८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

छोराहरुका लागि एक्लैले बनाए आठ किलोमिटर बाटो

नयाँ दिल्ली – भारतको पूवी राज्य ओरिसाका एक मानिसले गल र पिकको माध्यमबाट एक्लैले आठ किलोमिटर लामो सडक निर्माण गरेका छन् ।

 

विद्यालय जाने आफ्ना छोराहरु बारम्बार घर आइरहन सकुन् भनेर उनी एक्लैले साधारण घरायसी उपकरणको माध्यमबाट आठ किलोमिटर बाटो निर्माण गरेको बताइएको छ ।

४५ वर्षे जालन्धर नायक नाम गरेका ती मानिसका तीन छोराहरु पढिरहेको आवासीय विद्यालयभन्दा १० किलोमिटर पर ग्रामीण गाउँमा बसिरहेका छन् । आफ्ना छोराहरुले घर आउनका लागि पाँचवटा पहाड पार गर्नुपर्ने बाध्यतालाई चिर्न उनी एक्लैले सडक खनेको बताएका छन् । स्थानीय अधिकारीहरुले बिबिसीलाई बताएअनुसार बाँकी सात किलोमिटर बाटो अब सरकारले बनाउने छ ।

पछिल्लो दुई वर्ष नायक बिहानै घरबाट उठेर आफ्ना घरेलु सामाग्रीसहित बाटो खन्न निस्कने गर्दथे र प्रत्येक दिन उनले ढुंगा काट्न र शिलाखण्ड हटाउन निरन्तर आठ घण्टासम्म खर्चने गरेका थिए ।
उनले सडक निर्माण सम्पन्न भइसकेपछि बिदामा वा प्रत्येक साता आफ्ना छोराहरु घर फर्कने विश्वास लिएको संवाददाताहरुसँग बताएका छन् । १५ किलोमिटर लामो सडकखण्डले नायकको गाउँ र उनका छोराहरु पढिरहेको विद्यालयलाई जोड्ने बताइएको छ । सडक निर्माणको बाँकी काम गर्ने जिम्मा लिएका सरकारी अधिकारीहरुले नायकले गरेको कामको पैसा दिइने बताएका छन् ।

अब सडकको बाँकी कार्य सरकारले पूरा गर्न लागेकोमा आफू अत्यन्तै खुसी भएको नायकले बताएका छन् । उनले सरकारी अधिकारीलाई गाउँमा विजुली र खानेपानीको सेवा पनि उपलब्ध गराइदिन आग्रह गरेको बताएका छन् ।

उनले आफूले स्थानीय अधिकारीहरुसँग न त कुनै सहयोग मागेको न त उनीहरुले नै दिएको बताएका छन् । स्थानीय अधिकारीहरुले नायकले गरिरहेको सडक निर्माण कार्य स्थानीय समाचार बुलेटिनमा यो महिनाको सुरुवातमा समाचार प्रकाशन भएपछि मात्रै थाहा पाएका थिए ।

‘सडक निर्माण गर्दा उनले एउटै पनि रूखलाई हानी नर्गन अपनाएको सचेतनाले म निकै नै प्रभावित भएको छ,’ नायकको सर्वप्रथम अन्तर्वार्ता लिएका स्थानीय पत्रकार सिवशक्ति विश्वाललाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । नायकाले बनाएको सडक कार चलाउनसमेत योग्य रहेको पत्रकार विश्वालले बताए ।

भारतका राष्ट्रिय सञ्चारमाध्यमहरुले नायकलाई दशरथ माझीसँग तुलना गरिरहेका छन् । दशरथ माझी भारतको बिहार राज्यका नागरिक हुन् जसले आफ्नो गाँउलाई नजिकैको सहरसँग जोड्नका लागि एक्लैले पहाड फोरेर सडक निर्माण गरेका थिए र उनलाई ‘माउन्टेन म्यान’ समेत भनेर चिनिने गरेको छ ।

 

 

 

प्रकाशित: २८ पुस २०७४ ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App