१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पश्चिम नेपाल एउटै कोठामा

बागलुङ– भनिन्छ, तस्बिर आफैँ बोल्छ । हुन पनि हो, हजारौं शब्द खर्चेर वयान गर्न नसकिने कुरा एउटै तस्बिरले भनिदिन्छ । त्यही तस्बिरको आकर्षणमा लठ्ठिएपछि सशस्त्र प्रहरीका एसपी नवराज अर्याल यो शनिबार बागलुङको भकुण्डे जाँदैछन् ।
सशस्त्र प्रहरी बलको चण्डिका गण पर्वतको प्रमुखका रुपमा कार्यरत रहेका अर्यालले बागलुङ महोत्सवमा आयोजना गरिएको फोटो प्रदर्शनी मेलामा भकुण्डे बराहतालको तस्विर हेरेपछि तत्कालै भकुण्डे जाने निर्णय सुनाए ।
‘बागलुङमा यती धेरै सुन्दर ठाउँहरु रहेछन्, धेरै ठाउँमा पुग्ने बाँकी रहेछ,’ फोटो हेर्दै गर्दा आफ्ना पिएसओ तर्फ संकेत गर्दै उनले भने, ‘यो ठाउँ यहाँबाट नजिकै पर्दोरहेछ । यही शनिबार यहाँ जानुपर्छ हैं ।’
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा जारी बागलुङ महोत्सव २०७४ मा फोटो प्रदर्शनी आयोजना गरेपछि यहाँ आउनेहरुले पश्चिम नेपाललाई एउटै कोठा भित्र देख्न पाएका छन् । ‘नेपालका धेरै ठाउँहरुको चर्चा सुनेकी थिए,’ फोटो अवलोकनकर्ता गल्कोट नगरपालिकाकी कमला थापाले भनिन्,‘अहिले पुग्न नसके पनि तस्विरमा हेर्न पाएँ, अब त्यहाँ पुग्ने हुटहुटी बढेको छ ।’

फोटो प्रदर्शनीप्रति अवलोकनकर्ताहरु आकर्षित हुँदै गएका छन् । चार नम्बर प्रदेश स्तरको फोटो प्रदर्शनीमा अन्य पश्चिम नेपालका विभिन्न ठाउँहरुको तस्बिरसमेत राखिएको बागलुङ महोत्सव फोटो प्रदर्शनी संयोजक अर्जुन चोखालले बताए ।
‘बागलुङलाई केन्द्रविन्दु प्रदेश नम्बर चार स्तरीय फोटो प्रदर्शनी आयोजना गरेका छौं,’ उनले भने, ‘लुम्बीनी र कर्णालीसम्मका तस्बिर पनि समावेश छन् ।’ बागलुङका दस स्थानीय तहको कृषि, पर्यटन, पशुपालन, घरेलु उत्पादन, जीवनशैली, समाज र मनोरम प्राकृतिक स्थलका आकर्षक तस्विरहरु समेत प्रर्दशनीमा छन् ।

धवलागिरि क्षेत्रका फोटो पत्रकारहरुले खिचेका पोखरा, लुम्बिनी, मुस्ताङ, पर्वत, गुल्मी, म्याग्दी, रुकमदेखि कर्णालीका मुगु र डोल्पासम्म फोटोहरु प्रर्दशनीमा राखिएको फोटो पत्रकार आरेक अदिप्त गिरीले बताए । ‘फोटोको प्रदर्शनीले धौलागिरी र आसपासका क्षेत्रको पर्यटन तथा धार्मिक स्थलहरुलाई झल्काएको छ,’ गिरीले भने,‘ यसले पश्चिम नेपालको समाज र जीवनशैली बुझ्न फोटो प्रर्दशनीले सघाउँछ, नयाँ पुस्तालाई पनि यसमा आकर्षित गर्नु जरुरी छ ।’ यस्ता प्रदर्शनीहरुले फोटो पत्रकार लगाएत क्यामेरासँग खेल्नेहरुलाई पनि उत्प्रेरित गर्ने उनले बताए ।

प्रदर्शनीमा गिरीसँगै फोटो पत्रकार मञ्जुल शाक्य, किरण आचार्य, राम थापा ‘अविरल’, प्रकाश बराल, नरेश कँडेल लगायतका पत्रकारहरु खिचेको तस्विरहरु समेटिएको छ । मुगुको राराताल, मनाङको तिलीचो ताल, उपल्लो मुस्ताङ  लगायतका प्राकृतिक सम्पदाका फोटोले पनि अवलोकनकर्तालाई लोभ्याएको फोटो पत्रकार समुह बागलुङका अध्यक्ष मञजुल शाक्यले बताए ।

‘फोटो अबलोकन गर्न आउनेहरुलाई त्यहाँ पुग्नका लागि प्रेरित गरेको छ,’ उनले भने,‘बागलुङको पञ्चकोट, भकुण्डे, ढोरपाटन लगायतका ठाउँहरुको फोटो हेरेपछि त्यहाँ पुग्नलाई लालायित भएको देखियो ।’ पछिल्लो समय पर्यटन क्षेत्र उद्योगको रुपमा विकास हुँदै गएकाले बागलुङमा यसको विकासका लागि फोटो प्रदर्शनी आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले बताए ।

‘यहाँको व्यापार व्यवसाय बढाउनका लागि पनि पर्यटन क्षेत्रलाई बढावा दिनु जरुरी छ भन्ने हामीलाई लागेको हो,’ भारीले भने,‘जिल्लाका पर्यटकीय क्षेत्रहरुको यो अवधीमा मार्केटिङ गर्न सक्यौं भने जिल्लाको आम्दानीमा पनि बृद्धि हुनेछ । यसैका कारण हामीले यो कार्यक्रम राखेका हौं ।’ फोटो प्रर्दशनीले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा आयोजकले लिएको छ ।

यही पुस २३ गतेसम्म चल्ने महोत्सवमा अहिले दैनिक सयौं जनाले फोटो अवलोकन गर्ने गरेको आयोजकले जनाएको छ । पश्चिम प्याराडाईज नाम दिईएको फोटो प्रदर्शनीमा २० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । महोत्सव स्थल धवलागिरि बहुमखी क्याम्पसको ३ नं. हलमा भइरहेको फोटो प्रर्दशनीको सुरुमा गैरआवसीय नेपाली संघका अधयक्ष भवन भट्टले अवलोकन गरेका थिए । अवलोकनकर्ताले आफुलाई मन परेको तस्विर तत्कालै खरिद गरी लैजान पाउने समेत व्यवस्था मिलाईएको छ । महोत्सवले कला, संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्धनमा सहयोग गर्ने बागलुङ महोत्सवका प्रचार प्रसार संयोजक राजेशचन्द्र राजभण्डारीले बताए ।

प्रकाशित: २१ पुस २०७४ ०८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App