coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

कन्सर्टमा घन्कँदै प्रोजेक्ट वान

काठमाडौं – स्थापित रक व्यान्डका सदस्यहरू मिलेर बनेको नयाँ ब्यान्ड ‘प्रोजेक्ट वान’ले बुटवल र जावलाखेलमा कन्सर्ट गर्ने भएको छ । ब्यान्डले ‘फेरि उठ्नेछ नेपाल ३’ नामक कन्सर्टमा आफ्ना गीतहरू दर्शकलाई सुनाउन लागेको हो । यो ब्यान्डमा मुक्ति एन्ड रिभाइभल, रविन एन्ड द न्यु रिभ्योलुसन, अभया एन्ड द स्टिम इन्जन्स, द स्याडोज नेपाल र अनुप्रस्थ आबद्ध छन् ।

ब्यान्डले आगामी माघ १३ गते अर्थात जनवरी २७ मा बुटवलस्थित बुटवल मण्डप र माघ २७ गते अर्थात फेब्रुअरी १० तारिखका दिन ललितपुरको जावलाखेल फुटबल मैदानमा दर्शकलाई सांगीतिक माहोलमा झुमाउन लागेको हो । बुटवलमा क्षेत्रीय पार्टनरका रूपमा एस नेपालले इभेन्ट म्यानेजमेन्टको जिम्मेवारी सम्हाल्ने छ ।

ब्यान्डवागन बाइ पोजिटिभ भाइब्सले स्थापना गरेको ब्यान्डको गायन समूहमा मुक्ति एन्ड रिभाइभलका मुक्ति शाक्य, रविन एन्ड द न्यु रिभोल्युसनको रविन तामाङ, अभया एन्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्निल शर्मा र अनुप्रस्थका निरन शाही छन् ।

भाइब्सका प्रस्तुतकर्ता विकेश कायस्थले आफ्नोतर्फबाट कन्सर्टलाई नेपालकै भव्य कन्सर्टका रूपमा आयोजना गर्ने तयारी भइरहेको बताए । ‘कार्यक्रम हुनुअघि नै बुटवल र ललितपुरका लागि झन्डै ५ हजार बढी टिकट बुक भइसकेका छन् । हाम्रो लक्ष्य १० हजार दर्शकलाई मनोरञ्जन दिनु हो,’ उनले भने, ‘यो कार्यक्रमपछि हामी नेपालमा एकताको शन्देश बाँड्न काठमाडौं र देशका विभिन्न कलेजमा पुग्नेछौं ।’

ब्यान्डमा वाद्यवादनतर्फ गीतारमा नेपथ्यका पूर्व लिड गिटारिस्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, दि एक्स ब्यान्डका पूर्व लिड गितारिस्ट तथा टम्बलविड र श्री ३ का शरद श्रेष्ठ, अभया एन्ड द स्टिम इन्जन्सका राजिव रिञ्छेन पाल्जोर, बेशमा मुक्ति एन्ड रिभाइभलका रोशन कंसाकार र म्युजिक स्कोरर सुरज विष्ट, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन् । ब्यान्डको नयाँ एल्बमको पहिलो गीत यसै हप्ता सार्वजनिक हुँदैछ ।

ब्यान्डवागन बाइ पोजिटिभ भाइब्सले सन् २०१६ मा ललितपुरकै जावलाखेल मैदानमा नेपथ्य ब्यान्डलाई पहिलो संस्करणको ‘फेरि उठ्नेछ नेपाल’ कन्सर्टमा प्रस्तुत गरेको थियो । त्यसको लगत्तै सन् २०१७ मा कास्कीको पोखरामा दोस्रो संस्करणमा पनि नेपथ्य दोहोरिएको थियो ।

विकेशले भूकम्पपछिको अवस्थामा पनि नेपालको राजनीति अस्थिर रहेकाले सबै जनता एक भएर देशका लागि केही गर्न आह्वान गर्न कार्यक्रम गर्न लागिएको बताए । उनका अनुसार नारायणघाट, पोखरा र इटहरीमा पनि कन्सर्टको तयारी भइरहेको छ तर ती स्थानमा हुने कन्सर्टको भने मिति तय भइसकेको छैन ।
 

प्रकाशित: २६ पुस २०७४ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App