८ वैशाख २०८१ शनिबार
अन्य

कल्लाबारीका चार पुस्ते लाहुरे

पहिलो र दोस्रो विश्वयुद्धमा पाल्पाका धेरै मगर इस्ट इन्डिया कम्पनी सरकारको सेनामा भर्ती भए । विश्वयुद्धमा मर्नेहरूमा पनि सबैभन्दा बढी पाल्पाली मगर नै थिए । त्यतिबेला सुरु भएको भर्ती परम्परा अहिलेसम्म पाल्पाका मगरहरूमा कायमै छ । अचेल मगर समुदायमा लाहुरे हुनु पुख्र्यौली पेसा र संस्कार बनिसकेको छ । पाल्पा अर्थात् मगरात भूमि । पाल्पाको सदरमुकाम टाङसिङ अर्थात् तानसेन । इतिहास खोतल्दा मगर भाषामा ‘टाङसिङ’ ‘टाङ’ भन्नाले ‘कर्घा’ (लुम) र ‘सिङ’ भन्नाले ‘काठ’ (रूख) बुझिन्छ ।

मगर भाषामा एक प्रकारको सल्ला प्रजातिलाई ‘टाङसिङ’ भनिन्छ । टाङसिङ वरिपरि कर्घा बनाउने रूख पाइने र कर्घा बनाई घरबुना (कपडा) बनाउने चलन मगरात राज्यकालमै थियो । त्यसैले यसको नाम मगर भाषाको टाङसिङबाट अपभ्रंश भएर तानसिन हुँदै तानसेन भएको हो । यहाँ अहिलेसम्म घरेलु तान अस्तित्वमा छन् । मगर भाषामा तानको अर्थ ठूलो र सिङको अर्थ बस्ती हो भन्नेहरू पनि छन् । त्यसैको भावार्थमा तानसेनको नामकरण गरिएको भन्नेहरू पनि पाइन्छन् ।


‘तान’ को अर्थ अग्लो, सुरिलो तथा ‘सिङ’ को अर्थ रूख हो । सुरिला रूखहरूको जङ्गलको ठाउँलाई तानसेन नाम दिइएको दाबी गर्नेहरू पनि भेटिन्छन् । जेहोस् यी सबै तथ्यले ‘तानसेन’ मगर भाषाबाटै बनेको देखिन्छ । पाल्पा नेपालको सबैभन्दा धेरै मगर जाति भएको जिल्ला हो ।

डाँडैमा लमतन्न छ, टाङसिङ । अचेल टाङसिङलाई सबैले तानसेन नै भन्छन् । अथवा धेरैले टाङसिङलाई भुलिसकेका छन् । टाङसिङ त अब केवल डाँडामाथिको जुन भइसकेका मगर–मगर्नीका मुखमा मात्रै झुन्डिएको छ । गोरखा राज्य विस्तार कालदेखि नै आफ्नो भाषा र संस्कृतिमा अतिक्रमण, दमन भोगेका मगरहरू मगरात सभ्यताका सुन्दर नाम बिर्सिँदैछन् । बाबुबाजे र पुर्खाले आर्जेका वीरताका कहानी सम्झनुबाहेक अर्को विकल्प छैन उनीहरूसँग । ब्रिटेनको साम्राज्य जोगाइदिन लड्दा अदम्य साहस, पराक्रम देखाएर पाएको युद्धपदक भिक्टोरिया क्रस (भिसी), थुप्रै मगरहरूले पाएका ग्यालेन्ट्री क्रस (जिसी) एमसी र विभिन्न नामधारी पदक, उनीहरूले पाएको पदवी ‘बहादुर’, वीरहरूका पनि ‘महावीर’ को उपमामाथि गर्व गर्नमै मस्त छन् । वास्तवमा प्रचार गरिएका ती बहादुरी केका लागि थिए ? भन्ने भेउ पाएकै छैनन् ।

यही टाङसिङको उत्तरमा छ, खानीगाउँ गाविस वडा नं. ३ स्थित सुन्दर मगरगाउँ कल्लाबारी । यो वडामा उर्लेनी, टाकिचौर र कल्लाबारी गरी तीन टोल छन् । उर्लेनी टोलमा एक–दुई घर बाहुनका भए पनि टाकिचौर र कल्लाबारीमा मगरको मात्रै बसोबास छ । यी दुवै गाउँबाट पहिलो र दोस्रो विश्वयुद्धताका धेरै मगर भर्ती भएका थिए । कल्लाबारीमा पचभैया, राना, सारु, सुमै, साठीघरेलगायत मगरको बस्ती छ । यो पूरै मगरबस्ती हो । यहाँका हरेक घरबाट एकजनादेखि सातजनासम्म एकैपटक लाहुरे भएको रेकर्ड छ ।
राम्रो कमाइ भएपछि सहर झर्नु नौलो होइन । यहाँका धेरै मगर पनि पाल्पाको सदरमुकाम तानसेन झरिसके । अहिले यहाँ २६ घरधुरी मात्रै छन् । तानसेनबाट १२ किलोमिटर टाढा उत्तरमा छ कल्लाबारी गाउँ । पैदल डेढ घन्टा दूरी । कल्लाबारीको पूर्वमा खानीगाउँको वडा नं ८ झाँक्रीथान गाउँ छ । पश्चिममा स्याङ्जाको बिर्घा, उत्तरमा स्याङ्जाकै मिर्मी र दक्षिणबाट गुल्मीको रिडीले घेरिएको छ कल्लाबारी ।

यही सुन्दर गाउँ कल्लाबारीमा जनार्दन पचभैयामगरको परिवार थियो । अङ्ग्रेजले रोपिदिएको लाहुरे बीउ यो परिवारमा बेस्सरी झाँगियो, लहरो बनेर । अङ्ग्रेजले मगर–गुरुङ समुदायको पुस्तौँ पुस्तालाई लाहुरे संस्कृतिमा कहिल्यै निस्कन नसक्नेगरी जाकिदिएको प्रतिनिधि परिवार हो– जनार्दन पचभैयामगर परिवार ।
जनार्दन पचभैयामगर पहिलो विश्वयुद्ध सुरु नहुँदै सन् १९११ सालतिर तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारको सेनामा भर्ती भए । पहिलो विश्वयुद्धमा अङ्ग्रेजकै तर्फबाट डरलाग्दा युद्ध गरेका उनी सकुशल थिए । हजारौँ गोर्खाली युद्धमै हराएका बेला उनी जस्ताको तस्तै घर फर्किए । ब्रिटेनको साम्राज्य जोगाइदिन पहिलो विश्वयुद्धमा घमासान लडाइँ गरेका उनी जेठो छोरो रेखीरामलाई लाहुरे बनाउन चाहँदैनथे । संयोग कस्तो भने, ब्रिटेनले खाइलाग्दा मगर युवा भर्ती गर्न पाल्पाको रानीघाटमै भर्ती सेन्टर खोलेको थियो । रानीघाट रेखीरामको घरबाट नजिकै थियो । वरपर मगरको घनाबस्ती र तीन जिल्लाको पायक ठाउँ भएकाले ब्रिटेनले रानीघाटमै भर्ती सेन्टर रोजेको थियो । भर्ती हुनेमा सबैभन्दा धेरै खानीगाउँकै मगर थिए, रेखीराम पनि त्यही घानमा मिसिए ।

रेखीरामका बुबाले छोरो भर्ती गराउन नचाहे पनि उनलाई लाहुर जाने रहर पलायो । त्यसमाथि गल्लावालले पैसा कमाउने लोभ देखाइ दिएपछि के चाहियो ? रेखीराम भागेरै भर्तीकेन्द्र लागे । पाल्पा, स्याङ्जा र गुल्मीबाट गल्लावालहरू मगर युवा खोजेर भर्ती गराउन रानीघाट सेन्टरमा ल्याउँथे । गल्लावालहरू मगर युवा खोज्दै पाल्पा, स्याङ्जा र गुल्मीका गाउँगाउँ छिर्थे र रानीघाट ओसार्थे ।

दोस्रो विश्वयुद्ध चलिरहँदा सन् १९४० मा गल्लावालसँग भागेर रेखीराम पनि लाहुरे बने । झन्डै पाँच वर्ष युद्ध गरेपछि दोस्रो विश्वयुद्ध समाप्त भयो । रेखीराम नाम कटुवामा परे । लडाइँमा बल्लतल्ल बचेका उनी जागिर खाने रहर हुँदाहँुँदै घर फर्काइँदा निकै दुःखी भए । तर, घर आएपछि उनलाई राम्रै भयो । ‘जसका भैंसी उसको वन, जसका छोरा उसको धन’, रेखीरामलाई यही उखान फाप्यो । उनका आठ छोरा जन्मिए ।

रेखीराम जेठो छोरो उदयबहादुरलाई आफ्ना बुबालेझैँ लाहुरे बनाउन चाहँदैनथे । तर, उदयबहादुर बाबुको इच्छाविपरीत गल्लावालसँग सुटुक्क पक्लिहवा गएर लाहुरे भए । भर्ती लाग्नेहरू धमाधम लडाइँमा मर्न थालेकाले माइला खुमबहादुर र साइँला वीरबहादुर भने गल्लावालले अनेक प्रलोभन देखाएर फकाउँदा पनि लाहुर जान मानेनन् । गल्लावालले दिनदिनै घरै आएर हैरान बनाएपछि भागेर लेकतिर गए र पछि तत्कालीन सरकारको कर्मचारी भए । उनीहरू फलामको बाकसमा पैसा बोक्ने काम गर्थे । जतिबेला नेपालमा तामा, पित्तलका सिक्का चलनचल्तीमा थियो । ‘विश्वयुद्धताका तत्कालीन राणा प्रधानमन्त्रीले उर्दी जारी गरेर भर्ती जानुपर्ने भएपछि हाम्रा पूर्खाहरू नचाहेरै भर्ती भएको इतिहास छ’ जनार्दन पचभैयामगरका चारौँ पुस्ताका देव पचभैया भन्छन्, ‘त्यही लाहुरे प्रथा मगर समुदायमा बिस्तारै संस्कार बन्यो । अहिले लाहुर नजानु सँस्कृति विरोधी जस्तै हो ।’

काइँला चक्रबहादुर गल्लावालको बहकाउमा परेर लाहुरे भइहाले । उनी जमदार भएर रिटायर्ड भए । उनका दुई छोरा पनि लाहुरे भए । राइँला टमबहादुर पचभैयामगरले पनि बाउको सल्लाह मानेनन् । उनी पनि भागेरै लाहुरे भए । विसं १९९५ असार १५ गते जन्मिएका उनी १३ औं आसाम राइफलमा भर्ती भएका थिए । आर्मी नम्बर १३०८४९ का उनले ३२ वर्ष जागिर गरेर सुवेदार मेजरसम्म भए । ग्वाइँला लालबहादुर पचभैयामगर पनि भारतीय सेनामा भर्ती भए ।

राइँला टमबहादुरका पनि चार छोरा जन्मिए । चारमध्ये दुई छोरा भर्ती भए । जेठो मीनबहादुर पचभैयामगर भारतीय सेनामा भर्ती भए । अहिले उनी सुवेदार पदमै कार्यरत छन् । ‘लाहुरे हुनु मगरहरूको पुख्र्यौली पेसाजस्तो भयो, त्यही भएर हाम्रो पूर्खा नै भर्तीमा लाग्यो,’ सुवेदार मीनबहादुर भन्छन्, ‘पहिले उर्दी जारी गरेर भर्ती धपाउँदा बाध्यताले पूर्खाहरू भर्ती भए । आजभोलि पेसा भइसक्यो ।’ माइला भर्ती भएनन् । साइँला हुमबहादुर पनि भारतीय सेनामा भर्ती भए । सात वर्षपछि जागिर छाडेर आएका उनी नेपाल दङ्गा प्रहरीमा कार्यरत छन् । सुरुमा बाबुले नचाहँदा नचाहँदै भागेर लाहुरे हुने चलन हुमबहादुरसम्म आइपुग्दा मगरहरूको पुस्तैनी पेसाझैँ भइसकेको थियो । त्यसैले होला, पल्टनमा हुँदा पाकिस्तान र भारत, कास्मिरको युद्धमा पटकपटक लडेका टमबहादुरले सबै छोरालाई लाहुरे बनाउन भरमग्दुर प्रयास गरे । तैपनि, दुई भाइ छोराले लाहुरे हुन मन गरेनन् । कान्छो छोरो देव पचभैयामगर अहिले पत्रकारितामा जमिरहेका छन् । पल्टनमा हुर्केबढेका देव लाहुरे भएको देख्न चाहन्थे टमबहादुर, त्यो पनि अफिसर तहको । बुबाले राइफल नम्बर बिर्सँदा बेस्मारी पिटाइ खाएको र अनगिन्ति दुःख पाएको देखेका देवमा अरू मगर युवामा झैँ लाहुरे बन्ने इच्छै जागेन ।

बुबाले फकाउँदा, बल गर्दा पनि देवको मन बदलिएन । देवको नजरमा सामान्य गल्तीमा पनि नसोचेको सजाय पाइने लाहुरे पेसा राम्रो छैन । ‘कष्टकर र दुःखदायी पल्टने जीवन नजिकबाट देखेका उनी ‘बाहिर देखिएजस्तो सान’ लाहुरे जीवनमा नभएकोले त्यतातिर फर्किएका छैनन् ।

जनार्दन पचभैयामगरले झैँ विश्वयुद्धताका पाल्पाका धेरै मगरले ब्रिटेनकै लागि छातीमा गोली थापे । विश्वयुद्धमा सबैभन्दा धेरै मगर भर्ती भएका थिए, तीमध्ये धेरै पाल्पाका थिए । विश्वयुद्धका बेला भागाभाग भएर, नाम कटुवामा परेर, रिजर्भ फोर्समा आएका पाका उमेरका लाहुरेहरू पाल्पामा केही वर्ष पहिलेसम्म टोलैपिच्छे पाइन्थे । अहिले प्रायः सबैको निधन भइसकेको छ । यदाकदा शिलाजस्तै पाइनुबाहेक अहिले पाल्पामा विश्वयोद्धा भेटिँदैनन् ।

कल्लाबारीझैँ पाल्पाका बौघागुम्बा, फोक्सिङकोट, चिर्तुङधारा, दमगडाको सराई, चिदिपानी, पूर्वी पाल्पाका सहलकोट, बाघामलाङ, रामपुर, देवीनगर, जल्पा, दर्छा, ज्यामिरे, कुसुमखोला, घोर्लीखरक, छहरा, भुवपोखरी लगायतका गाउँमा लाहुरे बाहुल्य छ । यी सबै मगरकै बाहुल्य रहेका गाउँ हुन् । यीबाहेक पाल्पामा कुनै मगर गाउँ छैन, जहाँ कोही लाहुर नगएको होस् । विश्वयुद्धताका कमाइको आधार नै बन्यो लाहुरे पेसा । धेरै मगरहरू लेक, कुना–कन्दरा र अप्ठ्यारा गाउँमा बस्ने भएकाले उनीहरूसँग उब्जाउशील खेतबारी कमै हुन्थे । खोरियाको उब्जनीले पेट पाल्नै गाह्रो थियो । पाल्पाली मगर त्यतिबेला लाहुरेकै कमाइले धानिन्थे, अहिले भने धेरैजसो रेमिट्यान्सले धानिन्छन् ।

१८ औँ शताब्दीदेखि पाल्पा मात्र होइन, नेपालका विभिन्न गाउँबाट भर्ती जाने लहर चलेको थियो । १९ औँ शताब्दीको सुरुतिर नेपालका हरेक गाउँबाट भर्ती जानु नियतिजस्तै थियो । पाल्पाका धेरै मगर गाउँमा अहिले पनि लाहुरे हुनैपर्ने संस्कार छ । सकेसम्म ब्रिटिस, नभए सिङ्गापुर, त्यो नभए इन्डियन, त्यो पनि नभए नेपाली सेना र त्यो पनि नभए अरबतिर काम गर्न गएका युवा घरघरै पाइन्छन् । विश्वयुद्धताका लाहुरे हुन हिँडेका पाल्पाका थोरै मात्र घर फर्किए । फर्किएकासँग पनि शरीरभरि गोलीका चिनो थिए । केहीले हातखुट्टा ब्रिटेनकै खातिर उतै छाडेर आए । धेरै लाहुरे अहिलेसम्म कहाँ छन्, के गर्दैछन्, अत्तोपत्तो छैन ।

प्रकाशित: १८ पुस २०७४ १०:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App