८ वैशाख २०८१ शनिबार
अन्य

‘यार’मा म र यारहरू

‘नयनराज पाण्डे
जीवनलाई सर्लक्क फैलाएर राजमार्ग बनाउन सकिने भए यो राजमार्गको अनेक मोडमा हामी आफैँलाई पटकपटक भेटिरहने थियौँ । कति रमाइलो हुन्थ्यो होला, आफैँले आफूलाई भेट्नु र आफैँसित ‘हेलो’ भन्दै हात मिलाउनु  आफैँसित आफ्नो हालचाल सोध्नु र आफैँलाई सुनाउनु आफ्नो बिमारी र आरामीको खबर ।

अनि कति मजेदार हुन्थ्यो होला, आफैँले आफूसित हात हल्लाएर ‘बाई–बाई डियर’ भन्दै बिदावारी हुनु र फेरि अर्को यात्रामा संलग्न भइजानु । फेरि अर्को कुनै मोडमा त्यसरी नै भेटिनु र फेरि त्यसरी नै छुट्टिनु । यो रोमाञ्चक यात्राको कल्पना मात्रले पनि आनन्द दिन्छ । तर अहँँ, यसले आनन्द मात्र दिन्नँ मलाई । कहिलेकाहीँ यस्तो कल्पना गर्दा आङ सिरिङ्ग हुन्छ मेरो ।

मलाई मैले कल्पना गरेको राजमार्गको त्यो यात्रा कहिलेकाहीँ कहालीलाग्दो पनि लाग्छ । अत्याउँछ पनि त्यो यात्राको कल्पनाले । यथार्थ यही हो, हामीले यो यात्रा जीवनपर्यन्त जारी राख्नु नै छ– कहिले आनन्दमय ठानेर र कहिले अत्यासलाग्दो मानेर ।

जीवनको राजमार्गमा एक्लै कहाँ हिँडिन्छ र ? आफूले आफैँलाई भेट्नु त छँदै छ । चलिरहन्छ त्यो क्रम । तर, यो यात्राको असली रोमाञ्च त मित्रहरूसितको भेटमा पो हुँदोरहेछ । मित्रहरूसित यात्रारत हुँदा पो हुँदोरहेछ । म पनि हिँडेको छु त्यसरी । अझै हिँडिरहेछु । यात्रा रोक्ने स्थिति नै छैन । किनभने हामी सबै यस्तो वाहनमा सवार छौँ, जसमा एक्सिलेरेटर त छ, ब्रेक छैन । ब्रेक लागेको दिन खेला खत्तम । त्यसपछि कि जिन्दावाद भन्दै जिन्दगानीसित बिदा लिनुपर्छ या रुवाबासी गर्दै जिन्दगीको डोरी चुँडाल्नुपर्छ ।

यसमा बीचको बाटो हुन्न । कुनै शाखा सडक हुन्न, जहाँबाट फुत्त भाग्न सकियोस् मृत्युबाट र जीवनलाई अघाउन्जेल अँगालिरहन पाइयोस् । जीवनको मोह क्या गज्जब हुन्छ बाबै ! यही मोहले त हो, मृत्युलाई कहालीलाग्दो बनाइदिने । म पनि मृत्युको कल्पनाले कहालिन्छु । किनभने, मृत्युलाई सेलिब्रेट गर्ने हैसियतको महामानव हैन म । जीवनसित अनेक गुनासा भए पनि मलाई त जीवन नै प्रिय छ, रुचिकर र प्रीतिकर छ ।

त्यसैले मलाई मेरो नयाँ किताब ‘यार’मा जीवनको कुरा गर्न मन लाग्यो । यही इच्छाले जन्माएको हो ‘यार’लाई । ‘यार’को खास रचनागर्भ यही हो । ‘यार’ त्यसैले मेरो जीवनयात्राको कुरा हो । ‘यार’मा मेरो पदचाप नसुनिएला । तर, यो मैले कहिले छिटो र कहिले बिस्तारै पाइला चाल्दै गरेको मेरो जीवन–राजमार्गको हिँडाइको कुरा हो । यसैको कथा हो । यसैको इतिवृत्तान्त हो ।

‘यार’मा कतै मैले लेखेको छु, ‘जीवनको यो फराकिलो राजमार्गमा धेरै साथीसित सँगसँगै हिँडियो । धेरैसित अझै पनि सँगै यात्रारत छु । केही भने हिँड्दाहिँड्दै कुनै मोडमा छुटे । एकछिन कुरेँ पनि तिनलाई मैले । उनीहरूले पनि खोजे होलान् मलाई । तर, जीवन–मेलाको भीडभाडमा हाम्रो भेट भएन । मेरो यात्रामा त्यस्ता पनि केही साथी थिए, जसले हिँड्दाहिँड्दै चटक्कै मेरो हात छाडेर अर्कोतिर लागे । तिनीहरूको आफ्नै खालको अर्को कुनै मुकाम हुँदो हो । तिनीहरूलाई त्यो मुकामसम्म पुग्ने हतारो हुँदो हो । जो छुटे, तिनीहरूसित अर्को कुनै मोडमा फेरि भेट्ने रहर छ । जो अर्को बाटो लागे, उनीहरूलाई फेरि पनि शुभकामना दिने मन छ ।’

त्यही भेटको चाहना र त्यही शुभकामना दिने रहरले जन्मायो ‘यार’लाई । ‘यार’मा मैले आफ्ना साथीहरूसितका सुन्दरम या सुखद्तम पलहरूको कुरा मात्र लेखेको छैन, कुरूप र दिगमिग लाग्दा क्षणहरूको कुरा पनि लेखेको छु । सम्बन्धको गरिमाको कुरा त लेखेकै छु, सम्बन्धविच्छेदका दिक्कलाग्दा कुरा पनि लेखेको छु । माया र प्रेमका कुरा मात्र लेखेको छैन, घृणा र चोटका कुरा पनि लेखेको छु ।

‘यार’ मित्रताभित्रका अनेक आयामको कथा बनोस् भन्ने मेरो चाहना थियो । म आफ्नो चाहनाप्रति कति इमानदार हुन सकेँ, यो यारका पाना पल्टाउने मेरा आदरणीय पाठकले पो भन्न सक्नुहोला । मैले यहाँ त्यस्तो दाबी गर्नुको कुनै तुक छैन ।
हो, ‘यार’ मित्रता र सम्बन्धको गाथा भने हो नै । यति त म ठोकुवा गरेरै भन्न सक्छु ।

के मित्रता भन्ने कुरा हामीले जीवन भोग्ने क्रममा गरेका रोचक, रोमाञ्चक र रुमानी अनुभूति मात्र हो ? कि यो हाम्रो मानसिक, सामाजिक, आर्थिक र राजनीतिक सोचको उपज पनि हो । त्यसैले ‘यार’को अन्तिम अनुच्छेद लेखिसकेपछि मैले आफैँसित प्रश्न सोधेँ, ‘के यो किताब मित्रताको आडमा मैले गरेको निजी गन्थन मात्र हो ? अथवा, यसमा हामी बाँचिरहेको समाजको कुनै खालको मनोदशा पनि प्रकट हुन्छ

अहँ, उत्तर मैले सोचिनँ । लेखकले सबै प्रश्नका उत्तर लिएर बस्नु हुँदैन । नत्र, उसको लेखन विद्यार्थीले परीक्षा उत्तीर्ण गर्न लेखेको उत्तरकापीजस्तै हुन्छ । त्यसबाहेक लेखन या साहित्यमा प्रश्न हुनुपर्छ । साहित्यले प्रश्न गर्नुपर्छ । तर, यो प्रश्नपत्रजस्तो पनि हुनुहुँदैन । प्रश्न र उत्तरहरू लेखनभित्र थाहै नदिई र अनेक सुरक्षा नाकालाई छल्दै प्रवेश गर्ने त्यस्तो हतियार हो, जसलाई लेखकले पाठकको जिम्मा लगाएको हुन्छ ।

त्यसपछि पाठकले त्यो हतियारलाई कसरी चलाउँछ, त्यो उसको चेतनाको कुरा हो । यति पक्का हो, त्यो हतियार चल्यो भने विस्फोट हुन्छ र त्यसले धेरै कुरा भत्काउँछ र धेरै कुरा फेरि निर्माण गर्छ ।
त्यसैले ‘यार’भित्रका कुनै प्रश्नको उत्तर मैले दिइनँ । यसभित्र कुनै प्रश्न छन् भने तिनको उत्तर ‘यार’का प्रिय पाठकले दिनु हुनेछ । त्यो उत्तर म पनि सुन्न चाहन्छु र बुझ्न चाहन्छु मेरा प्रश्नहरू कति कामलाग्दा भए, कति धारिला भए या खुकुरी बन्न नसकेर भुत्ते कर्दजस्ता भए ।

‘यार’ लेख्न सुरु गर्दा मैले सोचेको थिएँ, म यसमा आफ्ना साथीहरू या साथीजस्ता मानेका आदरणीय अग्रजका अनेक–अनेक कमी–कमजोरी खोतल्नेछु । ती सबै कमी–कमजोरीलाई निडर भएर उजागर गर्नेछु । तर, मलाई के थाहा, अरुभित्रका कमजोरी खोज्दाखोज्दै मैले आफैँभित्र भेट्नेछु, आफ्ना सहस्र कमजोरीहरू । त्यसैले यारको अन्त्यमा मैले लेखेको छु, ‘यो किताब मेरो आफ्नै वजन जोख्ने तराजु पनि हो । मेरो लम्बाइ, चौडाइ र उचाइ नाप्ने इन्ची–टेप पनि हो ।’

यो किताबमा मैले घटना र दुर्घटनाहरू पक्कै लेखेको छु । तर, मैले कतै पनि यसमा मेरो यो मित्र राम्रो, यो नराम्रो भनेर लेखेको छैन । मेरो आफ्नै सिर्जना भए पनि यो किताबले मलाई मेरा मित्रहरूतिर औँला ठड्याएर ‘यो असल’ या ‘यो खराब’ भनेर निर्णय सुनाउने अनुमति दिएको छैन । किनभने मलाई यति त हेक्का छ, म लेखक हुँ, मित्रको हैसियत र नियतमाथि प्रश्न उठाउने न्यायाधीश होइन । मैले किताबमा सहर्ष स्विकारेको छु, ‘त्यस्तो संकेत पनि कतै प्रकट भएको छ भने त्यो मेरो लेखनको विफलता हो । त्यसका लागि पनि म मेरा मित्रहरूसित क्षमा माग्छु ।’

‘यार’ संस्मरणको किताब हो । तर, यो ढाँटको संस्मरण होइन । इमानदारी भएन भने संस्मरण किर्ते लेखन हो । ठग्ने नियतले तयार पारेको तमसुकजस्तै हो । तर, मैले आफूलाई ‘यार’मा ठगीबाट बचाउने प्रयास गरेको छु । त्यसका लागि मैले प्रयोग गरेको एउटै हतियार हो, इमान्दारी ।
इमानदार हुने नाममा या किताबलाई सनसनीपूर्ण बनाउनका लागि मैले कसैलाई यसमा नियतवश नंग्याएको पनि छैन । बरु, ‘यार’का हरेक पृष्ठमा मेरै आवरणहरू उत्रिएका छन् । पटकपटक म नग्न भएको छु, ‘यार’मा । यसपटक मलाई आफू नांगिनुमा मजा आयो । जसरी मजा आउँथ्यो, बाल्यकालमा नांगै भएर वर्षात्मा भिज्दा ।

‘यार’ पढ्दा पाठकलाई ती वर्षात्का केही छिटाहरू अवश्य लाग्नेछन् ।

(पाण्डेको नयाँ पुस्तक ‘यार’ शनिबार राजधानीमा सार्वजनिक हुँदै छ ।)
   

प्रकाशित: २९ पुस २०७४ ०२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App