coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

३८ वर्षपछि सहिद घोषणा

छिन्ताङमा मारिएका १६ जनाको स्मृतिमा पञ्चकन्यामा बनाइएको स्मारक । तस्बिरः सिद्धराज

धनकटा – पञ्चायती सत्ताले हत्या गरेका १६ जनालाई वर्तमान सरकारले सहिद घोषणा गरेपछि खोकु छिन्ताङ र आँखीसल्लावासीले न्याय पाएका छन् । २०३६ कात्तिक २४ देखि २९ गतेसम्म खोकु छिन्ताङ र आँखीसल्लामा पञ्चायती सत्ताबाट १६ जना मारिएका थिए । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सहिद घोषणा गरेको छ। 
सरकारले सहिद घोषणा गरेपछि बल्ल न्याय पाएको अनुभूति भएको  भलकमान राईले बताए । उनकी आमा हाङखिमा साइँली (श्रीमाया राई) सहिद घोषित भएकी छिन् । लामो समयदेखि रहेको यो राजनीतिक मुद्दा बल्ल आएर टुंगिएको राईले बताए।

अर्का सहिद गोपाल आनन्द राईका छोरा योगेन्द्रले राज्यको यो निर्णयबाट खुसी लागे पनि पूरा न्याय पाइयो भन्न नमिल्ने बताए । सहिदका परिवारले के राहत पाउँछन्, सहिदको जन्मथलोमा विकास निर्माणका के काम हुन्छन्  र गाउँको समृद्धिमा के टेवा पुग्छ भन्ने विषय महत्त्वपूर्ण रहेको योगेन्द्रले बताए।

 सरकारले सहिद घोषणा गरेर घाउमा मलम लगाउने काम गरेको सहिद परिवारको भनाइ छ । अब सहिद परिवारका सदस्यलाई सरकारले शिक्षा, स्वास्थ्य र रोजगारी दिनुपर्ने सहिद परिवार सरोकार समाजका अध्यक्ष एवं सहिद पुत्रमान राईका छोरा बलरामले बताए। 

त्यति बेला चरम गरिबीका कारण किसानले सुरु गरेको आन्दोलन दमन गर्न खोकु छिन्ताङ आँखीसल्लामा राज्यले हत्याकाण्ड मच्चाएको थियो । खरीखोला, पातलडाँडा, तारेभीर, खानीखोला र तमोर नदी किनारमा उनीहरुको हत्या भएको थियो ।  मारिएका धेरैजसो वामपन्थी थिए । २०४७ सालको राजनीतिक परिवर्तनपछि वामपन्थी दलको सरकार बनेका बेला सहिद परिवारका सदस्यले केही राहत रकममात्रै पाएका थिए । तर वामपन्थी दलको नेतृत्वमा बेनका सरकारले उनीहरूलाई सहिद घोषणा गरेनन् । अहिले आएर बल्ल नेपाली कांग्रेस नेतृत्वको सरकारले सहिद घोषणा गरेर पीडितलाई न्याय दिएको सहिद स्मृति प्रतिष्ठान खाल्साका अध्यक्ष रुपलाल राईले बताए। 

‘हाम्रो मुद्दा सहिद घोषणासँगै हत्यारालाई कारबाही गराउने हो । बल्ल सरकारले सहिद घोषणा गर्‍यो । अब हत्यारालाई कारबाही गरिनुपर्छ,’ अध्यक्ष रुपलालले भने । खोकु, छिन्ताङ र आँखीसल्लामा २०२६/२७ सालदेखि नै सुरु भएको किसान आन्दोलनलाई तत्कालीन नेकपा मालेका कार्यकर्ता यम बराल, बम देवान, गोविन्द विकल र नेकपा माक्र्सवादीका नेता भक्त बोलना, रुपलाल राईलगायतले संगठित गरेका थिए । यो संघर्ष २०३५/३६ सालमा आएर राज्यसत्ताविरुद्धको आन्दोलनमा परिवर्तन भयो । धनी बन्ने सपनाले सुरु गरिएको आन्दोलन बहुदल प्राप्तिको आन्दोलनमा परिवर्तन भयो । सामन्ती सत्ताको प्रतीकका रुपमा स्थानीय धनी र धनसार भएका व्यक्तिलाई बहिष्कार गर्न थालियो । केहीलाई कम्युनिस्ट कार्यकर्ताले कुटपिट र कारबाही गरे । त्यसैले राज्य दमनमा उत्रिएर र १६ जनाको हत्या गराएको प्रतिष्ठानका अध्यक्ष राईले बताए। 

प्राध्यापक गोपाल भट्टराईको पुस्तकमा यो हत्याकाण्डको योजना तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा, डिआइजी  डिबी लामा, कोसी अञ्चलका अञ्चलाधीश शत्रुधनप्रसाद सिंह, बिग्रेडिएर जनरल कुवेरशमशेर राणा, एसपी रामबहादुर श्रेष्ठ र धनकुटाका सिडिओ वीरबहादुर भुजेलले बनाएको उल्लेख छ। 

योजनाअनुसार चार सय सशस्त्र प्रहरीले छिन्ताङलाई घेरा हालेका थिए । उक्त प्रहरी फोर्सको नेतृत्व तत्कालीन डिआइजी लामाले गरेका थिए । त्यति बेला विभिन्न आरोपमा गोपालआनन्द राई, गंगाबहादुर तुप्रिहा, भैरवबहादुर खालिङ, बलबहादुर खत्री, पुत्रमान राई, केशरबहादुर राई, लाखमान साधु राई, टंकबहादुर विश्वकर्मा, रणध्वज पुमा राई, गणेशबहादुर विश्वकर्मा, हाङखिमा साइँली (श्रीमाया राई), झगेन्द्र राई, धनवीर दर्जी, चन्द्रबहादुर दमाई, रामकुमारी राई र गम्भीरमान दर्जीको हत्या भएको थियो।

 

प्रकाशित: २९ पुस २०७४ ०१:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App