coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हचुवाको भरमा सडक अनुगमन

रास्कोटको सिप्खाना बुडिसैनमा सडकमा काम गर्दै स्थानीय ।

कालिकोट– जिल्लाको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकामा निर्माण भएको सडक अनुगमनमा लापरवाही भएको पाइएको छ । सडक अनुगमन गर्दा जिल्ला सदरमुकामबाट एक–दुईजना मात्र आएर हचुवाको भरमा अनुगमन गरेको स्थानीयले गुनासो गरेका छन् ।

रास्कोट नगरपालिकामा ग्रामीण पहुँच कार्यक्रम (रयाप ३)ले निर्माण गरेको सडकखण्ड रातारात अनुगमन गरिएको हो । शान्तिघाट, स्यूना–सिपखाना सडकखण्डमा करौडौं रुपैयाँ खर्च गरी सडक निर्माण गरिएको हो ।
सन् २०११ देखि रास्कोट नगरपालिकामा ग्रामीण पहुँच कार्यक्रममार्फत सडक निर्माण गरिँदै आएको छ । ग्रामीण पहुँच कार्यक्रमले ३२ करोड ८१ लाख लागतमा सडक निर्माण गरेको थियो । त्यसमध्येको ३० करोड १२ लाख ८० हजार मजदुरलाई ज्याला भुक्तानीमा खर्च भइसकेको छ । ‘३० करोड १२ लाख ८० हजार मजदुरले पाएका छन्,’ ग्रामीण पहुँच कार्यक्रमका कार्यक्रम अधिकृत सुनीलबाबु श्रेष्ठले भने, ‘सडकमा जम्मा ७२ वटा सडक निर्माण समूहले काम गरिरहेका छन् ।’

सडक प्रभावित क्षेत्रका स्थानीयले राम्रोसँग निर्माण कार्य सम्पन्न गरेर मात्रै सडक ग्रामीण पहुँच कार्यक्रमले नगरपालिकालाई हस्तान्तरण गर्न माग गरेका छन् । कार्यक्रमले सडक प्रभावित क्षेत्रका स्थानीयको माग पूरा नगरी जिल्ला समन्वय समिति पदाधिकारी, नगरपालिका पदाधिकारीलाई रातारात अनुगमन गरेर सडक हस्तान्तरण गर्न खोजेको स्थानीय जयमल शाहीले बताए । ‘सडक निर्माण गर्दा हाम्रा भौतिक संरचना भत्किएका छन् । जग्गा र भत्किएका संरचनाको मुआब्जा पाएका छैनौ,’ उनले भने, ‘जिल्लाका मान्छे ल्याएर रातारात सडक नगरपालिकालाई हस्तान्तरण गर्न खोजियो । यो हामीलाई मान्य छैन ।’

ग्रामीण पहुँच कार्यक्रमले सडक निर्माणमा मजदुरले आयआर्जन गर्न खोजेको भएपनि केही बिचौलियाका कारणले बदनियत गर्न सडक निर्माण कार्यमा निर्माणस्थल वरपरका भौतिक संरचना भत्किएर त्यसको निर्माण नगरी नै आयोजना हस्तान्तरण गर्न थालिएको स्थानीय लालबाबु सिम्खडाले बताए । ‘ग्रामीण पहुँच कार्यक्रमको लक्ष्य राम्रै थियो,’ उनले भने, ‘कार्यक्रमका बिचौलिया लागेर रोजगारीमा नै बाधा गर्ने भएँ ।’ ग्रामीण पहुँच कार्यक्रमले जिल्लाका जारकोट–राम्नाकोट सडकखण्डमा पनि सडक निर्माण कार्य गरिरहेको छ । जारकोट राम्नाकोट सडकखण्डको निर्माणले तीव्रता दिइएको छ । शान्तिघाटदेखि सिपखाना सडकखण्डको सबै निर्माण कार्य पूरा भएको छ ।

नेपाल सरकार र बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभागको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण सञ्चालन भएको हो । तत्कालीन जिल्ला विकास समितिसँग समन्वय गरेर सञ्चालित ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण रास्कोट र राम्नाकोटमा लागू भएको हो । नेपालका सडक सन्जालबाट बन्चित मध्य र सुदूर पश्चिमका विभिन्न जिल्लामा श्रममा आधारित, वातावरणमैत्री, सहभागितात्मक पद्धतीद्वारा सञ्चालन गरिएको ग्रामीण पहुँच कार्यक्रमका कार्यक्रम अधिकृत सुनीलबाबु श्रेष्ठले बताए ।

कुनै पनि बिष्फोटक पदार्थ र उपकरण प्रयोगविना नै अधिकतम स्थानीय स्रोत, साधन र जनशक्ति प्रयोग गर्दै सडक निर्माण कार्य गरिएको श्रेष्ठले बताए । स्थानीय स्तरमा पर्याप्त मात्रामा रोजगारी सृजना गर्दै विपन्न तथा पछाडि पारिएका वर्ग तथा समुदायको जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यले आयोजना लागू भएको श्रेष्ठले बताए । रास्कोटमा यो अन्तिम पटकको अनुगमन भएको बताइएको छ । स्थानीयले फेरि पनि अनुगमन गर्न जरुरी भएको बताएका छन् । सडक निर्माण गर्दा सडक प्रभावित क्षेत्रको समेत अध्ययन र अनुगमन गरिनु पर्ने स्थानीय दुर्गराज शाहीले बताए ।



 

प्रकाशित: २० पुस २०७४ ०२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App