coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

अभर पार्छ टेलिकमले!

काठमाडौं- आइतबार दिउँसो। नागरिक दैनिकको कार्यालय।

'हेलो.. को बोल्नुभएको?'

'म विपिन गौतम, ललितपुरबाट। साह्रै समस्या पर्‍यो, एउटा कम्प्लेन गर्नु छ!'

के गुनासो परेछ त...?

सोच्दासोच्दै विपिनले नै भनिहाले, 'यहाँ मोबाइल नेटवर्कले काम नगरेको तीन दिन भइसक्यो, अहिलेसम्म सुधार भएन!'

विपिन टेलिकम कार्यालयको नम्बर झुक्किएका होइनन्। सम्बन्धित निकायमा पटपटक गुनासो गर्दा पनि सुनुवाइ नभएपछि सञ्चारमाध्यमको सहारा खोजेका रहेछन्।

ललितपुर, दोलहाटीका विपिन मुलुककै अग्रणी दूरसञ्चार सेवा नेपाल टेलिकमको सिमकार्ड बोक्छन्। र, तीन दिनयता उनी यही कम्पनीको 'कमसल' सेवाले हैरानी खेपिरहेका छन्।

हामीकहाँ छिनछिनमा नेटवर्क टुट्नु नौलो होइन, विपिनलाई राम्रै थाहा छ। तर, तीन दिन धैर्य गर्दा पनि नेटवर्क नफर्किएपछि भने उनले आफूलाई थाम्न सकेनन्। 'टेलिकम मात्र होइन, पुलिसलाई समेत फोन गरंे, कसैले पनि चित्तबुझ्दो जवाफ दिएनन्,' उनले भने, 'एनटिसीमै भर परेका हामीजस्ता ग्राहकलाई गाह्रो हुन्छ भन्ने किन नबुझेका होलान्!'

दैनिक जीवनसँग छुटाउनै नसकिने बनिसकेको मोबाइल गाह्रोसाह्रोमा काम देला भनेरै बोक्ने हो। त्यसैले विपिनको गुनासो अर्थपूर्ण छ, 'यस्तो बेला केही इमर्जेन्सी पर्‍यो भने के गर्ने?'

सबैभन्दा ठूलो नेटवर्क भएर पनि सेवा सुधारमा ध्यान नदिँदा नेपाल टेलिकममा भर परेका लाखौं ग्राहक बेलाबेला विपिनजस्तै छटपटिन्छन्। नेटवर्क नटिप्नु, रिचार्ज नहुनु, इन्टरनेट सेवा राम्ररी नचल्नु बारम्बार बल्भि्कइरहने समस्या हुन्। यीबाहेक अन्य साना तर ग्राहकसँग प्रत्यक्ष सरोकार राख्ने थुप्रै विषयमा उस्तै हेलचेक्य्राइँ छ।

...

हामीले विपिनको गुनासो टेलिकम प्रवक्ता प्रतिभा वैद्यसमक्ष पुर्‍यायौं। तर, उनले यसखाले समस्याबारे अनभिज्ञता दर्साइन्। 'नेटवर्क नटिप्ने समस्याको कुनै जानकारी छैन,' वैद्यले भनिन्, 'कसैले कम्प्लेन गरेको पनि छैन।'

त्यसो त यसखाले समस्यामा टेलिकमको जवाफ एउटै हुने गर्छ– 'सुधार हुँदैछ। केही दिनभित्रै समस्या समाधान हुन्छ।' तर त्यो 'केही दिन' कहिल्यै आएन, त्यसैले वर्षाैं बित्दा पनि गुनासो उस्तै छ, अझ बढेको छ।

वैशाख ८ गते टेलिकमले असार मसान्तभित्र 'अनुभव हुने गरी' सेवा सुधार कार्यक्रम घोषणा गरेको थियो। 'सुधारको मार्गचित्र' कार्यक्रम साउन अन्त्यतिर आइसक्दा ग्राहकले सुधारको अनुभूति भने गर्न पाएका छैनन्।

सेवा सुधारका लागि विभिन्न चरणका कार्यक्रम ल्याए पनि सन्तुष्ट हुने ठाउँ नरहेको नेपाल टेलिकम सञ्चालक समिति अध्यक्ष एवम् सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलिया स्विकार्छन्। उनका अनुसार अहिले टेलिकमले फोरजी सेवा सञ्चालन गर्न पूर्वाधार तयारी गरिरहेकाले केही ठाउँमा समस्या आएको हुन सक्छ। 'उपत्यकाका बिटिएस टावरमा फोरजी सेवा सञ्चालनको तयारी गर्दा नेटवर्कमा केही समस्या आउन सक्ने भन्नुभएको छ,' टेलिकम अधिकारीलाई इंगित गर्दै थपलियाले भने, 'तर, यसको सूचना ग्राहकलाई गराउने भनिएको थियो।'

उपत्यकामा टेलिकमका ६ सय २८ वटा बिटिएस टावर छन्। यी सबैमा फोरजी सेवा 'सपोर्ट' गर्ने काम भइरहेको उनको भनाइ छ। 'अहिलेको ल्यान्डलाइनमा थप गर्न लागेको र फोन नम्बर परिवर्तन गर्ने काम भइरहेकाले पनि नेटवर्कमा समस्या आएको हुन सक्छ,' थपलियाले भने।

शुक्रबारदेखि 'रिचार्ज' मा देखिएको समस्या भने आइतबार दिउँसो समाधान भइसकेको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ। नयाँ सफ्टवेयर अपडेट गर्दा यस्तो समस्या निम्तिएको उसको प्रस्टोक्ति छ।

सिमकार्ड रिचार्जमा आउने समस्या पनि नयाँ होइन। गत मंसिरमा लामो समय रिचार्ज नभएर ग्राहकले हैरानी खेप्नुपरेको थियो। ५० रुपैयाँको रिचार्जकार्ड एकैपटक धेरै प्रयोग हुँदा समस्या परेको टेलिकमले जनाएको थियो।

ग्राहकलाई सुधारको अनुभूति गराउने अठोटसहित कार्यक्रम घोषणा गरेको टेलिकमले त्यसको कार्यान्वयन कति अगाडि बढायो, कुनै जानकारी छैन। उक्त घोषणा कार्यान्वयन र सुधारबारे हप्तादिनभित्र बैठक डाकेर सोधपुछ गर्ने थपलियाले बताए। 'एक हप्ताभित्र बैठक राखेर के–के सुधार गर्नुभयो भनेर सोध्छु,' उनले भने, 'उक्त मार्गचित्र मन्त्रालयले नभएर टेलिकम आफैंले बनाएको हो।'

हाल टेलिकम 'संक्रमण' अवस्थामा रहेकाले बिस्तारै सेवा सुधार हुँदै गएको थपलियाको भनाइ छ। 'म नेपाल टेलिकमको सेवामा सन्तुष्ट छु भन्दिनँ,' उनले भने, 'यहाँ त सधैं संक्रमण अवस्था छ, चाँडै सुधार नगरे दुर्घटना निम्तिन सक्छ।'

देशभरका १ करोड ४० लाख ६२ हजार ग्राहकलाई सन्तुष्ट पार्ने गरी सुधार गर्नुपर्ने चुनौती छ टेलिकमसमक्ष। गत वर्षको वार्षिक आय ४२ अर्ब ६४ करोड रुपैयाँ र हालको बजार हिस्सा ४७ प्रतिशत रहेको टेलिकमले चाहे छोटो समयमै सुधार गर्न सकिने विज्ञको भनाइ छ। आक्रामक शैलीमा अघि बढिरहेका निजी दूरसञ्चार सेवाप्रदायकसँग स्पर्धा गर्न पनि सरकारी सेवा व्यापक सुध्रन आवश्यक देख्छन् उनीहरू।

हाल नेपाल टेलिकम नयाँ प्रबन्ध निर्देशकको पर्खाइमा छ। प्रबन्धनिर्देशक बुद्धिप्रसाद आचार्यको समयावधि सकिएको छ। आचार्य पदावधि दोहोर्‍याउने मानसिकतामा छन् भने अन्य पदाधिकारी पनि त्यही दौडमा छन्। पदाधिकारी त्यसमा अल्झँदा अहिलेको अवस्थामा सुधारलगायत कुनै पनि निर्णय हुन नसकेको थपलियाको भनाइ छ। 'हाल कुनै प्रतिस्पर्धीको पक्ष वा विपक्षमा होला भनेर कुनै निर्णय नभएको भन्ने सुनेको छु,' उनले भने, 'भोलि नै मिटिङ डाकेर के भएको हो, बुझ्छु।'

प्रकाशित: २४ श्रावण २०७३ ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App