"

बाह्रबुँदे विषवृक्ष

शुक्रबार, ०७ पुष २०७४, ०९ : ३४ युवराज गौतम


‘बाह्रबुँदे’ भनिने दोस्रो दिल्ली सम्झौता नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय हित र एकताका निम्ति सबैभन्दा प्रत्युत्पादक ठहरियो । मोहन शमशेर प्रधानमन्त्री छँदा दिल्लीमा भएको पहिलो सम्झौता भन्दा पनि पछिल्लो सम्झौता घातक भएको धेरैको विश्लेषण छ ।

राजनीतिक स्थिरता, प्रगति, समृद्धि, सुशासन घोषणापत्रका अलंकार, भाषण मसला र अखबारका शीर्षक मात्र बनेका छन् ।


‘समझदारी’ नाम दिएर भारतका तत्कालीन विदेशमन्त्री प्रणव मुखर्जीले नेपालको संसद्मा रहेका सात दल र विद्रोही माओवादीलाई आफैंले लगनगाँठो बाँधिदिएको कुरा अल–जजिरा टेलिभिजनमार्फत खुलस्त पारिसकेका छन् । त्यस्तै भारतका विभिन्न सञ्चारमाध्यमहरूले नेपालका माओवादीलाई प्रभावशाली बनाउन भारतको भूमिका रहेको विश्लेषण गर्दै आएका छन् । विदेशी भूमिमा गरिएको सो घातक सम्झौता आज मन्दविष ठहरिएको छ । हस्ताक्षरकर्तामध्येका नारायणमान बिजुक्छे (रोहित) र सीपी मैनालीलगायतले त्यसप्रति पश्चात्ताप गरिसकेका छन् ।
शब्द–चातुर्य, श्रुति–माधुर्य, वर्णन, वृत्तान्त, तर्क, व्याख्यान र असत्य बहसको उकेरा लगाएर मिथ्यालाई ‘सत्य’ साबित गर्न सकिँदैन । जघन्य अपराधीको बलात्कारबाट गर्भधारण गरेकी युवतीलाई सोही पुरुषसँग जबर्जस्ती विवाह गराइएपछि उसका लागि जीवनको पलपल मृत्युसमान हुन्छ । मुहारबाट खुसी र उमंग हराउँछ । विश्वास, आत्मसम्मान, प्रेम र उत्साह मर्दै जान्छ । राष्ट्रिय एकताका सूत्रधार स्थायी शक्ति र राष्ट्रवादको भावधारा त्यागेर ‘हम तुम एक कमरे में बन्द है’ भन्ने गीत गाउनेहरू पनि अहिले एकअर्काप्रति त्यसरी नै चरम अविश्वास प्रकट गरिरहेका छन् । २०६२÷६३ सालको राजनीतिक परिवर्तनपछि दशपल्ट सरकार परिवर्तन भइसकेको छ । त्यसपछि दृश्य–अदृश्य, प्रकट–अप्रकट र प्रत्यक्ष–परोक्ष रूपमा विदेशी शक्तिले साम्राज्यवाद र विस्तारवादका फलामे दाह्रा–नंग्रा देखाइरहेका छन् । संक्रमणकाल नामको विश्वासको अनिकाल अझै लम्बिने संकेट स्पष्ट देखिएको छ । जनताले जिताएका र परास्त गरेका दलहरूको भविष्यबारे विदेशी सञ्चारमाध्यमहरू खलनायकझैँ निर्मम, कटु र कलुषित टिप्पणी गरिरहेका छन् । ‘चीनले जित्यो कि भारतले ?’ भनेर हामीलाई जिस्क्याइरहेका छन् । कसैका घरमा शिशु पैदा हुँदा उसको अनुहार डाँडाघरे झाँक्री वा गैरीगाउँको जेठासँग पो मिल्छ भन्दियो भने के हुन्छ ? नेपाली गणतन्त्रको अनुहार नेपालीसँग फिटिक्कै मिल्दैन भनेर विदेशी सञ्चारमाध्यमले टिप्पणी गर्छन् भने दिल्लीमा भएको १२ बुँदे समझदारी नामको गर्भाधानको डीएनए परीक्षण गर्नुपर्छ कि पर्दैन ? प्रश्न विचारणीय छ ।
अरूको लहैलहैमा लागेर प्रलोभनमा परेका कैयन् लब्ध–प्रतिष्ठितहरू लुब्ध ठहरिएका छन् । सत्यार्थ बुझ्न नसक्दा कैयन् राष्ट्रको इतिहास, धर्म, परम्परा, संस्कृति, मूल्यमान्यता र सभ्यता लुप्त भएको छ । तिब्बतबाट बोन धर्म मासिँदै गयो । ग्वाटेमालाको माया धर्म र संस्कृति मासियो । इन्डोनेसियाको पार्मालिन, लेबनानको द्रुज, पूर्वी रसिया र अलास्काको युपिक, अरुणाचलको डोनयी, सेनेगलको सेरेर, दक्षिण–पश्चिम नाइजेरिया र बेनिनको योरुबा, अफ्रिकाको धेरै भागमा व्याप्त आकान धर्म संस्कृति सबै कमजोर भए । हाम्रो सभ्यताको पनि जरो खन्ने काम भइरहेको छ ।
ट्रोयका जनता अपोलोलाई राष्ट्रदेव मान्थे । टर्कीमा टेङ्री, इजिप्टमा अमुन र जापानका जनताले आमातेरासुको पूजा गरेझँै धेरै देशमा राष्ट्रदेवका रूपमा आफ्नै प्रतीक थिए । नेपालीहरू श्रीपशुपतिनाथ (महादेव) लाई राष्ट्रदेव मान्छन् । त्यही हुनाले नेपाली सेनाले महाशिवरात्रिका दिनलाई सैनिक दिवसका रूपमा मनाउने परम्परा चल्न थाल्यो । इतिहास भन्छ, कपिलवस्तुका शासक शुद्धोदन सनातनी थिए । भगवान् बुद्धले लुम्बिनीबाट आएर पशुपतिनाथ र गुह्येश्वरी लगायतका मन्दिरहरूको दर्शन गरेको कुरा मूलसर्वास्तिवादविनय लगायतका ग्रन्थ उधृत गर्दै ‘नेपालको ऐतिहासिक रूपरेखा’ नामक पुस्तकमा बालचन्द्र शर्माले लेखेका छन् । हिन्दु, बौद्ध, बोनलगायतका प्राचीन धर्म र सभ्यतामाथ प्रहार गर्न नेपाली अनुहार भएका पराधीन, परावलम्बी, परमुखापेक्षी र प्रवञ्चकहरूलाई नै प्रयोग गरियो । राष्ट्रलाई धर्मनिरपेक्ष भनियो । नेपालमा राष्ट्रियता कमजोर बनाउन बाह्रबुँदे टुनामुना गरेर विषवृक्ष रोपियो । त्यसको विषाक्त फलले नेपालीलाई मनोवैज्ञानिक रूपमा आज शिथिल, विभाजित र शंकालु बनाइरहेको छ । राष्ट्रलाई अस्थिर तुल्याइरहेको छ ।
पञ्चतन्त्रमा भारन्डी चराको कथा आउँछ । एउटै चराका दुई मुख हुन्छन् । ती आपसमा बाझिरहन्छन् । दुई टाउके चरा भएकाले आ–आफ्नै तरिकाले सोच्न थाल्छन् । एउटा टाउकाले सोच्छ, ‘मसँग बाझिरहनेलाई सिध्याउनु प¥यो । हाम्रो पेट एउटै छ । मैले विष खाइदिएँ भने पेटसम्म विष पुग्छ र ऊ मर्छ ।’ एउटाले विष खान्छ तर पेट एउटै भएकाले चरा मर्छ । अर्को टाउको मात्र बाँच्ने कुरै भएन । लाग्छ, ती भारन्डीहरू नेपालमा राजनीतिज्ञ (?) भएर पैदा भए ।
राजनीतिक दलहरू त्यही भारन्डी चराझैँ अहोरात्र झगडा गरिरहेका छन् । राजनीतिक स्थिरता, प्रगति, समृद्धि, सुशासन आदि कुरा घोषणापत्रका अलंकार मात्र ठहरिएका छन् । भाषणमा प्रयोग गरिने त्यस्ता शब्द थेगो, अखबार र भित्ते नाराका शीर्षक बनेका छन् । राजमार्ग छेउछाउका कतिपय होटलले प्रत्येक ग्राहकको थालमा उब्रिएको भात पुनः उमालेर वा ‘फ्राइड राइस’ भनेर बेचेझैँ दलहरू हरेक चुनावमा बासीभातलाई फ्राइड राइस बनाउँछन् । हामी पत्याउँछौँ । हालै सम्पन्न चुनावमा पनि धेरै मतदाता झुक्किए । कतिपय क्षेत्रबाट हत्यारा, डाँका, तस्कर, जघन्य अपराधी र फरार अभियुक्तहरू ‘विजयी’ भए । लोकतन्त्रका नाममा यो निर्मम प्रहसन ठहरियो ।
कलकत्तामा परीक्षा दिएर म्याट्रिक्युलेसन (एसएलसी परीक्षा सरह) उत्तीर्ण गरेका हुन् बालकृष्ण शमशेर (सम), हरिनाथ खनाल, मृगेन्द्र शमशेर, नोदविक्रम शाह, हरदत्त गौतम, कैलाशभक्त माथेमा र देवराजसिंह सुवालले । महेन्द्रविक्रम शाह (कांग्रेस नेता), मानशमशेर थापा, हर्षरत्न तुलाधर, प्रकटमान सिंह, मोहनध्वज बस्नेत, टेकशमशेर थापा, भीमदत्त लोहनी, विष्णुकान्त सिलवाल, कृष्णराजसिंह सुवाल आदिको समूहमा चन्द्रशमशेरका नाति मृगेन्द्र पनि भएकाले कलकत्तामा ३३ जनाको समूहमा गएका ती नेपाली विद्यार्थीले कुनै दुःख भोग्नु परेन । यो पंक्तिकार गोरखापत्रको उपसम्पादक छँदा बालकृष्ण सम र मुगेन्द्रशमशेरका सहपाठी टेवहाल निवासी मोहनध्वज बस्नेत (विद्युत इन्जिनियर) सँग भेट भएको थियो । श्री ३ भीम शमशेरको ‘दर्शन’ गरेर कलकत्ता जान लाग्दा भीमले विद्यार्थीहरूलाई सम्झाएछन्, “विदेशीको उलामालामा नलाग्नू । नत्र कोर्रा हान्नेछु ।” बस्नेतले तकालीन घटनाबारे लेखेका टिपोट र पुस्तिकामा समेत त्यस्ता धेरै रोचक प्रसंग उठाएका छन् ।
विदेशीको लहैलहैमा, उलामालामा नलाग्नू र राष्ट्रको भलो चिताउनू भनेर उपदेश दिने शासकहरूको सट्टा पछिल्ला वर्षहरूमा विदेशीको हितलाई मात्र प्राथमिकता दिनेहरू राजनीतिमा प्रबल भए । राष्ट्र र जनताको हित उनीहरू सोच्न पनि सक्दैनन् । उच्चपदमा बसेर विदेशीलाई गुप्त सूचना बेच्ने, राष्ट्रघात गर्ने र पद पाउन विदेशीका गोडा मोल्नेहरू जताततै भेटिन्छन् । घरिघरि सिद्धान्त बदलेर सत्तामा जाने पनि धेरै छन् । दिल्लीमा गरिएको ‘बाह्रबुँदे’ सम्झौता त्यस्तै प्रवृत्तिको निकृष्ट नमुना हो । नेपालमा सुरक्षित सार्वभौमसत्ता विदेशीलाई बुझाउन खोज्ने त्यस्तो निर्णय कोशी–गण्डक सम्झौता र महाकाली सन्धिभन्दा घातक रहेछ भन्ने कुरा नयाँ पुस्ताले बुझ्न थालेका छन् । त्यसैले विधिवत् रूपमा सो सम्झौताका बारेमा बाह्रबुँदेका हस्ताक्षरकर्ता दलहरूले जनता समक्ष क्षमायाचना गर्नैपर्छ । नत्र त्यसले शेख मुजिबुर रहमान, लेण्डुप दोर्जे, क्विजलिङ र मीर जाफर जन्माउँछ ।
भारतको इसारामा काम गर्ने शेख मुजिबुर रहमानले सन् १९६६ मै ६ बुँदे योजना बनाएर पाकिस्तान टुक्र्याउँदै नयाँ राष्ट्रका रूपमा बंगलादेश बनाउने परिकल्पना गरेका थिए । सोही अनुसार भारतले त्यहाँ विद्रोह गराउन चाहेको थियो । शेख मुजिबुर रहमानको पार्टी अवामी लिगलाई भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले ठूलो मद्दत गरेपछि रहमानले चुनाव जिते । तर इस्लामावाद सरकारले उनलाई सत्तामा जान दिएन । प्रधानमन्त्री हुन नपाएपछि रहमानले विद्रोह गरे । योजनाबद्ध रूपमा भारतले पूर्वी पाकिस्तानी जनताको भेषमा प्रशस्त सेना पठायो । त्यसपछि लाखौँ मानिसको हत्या भयो । सन् १९७१ मा भारतको मद्दतले पाकिस्तान टुक्रियो र पूर्वी पाकिस्तानलाई बंगलादेश नामक नयाँ राष्ट्र बनाएर भारतले मान्यता दियो । बीपी कोइरालाले आत्मवृत्तान्तमा नेपाली कांग्रेसले समेत त्यहाँ युद्धका बेला चक्र बाँस्तोला र सुशील कोइरालामार्फत हतियार पठाएको उल्लेख गरेका छन् ।
२०४७ सालको प्रजातान्त्रिक संविधानलाई खाल्डोमा हालेर राष्ट्रलाई अस्थिर, कमजोर, पराधीन, परमुखापेक्षी र परावलम्बी बनाउने काम बाह्रबुँदे समझदारी (सम्झौता) पछि भएको हो । पाकिस्तान टुक्र्याएझैँ भारतले सन् १९७० देखि नै नेपाल टुक्र्याउन चाहेको कुरा भारतीय गुप्तचर संस्था रअका अधिकारी एके यादवले आफ्नो पुस्तक ‘मिसन रअ’मा उल्लेख गरेका छन् । त्यस्तै उद्देश्य पूर्ति गर्न भारतले नेपालमा पटकपटक मनोवैज्ञानिक युद्ध चलाइरहेको देखिन्छ ।
पाँचहजार वर्षभन्दा पुरानो बसोवास, संस्कार र सभ्यता भएको सिरियाको अलेप्पो सहर विदेशीकै षड्यन्त्रमा खरानी भयो । लेबनानको सिडोन (इसापूर्व ४ हजारमा स्थापित) लगायतका सभ्यता नष्ट गरियो । परिवर्तनका नाममा काबुलमा रगतको खोलो बगाइयो । किर्कुकदेखि तेहरानसम्म, प्लोभदिभदेखि इथियोपियासम्म, युगोस्लाभियादेखि श्रीलंकासम्म डलर छरेर त्यहाँका जनतालाई आपसमा जुधाउने र फुटाउने खेल भए । संयुक्त राष्ट्रसंघ जस्तो सर्वोच्च संस्थाले बर्माको सेनालाई आज जातिवध (जेनोसाइड) लगायतका आरोप लगाइरहेको छ । त्यसैले सत्र हजारभन्दा बढी मानिस मारिएको नेपालको दशवर्षे विद्रोह पनि केही व्यक्तिलाई भोलि ‘मिलोसेभिक’ बनाइने कारकतत्व बन्न सक्छ । आफूलाई ‘क्रान्तिकारी’ भन्ने विदेशीका आज्ञाकारी दासहरूले प्राण बचाउन दिल्लीको बाह्रबुँदेभन्दा डरलाग्दा सन्धि–सम्झौता गर्न सक्छन् । नयाँ विषवृक्ष रोप्न सक्छन् । तसर्थ, वृद्ध नगरवधुले उपदेश दिएझैँ उनीहरूले राष्ट्रवाद र लोकतन्त्रका राग अलाप्नु व्यर्थ छ । जगजाहेर छ, अधिकांश नेताको चित्र र चरित्र अनि आचरण र आवरण फरक देखिन्छ ।
ईशाको बाह्रौँ शताब्दीमा लेखिएको ‘राजतरंगिणी’ ग्रन्थमा प्रसिद्ध विद्वान् कल्हणले लेखेका छन्, “घृणा, द्वेष र आशक्तिबाट विद्वान्हरू मुक्त हुनुपर्छ । उनीहरूले सत्यको अन्वेषण गर्नुपर्छ ।” (सातौँ अध्याय) कास्मिरका राजाहरूको वंशवृक्ष (नृपावली) र इतिहास समेटिएको सो ग्रन्थमा कालीगण्डकीसम्म हमला गर्न आएका कास्मिरी सैनिकहरूलाई अरमुडिको सेनाले परास्त गरेको वर्णन छ । संसारका कुनै पनि शक्तिले थर्काउन, हल्लाउन, दबाउन र परास्त गर्न नसकेको नेपालमा जबजब राजनीतिज्ञहरू स्वतन्त्रताको दुरुपयोग गर्दै विदेशीका दास बन्न मन्जुर हुन्छन्, तब राष्ट्र भाँडिदै जान्छ । सेनाको मनोबल त्यसबेला कमजोर हुन्छ । जंगी, निजामती, प्रहरीलगायतका संगठनलाई दलका भ्रातृ संगठनसरह बनाउन खोजिन्छ । अहिले त्यस्तै परिदृश्य देख्न थालिएको छ ।
स्थिरताको लक्षण अझै देखिँदैन । हजारौँ ढल र लाखौँ मानिसको फोहोर मिसाएर वागमती दुर्गन्धित बनाइएझैँ ‘सहमति’ शब्द गनाएको छ । बितेका पच्चीस वर्षमा पच्चीस–छब्बीसवटा सरकार पालेका जनताले आउँदा वर्षहरूमा हजारौँ राजनीतिकर्मी  र उनीहरूका सन्तानलाई पाल्नैपर्ने अवस्था देखिएको छ । कसैले दुःख मात्र दिइरह्यो भने गाउँघरतिर भन्ने गर्छन्, “यो त पूर्वजन्मको साहु रहेछ ।” हामी राहु र साहु दुवैका दाउ हेरिरहन बाध्य छौँ ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...