाली मगरहरूले न्यानोको प्रतीक आगोको अगुल्ठो घरको छाना (छत) को चारैतिर बालेर पूजा गर्दछन् । घोडा दौडाउने खेलले पनि बेसीबाट लेकतिर बसाइँ सर्ने समय भएको तर्फ संकेत गरेको देखिन्छ । झोप्ल्यानीको प्रयोगमा पनि पर्यावरणीय बिम्ब लुकेको छ ।

च्च पहाडी भेगमा बसोबास गर्ने मगरहरूको लागि सबैभन्दा पुरानो रैथाने जातको अन्नबाली जौं भएकाले शुभकार्य र उत्सवहरूमा यसको प्रयोग थालिएको हो । उँधेउलीको प्रारम्भमा मनाइने साउनेसक्राति र वर्षेवाली भित्र्याएपछि मनाइने कृषि चाड (harvest festival) डस्याक्य (दसैं) मा फूलको रुपमा प्रयोग गरिने जौंको जमरा घरभित्रको कुनामा उमार्न सकिने भए पनि पुस पन्ध्रपछिको अत्यधिक चिसोमा जमरा उमार्न सम्भव हुँदैन । त्यसैले बारीमा उम्रेका झोप्ल्यानी (जौंका वोट) लाई माघेसक्रातिमा प्रयोग गरिएको हो । मानवले आफू वरिपरिको पर्यावरणसँग घुलमिल हुँदै जीवनलाई निरन्तरता दिने क्रममा संस्कृतिको विकास हुने भएकाले संस्कृतिका महत्वपूर्ण अंग चाडवाडहरूमा पनि स्थानीय भूगोल, वातावरण र त्यहाँका जीव–वनस्पतिहरूको प्रभाव वा बिम्ब झल्केको हुन्छ । त्यो नै मौलिकता र विशिष्ट चिनारीको आधार हो । यस्तै खाले अतुलनीय एवं विशिष्ट चिनारीका आधारहरू माघेसक्रातिको अवसरमा मगर जातिले प्रर्दशन गर्ने लोकगीतनृत्य र संगीतमा प्रतिबिम्बित भएको देख्न पाइन्छ । मगरहरूले उँभेउलीको प्रारम्भ साउनेसक्रातिमा मादल फुकाएर शुरु गरेको आख्यानयुक्त नृत्य गीत मारुनीलाई माघेसक्रातिमा समापन गरेर कौ¥हा नृत्यको विधिवत थालनी गर्दछन् । माघेसक्रातिमा पुत्ला पोल्ने चलनले नारीको भेषमा पुरुष नाच्ने मारुनीको समापनलाई प्रतिविम्बित गरेको हुन्छ । माघेसक्रातिदेखि मादल बन्द हुने भएकाले उँभेउली याममा मादल बिनाको नृत्य गीत कौ¥हा र घाटुु नचाउने गरिन्छ । उँधेउली र उँभेउलीमा नाचिने नृत्य, गाइने गीत र संगीतको सिर्जना पनि प्रकृति र मौसम अनुकूल गरिएका छन् । उँधेउलीमा जाडो हुने भएकाले कुर्लेर गाउने गीत, घन्काएर बजाउने मादल र उफ्रेर नाचिने पुरुष नृत्यहरू सिर्जना भएका छन् भने उँभेउली अर्थात गर्मी याममा नयाँ पालुवा पलाउने, चराचुरुङ्गीले बच्चा कोरल्ने, खेतवारीमा अन्नको बिऊ छर्ने भएकाले सृष्टिका प्रतीक नारी अर्थात कन्याहरूको सौम्य र शान्त प्रकृतिका नृत्यहरू प्रस्तुत गरिन्छ । यिनै विम्ब, मान्यता र शैलीहरूमा नै मगर जातिले मनाउने माघेसक्रातिको मौलिकता र ऐतिहासिकता झल्केको पाइन्छ ।    

सन्दर्भ सामग्री
आचार्य, गोविन्द. (२०६८ वैशाख). था रू अर्थात हराएको मान्छे. जनपहुँच, १(२), पृ. १५–१६ । 
बराल मगर, केशरजंग. (२०५०, पुनः मुद्रण २०६८). पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरुको संस्कृति. काठमाडौंः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
बुढा मगर, बमकुमारी. (२०६५). असौजको जवारा माघको झोप्ल्यानी. मगरदीप, ललितपुरः मगर समाज सेवा केन्द्र, अंक ४, पृ. ३८—४० । 
––– .(२०७४ पुस २७). माघे सकरातीको सन्दर्भमा छलफल कार्यक्रम. नेपाल मगर संघ, केन्द्रीय समितिको आयोजनामा संचालित ‘माघे सकराती राष्ट्रिय मौलिक चाड ऐहासिकता सम्बन्धी अन्तरक्रिया कार्यक्रम’   मा प्रस्तुत पत्र ।
बुढामगर, भोजविक्रम र घर्तीमगर, श्यामप्रसाद. (२०७१). काइकेमगरको भाषा, संस्कार र चाड. सम्पा. यमबहादुर पुन र झकेन्द्र घर्तीमगर. मगर जातिः ऐतिहासिक, सांस्कृतिक र राजनीतिक सन्दर्भ (पृ. १४९–१७५). काठमाडौंः मगर प्राज्ञिक समूह ।
श्रीस मगर, मीन. (२०६७). मगर जातिको चिनारी, ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल मगर संघ केन्द्रीय समिति । 
थापा मगर, यमबहादुर. (२०७३ फागुन). मगरहरूको लोक संस्कृति एक अध्ययन. हाम्रो गोरेटो, ४(४), पृ. ८–११. 







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

न्युरो एन्डोक्रइन क्यान्सरबाट पीडित अभिनेता इरफान खान विगत ३ महिनादेखि उपचारका लागि बेलायतको लण्डनमा छन्। शरीरमा ट्युमर हुने रोगसँग जुधिरहेका...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।