४ वैशाख २०८१ मंगलबार
अर्थ

एकैपटक सवा सय पाइलट लिँदै हिमालय

काठमाडौं- नेपाल–चीन संयुक्त लगानीमा स्थापित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले एकैपटक १ सय ३० जना नयाँ पाइलट भर्ना गर्ने घोषणा गरेको छ ।
हिमालयले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२१४’ सिरिजका तीनथान र निकट भविष्यमा ल्याउन लागेको यही सिरिजका थप दुई गरी पाँच जहाजका लागि ती पाइलट भर्ना गर्ने घोषणा गरेको हो । कम्पनीका तीनवटै जहाजमा ८ बिजनेस क्लास र १ सय ५० इकोनोमी क्लास सिट छन् ।
कम्पनीले हाल ए३२० सिरिजका तीनथान जहाजबाट चार देशका चार गन्तव्यमा नियमित व्यापारिक उडान गरिरहेको छ । काठमाडौंबाट युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई, कतारको दोहा, साउदी अरबको दम्माम र मलेसियाको क्वालालम्पुर उडान गरिरहेको छ । उसले दोहाका लागि दैनिक दुई तथा अन्य तीन गन्तव्यका लागि दैनिक एक÷एक उडान गरिरहेको छ ।
‘गन्तव्य थप्दै प्रतिस्पर्धामा उत्रिन जहाजसँगै पाइलट पनि प्रशस्तै चाहिन्छन्, त्यही भएर एकैपटक १ सय ३० जना पाइलट भर्ना गर्न लागेका हौं,’ हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले आइतबार नागरिकसँग भने, ‘हामीले मागेका पाइलट अधिकांश विदेशी हुनेछन् भने करिब आधाजति नेपाली पनि हुनेछन् ।’
हिमालयका अनुसार ‘टाइप रेटेड एक्जामिनर’ (टिआरइ) पाँचजना, ‘टाइप रेटेड इन्स्ट्रक्टर’ (टिआरआइ) पाँच र ‘लाइन ट्रेनिङ क्याप्टेन’ (एलटिसी) आठजना लिइने छ । त्यसैगरी टाइप रेटेड ‘लाइन क्याप्टेन’ २८ जना र नन टाइप रेटेड लाइन क्याप्टेन पनि २८ जना तर नेपालीमात्र लिइने छ । त्यस्तै टाइप रेटेड ‘फस्र्ट अफिसर’ (को–पाइलट) २८ जना र नन टाइप रेटेड फस्र्ट असिफर (को–पाइलट) पनि २८ जना नै लिइने तर सबै नेपाली नागरिक हुने कम्पनीले जनाएको छ ।
‘ठूला जहाज उडाउने नेपाली पाइलटको संख्या थोरै छ, त्यही भएर विदेशी पाइलट बढी संख्यामा लिनुपर्ने हुन्छ,’ हिमालयका उपाध्यक्ष श्रेष्ठले भने, ‘विदेशी लिनुपर्ने भएपछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धी सेवा सुविधा दिनुपर्ने हुन्छ । हाल हामीसँग काम गरिरहेका करिब ५० जति पाइलटमध्ये दुई दर्जनभन्दा बढी विदेशी छन् ।’
कम्पनीका अनुसार टिआरइ, टिआरआइ, एलटिसी र टाइप रेटेड लाइन क्याप्टेनको उमेर ६३ वर्षभन्दा कम हुनुपर्ने छ । त्यस्तै नन टाइप रेटेड लाइन क्याप्टेनको उमेर ५५ वर्ष र टाइप रेटेड फस्र्ट अफिसरको उमेर ४५ वर्षभन्दा कम हुनुपर्ने छ भने नन टाइप रेटेड फस्र्ट अफिसरको उमेर २१ देखि ४५ वर्षसम्म हुनुपर्ने छ ।
हिमालयले पाइलटबाहेक २८ जना ‘पर्सर’ तथा १० जना ‘वरिष्ठ क्याबिन क्रु’ पनि भर्ना गर्न लागेको छ । पर्सरको उमेर ५० वर्षभन्दा कम हुनुपर्ने छ भने वरिष्ठ क्याबिन क्रुको उमेर २१ देखि ३० वर्षसम्म हुनुपर्ने छ ।
‘हाल सञ्चालनमा रहेका जहाजलाई पनि पाइलट चाहिएको छ भने चाँडै ल्याउन लागिएको दुईथान जहाजलाई ती पाइलट उपयोग गर्छौं,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘त्यसबाहेक हामी चाँडै नै छिमेकी चीनका केही गन्तव्यमा उडान गर्ने तयारी पनि गरिरहेका छौं ।’
नेपालको यती वल्र्ड इन्भेस्टमेन्ट प्रालि र चीनको तिब्बतस्थित तिब्बत एयरलाइन्सको संयुक्त लगानीमा हिमालय एयरलाइन्स स्थापना भएको हो । हिमालयमा नेपाली कम्पनीको ५१.०१ प्रतिशत र तिब्बतको ४८.९९ प्रतिशत लगानी छ । हिमालयमा २ करोड ५० लाख अमेरिकी डलर (२ अर्ब ५० करोड रुपैयाँ) लगानी भएको छ । आगामी पाँच वर्षभित्र कम्पनीको कुल लगानी १ अर्बदेखि १ अर्ब ५० करोड डलर (करिब १ खर्बदेखि डेढ खर्ब रुपैयाँ) सम्म पु¥याइने कम्पनीले जनाएको छ ।
हिमालयमा लगानी गरेको तिब्बत एयरलाइन्सको प्रमुख साझेदारमा चीनको सरकारी कम्पनी एयर चाइना र तिब्बतको प्रान्तीय सरकार छन् । तिब्बत एयरलाइन्सले सन् २०११ बाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । हाल कम्पनीसँग ‘ए३१९’ सिरिजका नौ जहाज सञ्चालनमा छन् । त्यसबाहेक दुई वर्षअघि ए३२० सिरिजका ३० नयाँ जहाज थप्ने घोषणा गरेको थियो । २०२० सम्ममा ४० जहाज पु¥याउने लक्ष्य छ । यसले चीनका २४ गन्तव्यमा उडान गरिरहेको छ ।
हिमालय एयरलाइन्सको नामबाट उडान गर्ने भए पनि यसको औपचारिक नाम भने यती एयर इन्टरनेसनल प्रालि हो । यसैको नाममा पर्यटन मन्त्रालयबाट इजाजत तथा नागरिक उड्डयन प्राधिकरणबाट वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) प्राप्त गरेको छ ।
हिमालयले २०७२ चैतबाट नियमित उडान गरिरहेको छ । यसले पहिलो तीन वर्ष ए३२० सिरिजका पाँचवटा जहाज सञ्चालन गर्ने जनाएको थियो । त्यसपछि जापान, कोरिया, युरोप, अमेरिका र अस्ट्रेलियाजस्ता लामो दुरीका गन्तव्यमा उडान गर्न ‘ए३३०’ वा ‘बोइङ ७७७’ जस्ता वाइड बडी जहाज ल्याउने योजना बनाएको छ । हिमालयले हाल १४ मुलुकमा उडान गर्न अनुमति पाएको छ ।

प्रकाशित: ३ पुस २०७४ ०५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App