"

महेन्द्रमाला–२०७४

शुक्रबार, २१ पुष २०७४, ०८ : ५७ युवराज गौतम


‘खाट्मान्डु, जहाँ मान्छे, पशु, पत्थर र वृक्षहरू समेत ईश्वर मानिन्छन्। पहाडहरू तन्नेरी छन् अझै पनि तर निष्ठुरी छन् ।’ राजा महेन्द्रको शुभराज्याभिषेकमा काठमाडौँ आएकी प्रसिद्ध लेखक हान सुयिनको ‘द माउन्टेन इज योङ’ पुस्तकमा यस्ता वर्णनहरू भेटिन्छन्। तत्कालीन परिवेशको सुन्दर, सजीव र सरस चित्रण छ पुस्तकमा । उनले काठमाडौँ (काठमान्डु)लाई ‘खाट्मान्डु’ भनेकी छन् । प्रायः विदेशीहरू यस्तै उच्चारण गर्छन्।

काठमाडौँमा भेटिएका सम्भ्रान्त पात्रहरू उन्नी मेनन र उनकी प्रेमिका एनी फोर्डको रोचक प्रेमकथा सुन्दर बुट्टे स्वेटरझँै कलात्मक ढंगले बुनिएको छ, पुस्तकमा । हाल निर्वाचन आयोग रहेको बहादुर भवन (बहादुर शमशेर जबराको निजी निवास) पछि भव्य रोयल होटल बन्यो । राजा महेन्द्रद्वारा सन् १९५६ मा आफ्नो शुभराज्याभिषेकका अवसरमा आमन्त्रित पाहुनाहरूलाई त्यहाँ राखिएको थियो । तीमध्येकै एक थिइन् हान सुयिन। 

५३ वटा राष्ट्रसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न सफल महेन्द्रले ‘नेपाल भारतकै अंग हो’ भन्ने भ्रम चिर्दै संसारलाई नेपाल स्वतन्त्र र स्वाधीन राष्ट्र हो भन्ने चिनाए । प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई चीन र जापान पठाएर उनले कूटनीतिमा नयाँ आयाम थपे र राजा भएको नौ महिनामै नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्य बनाए । 

द फोर फेसेस्, बर्डलेस समर, कास्ट बट् वन स्याडो, डेस्टिनेसन चुङ्किङ्लगायतका झन्डै दुई दर्जन उपन्यास लेखिसकेकी सुयिन (एलिजाबेथ कोम्बर) राजा महेन्द्रकी प्रिय लेखक थिइन् । पेसाले चिकित्सक थिइन् उनी । तर त्यो पेसा सन् १९६० देखि नै परित्याग गरेर पूर्णकालीन लेखक भइन् । सोभियत संघमा बोल्सेभिक क्रान्ति हुनुभन्दा एक वर्ष पहिले (सन् १९१६) चीनको हेनानमा बेल्जियन आमा र चिनियाँबाबुबाट जन्मेकी थिइन् उनी । पछि ब्रिटिस नागरिकता लिएर हङकङमा बसिन्। 

उनले पहिलो विवाह चीनका सैनिक अफिसर ताङ पाओ हुआङसँग, दोस्रो विवाह ब्रिटिस गुप्तचर अफिसर लिओन कोम्बरसँग र तेस्रो विवाह भारतका सैनिक अफिसर भिन्सेन्ट रत्नस्वामीसँग गरिन् । यो गजबको संयोग थियो । भनिन्छ, राजा महेन्द्रको आग्रहमा नै हानले सन् १९५८ मा नेपाल र नेपालीलाई केन्द्रविन्दु बनाएर ‘द माउन्टेन इज् योङ’ नामक रोचक उपन्यास लेखेकी हुन् । यो पुस्तक लाखौँले पढे । नेपाललाई चिनाउने चलचित्र, पुस्तक वा प्रचार सामग्रीको अभाव भएका बेला हानको पुस्तक जगत् प्रसिद्ध हुन पुग्यो । त्यसपछि उच्चस्तरका विदेशी पनि नेपाल आउन थाले।

कुन बेला कसलाई नजिक राख्दा राष्ट्रलाई के फाइदा हुन्छ भन्ने बुझेका महेन्द्रको लालित्यपूर्व लीला विचित्रको थियो। भारतमा इन्दिरा गान्धी प्रधानमन्त्री भएका बेला उनकै केही मन्त्री र उच्चपदस्थ अधिकारीलाई राजा महेन्द्रले गुप्तरूपमा नगद र उपहार पठाउने गरेको लगायतका अनेकौँ रोचक प्रसंग राजा महेन्द्रका निकट रहेका वृद्धहरू सुनाउँछन्।

५३ वटा राष्ट्रसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न सफल महेन्द्रले ‘नेपाल भारतकै अंग हो’ भन्ने भ्रम चिर्दै संसारलाई नेपाल स्वतन्त्र र स्वाधीन राष्ट्र हो भन्ने चिनाए । प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई चीन र जापान पठाएर उनले कूटनीतिमा नयाँ आयाम थपे र राजा भएको नौ महिनामै नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्य बनाए । चूडाप्रसाद शर्माले परराष्ट्रमन्त्रीका हैसियतले संयुक्त राष्ट्रसंघमा सम्बोधन गरेपछि कैयन् राष्ट्रका प्रतिनिधिले ‘नेपाल भन्ने नाम आजै मात्र सुनियो’ भनेर आश्चर्य व्यक्त गरेको प्रसंग सहिद दशरथ चन्दका प्रिय मित्र पुराना राजनीतिज्ञ रामहरि शर्माले बत्तीस पुतलीस्थित उनकै निवासमा सुनाएका थिए। 

“गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री (जोशी) लाई मृत्युदण्ड दिने श्री ३ जुद्ध शमशेरले टंकप्रसाद दाई र मलाई ‘बाहुन र गाई मार्नु हुँदैन’ भनेर प्राणदण्ड दिएनन् । नत्र मैले पनि पिण्ड खाइसक्या हुन्थेँ” रामहरि शर्माले हाँस्दै भनेका थिए।

राजा र राजनीतिज्ञहरू ईश्वर, धर्म, सिद्धान्त, निष्ठा र इमानले चलेका कारण त्यो कालखण्डमा राष्ट्र अलिकति पनि विचलित हुन पाएन । सदाचार, नैतिकता, बफादारी र देशभक्तिको प्रबल भावनाका आधारमा जनताले पनि नेताको सही मूल्यांकन गर्थे । देश–विदेशमा नेपालविरुद्ध कुनै गतिविधि हुन लागेको सुइँको पाउनेबित्तिकै राजदरबारमा विश्वासिला व्यक्तिहरू बोलाएर अनिष्टको कालो बादल कसरी हटाउने भनेर राजा महेन्द्रले सुझाव माग्थे । उच्च रक्तचाप भएका कारण यदाकदा झनक्क रिसाए पनि तत्कालै शान्त बनेर “अघि तिमीसँग रिसाउने मेरो हाइ ब्लड प्रेसर हो है, म त रिसाएको छैन नि” भनेर उनी ठट्टा गर्थे भन्ने अनुभव शैलेन्द्रकुमार उपाध्याय लगायतका पुराना राजनीतिज्ञहरूले आफ्ना लेख र अन्तर्वार्तामा उल्लेख गरेका छन्। 

कतैबाट पनि शक्तिको दुरुपयोग नहोस् भनेर राजा महेन्द्रले आफ्ना भाइहरू हिमालय शाह र वसुन्धरा शाहलाई राजनीतिज्ञ र कूटनीतिज्ञहरूसँग टाढै बस्नू भन्ने आदेश दिएका थिए । शक्तिकेन्द्रहरू धेरै भए भने कतै न कतै विदेशीको घुसपैठ हुन सक्छ भन्ने बुझेका थिए महेन्द्रले । कुनै क्षमतावान् मन्त्री आफूसँग भित्रभित्रै ठुस्किएको छ भन्ने गुप्त सूचना पाएपछि उनी आफैँ ती मन्त्रीका घरमा गएर उनका परिवारलाई आर्थिक सहयोग दिने गरेको कुरा राजा महेन्द्रका समयमा मन्त्री भएका भुवनलाल प्रधानले उल्लेख गरेका छन् । त्यसो गर्दा योग्य व्यक्तिहरू नटाढिने र राजकाजमा मद्दत पुग्ने भएकाले सक्षम, इमानदार र योग्यहरू राजा महेन्द्रसँग नजिक भइरहन्थे भन्ने बुझिन्छ । धर्मरत्न यमी लगायतका युवालाई मन्त्री बनाएर उनले काठमाडौँ उपत्यकामा सक्रिय गराएका थिए भने काठमाडौँबाहिर पनि हिमाल, पहाड र तराईका सक्षम र इमानदार व्यक्तिहरूलाई राजा महेन्द्रले विभिन्न दायित्व दिएका थिए। 

साहित्यकार, कलाकार, खेलाडी, प्राध्यापक, कूटनीतिज्ञ, उद्योगी, व्यापारी, पत्रकार, लेखक, तान्त्रिक विभिन्न धर्मगुरु, अध्ययनशील विद्यार्थी, उच्च सैनिक अधिकृतहरू, सुरक्षा अंगका महत्पूर्ण व्यक्तिहरू मात्र होइन, देशदेशान्तरमा बस्ने योग्य नेपालीहरूको नाम संकलन गरेर उनले ‘घर व्यवहारका लागि चाहिने आवश्यक खर्च म जुटाइदिउँला, राष्ट्रका निम्ति डटेर काम गर्नू’ भन्दै पउत्प्रेरित गर्थे भन्ने कुरा संगीतकार अम्बर गुरुङ, जनकवि धर्मराज थापा, कलाकार लैनसिंह बाङ्देललगायतले लेखेका छन् । योग्यता चिन्ने योग्यता मानिसका धेरै सद्गुणमध्येको एक हो। त्यसैले, स्कुल, कलेज नपढे पनि स्वअध्ययनका आधारमा राजनीति, साहित्य, कूटनीति, धर्म–दर्शनलगायत विविध विषयको गहिरो ज्ञान राख्ने राजा महेन्द्र विश्वप्रसिद्ध राजनेताहरूसँग निर्भीकतापूर्वक, बौद्धिक र तर्कपूर्ण बहस गर्न सक्थे । अहिलेको जस्तो सञ्चार सुविधा नभएको त्यो युगमा हुलाकबाट आउने सीमित पुस्तक र पत्रपत्रिका पढेर युरोप र अमेरिकालगायत विभिन्न राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग समसामयिक राजनीति र कूटनीतिबारे संवाद गर्ने क्षमता राख्नु चानचुने कुरा थिएन। 

सन् १९५५ मा राजा महेन्द्रको प्रयासले नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भयो। भारतीय संस्थापन पक्षको विदेशनीति छरछिमेकका साना देशहरूका निम्ति पीडक बन्दै गएका कारण नेपाल, भुटान र सिक्किम (त्यसबेला सिक्किम स्वतन्त्र थियो) मिलेर ‘हिमालयन फेडरेसन’ नामक संगठन बनाउने प्रयास पनि भएको पाइन्छ । भनिन्छ, यो राजा महेन्द्रकै सोच थियो। 

असंलग्न राष्ट्रहरूको संगठनमा संस्थापक सदस्य बनेर नेपालले हाम्रो परराष्ट्रनीति तत्कालीन दुई महाशक्ति अमेरिका र सोभियत संघभन्दा पृथक् छ भन्ने सन्देश दियो । यस्तै राष्ट्रसंघमा कतिपय विषयमा विवाद हुँदा नेपाल साहसपूर्वक तटस्थ बसेको उदाहरणसमेत पाइन्छ।

युगोस्लाभियाको राजधानी बेलग्रेडमा सन् १९६१ मा असंलग्न राष्ट्रहरूको प्रथम शिखर सम्मेलन भयो । त्यसमा तत्कालीन युवराज वीरेन्द्रले पर्यवेक्षकका रूपमा भाग लिएका थिए । राजगद्दीको उत्तराधिकारीलाई स्वदेश र विदेशको अनुभव प्राप्त होस् भनेर जेठा छोरालाई स्वदेशका विकट गाउँदेखि अन्तर्राष्ट्रिय सम्मेलनहरूमा समेत सहभागी गराउने राजा महेन्द्रको सोच बुद्धिमत्तापूर्ण देखिन्छ । कायरोमा भएको असंलग्न राष्ट्रहरूको दोस्रो शिखर सम्मेलनमा सहभागी हुन राजा महेन्द्र त्यसतर्फ प्रस्थान गर्नुअघि युवराज वीरेन्द्रलाई पहिलोपल्ट राजकीय परिषद् र राजप्रतिनिधि परिषद्को कार्यभार सुम्पिएको थियो। 

चीन र भारतबीच कूटनीतिक सन्तुलन मिलाउन राजा महेन्द्रले अथक प्रयत्न गरेर सफलता प्राप्त गरेको पुराना कूटनीतिज्ञ प्रा. यदुनाथ खनालका आलेखहरूमा पाइन्छ । चीन र भारतको भन्दा फरक राजनीतिक प्रणाली स्थापना गर्न सकिएमा जटिल भूराजनीतिक भुँवरीबाट राष्ट्रलाई मुक्त राख्न सकिन्छ भन्ने अभिप्रायले ‘दलविहीन’ प्रणाली चलाए राजा महेन्द्रले। उनले दशवर्षपछि संसदीय पद्धति (बहुदलीय प्रणाली) पुनस्र्थापना गर्ने मनसायले कानुन र संविधानका ज्ञाता शम्भुप्रसाद ज्ञवालीलाई बहुदलीय व्यवस्थामा आधारित संविधान मस्यौदा गर्न लगाएको पूर्वप्रधानमन्त्री तथा राजा महेन्द्रका राजनीतिक सल्लाहकार डा. तुलसी गिरीले बताएका छन् । बनारस नजिकै सारनाथमा निर्वासित जीवन बिताइरहेका विश्वेश्वरप्रसाद  कोइरालालाई बोलाएर उनको सहयोग लिने राजा महेन्द्रको अभिप्राय रहेको पाइन्छ । २०२८ फागुन ७ गते बहुदलीय संविधान घोषणा गर्ने तयारी भइरहेका बेला २०२८ माघ १७ गते चितवनमा राजा महेन्द्रको ५२ वर्षको उमेरमै निधन भयो।

राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, स्वतन्त्रता र स्वाभिमानप्रति सदैव समर्पित राजा महेन्द्रलाई यु.जी.कृष्णमूर्ति लगायत कतिपय लेखकले ‘गरिबका राजा’ भनेका छन् । ‘कोही धनी असाध्ये, कोही गरिब माग्ने, सक्तिनँ देख्न भन्छिन् सन्तान थरिथरिका’ भन्ने ‘आमाको पुकार’ कविता लगायत सयौँ गीत, कविता, भाषण र अन्तर्वार्ताहरूमा उनले आर्थिक, सामाजिक र जातीय विभेद हटाउनुपर्ने विचार व्यक्त गरेका छन् । जमिनदारहरूका हजारौँ बिगाह जमिन खोसेर उनले भूमिहीनहरूलाई बाँडे भने कारखाना, बाटो, स्कुल, कलेज, अस्पताल आदि खोलेर चौध अञ्चलमै विकासको लहर फैलाए । ‘राष्ट्र सर्वोच्च हुन्छ’ भन्ने स्पष्ट मान्यता तथा नेपालीले नै राष्ट्र उठाउनुपर्छ भन्ने उनको प्रबल राष्ट्रवादी चिन्तनलाई कतिपय व्यक्तिले ‘महेन्द्रीय राष्ट्रवाद’ भन्दै व्यंग्य गर्ने गरेका छन्। 

नेपालमा विदेशीको हस्तक्षेप, खटनपटन र दादागिरी हुनु हुँदैन भन्नु के महेन्द्रको अपराध थियो ? तराई, पहाड र हिमाली क्षेत्रका सबै जनताले समान अवसर पाउनुपर्छ भन्नु के गलत थियो ? ‘जंगली मुलुक’ भनेर विदेशीले हेपिरहेका बेला ५३ राष्ट्रसँग मित्रता गरेर धनी राष्ट्रहरूबाट सहायता भित्र्याउनु के उनको निजी स्वार्थ थियो ? विदेशी विचारभन्दा राष्ट्रवाद उत्तम हुन्छ भन्नु के उनको मूर्खता थियो ? दलीय स्वार्थभन्दा राष्ट्रिय स्वार्थ उच्च र शिरोधार्य हुन्छ भन्नु के महेन्द्रको अक्षम्य भूल थियो ? होइन भने उनलाई किन ‘अपराधी’ मान्ने ? राष्ट्रघाती र विदेशी एजेन्टहरूलाई काँधमा बोकेर महेन्द्रलाई गाली गर्नेहरू राष्ट्रवादी हुन् कि राजा महेन्द्र ? 

लिन्डन बी. जोन्सन राष्ट्रपति भएका बेला राजा महेन्द्रले गरेको अमेरिका भ्रमण (सन् १९६७) निकै चर्चित रह्यो । यस्तै महारानी एलिजाबेथ (द्वितीय) को निमन्त्रणामा राजा महेन्द्रले गरेको ब्रिटेनको भ्रमणबाट नेपाली कूटनीति धेरै व्यापक भएको विश्वास गरिन्छ । भारत, चीन, अमेरिका, ब्रिटेनलगायत एसिया, अफ्रिका र युरोपका राष्ट्रको भमण गरे महेन्द्रले । स्वदेशका कुनाकुनामा पैदल यात्रा गरेर नेपालीका आँसु, हर्ष र पीडा नजिकैबाट नियाले । भूमिसुधार र विकेन्द्रीकरण मात्र होइन, पञ्चवर्षीय योजना उनैले सुरु गरे।

अमेरिकी राष्ट्रपति जोन्सनले ह्वाइट हाउसको दक्षिणी प्रांगणमा आयोजना गरेको स्वागत समारोहमा दिएको भाषणमा राजा महेन्द्रको योगदानको चर्चा गर्दै नेपाललाई आधुनिक युगमा प्रवेश गराउन राजाले खेलेको भूमिका प्रशंसनीय छ भनेका थिए । उनले बुद्धको जन्मस्थलबाट आएका राजाको स्वागत गर्न पाउँदा आफू गौरवान्वित भएको बताएका थिए । उनको भाषणपछि त्यसको प्रत्युत्तरमा राजा महेन्द्रले दिएको भाषण अहिले पनि पढ्न पाइन्छ । महेन्द्रले नेपाली कूटनीतिलाई कसरी उचाइमा पु¥याए भन्ने बुझ्न चाहनेहरूले उनका बारेमा गहिरो अध्ययन गर्नैपर्ने हुन्छ । भाषणमा राजा महेन्द्रले सात वर्ष पहिले पनि आफू अमेरिका आएको र  यो दोस्रो भ्रमण पनि त्यतिकै स्मरणीय रहने बताएका थिए । राजा महेन्द्र पहिलोपल्ट अमेरिका भ्रमणमा जाँदा डी.डी. आइजनहावर राष्ट्रपति थिए । पाँचतारे जर्नेल रहिसकेका आइजनहावर राजा महेन्द्रको स्वागतका लागि आपैmँ विमानस्थलमा पुगेको कुरा अमेरिकी सञ्चारमाध्यमले प्रचार गरेपछि नेपालका राजा महेन्द्र लर्तरो राष्ट्रनायक होइन रहेछन् भन्ने चर्चा भएको रहेछ। 

आजको नेपाली राजनीति र कूटनीतिसँग तुलना गर्दै नेपालका कतिपय ‘बुद्धिजीवी’ (?) र राजनीतिज्ञ (?) राजा महेन्द्रलाई सराप्ने गर्छन् । इतिहास साक्षी भएकाले प्रदूषणयुक्त दुराशयपूर्ण प्रश्नहरूको जवाफ इतिहासले नै दिन्छ । भारतको संविधानका प्रमुख मस्यौदाकार डा. भीमराव अम्बेडकरले राष्ट्रलाई तुच्छ र विदेशीलाई उच्च ठान्ने झड्केला बुद्धिजीवीप्रति प्रहार गर्दै भनेका छन्, “जहाँ बहुसंख्यक बुद्धिजीवी राष्ट्रप्रति इमानदार हुँदैनन्, त्यो राष्ट्रको सत्यानाश हुन्छ ।” सायद त्यसैले होला, आज नेपाल झन्झन् अन्योल र अस्थिरताको भुँवरीमा परिरहेको छ। 







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

अनमोल केसी पर्यटन प्रबद्र्धनमा

अनमोल केसी पर्यटन प्रबद्र्धनमा

नायक अनमोल केसी आफू अभिनित फिल्मको प्रमोसन र रिलिजपछि हलमा दर्शकसँग भेट्न बाहेक अन्य समयमा कहाँ के गर्दैछन् भन्ने उनको...

एकसाथ ‘प्रणय’ र ‘अतिरिक्त’

एकसाथ ‘प्रणय’ र ‘अतिरिक्त’

साहित्यकार डा. डिआर उपाध्यायको उपन्यास ‘अतिरिक्त’ र एल्बम ‘प्रणय’ एकसाथ सार्वजनिक भएको छ। ...

फूलमानको ‘इन्द्रेणीको गीत’ उत्कृष्ट

फूलमानको ‘इन्द्रेणीको गीत’ उत्कृष्ट

पत्रकार तथा कवि फूलमान बलको कविता ‘इन्द्रेणीको गीत’ नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय कविता महोत्सव’मा उत्कृष्ट बनेको छ। ...

रंग उत्सवमा नेपाल-भारत  नाटक

रंग उत्सवमा नेपाल-भारत नाटक

नेपाल र भारतका ६ नाटकको मञ्चन शुक्रबारबाट राजधानीमा शुरु भएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा बत्तिसपुतलीस्थित शिल्पी...