७ वैशाख २०८१ शुक्रबार
राजनीति

दाहालको चुनाव खर्च नौ लाख ९४ हजार !

चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कति खर्च गरे होलान् ? २५ लाखभन्दा बढी खर्च गर्न नपाइने निर्वाचन आयोगको नियम छ ।

धेरै गरे पनि निर्वाचन कार्यालयमा बुझाउने विवरणमा २५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको कसैले लेख्दैनन् । दाहालले पनि त्यही हाराहारीको खर्च विवरण बुझाएको ठान्नुभएको छ भने तपाईं गलत हुनुहुन्छ । उनले पेस गरेको विवरणमा त्यसको आधा पनि खर्च नभएको देखिन्छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाल वाम गठबन्धनबाट चितवन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यका विजयी भएका हुन् । उनका मुख्य प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष तथा वनमन्त्री विक्रम पाण्डे थिए । पाण्डेलाई कांग्रेसको समर्थन थियो । दुवैको प्रचार शैली निकै खर्चिलो देखिन्थ्यो ।
चुनावपछि भरतपुरमा नेपाल पत्रकार महासंघ चितवन शाखाले राखेको सम्मान कार्यक्रममा दाहालले यसअघि दुई पटक चुनाव लडे पनि चुनावै लडेको जस्तो साँच्चैको अनुभूति यसपटक भएको भनाइ राखेका थिए । कात्तिक १६ मा मनोनयन दर्ता गरेपछि मतदानसम्म अधिकतम समय उनले आफ्नै निर्वाचन क्षेत्रमा बिताए । 

क्षेत्र ३ मा भरतपुर महानगरपालिकाका २९ मध्ये १९ वटा वडा पर्छन् । त्यस्तै माडी नगरपालिका पनि यसै क्षेत्रमा पर्छ । दाहाल चुनावी अभियानक्रममा भरतपुरका १९ वटा वडा र माडी नगरपालिकाका सबै वडामा पुगेको क्षेत्र नं. ३ मा प्रचारप्रसारको संयोजन गरेका माओवादी केन्द्रका नेता सूर्य सुवेदी पथिकले जानकारी दिए ।

बहालवाला मन्त्री र निर्माण व्यवसायीसमेत रहेका दाहालका प्रतिस्पर्धी पाण्डेसँग पनि पैसाको कमी नभएका कारण चितवन क्षेत्र नं. ३ मा तीव्र प्रतिस्पर्धा हुने आँकलन सबैको थियो । टोलटोलमा हुने चुनावी सभामा पाण्डे र दाहाल दुवैले ‘पैसाले मतदाता नकिन्न’ खबरदारी गरिरहेका हुन्थे ।
जिल्ला निर्वाचन कार्यालयमा पाण्डे र दाहालले बुझाएको विवरण हेर्दा पनि उनीहरुले खर्चमा प्रतिस्पर्धा गरेको छर्लंग हुन्छ । तर उनीहरुले पेस गरेको खर्च विवरण अरूले सोचेभन्दा निकै थोरै छ । पाण्डेले पुस २० गते निर्वाचन कार्यालयमा बुझाएको विवरणअनुसार चुनावमा उनले नौ लाख ३९ हजार ३४० रुपैयाँ खर्च गरेका छन् ।

 दाहालले आफ्ना प्रतिनिधि सूर्य सुवेदी पथिकमार्फत पुस २८ गते चितवन जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण पेस गरेका छन् । चुनावमा आफूले नौ लाख ९४ हजार ५४२ रुपैयाँ खर्च गरेको दाहालको जिकिर छ । सो विवरण हेर्दा प्रतिनिधिसभामा चितवनमा विजयी उम्मेदवारमध्ये सबैभन्दा कम खर्च दाहालले गरेको देखिन्छ ।

‘चुनावी अभियान तामझाम हेर्दा चितवन  ३ मा जित्ने र निकटतम प्रतिद्वन्द्वी रहनेले १० लाख पनि खर्च गरेन भनेर कसरी पत्याउनु र खै ?’ चुनावी खर्च विवरण पेस गर्न निर्वाचन कार्यालय पुगेका चितवन क्षेत्र नं. १ का राजमो उम्मेदवार इन्द्रप्रसाद पाध्या पौडेलले भने । उनले ९१ हजार ६६० रुपैयाँ खर्च भएको विवरण दिएका छन् । उनले १३६ मत पाएका थिए ।

दाहालको ४८ हजार २७६ मत आएको थियो । दाहालकै क्षेत्रमा ४४१ मत ल्याएका विवेकशील साझा पार्टीका शरदराज पाठकले ७१ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन् । पाठकले भन्दा सयौं गुणा बढी मत ल्याएका दाहालले चुनाव खर्च भने जम्मा १५ गुणा बढी गरे त ? आफूहरुले भएको खर्चअनुसार नै विवरण बुझाएको माओवादी नेता पथिक बताउँछन् ।

‘हामीले जे जति खर्च गरेका हौं, निर्वाचन कार्यालयले बनाएको नियमअनुसारकै विवरण तयार गरेर बुझाएका हौं । हामीले जे बुझायौं त्यो सत्य छ,’ पथिकले भने । दाहालको क्षेत्रमा दुईवटा ठूला चुनावी सभा भएका थिए । माडीमा भएको चुनावी सभामा हेलिकप्टर चढेर एमालेका अध्यक्ष केपी शर्मा ओली भाषण गर्न आएका थिए ।

सभामा सर्वसाधारण ओसार्न दर्जनौं बस भाडामा लिनुपरेको थियो । त्यस्तै प्रचारप्रसारका लागि दुईवटा गाडीमात्रै प्रयोग गर्न पाइने नियम भए पनि दाहालको प्रचार अभियानमा दर्जनौं गाडी कुदेका हुन्थे । कार्यक्रम गरेका दिन सयौ कार्यकर्ताका लागि खाना खुवाएको देखिन्थ्यो । खाना कतै क्याटरिङ सर्भिसले तयार पार्थे भने कुनै बेला होटलमा पनि खाने गरेको भेटिन्थ्यो ।

दाहालले बुझाएको विवरणमा गाडीमा ९९ हजार, इन्धनमा ४७ हजार ६५२, प्रचार सामग्रीमा ९७ हजार ९७५, ढुवानीमा साढे १७ हजार, गोष्ठी र कार्यकर्ता परिचालनमा एक लाख ३१ हजार ३१५, छापा र विद्युतीय सञ्चारमाध्यमको प्रचारप्रसारमा ५५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ । सबैभन्दा बढी कार्यालय सञ्चालनमा तीन लाख ७० हजार रुपैयाँ खर्च देखाइएको छ ।

प्रतिनिधि परिचालनमा एक लाख ३० हजार र विविध खर्चमा ४३ हजार ९९० रुपैयाँ खर्च भएको भनिएको छ । सबैभन्दा कम खर्च मतदाता नामावली खरिदमा २१ सय १० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । दाहालले भन्दा बढी खर्च चितवन क्षेत्र नं १ र २ मा विजयी उम्मेदवारले गरेका छन् । क्षेत्र नं. १ का उम्मेदवार एमालेका सुरेन्द्र पाण्डेको खर्च १३ लाख ५७ हजार ६७३ रुपैयाँ भएको छ ।

त्यस्तै क्षेत्र नं. २ मा विजयी एमालेका कृष्णभक्त पोखरेलले १४ लाख ३९ हजार आठ सय रुपैयाँ खर्च गरेको चितवन जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमप्रसाद ढकालले जानकारी दिए । निर्वाचन कार्यालयका प्रमुख हरि ढकालका अनुसार चितवनमा प्रतिनिधिसभाका ४२ र प्रदेश सभामा ५३ गरेर कुल ९५ जना उम्मेदवार मैदानमा थिए ।

तीमध्ये आइतबारसम्म प्रतिनिधिसभाका २५ र प्रदेशसभाका ३१ जनाले खर्च विवरण बुझाएका छन् । विवरण बुझाउने अन्तिम मिति आइतबार नै हो । सूचना अधिकारी भीमप्रसाद ढकालका अनुसार विवरण बुझाउनमध्ये सबैभन्दा धेरै खर्च प्रतिनिधिसभामा चितवन क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार राजेन्द्र बुर्लाकोटीले गरेका छन् ।

उनले १६ लाख २९ हजार १७० रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख गरेका छन् ।चुनावी अभियानमा खटिएका जिल्लाका एकजना वरिष्ठ नेता भन्छन्, ‘विवरणमा उल्लेख गरेको अंक त औपचारिकता मात्रै हो । त्यहाँ भरेको खर्च वास्तविक हुँदैहोइन । वास्तविक हो कि हैन भनेर छानबिन गर्ने र वास्तविक नभए कारबाही गर्ने काम नहुँदासम्म भएकोभन्दा कम खर्चको विवरण आउँछ ।’ युवा परिचालनमा मात्रै नभएर टोलटोलमा पाका महिलाको पनि समूह बन्ने र त्यसमा खर्च गर्नुपर्ने परिपाटी बढेको ती नेताले बताए ।

प्रकाशित: १ माघ २०७४ ०१:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App