६ वैशाख २०८१ बिहीबार
समाज

श्रृङखलाबद्ध चोरी आरोपमा किशोर पक्राउ

बागलुङ- जिल्ला सदरमुकाम बागलुङ बजारमा पछिल्लो समय श्रृङ्खलावद्ध रुपमा चोरीका घटना बढेका छन्। मंसिर र पुसमा बागलुङ बजार भित्रका आधा दर्जन पसलमा चोरी भए। चोरीका घटनाहरु निरन्तर बढ्दै गएपछि सुक्ष्म रुपमा अनुसन्धानलाई अगाडि बढाएको जिल्ला प्रहरीले कार्यालयले चोरीको आरोपमा एक जना किशोरलाई पक्राउ गरेको छ । निरन्तर चोरीका घटनाहरु बढ्दै गएपछि अनुसन्धान गर्दै जाँदा जैमिनी नगरपालिका—१ का १६ वर्षीय किशोर टेकबहादुर किसानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी विश्वराजसिंह थापाले बताए। ‘बजारक्षेत्र भित्रै श्रृङ्खलाबद्ध चोरीका गुनासोहरु आएपछि हामीले अनुसन्धान थाल्यौ,’ थापाले भने,‘ घटनामा एउटै व्यक्तिको संलग्नता देखिएपछि उसलाई पक्राउ गरेका हौं ।’ बानपा—२ लालीगुराँस चोकमा डेरा गरी बस्ने किसानलाई बजारबाटै चोरीका सामान सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 प्रहरीका अनुसार किसानले गत मंसिर २० गते बानपा—२ स्थीत आराध्या ईन्टरप्राईजेजको ताला फोडी ६१ हजार दुई सय ४० रुपैयाँ चोरी गरेको, २७ गते लोकतान्त्रिकचोकमा पार्किङ गरी राखिएको ध १ ज ५८७ नम्बरको ट्याक्सी तोडफोड गरी ट्याक्सी भित्र रहेको कागजातहरु चोरी गरेको, २७ गते नै राती हल्लनचोकमा पार्किङ गरी राखेको ग १ ज ६०९४ र ग १ ज ६०९५ नम्बरको जीपको सिसा फोडी जीप भित्र रहेका विभिन्न विद्युतीय सामानहरु चोरी गरेको प्रहरीले जनाएको छ । पुस १३ गतेको राती बानपा—२ अस्पताल रोडमा जनरल स्टोर सञ्चालन गर्दै आएको खगेन्द्र प्रसाद शर्माको पसल फोडी सुनको मंगलसुत्र र रिचार्ज कार्ड चोरी गरेको, पुस १२ गते राती बानपा—३ हिरा बहादुर केसीको घरको पसलमा  झ्याल फोडी नगद रु ९ हजारको नेपाल बैक लिमिटेड बागलुङमा रहेको खाता नं २२१०६५८९० नं को चेक र अन्दाजी दुई हजार पाँच सय  बराबरको रिचार्ज कार्ड र नगद तीन हजार चोरी लगेको र मिति पुस १३ गतेका राती बानपा ३ गुठी बस्ने टेक बहादुर किसानको गिफ्ट हाउस (पसल) फोडी गिफ्ट हाउस भित्र रहेका नगद तथा जिन्सी सर सामानहरु चोरी लगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

 ‘यी माथि उल्लेखित सबै घटनाहरुमा उसको संलग्नता देखियो,’ थापाले भने,‘त्यसकै आधारमा हामीले पक्राउ गरेको हो, थप अनुसन्धान जारी छ । प्रहरी निरीक्षक धर्मबहादुर अधिकारी नेतृत्वको टोलीले गरेको छानबिन र अनुसन्धानमा किसान बस्ने कोठाबाट एकमुष्ट तेह्र हजार दुईसय ४० तथा सुनको मंगलशुत्र, नेपाल बैक लिमिटेड बागलुङमा रहेको खाता नम्बर २२१०६५८९० को चेक, नमस्ते तथा एनसेलका रिचार्ज कार्डहरु, गाडीमा प्रयोग हुने विभिन्न म्यूजिक सिस्टमका सर सामानहरु, गिफ्ट सामानहरु, गाडीका कागजातहरु र किराना पसलका सर सामानहरु लगायतका वस्तुहरु बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ पुस २०७४ ०९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App